अन्तिम कथा

बसन्त सुबेदी

0 0


नेपालदृष्टि । हाँसो लाग्छ प्रेम दिवस रे । फेव्रुअरी १४ । मेरो लागि एउटा फगत सपना । मानु यो के को लागि ?जीवनको २५ औँ वसन्तमा छु । यो विच आए धेरै यस्तै मृगतृष्णाहरू । जसले मलाई न हसाँउन सके न रुवाउन नै । मन चोर्ने हरुका भीडमा वाँचेकै छु यस्तै गरी मरी मरी ।

हो यही हो मेरो जीवनको यथार्थता । के को लागि ? न त म भन्न सक्छु न देखाउन नै ।

आजैको साँझ हो । खाना खाएँ । सुतेँ । चाहेँ मिठो निद्रा । सायद गल्ती गरें । हुन्न थियो होला सायद यती मिठो निद्राको कामना गर्न । गरें । मलाई सिकाइएकै थियो मिठो सपना देख्न । मानुँ सपना मिठै हुन्छ सायद दुनियाँकै सवभन्दा मिठो । कति मिठो सपना । कति मिठो । कति मिठो । सबैको कल्पनाभन्दा बाहिरको मिठो ।

हो । दिन त बिताएकै हो । आफ्नै रोजाईमा । अलिअलि हाँसे जस्तो अनि अलि अलि निरास भएजस्तो । तर लाग्छ मलाई किन दिन्छ चासो वारम्वार ? नाता छ के ? जोडिएको छ किन ? किन चाहन्छ जोडिन ?

सुतेथेँ । सायद सपनामै थिएँ । मोवाईलमा मेसेज वज्यो । लाग्यो कसैले भ्यालेन्टाइन विस गर्यो होला । त्यही त छ आखिर । सस्तो अनि तेस्रो दर्जाको मेसेजको निरन्तर आगमनले तर्सिएकी म त्यही सोचेँ । यस्तो लाग्थ्यो म त्यो मोवाईलको भाँडोभन्दा पर वसुँ संगत गर्न नपरोस त्यो भाँडोसँग ।

विरक्तिएको मनले केही आशा गरेछ सायद । यसो मोवाईल खोलें किन किन कसैको मायाको आभास आफै हुन गयो । खोई कारण थाह हुन सकेन । तर अकस्मात त्यो मायाका शब्द किन यती प्रिय लाग्यो नि यस्तो लाग्यो म साँच्चै जिउदो छु ।

फटाही । 

यो के शब्द हो मलाई थाहा छैन । किन म माथि प्रयोग गर्छ ? त्यो समेत थाहा छैन । मलाई मन समेत पर्दैन यो शब्द । तर मलाई पटक पटक यही शब्द प्रयोग गर्छ । यही भनेर वोलाँउछ । किन ? केका लागि ?

मोवाईल खोलें । उस्कै रहेछ । हाँसु हाँस्न मन नै छैन । रोउँ त केका लागि रोउँ म । म के हो उसको ?

उही शब्द अनि खोई कता कता माया हो कि लाग्ने उही सम्बोधन । फटाही ।

रिस उठ्छ चौपट्टै । यती रिस उठ्छ न नाप्ने भाँडो पाँउछु न जोख्ने ।

ऊ अर्थात पराई । अर्कैको लोग्ने । परपुरुष ।

मेरा बुझाईमा काम नलाग्ने लोग्नेमान्छे । मलाई केही काम छैन । आफ्नै संसारमा रमाउने स्वार्थी पुरुष हो त्यो ।

के को नाता ? के को प्यार ? के को आफ्नोपन ? 

म आज तिम्रा खातिर एउटा कथा लेख्छु ।

उसका मोवाईल सन्देशले मेरा कम्पारा तात्न कति वेर लाग्दैन । 

मायाका आस्वासन दिदै मन चोर्न सिपालु यी लोग्नेमान्छे । अँझै मलाई कथाकी पात्र वनाँउदै पो छ ।

अनायसै मन फिस्स हाँसिदिन्छ । नकच्चरो पुरुष । 

आफ्नो कर्तव्य समेत भुलेर मेरो सुन्दर जीवनसँग समेत खेलवाड गर्न आइपुग्दैछ ।

मोवाईलमाउसका वग्रेल्ती मेसेज आइरहे मायाका अनि धम्कीका समेत । सहिरहेँ एउटी नारीको सहनशील मन वोकेर । वाध्यतामा अल्झेको एउटा निरीह नारी पात्र त वनेँ नि आखिर म । त्यसमा नि उसैको कथाको पात्र वन्दै छु म । थाहा छैन कस्तो पात्र वन्दै छु म । सायद उसका दविएका चाहनाहरुलाई अस्थायी समाधान गरिदिनुपर्ने अपिल वोकेको पात्र वनायो होला । एउटा अहंकारी घमण्डी नकच्चरो पुरुषको आँखामा योभन्दा ज्यादा के हुन सक्ला र ।

आँखाले चिम्म गर्नै चाहेन । किन किन वावा ममिको चौपट याद आयो । लाग्यो वावा ममिको साथ थिएँ भने आज यस्तो व्यक्तिको सामना गर्नु त पर्थेन ।

फेसवुक खोलेँ । त्यहाँ अँझै वग्रेल्ती मेसेजका थुप्रा थिए । ती सबैमा लेखिएका थिए उसले मलाई चाहनुका कारण । सबै हाँसो लाग्ने कारणहरू त थिए । उसका अतृप्त चाहना म वाट पुरा गर्ने अभिलाषा वोकेको रे ।

घृणा लाग्यो आफै प्रति । कसैका अतृप्त चाहनाको प्यासी वन्दिनुपर्ने रे म । उसका लागि । मतलव मसँग कुनै चाहना नै जीवित छैनन् छन् त फगत उसैका अतृप्त चाहना ।

वाध्यतावस जोडिन पुगेको उसको र मेरो संवन्ध यसैको लागि हुँदो हो र ? म त उसको शक्तिलाई पो मान्थेँ । उसका आत्मविस्वासलाई मान्थेँ । उसका संघर्षका कथाहरुलाई मान्थेँ अनि उसका जोश र जाँगरहरुलाई पो मान्थेँ । म नारी हुनुको फाइदा नराम्ररी उठाउन चाहने उसका ती मनलाई मान्ने मसँग कुनै अभिलाषा थिएन । आफूभन्दा कता कता उच्च लाग्ने उसको उच्च जीवनप्रति मोह समेत आँक्न नसक्ने म अनायसै उसका तललो स्तरको व्यवहारलाई पचाउन सक्थेँ होला र ?

फिटिक्कै निद्रा परेन । उही हो फेरि फेसवुक खोलेँ । अन्त ध्यान दिनुअगाडि उसैका मेसेज आए । सुतिनौ र ? कति चासो गरेको ? के को लागि ?

मसँग कुनै साइनो नजोडियोस तर मलाई तिमी हाँसेको मन पर्छ । उसका यी मेसेज हेर्दा म नहाँसी वस्नै सकिन । फिस्स हाँसेँ । किन हो हाज उसका तस्विर नियाल्न पो मन लाग्यो । हरेक तस्विर उदासिन मुहार वोकेर उभिएको पो देख्छु । कि कतै ??

किन किन उसको प्रोफाईल खोतल्न मन लाग्यो । शब्द शब्द नियालेँ । अक्षर अक्षर पढेँ । हरेक तस्विर साँच्चै हेरेँ । उसका उदासिन अनुहारहरू पढ्न मन लाग्यो । पढिरहेँ ।

फलानो उपडेटेड हिज स्टाटस । नोटिफिकेशन वज्यो । उसकै नाम उफ् ।

यो अन्तिम कथा तिमीले  पढिरहँदा म यो संसार वाट बिदा हुन सकुँ । तिम्रा जीवनमा कहिल्यै दुःख नपरुन ।

वेनामी स्टाटसले मलाई नै जिस्काए जस्तै भयो ।

हतार हतार वत्ति निभाँए सुतिदिएँ ।

गहिरो निद्रालाई चिर्दै मोवाईल वज्यो साथीले गरिछ । हतार हतार सामाजिक सञ्जाल हेरीहाल भन्दै ऊ ओझेल परी जसलाइृ मैले सबै दिक्कलाग्दो कहानी सुनाएको थिएँ ।

सन्त भ्यालेन्टाइनले प्रेमका खातिर ज्यान गुमाएकै दिन मध्ये रात नवित्दै सामाजिक सञ्जालमा उसको मोटरसाईकल दुर्घटनामा ज्यान गएको समाचार छ्याप छ्याप्ती भइसकेको रहेछ । जीवनमा पहिलोपटक आफू यती धेरै चिसिएको अनुभुत गर्दा म ज्यूदो छु कि छैन पत्तो नपाए झै हुन पुगेछु ।

मध्यरात ११ः४५ फेव्रुअरी १४, २०२१ वुटवल ।