किन देउवाका सहयोगीहरू टाढिँदै ?

1 0


नेपालदृष्टि । ‘मैले १३औं महाधिवेशनका क्रममा विधिवत् रूपमा देउवाजी (शेरबहादुर देउवा) लाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपूर्वक सुनाउँछु ।’

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले २०७५ वैशाख ९ गतेको केन्द्रीय समिति बैठकमा राखेको लिखित प्रस्तावको अंश हो यो ।

२०७२ फागुनमा भएको पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको प्रस्तावक बसेका गुरुङले महाधिवेशन भएको साढे दुई वर्ष बित्दानबित्दै पार्टी केन्द्रीय समितिको बैठकमा नै आफ्नो असन्तुष्टि दर्ज गरे ।

आफ्नो विश्वास र पार्टी सिद्धान्तविपरीत देउवाले गुटलाई प्रोत्साहित गरेको, विधानबमोजिम गर्नुपर्ने मनोनयन नगरी पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै उनले पार्टीका सबै तहका समिति विघटनको प्रस्ताव बैठकमा राखे ।

पार्टीका पुराना नेता गुरुङको असन्तुष्टिलाई १३औं महाधिवेशनमा उनीसँगै देउवासँग जोडिएका गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्ष्मण घिमिरे, योगेश ढकाललगायतका नेताको धारणाका रुपमा हेरिएको थियो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकमा गुरुङले राखेको प्रस्ताव सुनुवाइ हुने कुरै थिएन । सभापति देउवाले आफ्नो कार्यशैलीमा पनि परिवर्तन गरेनन् ।

परिणाम, पार्टीको १३औं महाधिवेशनमार्फत देउवालाई पार्टीको मूल नेतृत्वमा पुर्‍याउन सहयोगी नेताहरू नै अहिले उनको विपक्षमा उभिएका छन् । पार्टीको १४औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो । दृष्टि न्यू