कस्तो स्वच्छ पार्टीको सभा ?

होम सुवेदी

1 0


नेपालदृष्टि । यस पालिका चुनाबका स्वच्छ पार्टीको अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । यो चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाको ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म मोटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भो । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारको बन्दोबस्त साम्सदज्यूले गर्नुहुने भो ।

निर्णय भए अनुसार केही दिनपछि वृहत् र्याली भयो शहरभरि । र्याली भव्य र देख्न लायक थियो । लाठी कोदालो बन्चरो भालाहरु बोकेकाहरु पनि मनग्गे थिए र्यालीमा । बिहानैदेखि यस काममा जुटेका कार्यकर्ताहरु भोकाइसकेका थिए सीमा पारिबाट आउनेहरूलाइ ता देशको इज्जतको सवाल पनि थियो यसैले तिनलाइ भोकै राख्नु हुन्नथियो । तैपनि सबै बडो तन्मनयताका साथ सहभागी थिए । लामो र्यालीको गन्तव्य पनि निकै टाढा थियो । बिच बाटोमै केही उच्चपदका पदाधिकारीहरुलाइ भण्डाराको आयोजना भएकोले तिनीहरू नजानिदो गरी त्यता पसे । जुलुसमा नारा लागिरह्यो । अघि बढी रह्यो ।

धेरै मोटर साइकल चलाउनेहरूको थाप्लामा हेलमेट थिएन । एक बाइकमा चार जनासम्म चढेका थिए । पुलिस पनि साथमा थिए सुरक्षाका लागि । ट्राफिक प्रहरी मौन थिए । केही बेलिसक्नु थिएन । प्रतिरोध गरिहाले भने भेलि जागिरको सवाल थिये ।

केही पछि अयोजनास्थलमा जुलुस पुग्यो ।

पार्टीका र र्यालीका संयोजक मञ्चमा गएर माइकमा बोल्न थाले( “हाम्रो स्वच्छ पार्टी देशका कानुन र आदर्शलाइ शिरोपर गर्छ । हामीहरू नियम क़ानून स्थापित गर्ने हौं । हामी स्वच्छता चाहन्छौ् । गरीबी र भ्रष्टाचार यहाँबाट निर्मूल गर्नु हाम्रो पार्टीको आदर्श हो । शहरमा स्वच्छता ल्याउनु छ । हजुरहरूले अफ्नो अमूल्य मत दिएर पार्टीलाइ विजयी बनाउनु हुनेछ।”
उनले पालो पुगाएपछि अरू अरूबाट पनि ओजनदार भाषण भयो । ताली पड्काउन कडाइका साथ बन्दोबस्त भएकोले तालीको गजगडाहट चारैतिर गुन्जायमान थियो ।

अरू पनि बडे बडे नेताहरूले सभामा भाषण खन्याए । त्यसपछि कार्यकर्तालाइ भण्डाराको आयोजना भयो । आगन्तुक र पार्टी कार्यकर्ताहरूलाइ बडो जोसका साथ खानपिनको मेसो मिलाइयो। पार्टीको खुब प्रशंसा भयो ।
अलिक साँझ हुन लागेपछि नेताहरू दारूदोकानतिर लागे भने ल्याइएकाहरू ज्याला थापेर घर घरतिर लागे । आयोजन स्थल पनि बिहेमा जन्ती हिनेपछि बेहुलीको घर जस्तो सुनसान थियो। पार्टीका केही झन्डाहरू सभामा च्यातिएका थिए । सभाको मञ्चमा पाँच सात केटाकेटी बडो तन्मयताले पानीका रित्ता फालिएका बोतलहरू प्लास्टिकका गिलासहरू खोजिरहेका थिए । अघिसम्म दर्शक खचाखच भएका सभास्थलमा भुसियाकुकुरहरू लडाइँ गरिरहेका थिए । मञ्चमा अझ पनि स्वच्छ पार्टी के ठुला अक्षरमा लेखिएको ब्यानर टलललल टल्किरहेको थियो । ब्यानर तान्न केही केटाकेटी हसिन पसिन गरिरहेका थिए । सभास्थलमा भुसिया कुकुरहरू लडाइँ गरिहेका थिए ।