एमालेका १७ जना पार्टी परित्याग गरी उन्मुक्ति पाटीमा प्रवेश

2 0


नेपालदृष्टि। नेकपा (एमाले) परित्याग गरी सुुदुरपश्चिम प्रदेशका सांसद रतन थापालगायतका विभिन्न पार्टीका १७ जना प्रभावशाली नेताहरु नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थापा एमाले कैलालीका पूर्व अध्यक्ष तथा प्रदेशसभा सदस्य हुन् । यस्तै, सांसद परियार चौधरी, सुदुरपश्चिम प्रदेशका निवर्तमान सांसद हिमाञ्चलराज भट्टराई, नेताहरु डा.प्रदीप भट्टराई, तेजराम चौधरी, नेपाल समाजवादी पार्टी केन्द्रीय सदस्यहरु राजेन्द्र देवकोटा, राजाराम चौधरी, लक्ष्मीराम चौधरीलगायत रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीमा प्रवेश गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनीहरुलाई पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले खादा, र अविर लगाएर पार्टीमा स्वागत गरेकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै नवप्रवेशी रतन थापाले जनताको भाग्य र भविष्य निर्माण गर्ने आशाले आफूले एमालेमा २२ वर्ष बिताएको भएपनि एमालेले देश र जनताको राम्रो काम गर्न नसकेको गुनासो पोखेका छन् । एमालेकै विभिन्न कारणले पार्टी छाड्न बाध्य भएको सुनाउँदै उनले जनताको सेवा जुनसुकै पार्टीमा बसेर गर्न सकिने उल्लेख गर्दै आफू जनताकै सेवाको लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको स्पष्ट पारे ।

उनले एमालेमा धनाढ्य व्यक्ति आए अहिले नै नेता बन्ने र निर्वाचनको टिकट पाइहाल्ने अवस्था रहेको भन्ने आरोप लगाए । आफुले पार्टीमा भ्रष्टाचारीलाई टिकट नदिन सल्लाह दिएको स्मरण गराउँदै उनले आफुलाई उल्टै निश्काषन गर्न खोजिएको गुनासो गरे । उनले भने,‘पार्टीमा भ्रष्टाचारीहरुलाई टिकट नदिनु भनेकोले ममाथि अन्तर्घातको ट्याग लगाइयो ।’

टिकापुर घट्नाको विषयमा बोल्दै उनले उक्त घट्नामा संलग्न नै नभएको व्यक्तिलाई दोषी बनाइएको पनि दाबी गरे । आफूले पार्टीबाट एक पैसा नकमाएको उल्लेख गर्दै उनले कसैले एक रुपैयाँ लिएको छस भनेर भनेमा त्यसमा च्यालेन्ज गर्न तयार रहेको सुनाए । एमालेमा करोडौं रुपैयाँ दिएको तर एक रुपैयाँ पनि नलिएको उनले स्पष्ट पारे । पार्टीमा लिन नभई आफु दिन गएको उनको भनाइ थियो ।

उनले पार्टी नछाड्न एमाले नेतृाहरुको फोन आइरहेको सुनाउँदै अब एमालेमा फिर्ता हुन नसक्ने स्पष्ट पारे । उनले भने,‘अब एमालेमा टिक्न सक्दिनँ भनेर मेरो मनले भनिसकेको छ, छातीमा गोली लाइसकेको, अन्तघाती गोली खाएर रोग बोकेजस्तो रोग बोक्न चाहान्नँ म ।’ उनले नागरिक उन्मुक्ति पार्टी इमान्दार, स्वच्छता र सेवामा १ नम्बरमा आउने दाबी गरे ।

यसैगरी, सांसद कैया चौधरीले रेशम चौधरीलाई सानैदेखि तिक्ष्ण बुद्धि भएको व्यक्तिव्यको रुपमा चित्रण गरेका छन् । रेशमलाई पारिवारिक नाताले नाती पर्ने भन्दै सांसद चौधरीले निकै मार्मिक भनाइहरु पनि स्मरण गराए । उनले भने,‘रेशमले मलाई भन्नुभयो, आज तपाईंको छत्रछायाँमा नबसेको कारण म खोरमा पुगें ।’ पार्टीको संरक्षण तपाईंबाटै हुनुपर्ने भन्दै आफुलाई रेशमले आफ्नो पार्टीमा आउन पटक–पटक आग्रह गरेको सुनाए ।

अब पुराना विचारले काम नगर्ने उनको भनाइ थियो । उनले भने,‘पुरातन विचारको समयसापेक्षले अब काम गर्दैन् । नयाँ विचार आउनुपर्छ । समयअनुसारको आइडिया र प्रगतीशिल विचारले अघि बढ्नुपर्छ भन्ने मान्यताका साथ अघि बढ्नुपर्छ ।’

अब नागरिक उन्मुक्ति पार्टीले राजनीतिक मुद्दा उठाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले सो मुद्दा नउठाए जेलमा रहेका इमान्दार व्यक्तिहरुलाई न्याय नहुने धारणा राखे । उनले अहिले भएको सत्ता गठबन्धन धेरै नटिक्ने जिकिर गरे । उनले आफुलाई मत दिने मतदाताहरुलाई नआत्तिन आग्रह गर्दै यही पार्टीमा सबै आउने वातावरण सृजना गर्ने विश्वास दिलाए ।

त्यस्तै, अर्का नवप्रवेशी तथा पुर्व सांसद् हिमाञ्चल भट्टराईले प्रजातन्त्र स्थापनाको लागि ठुला–ठुला आन्दोलन गरेको स्मरण गराउँदै आफूहरुले अन्यायमा परेकाहरुको उन्मुक्तिको लागि धेरै बलिदानहरु दिएको बताए । तर, अहिले भएका ठुला दलले बाटो बिराएको उनको गुनासो छ ।

उनले एमाले, कांग्रेस, माओवादी हिँडेको बाटोले गत्तब्यमा नपुग्ने समेत टिप्पणी गरे । दलहरुले बाटो बिराएपछि देश गन्तब्यमा नपुग्ने उनको भनाइ थियो । ती दलसँग पछि लागेर देशको उन्नती नहुने देखेपछि आफुले वैकल्पिक शक्तिको खोजी गरेको र अहिले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको उनको भनाई छ । जनता अहिलका दलसँग आजित भएको पनि उनको टिप्पणी छ ।

संसारमा शासन दुई तरिकाले हुने भन्दै उनले भने,‘कि त शासन डरले गर्नुपर्यो कि त औचित्यसिद्ध, यो यो कारणले गर्छु भनेर ।’ उनले दलहरुले स्पष्ट कारण देखाएर आफुहरु हिडेको बाटो ठिक छ भनेर आफुलाई बोलाउन नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले भने,‘न त कम्युनिष्ट पार्टीहरुले वर्गिय पक्ष सोचे न त कांग्रेससँग लोककल्याणकारी राज्यको अवधारणा छ । सबैलाई सत्तामा कसरी टिक्ने भन्ने मात्र छ । पद कसरी पाउनेमा भन्नेमा नै सबैको विचार चलिराखेको छ ।’ उनले देशभरिका युवा, आम नागरिक जो अन्यायमा परेका महसुस भएका व्यक्तिहरु छन्, तीनीहरु सबैले अब नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्नुपर्ने धारणा राखे ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मणकिशोर चौधरीले आफ्नो पार्टीमा विभिन्न दललाई परित्याग गरेर नगर, क्षेत्र, भेगबाट पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको बताएका छन् । धेरै महत्वपुर्ण व्यक्तिहरुको प्रवेशले पार्टीले बृहत रुप लिन थालेको उनको भनाइ थियो । उनले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

आज एमाले परित्याग गरी मन्याल गाउँपालिकाका प्रमुख पुर्णबहादुर साउद, नेपाली कांग्रेस परित्याग गरी शुसिला रावल, लम्कीचुहा नगरपालिकाका पुर्व नगर विकास अध्यक्ष जन्मजय भट्ट, सिरहाका डा। ऋषि साह, वृद्धिजिबी हेमराज भट्टराईलगायत सो पार्टीमा प्रवेश गरेका हुन् । उनले अब आफ्नोपार्टी वैकल्पिक पार्टीको रुपमा अघि बढ्ने भन्दै राष्ट्रिय पार्टीको रुपमा स्थापित हुने पनि दाबी गरे 

त्यस्तै, नवप्रवेशी डा.प्रदीप ढकालले राष्ट्रप्रतिको जिम्मेवारी र राष्ट्रलाई एउटा निश्चित् दिशामा लैजान, अन्याय र अत्याचारमा परेकाहरुको आवाज बुलन्द गर्नको लागि नागरिक उन्मुक्ति पार्टीको स्थापना भएको बताएका छन् । उनले आफु पार्टीको स्थापनादेखिनै साक्षी रहेको समेत जानकारी दिए । सोही लक्ष्यलाई पछ्याउन पार्टी प्रवेश गरेको उनको भनाइ थियो । वर्तमान समयमा देशले नयाँ मार्ग खोजिरहेको भन्दै उनले जनताले पनि उन्मुक्ति खोजिरहेको समेत टिप्पणी गरे । अहिले देशमा भएको व्यवस्था धेरै नटिक्ने उनको भनाइ थियो ।

अब जनता सचेत हुनुपर्ने उल्लेख गर्दै ढकालले आगामी चुनावमा मतदाताहरुले मत माग्न आउनेहरुलाई मत दिने आधार खोज्नुपर्ने धारणा राखे । उनले देशलाई निकास र विकास दिन विकल्पको रुपमा नागरिक उन्मुक्ति पार्टी उदाएको थप स्पष्ट पारे । रेशम चौधरी जेल बाहिर निस्कनसाथ सिंहका गर्जनहरु लाखा पाखा लाग्ने उनले बताए ।

यस्तै, पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीको स्थापना महत्वपुर्ण परिस्थितिमा भएको र आफूहरु पार्टी स्थापनाको उद्देश्यअनुसार नै सही तवरले अघि बढेको स्पष्ट पारिन् । उनले पछिल्लो समय पार्टीप्रति जनताको उभार आएको सने दाबी गरिन् ।

उनले समावेशी, समानता, शुसासन, संघियता र पहिचानमा प्रतिवद्ध भई नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतान्त्रिक मुल्य र मान्यताप्रति पार्टी प्रतिबद्ध भएको समेत स्पष्ट पारिन् । उनले देशमा शासन व्यक्तिको नभई विधिको हुनुपर्छ भन्ने मान्यता पनि आफ्नो पार्टीले बोकेको सुनाईन् । आफ्नो पार्टीेले सबै धर्म, जाति र अल्पसंख्यक समूदायको रक्षा गर्ने उनको भनाई छ । यस्तै, आफ्नो दलले सही एजेण्डा बोकेकाले अब पहिलो दल बन्नेपनि उनको ठोकुवा छ । रिपोर्टर्स नेपाल