पार्टीमा युवाहरुको परम्परागत ध्रुवीकरण र गुट छ 

२०७८ मंसिर ७, मंगलबार

1 0


नेपालदृष्टि । नेपाली कांग्रेसका नेता एनपी साउदले हरेक पदमा निर्वाचनका कारण पार्टीको ८० प्रतिशत ऊर्जा आन्तरिक प्रतिस्पर्धामा खर्च भएको बताएका छन् । त्यो ऊर्जा पार्टीका नयाँ चुनौती र विपक्षी दलको सामना गर्न खर्चनुपर्नेमा उनको जोड छ ।

साउदले भने, “निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट गर्नु लोकतान्त्रिक विधि हो । तर हरेक पदमा निर्वाचन गर्दा कांग्रेसको ८० प्रतिशत ऊर्जा आन्तरिक प्रतिस्पर्धामा खर्च भयो । प्रतिपक्षी दलसँग जुध्ने र पार्टीको सुदृढीकरणबारे छलफल र बहसमा कुनै ऊर्जा खर्च भएको छैन । जित्नुपर्नेले हारिरहेको छ, हार्नुपर्नेले जितिरहेको छ । यो एनजीओको जस्तो विधानको दुष्परिणाम हो ।”

युवाहरु नेतृत्वका लागि सक्षम भए पनि हस्तक्षेप गर्ने गरी अघि आउन नसकेकाले पुरानै ध्रुवीकरणमा जेलिएर बसेको आरोप साउदले लगाए । उनले भने, “पार्टीलाई प्रविधिमैत्री र गतिशील बनाउने तर्फ कुनै पहल अघि बढ्न सकेको छैन ।

पुरानो किसिमको कार्यशैलीले नयाँ चुनौती सामना गर्न सकेको छैन । युवाहरु पुरानै ध्रुवीकरणमा जेलिएर बसेका छन् । म देशभरिका युवा साथीहरुलाई गुटगत होइन, पिँढीगत आधारमा आउन आग्रह गर्छु ।”

युवाहरु स्पष्ट सोच र कार्यक्रमका साथ नेतृत्वको प्रतिस्पर्धामा आउनुपर्नेमा उनले जोड दिए । उनले भने, “युवाहरु नेतृत्वका लागि सक्षम छन् भन्ने कुरामा शंका छैन । तर, पार्टीम परम्परागत ध्रुवीकरण छ, गुट छन् । त्यसैले युवाहरुले साहस र एकता देखाएर सबैको विश्वास जित्ने वातावरण बनाउन सकेका छैनन् ।”

नेतृत्वमा युवालाई ल्याउने बाटो सर्वसम्मति या निर्वाचन नै भएको उनले बताए । उनले थपे, “स्पष्ट सोच र कार्यक्रमका साथ कोही युवा अघि बढेको छैन । त्यसैले स्थापित नेतृत्वबाटै छनोट गर्नुपर्ने अवस्थामा पार्टी छ । युवाहरुले खोइ त सर्वसम्मत व्यक्तित्वलाई अघि सार्न सकेको ?”

नेता साउदले चौधौं महाधिवेशनमा आफूले पदाधिकारीमा उम्मेदवारी दिने स्पष्ट पारे । उनले भने, “म अहिले जिल्लामा छु । काठमाडौं गएर पार्टीका साथीहरुसँग छलफल गरेर टुंगो लगाउँछु । प्रमुख पदाधिकारीमा मेरो दाबी रहन्छ । समय आएपछि उचित निर्णय लिन्छु ।”

(नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि नेपाली कांग्रेसका युवा नेता एनपी साउदसँग पत्रकार ऋषि धमलाको कुराकानीमा आधारित)