नेपालीले शिर ठाडो पारेर हिँड्न सकून्

1 0


नेपालदृष्टि । अभिनेता नीर शाहले समेत पत्याएका राई नेपाली दर्शकले सर्वाधिक रुचाएका अभिनेता हुन् । रंगमञ्च र सिनेमा दुवैमा त्यत्तिकै जमेका छन् । मानिस अनुशासित होऊन् । जोकोही नेपालीले म ‘क्लीन’ छु भनेर शिर ठाडो पारेर गौरवसाथ हिँड्न सकून् । मुलुक प्राकृतिक र सामाजिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सजाउनमात्रै सके देशको मुहार फेरिन्थ्यो भन्ने अभिनेता दयाहाङ राईसँग  दीपेन्द्र राईले गरेको कुराकानीको  केहि अशं तपाइसमक्ष नेपालदृष्टिले अनलाइन खबरले राखेको छ ।
मेरो खाना
सामान्यतः दालभात, तरकारी र ‘पोर्क’ मन पर्छ । त्यसो भन्दा अन्य खानेकुरा खान्न भनेको होइन । खाजा खान रेष्टुरेन्ट पुग्छु । घरमा रहँदा बिहान खाजा खाने चलन छैन । बिहान खाना खान्छु । रेष्टुरेन्ट पुगिहाल्दा मःमः, चाउमिन मगाउँछु । पकाउन पटक्कै जान्दिनँ । 
मेरो पोसाक
आफूलाई जे सजिलो लाग्छ, त्यही लगाउँछु । जिन्स पाइन्ट र टी–सर्ट लगाउन सजिलो लाग्छ । कपडामा वार्षिक खर्च यति नै हुन्छ भनेर हिसाब–किताब राखेको छैन । मान्छेको काम, सोच परिवर्तन हुँदै गएपछि कपडाको रङ पनि फरक–फरक मन पर्दै जाँदोरहेछ । प्रायः रेडिमेड कपडा लगाउँछु । कपडाको ब्रान्डबारे त्यति जानकार छुइनँ । हिजोआज पनि क्याप लगाउँछु ।  
मेरो फिटनेस
शारीरिक कसरत गर्न मानसिक रूपमा समेत फुर्सद हुनुपर्छ । म ८० प्रतिशत शारीरिक कसरत गर्दिनँ । कहिलेकाहीं १० बजेसम्म पनि काम पर्छ । कामले लखतरान बनाउँछ । समय पाउँदा दौडिन्छु । योगासमेत गर्छु । डाइटिङ छैन । चलचित्र छायांकनका बेला तौल घटाउनुपरे खाना कम खान्छु । रोटी र फलफूल धेरै खाने गर्छु । 
मेरो अध्ययन
हिजोआज ‘काठमाडौंमा एक दिन’ पढिरहेको छु । पहिले–पहिले फिक्सन पढ्न मन पथ्र्यो । हिजोआज ननफिक्सन पढ्न जाँगर चलिरहेको छ । अहिले लेखिरहेका सबै लेखक मन पर्छन् । अग्रजदेखि समकालीन लेखकसँग बाक्लै भेटघाट हुन्छ । उनीहरूको आनीबानी पनि मन पर्छ । लेख्ने बानी छुट्दै गएको छ । वर्ष दिनअघिसम्म नाटकका लागि गीत लेख्थें । मेरो संकलनमा तीन हजारजति किताब होलान् । लेखक, प्रकाशकले उपहारस्वरूप किताब दिन्छन् । र पनि, सालिन्दा २०÷२५ हजार रुपैयाँको किताब किन्ने गरेको छु । 
मेरो घुमफिर
घुमफिरमा रुचि भएकै मानिस हुँ । घुमफिर पनि गरेको छु । जति घुमेको छु, कामकै सिलसिलामा घुमेको छु । घुम्नकै लागि भनेर निस्केको छैन । जहाँ–जहाँ पुगेको छु, कामकै सन्दर्भमा पुगेको हुँ । स्वतन्त्र तरिकाले घुमेको छैन । नेपालका ४० जिल्ला पुगेको छु । कतिपय जिल्ला दोहोरिएका छन् । युरोपका चार देश गएको थिएँ । एसियामा जापान, कोरिया, हङकङ, मलेसिया, बेलायत र अस्ट्रेलिया पुगेको छु ।
मेरो फुर्सद
फुर्सद निकाल्न गाह्रै हुन्छ । नाटक र चलचित्र दुवैमा समय दिँदै आएको छु । एउटा न एउटा कामले समातेकै हुन्छ । एकप्रकारको दौडधुप छ । दौडधुप भएपछि थकाइ लाग्ने नै भयो । थकाइ लागेपछि आराम गर्नैपर्यो । 
मुलुकबाहिर रहँदा सम्बन्धित देशको सिमकार्ड लिने गरेको छैन । त्यतिबेला मज्जाले आराम गर्छु । फुर्सद हुँदा एक्लै भए किताब पढ्छु । चलचित्र हेर्छु । साथीभाइसँग भेटघाट गर्छु । परिवारलाई भनेजस्तो समय दिन सकेको छैन । दिने प्रयास गर्छु । परिवारसहित घुम्न, चलचित्र हेर्न नगए पनि खानचाहिँ कहिलेकाहीं गइन्छ । 
मेरो खेलकुद
मलाई फुटबल मन पर्छ । फुटबल सजिलै बुझ्न सकिन्छ । १५ वर्षको हुँदासम्म फुटबल खेलेको थिएँ । 
मेरो मोबाइल
आइफोन सिक्स एस प्रयोग गर्दै आएको छु । यसको ९० हजारजति परेको थियो । मोबाइल फेरी–फेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनमध्ये सामाजिक सञ्जाल फेसबुक, गुगल, ट्वीटर प्रयोग गर्छु । कहिलेकाहीं गेम खेल्छु । 
मेरो टेलिभिजन
कोठामा टीभी नभएको चार वर्ष भयो । त्यतिबेला कोठा सर्दै थिएँ । कोठाअनुसारको नयाँ टीभी किन्न बजार गएँ । तर, किनिनँ । त्यसपछि नकिनेको नकिनेकै भयो । टीभी हुँदा समाचार हेर्थें । रियालिटी शो पनि हेरें । डेक लगाएर चलचित्र हेर्न पछि परिनँ । 
मेरो चलचित्र
पछिल्लोपटक भारतको कालेम्पोङमा चलचित्र ‘एभेन्जर’ हेरें । पहिले–पहिले चलचित्र धेरै हेर्थें । दैनिक दुई चलचित्र हेरिन्थ्यो । पछिल्लो समय कम हेर्छु । पुराना ‘एक्टर’ मा डेनियल डेलिस, इरफान खान, नसुरद्दीन मन पर्छ भने सौगात, खगेन्द्र र विपिन पनि त्यत्तिकै मन पर्छ । गोङ्लीको अभिनय लोभलाग्दो छ । कल्की पनि मन पर्छ । 
मेरो स्वास्थ्य
स्वस्थ छु । दीर्घरोगले समातेको छैन । अहिलेसम्म ६ पटक ‘होलबडी चेकअप’ गराएको छु । रक्तचाप ठीकठाक छ । स्वस्थ रहन पूर्ण रूपमा आराम गर्नुपर्छ । जेसुकै खाए पनि एउटै समय हुनुपर्छ ।
मेरो भाषणशैली
अभिनेता भएपछि भाषण गर्नैपर्छ । भाषण गर्दा विषयवस्तुमा केन्द्रित हुन गाह्रो हुन्छजस्तो लाग्छ । आफ्नो भोगाइ एकातिर, ‘मास’ अर्कोतिर हुँदारहेछन् । उनीहरू मेरो ‘क्यारेक्टर’ बारे जान्न चाहँदारहेछन् । त्यतिबेला ‘मास कन्ट्रोल’ गर्न सक्दिनँ । भाषण गर्दा नजानिदोपाराले थेगो प्रयोग गर्ने गर्छु । अहिलेसम्म आक्रामक भाषण गरेको छैन । भाषण गरेकै आधारमा विवादमा नतानिए पनि भन्न खोजेको प्रस्ट्याउन नसक्दो श्रोतालाई भ्रम हुँदोरहेछ । 

मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । त्यो अस्वाभाविक होइन । मैले क्षमा नै नपाउनेगरी गल्तीचाहिँ गरेको छैन । यति हो, बाध्यताले कसैलाई ढाँटेको छु । मैले जसलाई ढाँटे उसलाई वास्तविकता सुनाएको छु । 

मेरो मापसे
महिना, दुई महिनाको अन्तरालमा मादक पदार्थ खान्छु । खाँदा राम्रै खाइन्छ । ह्वीस्की खान मन पर्छ । दसैं तिहारबाहेक घर र मण्डला थिएटरबाहिर मादक पदार्थ खान मन पर्दैन । 
मेरो संगीत
पछिल्लो समय गीत–संगीत सुन्न कम हुँदै गएको छ । ‘मेलोडी’ ले तान्छ । ‘सिङगिङ’ पनि ठीक लाग्छ । नेपाली संगीत कमजोर बन्दै गएकोचाहिँ एरेन्जले हो । सधैं त्यही मादल, बाँसुरी, गितार, भ्वाइलिन आदिमात्रै दोहोरिन थाल्यो । दीप श्रेष्ठका गीत मन पर्छ । राजेशपायल राईको रेकर्डिङभन्दा लाइभ गाएको मन पर्छ । समकालीन गायिका सबै मन पर्छ । गुनगुनाउने प्रयास गरे पनि जान्दिनँ । 
मेरो भूल
मानिस भएपछि जान–अन्जानमा जोकोहीबाट गल्ती हुन्छ । त्यो अस्वाभाविक होइन । मैले क्षमा नै नपाउनेगरी गल्तीचाहिँ गरेको छैन । यति हो, बाध्यताले कसैलाई ढाँटेको छु । मैले जसलाई ढाँटे उसलाई वास्तविकता सुनाएको छु । 
म कक्षा आठमा पढ्थें । सहपाठीहरू शिक्षकका छोराछोरी थिए । मेरो बडा पनि शिक्षक थिए । हामीले एक दिन सलाई किन्यौं । सलाई किन किन्यौं त्यो पनि थाहा छैन । सलाई किनेपछि बाल्यौं । सलाई बाल्दाबाल्दै पात बेरेर चुरोट खाएको नक्कल गर्यौं । त्यस्तो दृश्य देखेपछि शिक्षकले पिटेका थिए । 
मेरो साथीको महाँकाल तीनचुलीमा फोटो स्टुडियो थियो । फुर्सदमा त्यता जान्थें । मलाई फोटोग्राफी मन पथ्र्यो । स्टुडियोबाट फर्कंदा हट लेमन खान मन लाग्यो । एक कफीसप पसें । त्यति नै बेला कफीसपमा भएका सबैलाई प्रहरीले उठाएर लग्यो । संकटकाल थियो । सुरक्षाकर्मीले घर कहाँ हो रु कहाँ बस्छस् भनेर मलाई सोधे । मैले नढाँटी उत्तर दिएँ । म तँलाई अहिले नै प्रहरी भ्यानमा बुद्धनगर पुर्याइदिन्छु, फर्कंदा भ्यानमा केही भयो भने तेरो जिम्मा भने । जोखिम लिन सक्दिनँ भनेर जवाफ फर्काएँ । 
सुरक्षाकर्मीले मेरो गोजी छाम्यो । साथमा २५ वा ३५ रुपैयाँ थियो । तेरो आफन्त बोला भनेर सुरक्षाकर्मीले फेरि धम्क्याए । मलाई समात्नुका कारण भनेपछि मात्रै आफन्त बोलाउँछु भनें । तँ अहिले जा, मैले कल गरेको पाँच मिनेटमा आइज भन्दा मलाई आधा घन्टा समय दिनुभयो भनेमात्रै आइपुग्छु भन्दिएँ । त्यसपछि म एकरात बौद्ध प्रहरीमा बसें । हामीलाई किन प्रहरी हिरासतमा राखियो भनेर आजसम्म थाहा पाउन सकेको छैन । 
मेरो घर
म जन्मेको घर छैन । हुर्केको घर जिजुबुवाले बनाएका हुन् । संवत् १९८१ मा बनाइएको घर अहिले पनि छँदै छ । घर इँटाले बनाइएको छ । झ्याल बुट्टेदार छन् । भक्तपुरबाट कर्मी लगेर घर बनाइएको थियो  
मेरो राशी
मेरो राशी मीन हो । ग्रहदशा हेराउँदिनँ । हेराएपछि अनेक कुरा आउँछ । नराम्रो छ भन्दिए तनावमा परिन्छ । ग्रहशान्ति भन्दा पनि कहिलेकाहीं चिन्ता बस्ने चलन छ । नाक्छोङले यस्तो–यस्तो समस्या छ भन्दिएपछि चिन्ता बसाइन्छ । 
मेरो सौन्दर्य
कपालमा क्रिम लगाउँछु । अहिलेसम्म दुईपटक फेसियल गरेको छु । अनुहारमा नर्मल क्रिम लगाउँछु । पफ्र्युम हल्का प्रयोग गर्छु । 
मेरो प्रेम
हाम्रो बिहे प्रेमपछि मागी हो । प्रेम प्रस्ताव मैले राखेको हुँ । प्रस्ताव राखेको पाँच घन्टापछि स्वीकार भयो । बेनुका राईसँग बिहे गर्नअघि मैले कसैलाई एकतर्फी मन पराएको थिएँ । 
मेरो सपना
मानिस अनुशासित होऊन् । जोकोही नेपालीले म ‘क्लीन’ छु भनेर शिर ठाडो पारेर गौरवसाथ हिँड्न सकून् । मुलुक प्राकृतिक र सामाजिक सुन्दरताले भरिपूर्ण छ । यसलाई सजाउनमात्रै सके देशको मुहार फेरिन्थ्यो । हिजो त्यत्रो सपना देखेको थिएँ, न आज देखेको छु । अहिले आफूले गरेको भन्दा राम्रो गर्न पाए हुन्थ्यो भन्ने लोभ छ । 
मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो अकाट्य छ । जन्मेपछि मर्नु भनेको विश्राम लिनु हो । मृत्युसँग डर लाग्छ । पूरा आयु बाँच्न पाए हुन्थ्यो भन्नु पनि त मृत्युसँग डराउनु नै हो । १२ वर्षको उमेरमा बिरामी हुँदा तीन महिना बेहोश भएको थिएँ रे । मृत्यु सहज होस् भन्ने चाहना राख्नु अस्वाभाविक होइन ।