साहित्यसँगै विपीको राजनीतिक यात्रा

सुजन अधिकारी

२०७९ श्रावण २१, शनिबार

1 0


नेपालदृष्टि । नेपाली इतिहास, राजनिति र साहित्यमा लेस मात्र पनि रुचि राख्ने मानिसलाइ बिपि कोइरालाको परिचय दिइराख्नु पर्दैन, उनी नेपाली प्रगतिशिल साहित्यका खम्बा थिए, नेपाली प्रजातन्त्रिक आन्दोलनलाइ उत्कर्षमा पुर्याएर एक हद सम्म निष्कर्षमा पुराउने एक साहसिक, परिवर्तनशील र स्वाभिमानी व्यक्तित्व थिए।

 नेपालमा प्रजातन्त्रको स्थापनाको लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरिएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो।

भारत निर्वासनमै कोइरालाले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा कोइराला  गृहमन्त्री बनेका थिए । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गरेका थिए।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए।

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनस्र्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्केका थिए। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।

राजनितिमा सगरमाथा भन्दा अग्लो योगदान हुदाँहुदैँ पनि आज यस आलेखमा कोइरालाले साहित्यमा गरेको योगदानका बारेमा मात्र संक्षिप्त चर्चा गरिनेछ।

राजनितिको उच्चतम बिन्दुमा पुगेर सफलता पाउँदा पनि बिपिको साहित्यमा सोझो रुपमा राजनितिको रङग भेटिदैन। यस हिसाबमा नेपाली साहित्यका अध्येता तथा अनुसन्धानकर्ताहरु राजनीतिक प्रभाव नदेखिनु कोइरालाको विशिष्ट साहित्यिक क्षमता भएको धारणा व्यक्त गर्दछ यद्धपि उनका साहित्यमा प्रतिकात्मक रुपमा राजनितिका कुराहरु यथेष्ट पाइन्छन।कोइरालाले आफ्ना साहित्य राजनितिक रङगबाट टाढा रहेको स्मरण गर्दै, “म राजनितिमा एउटा ब्यक्ति र साहित्यमा अर्कै ब्यक्ति हुँ यि दुईको भेट कहिल्यै भएको छैन,” भन्ने कुरा एक अन्तवार्तामा बताउनुभएको थियो।

नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख व्यक्ति थिए। अझ भन्नु पर्दा यौन मनोविज्ञानलाइ मात्र नभएर  नेपाली साहित्यमा ब्यबहारबादी, फ्रायडबादी, मनोविज्ञानबादी, आदर्शबादी, छायाँबादी, अध्यात्मबादी साहित्यकारको रुपमा चिन्ने गरिन्छ। कोइरालालाइ नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैलीलाइ संस्थागत गर्ने एक प्रमुख पात्र पनि मानिन्छ।

वि।सं १९९२ पुसमा शारदा पत्रिकामा प्रकाशित ‘चन्द्रवदन’ शिर्षकको कथाबाट नै कोइरालाले नेपाली साहित्यमा प्रवेश गरेको देखिन्छ । कोइरालाको दार्जिलिङ बसाइमा सूर्य विक्रम ज्ञावली संग भेट भई उनकै प्ररणाले नेपाली साहित्यमा बिपीको अनुराग बढेको पाइन्छ। यसभन्दा अघि हिन्दि भाषामा लेख रचना प्रकाशन गरिरहेका कोइरालालाई सूर्य बिक्रम ज्ञावलीले नै पत्र लेखि नेपालीमै लेख रचना लेख्न अनुरोध गरेका थिए ।

वि।सं। २००६ मा दार्जिलङबाट बिपीको पहिलो कथा संग्रह  दोषी चस्मा प्रकाशित भएको थियो। उक्त कथा संग्रहमा समाबेश सबै कथाहरुमा नेपालको सामाजिक मनोबैज्ञानिक,राजनैतिक चेतनालाई उठाउने प्रयास गरिएको छ। भनिन्छ वि।सं। २००६ पछी राजनितिमा पुर्ण रुपमा लागेकाले उनले फाट्टफुट्ट लेख रचना बाहेक कुनै पुस्तक लेखेनन्।  वि।सं। २०१७ सालमा राजा महेन्द्रले वि।पी लगाएत देशका शिर्ष नेताहरुलाई कु गरी जेल हालेपछी काराबास जीवनमा पुनः बिपीको साहित्य प्रारम्भ भयो । यही अवधीमा कोइरालाले ६ वटा उपन्यास र एउटा कथा संग्रह,जेल जर्नल,आत्म बृतान्त लेखे।

कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास छन्। उनका दोषी चश्मा र श्वेतभैरवी कथा संग्रहका साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति प्रकाशित छन्। कोइरालाका नेपाली र हिन्दी भाषामा गरी ३० वटा कथा छन्।

कोइरालाका हरेक कथा, उपन्यास, कथाका भाव फरक(फरक हुने गरेका छन।साहित्यका जानकारहरुका अनुसार  हिटलर र यहुदी’का साथै ‘मोदीआइन’ मानवतामूलक उपन्यास, ‘सुम्निमा’ उपन्यास संस्कृतिमा आधारित रहेको र ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’ उपन्यास नारीमूलक रहेको बताउछँन्। 

तत्कालिन राजनितिको बारेमा जान्न बुझ्न चाहने व्यक्तिहरुको लागि त कोइरालाका रचनाहरु ब्रह्मास्त्र नै सावित हुन्छन।अझ वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ पढ्दा त फेरि त्यहि समयमा पुगेको झझल्को आउँछ।

बिपि कोइराला राजनितिज्ञका रुपमा बेला(बेलामा विवादित हुने गरे पनि साहित्यकारका रुपमा सुम्निमा लेख्दा अप्रत्यासित विवादमा फसेका थिए। किराँत संस्कृतिको अवमुल्यन गरेको र किराँती पात्र सुम्निमाको चरित्रमाथि खेलवाड गरेको भनेर उनका कृति विराटनगर लगाएत विभिन्न ठाँउमा जलाइएको पनि थियो।

कोइरालाका कृतिहरु आज पनि उत्तिकै सान्दर्भिक र गहन छन अझ ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा विचार पक्ष’ शीर्षकमा भुपति ढकालले त विध्यावारिधि नै गरेका छन्। 

कोइरालाको कलम असमयमै रोकिनुको कारण कान्सरको उचित उपचार नपाएर अल्पायुमै मृत्युवरण गर्नु पनि हो । यति सरकारले बिरामी भएको बखतमा कुनै आनाकानी नगरी उचित उपचार गरिदिएको भए आज हामी पाठक सामु बिपीका अझै केहि थान गहन अनि ओजनदार पुस्तक हुने थिए ।साहित्यका पाठक र नेपाली जनताको  दुर्भाग्य नै भन्नु पर्छ राज्यको अरुचिको कारण साहित्यको एक नक्षत्र २०३९ साउन ६ गते हामी माझबाट सधैको लागी बिदा भए पनि हाम्रो मनमा महामानवका रुपमा सदा सदाको लागि रहिरहनेछन्।