चार नेताले सामूहिक राजीनामा

1 0


 
नेपालदृष्टि । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वपोलिटव्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

माओवादी धारलाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवं विशेष कमिटी सदस्य रमेश परियारले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ।’

आफूहरुले सामूहिक राजीनामा दिएको सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनले पुष्टि गरेका छन् । सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकाले सबैलाई एकताबद्ध गर्न अभियान थाल्न राजीनामा दिएको उनको भनाइ छ । उनले माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए । -दृष्टि न्यूज