तुफान

कल्पना पौडेल (जिज्ञासु)

1 0


नेपालदृष्टि । तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरूसँगको सङ्गत रह्यो । त्यसैले उसलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्जेल्स्, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो ।

समाजमा भएको अन्याय अत्याचार दमन शोषण देख्दा ऊ आक्रोषित हुन्थ्यो र मनभरि समाजवाद र साम्यवादको कल्पना गर्थ्यो ।

ठुलो संख्यामा समाजमा महिला हिंसा ब्यापक बढेको थियो घरेलु हिंसाबाट आतङ्कित छन् । कहिले दाइजोको निहुमा, कहिले छोरी छोरी जन्म्याएको निहुँमा महिलामाथि कुटपिट भैरहन्थ्यो । पति तथा घरका अन्य सदस्यहरुले यसरी यातना दिएको देख्दा तुफान रिसले दारा किट्थ्यो । उसका बुवाले समाज परिवर्तन गर्ने र यस्तो प्रकारको विभेदको अन्त्य गर्ने अभियानमा लागेको कुराबाट तुफान निकै उत्साहित थियो । भन्ने गर्थ्यो,”बुवाले रोजेको बाटो हिड्नेछु र ती सामन्तीको जरो उखेल्नु छु ।”

गलतको खण्डन गर्ने अन्याय अत्याचार पटक्कै नसहने स्वभाव हुँदा एकदिन उसका बाबु बिरोधिको जालमा फसे । समाजमा भएका गलत प्रवृतिको बिरोध गर्ने हुँदा सामन्तीले झुटो अभियोगमा बुवालाई फसाएर जेलमा पुर्याएको थियो । हाँसी(खुशी परिवारमा बिपतको बादल मडारियो । जति कोसिस गरेतापनि बुवालाई निर्दोष साबित गरेर जेलमुक्त गर्न सकिएन । कारण, जेलर र सामन्ती मिलेका थिए । यता घरमा गरीबीको गहिरो खाडल थियो, कमाउने मानिस कोही थिएन । बिचरा आमा सहयोग माग्न गाउँमा जान्थिन् । तर सहयोगको साटो अपमानित र लज्जित हुनुपर्थ्यो । जवान आमामाथि फटाहाहरुले कुदृष्टि लगाउँथे ।

दिनचर्या यसरी नै बित्त्दै गए । दुख अभाव आसुँ रोदनमा आमालाई एक अवला नारी सम्झेर समाजमा झेल्नुपरेको पीडा र चरम यातना । कुनै पुरुषसँग बोले हाँसेको आरोपमा लगाइएको झुटा लाल्छना । यस्तै दयनीय अवस्था देखेर पलपल मर्दै तर आफूले केही गर्न नसक्नुको लाचारीपन सहँदै तुफान जवान भयो । पितृसत्तात्मक प्रथाले महिलामाथि गरेको शोसण देख्दा बुवालाई सम्झिन्थ्यो । यही संस्कारको जरो उखेल्न सामन्तीको विरुद्धमा निरन्तर आवाज उठाउँदै समाज परिवर्तन गर्ने सपना बोक्यो । भन्थ्यो,”संसारका सबै धर्मले महिलालाई अन्याय सहन उत्प्रेरित गरेको छ । यो गलत हो ।”

र आमालाई पनि भन्थ्यो,”लोग्नेको खुट्टाको पानी खाएर धर्म मिल्दैन । व्रत बस्नु, रजस्वलामा बार्नु पर्ने, यी चलन महिलामाथि गरिएको विभेद हुन् । किनकि जे जति ग्रन्थ लेखिए पुरुषले लेखे । तसर्थ आफू सर्वोसरा महिलालाई सधैं दोस्रो दर्जाको रुपमा हेरिनुले महिला माथि अन्याय भएको छ ।”

आमा पनि यही सिद्धान्त र नैतिकताको पालन गर्थिन ।

पल्लो गाउँमा एक महिलाको बिहे गरेको दुई महिनामा श्रीमानको मृत्यु भएको कारण ती महिलालाई समाजले निकै दमन गरेको थियो । रातदिन लोग्ने खाइस् अलक्षणी भनेर गाउँमा बस्न खान भएन । लोग्नेमान्छे उनको यौवनमाथि आँखा गाड्थे । बाटोमा हिंड्दा देखियो भने साइत पर्दैन भनेर अरु महिलाले बाटो तर्केर हिड्थे । एक महिलाले अर्को महिलाको पीडा नबुझ्नु कति अज्ञानता होला भनेर तुफानकी आमा निरास हुन्थिन् । उनीमा आफ्नो श्रीमानले दिएको शिक्षा थियो, चेतना थियो । यो समाजको रुढीवादी चलनचल्ती रुचाउँथिइनन् ।

एकदिन आमाले भनिन्,”हेर छोरा समाज परिवर्तन गर्न सजिलो छैन । सुरुवात आफैबाट गर्नु पर्छ । त्यसैले ती विधवा महिलालाई तैले बिहे गर । पुरुष भने श्रीमती बितेको १३ दिन नहुँदै अर्को बिहे गर्छन्, बिधुवा हुनुमा ती नारीको के दोष रु”

आमाको कुरा सुनेर तुफान निकै खुशी भयो । यति धेरै चेतनाको विकास आमामा कसरी भयो रु सायद आफूले भोगेको पीडा अर्को महिलालाई नपरोस भनेर होला आमालाई सलुट ठोक्न मन लाग्यो ।

एक बिधुवा महिलालाई त्यही समाजमा अर्को बिहे गर्नु सामान्य कुरा थिएन । महिलालाई त आमाछोरा मिलेर सम्झाए,”हेर नानी तिम्रो श्रीमान् बितेको झन्डै डेढ साल भयो । तिमी बल्ल २३ वर्षकी भयौ । यो समाजमा एक्लै बाँच्न सजिलो छैन । पलपल खतरा छ । घरमा ससुरा देवर जेठाजु बाहिर अन्य पिपासुले गिद्दे दृष्टि गाड्ने छन् तिम्रो यौवन माथि । पुरुषले जसो गरे पनि छुट दिने यो समाजले महिलालाई कसैसँग हाँसे बोलेको आरोपमा अनेकौ लाल्छना लगाउँछन् । नारी र पुरुषको यो विभेदको अन्त्य गर्न पनि तिमीले पुनर्विवाह गर्नु पर्छ ।”

यस्तै यस्तै कुराले महिलालाई राजी गराए । अब बिहे गर्ने टुंगो भयो । तर परिवार र समाजले स्वीकार्न मानेनन् । तुफानले कम्युनिष्ट विचार बोकेका कमरेडहरू गाउँमा बोलायो र भव्यताका साथ बेहुला बेहुलीले अवीर र माला लगाएर बाँकी जीवन सँगसँगै बिताउने प्रतिबद्धता जाहेर गरी उपस्थित मानिसहरुलाई साक्षी राखी प्रगतिशील विवाह गरे । पोते सिन्दुर टीका चुरा केही थिएन, न त अन्य खर्चिलो कार्यक्रम नै गरे । मात्र भाषणको भरमा विवाह सम्पन्न भयो ।

     - खजुरा बाँके