झुपडीको खुसी

शेखर अर्याल

1 0


नेपालदृष्टि । हरियालीको हराभरासँगै एउटा सानो झुपडी पवित्र या दूषित भन्न गा¥हो थियो । त्यस झुपडीमा कसैका तिरस्कृत त कसैका घृणित आँखा लाग्थे । यसकै आसपासमा महलको चहलपहल पृथक ढङ्गको देखिन्थ्यो । यही परिवेशमा मानवीय दिनचर्या बिताउँदै मानव हृदय उल्लासित र हर्षित बनेको देखिन्थ्यो ।

बाघको दाँजा चौगडा कहाँ लाग्न सक्थ्यो र ? आफ्नो सानो झुपडीलाई महल सम्झने काले त्यस स्थानलाई स्वर्ग ठान्दथ्यो तर कता कता नुन नहाल्या जस्तो खल्लो खल्लो । त्यही स्वर्गमा जन्म लिन पाएकोमा गर्भ गर्ने कालेका बुबाआमा लेखपढमा कमी भए पनि विचारधारा आधुनिक थियो । आफूले अक्षर चिन्न नसके पनि आफ्नो सन्तान कालेलाई जसरी पनि शिक्षा दिलाउने ध्याउन्नमा थिए ।

कालेको जन्मपश्चात् उसका बुबाआमा जेनतेन गरेर अर्थ सङ्कलन गर्न थाले । कहिले महलमा त कहिले गहरे काममा, जहाँ जहाँ जे जे काम गरे पनि आफैमा गद्गद र हर्षित देखिन्थे । आमा सोच्थिन्, “काले साँच्चै कालु बनोस्, हृदयको खानी अनि सबैको ढुकढुकी ।” यसले उनको तन घोटिए पनि मन उचो बनाउँथ्यो ।

काले चार वर्ष पुगेर पाँच वर्षमा प्रवेश ग¥यो । “अँध्यारोबाट उज्यालोतर्फ लैजान अब विद्यालय भर्ना गर्ने हैन र बुढी ?” हात सुमसुमाउँदै बुढाले भने, तर कथाव्यथा फरक थिए । छिमेकी महलेको रज्जगज्जले त्यहाँका सबै बालबालिका हाइहाइ अङ्ग्रेजीको शङ्ख फुकिरहेका थिए । एक्लो तन घिसार्दै काले बुबाआमाकै मायाले सामुदायिक विद्यालयमा पुग्थ्यो । लगनशील, चातुर्य र महान् प्रवृत्तिको काले हुने विरुवाको चिल्लो पात थियो । सरल स्वभाव र महान् विचारको खानी हुनाले महले बालबालिका पनि उसको नजिक झ्याम्मिन्थे । ऊ सबै साथीहरूबिच रमाइला र राम्रा कुरा सिकाउँथ्यो ।

काले बिस्तारै आफ्नो क्षमता र बलबुताका आधारमा अगाडि बढ्दै गयो । निरक्षर बुबाआमा पनि उसलाई, “काले ! तँ एक दिन महान् बन् अनि यो हाम्रो झुपडीमा सुगन्ध दे बाबु । हामी त नपढेका अनपढ ।” यस कुराले उसको मनलाई हिमाली चुचुरामा पु¥याउँथ्यो । आत्मबलको एक सिँढी उसका लागि अझ थप बन्थ्यो । आमाको प्रेरणा र बुबाको उत्साहालाई सम्झेर उसले परिश्रम र मिहिनेतमा कसी लगाउँदै गयो ।

खाजा खान दिएको पाँच रुपैयाँ पनि उसको आन्द्रामा नपुगी टोकरीमा जम्मा हुन्थ्यो । लामो समयपछि उसको थप जिज्ञासा त्यही टोकरीले पूरा गथ्र्यो । सायद जहाँ इच्छा त्यहाँ उपाय भन्ने ज्ञानले नै उसको ज्ञानको भण्डार वृद्धि हुँदै गयो । पढाइको तिर्खा मेटाउन उसलाई कठिन हुँदा उसले साथीका किताबका पाना पल्टाएर सन्तुटि प्राप्त गरी फिर्ता गथ्र्यो ।

एक दिन एक महलवाला रियादले आफ्नो मिल्ने साथी काले पढ्ने विद्यालयमा पढ्छु भन्दै घरमा जिद्दी ग¥यो । यसले घरका सबै सदस्य आश्चर्यमा परे । “किन त्यस्तो स्कुलमा पढ्ने ? तँलाई त्यस्तो स्कुलमा पढ्न सुहाउँदैन । जोरीपारीले के भन्लान् ? हुँदैन त्यस्तो ठाउँमा पढ्न ।” तर पनि रियादको जिद्दीमा कसैको केही लागेन ।

बिहानको भुकभुके उज्यालो सँगै आँखा मिच्दै हिँडेका रियादका बुबाआमा एक्कासी कालेको घर पुगे । काले रियादका बुबाआमालाई बस्न आग्रह ग¥यो तर उनीहरूको सिँह गर्जन देखेर आश्चर्यमा प¥यो । आमाचाहिँले, “यो कालेले छरछिमेकका सबै केटाकेटी विगा¥यो” भन्दै नानातरहका कटाक्ष वचन लगाइन् । “अब यस्तै हो भने हाम्रा बालबच्चा यसले अवश्य बिगार्छ” भन्दै रियादका बुबाले कुरा थपे ।

दुईचार दिनपछि केही महलेको बैठक बस्यो । बैठकले कालेको परिवारलाई झुपडीबाट हटाउने निधो ग¥यो । यो सुनेर कालेको मन एक तमासको भयो । कैदी जस्तै बनेर अमुक बनेका कालेका बुबा निरीह देखिन्थे भने आमाको आँखामा वर्षाको भेल मडारिएको थियो ।

पछ्यौराले आँखा पुछ्दै, “बाबु ! तँलाई त हामी एउटा राम्रो लगनशील असल छोरा बनाउन चाहेका थियौँ । आज आएर यो के देख्नुप¥यो हँ ? धनसम्पत्ति छ भन्दैमा जे पनि गर्न पाइन्छ र ?

जति बिन्ती गर्दा पनि रियादका बुबाआमाको मन के पग्लिन्थ्यो र ? त्यो हृदय पत्थर नै बनिसकेको थियो । उल्टै झपार्दै उनीहरू अब पखौला तिमीहरू ? भन्दै महलतिर लागे ।

मन थाम्न नसकेर ती बिचरा ! दम्पति झुपडी भित्र छिरे । घुक्क घुक्क आएको आवाजले कालेको मन भारी भयो । काले एकान्ततिर लम्कियो । ऊ सोचमग्न भएर टोलाइ मात्र रह्यो । घाम पनि माथि आइसकेका थिए ।

कालेले ती प्रचण्ड तेजका किरणलाई हेर्दै मनमनै भन्यो, “म अब कसैसँग बोल्दिनँ; म सरासर विद्यालयबाट मेरै पवित्र स्थलमा आउँछु; केवल विद्यालय जान्छु पढ्छु अनि फर्कन्छु ।” यस्तो कठोर निर्णयपश्चात् ऊ झुपडीतर्फ लाग्यो ।

सदा सबैसँग हाँसीखुसीमा रमाउने काले एक्लै आफ्नै धुनमा विद्यालय जाने आउने गर्न थाल्यो । गरिबीका कारण आफू थिचिएको महसुस गरेको कालेले छन् गेडा सबै मेरा छैननत् गेडा सबै टेडा भनी आफ्नो मनलाई जवरजस्त दबायो ।

विद्यालयमा सधैँ पहिला कहलिने काले कक्षा दशमा पुगेको थियो । छरछिमेकका आफ्ना महले साथी आजकल चाहेर नचाहेर नजिक वा टाढा के छन् उसलाई पत्तो थिएन । पुस्तकालय अनि घर, उसका साथी भने पनि तिनै अनि सहयोगी भनेका पनि तिनै ।

कालेका बुबाले भने, “हेर न अब छोरोलाई कसरी खर्च पुराउने होला, कतै उसको मन बिग्रिएर पढ्नै पो छोड्ने हो कि ? हामी पनि कामले लखतरान भएर साँझमा मात्र टुप्लुक्क आउँछौँ । घरको काम र सधैँ खाना बनाएर राख्दा उसलाई पनि दिग्दार लाग्दो हो हगि ? तर लागेर के गर्नु अप्ठ्यारोमा फलेको फर्सीसरह छ यो ।”

“त्यसो होइन म आमा हुँ उसको मन बुझ्न सकेकी छु, उसको अनुहारले खराब होइन राम्रै सोचे जस्तो लाग्छ तर मन न हो, फेरि उमेर पनि त्यस्तै छ ।” दुबै जना कुरा गर्दागर्दै काले आइपुग्यो ।

“हजुरहरूले खाना खानुभयो ? म त पढ्न पुस्तकालय गएको थिएँ ।” ल  तँलाई नै पर्खेर बसेका छौँ । अब सबै जना मिलेर खानुपर्छ नि ? मिठो चोखो जे जस्तो छ त्यही ।

बुबाले भने, “काले हेर् त तँलाई एक जोर विद्यालयको पोसाक हालिदिन पनि सकिएन । अलिअलि भएको रकम पनि साहुकै व्याजमा ठिक्क छ । खै के गर्छस् । गरिबको कोखमा जन्म लिइस् ।”

बुबा पनि के के भन्नुहुन्छ । मलाई पोसाक, किताबकापी त विद्यालयबाटै पाएको छु नि । मेरो चिन्ता हजुरहरूले नलिनुस् । म त विद्यालयको, गुरुगुरुआमाको र हजुरहरूको शिर झुकाउने काम गर्दिन । ल अब म केही समय पढ्छु भन्दै कलमकापी समायो ।

जो होचो उसैका मुखमा घोचो भने झैँ कालेको एसईई आउन लागेको थियो । यही समयमा कालेकी आमा थला परिन् । कालेले बुबासँग भन्यो, “साहूकहाँबाट ऋण लिएर भए पनि आमालाई अस्पत्ताल लैजाऊँ ।” छोराको कुरा बुबाले कसरी काट्नु । काले आमा लिएर अस्पत्ताल गयो ।

जाँच गरेपछि चिकित्सकले भने, “उच्च रक्तचाप र चिनी रोग छ, बढी ख्याल गर्नू । शरीर पनि अत्यन्तै कमजोर हुनाले बढी सकेको फलफूल खुवाउनू । चिनीको मात्रा कम भएपछि एउटा अप्रेशन गर्नुपर्छ ।”

अप्रेशन सुन्नासाथ बाउछोराको सातो गयो । उनीहरू छाँगाबाट खसे झैँ भए । कालेका बाउछोराले मुन्टो मात्र हल्लाए । आमाले भने कालेको अनुहारलाई एकतमासाले हेरेकी थिइन् । चिकित्सकले लेखिदिएको औषधी बोकेर उनीहरू आफ्नो प्रिय झुपडीमा आए ।

एकातिर परीक्षा आएको थियो भने अर्कोतिर आमाको अप्रेशनका लागि पैसाको खाँचो । आँट र साहासको ओजन बढी हुनाले उसले परीक्षा त दियो तर पैसा कसरी जुटाउने भन्ने चिन्ताले सताउनसम्म सताउन थाल्यो । उता साहूको सावा ब्याज यता अप्रेशनका लागि थप रकम जुटाउनुपर्ने ।

बुबा चौबिस घण्टामा सोह्र घण्टा जोतिन थाले तर पनि केही लागेन । हाला भएर उनीहरूले उपचारका लागि त्यही टाउको ओत्ने झुपडी पनि खसेको मूल्यमा बेच्न बाध्य भए । बैनाको पैसाले कालेकी आमाको उपचार गराए भने अरू साहूकै पोल्टामा प¥यो ।

झुपडी परिवारको अब एउटा कोठा खोजेर गुजरा चलाउने निधो भयो । लामो समय रहँदै आएको आफू हुर्केबढेको जन्मस्थान छोड्दा सबैका आँखाबाट अश्रुधारा बगे । काले र उसका बुबाले कालेकी आमालाई डो¥याएर निस्केको कारुणिक दृश्यले जो कोहीलाई सोच्न बाध्य बनायो । तर त्यस भेगमा मोजमस्ती गरी बसेका महले भने, “बल्ल गयो कालेको परिवार, अब ढुक्क भइयो । जसरी पनि यहाँबाट निकाल्नु नै थियो” भन्दै हर्षित थिए ।

दुई पाइला अगाडि के बढेका थिए काले डाँको छोडेर रुँदै भन्यो, “हे भगवान् यदि तिमी छौ र मेरो साँच्चै जन्मस्थान रहेछ भने म यसलाई आफ्नो हातमा पार्न सकूँ । यसमा मेरो सन्तोषको सास फेर्न सकूँ ।” भन्दै मन दह्रो पारेर बुबाआमाका हात समाउँदै कुम्लाकुटुरा बोकेर उनीहरू झुपडीको क्षेत्रबाट बाहिरिए ।

कालेका छरछिमेकी धेरै साथी त टुटिसकेका थिए तर दुई साथी भने हृदयबाट हट्नै सकेका थिएनन् नत उनीहरूको परिवारबाटै तिरस्कृत बनेका थिए । दौडेर आएका ती दुई साथीले एकै स्वरमा भने, “मित्र काले, तिमी यसरी कमजोर बनेर नरोऊ, समस्या परेमा हामीलाई भन्नू भन्दै ढाडस दिए । तर अगाडिका महले व्यवहारले उसलाई थिचेको हुनाले अवाक भयो ।

कालेको परिवार अब पल्लो गाउँको एक पुरानो घरमा डेरा गरी जीवन जीउन थालेका थिए । एसईईको परीक्षाफल नआएकाले काले बुबासँगै ज्यामीको काम गर्न जान्थ्यो आमा भने सकीनसकी घरकै काममा व्यस्त थिइन् । यो परिवारमा आर्थिक सङ्कट देखिए पनि स्नेहको खानी भने व्यापक थियो ।

ज्यामी काममा व्यस्त हुँदा हुँदै कालेको कानमा रेडियोले फुकेको एसईई परीक्षाफल ठोक्कियो । ऊ झसङ भयो । हतार हतार ऊ बुबासँग भनेर कोठातिर लम्कियो । घर गएर एक पटक आमालाई दण्डवत् गर्दै सुस्केरा हालेर पिँडीमा बस्यो । आमाले कालेको कपाल सुमसुमाउँदै, “ बाबु तँ निराश नहो, हाम्रा पनि दिन आउलान् । चिन्ता नगर् तँ पास हुन्छस् ।” उसको अनुहारमा खुसीका धर्सा कोरिन थाले । यत्तिकैमा काममा गएका बुबा पनि छोराको पछि पछि कोठामा आइपुगे । त्यो परिवार आज किन किन बढी छटपटिन थाल्यो ।

त्यस कोठा अगाडि एकाएक विद्यालय परिवार र पत्रकारको घेराबन्दी भयो । काले त त्यस क्षेत्रकै विद्यालयबाट चार जिपिए ल्याउने एक मात्र विद्यार्थी बनेछ । यो खबरले बधाई दिन आएका सबैले कालेको अनुहार रङ्गाए । यो दृश्यले उसका नयन भने आँसुविहीन बन्न सकेनन् ।

विद्यालयका प्रधानाध्यापकले खुसी हुँदै भने, “काले …..! अब हाम्रै विद्यालयबाट छात्रवृत्ति प्रदान गरेर तिम्रो पढाइ अगाडि बढाउने निधो हामीले गरेका छौँ । तिमीले हाम्रो विद्यालयको र यस क्षेत्रकै इज्जत राखेका छौ । अब तिमीले समाजसेवामा लाग्ने प्रेरणा पाउनुपर्छ र चिकित्सक बनेर यही समाजको सेवा गर्नुपर्छ । चिकित्सक सहरमुखी हुनाले हाम्रो यस ठाउँमा स्वास्थ्यको अवस्था नाजुक बनेको छ ।” यस कुराले काले भावविह्वल बन्यो ।

पुरानो घरको त्यस कोठाअगाडि आँगनमा गुरुगुरुआमाको आगमन हुँदा पनि कालेले लड्डु बाँड्न सकेन । यस्तैमा उसको अगाडि माइक तेर्सियो । उसले हृदयमा भक्कानो पारेर सबैलाई अभिवादन ग¥यो । उसले पत्रकारसामु भन्यो, “मेरो सफलताको श्रेय गुरु, गुरुआमा र मेरा बुबाआमालाई छ । म त एक विद्यार्थी मात्र हूँ । तर आज मेरा प्राणप्यारा गुरुगुरुमा मेरो समिपमा आउँदा पनि एक एक लड्डुले स्वागत गर्न सकिन तर पनि हृदयदेखि नै भावरूपी लड्डु प्रदान गर्दछु ।” यस कुराले गुरु, गुरुआमा र साथीहरूका आँखा रसाए । भावुक बनेका ती सबैले शान्त्वना प्रदान गर्दै त्यहाँबाट आआफ्नो घरतर्फ लागे ।

“जिपिए चार आएर के गर्नू, घरमा आमा बिरामी हुनुहुन्छ । गुरुले त छात्रवृत्तिको कुरा गर्नुभयो अनि पढाउने वाचा पनि गर्नुभयो तर घरको यो हालत के गर्नु, के नगर्नू ।” काले मनमा कुरा खेलाउँदै झोक्राएर बसेको थियो । उसका अगाडि आफ्ना पुराना दुई मित्र टुप्लुक्क देखा परे । उनीहरू सोध्दै खोज्दै त्यहाँ आइपुगेका रहेछन् । ती साथीले कालेलाई बधाई दिँदै अँगालोमा हाली भूमितिर मायाका दुई थोपा अर्पण गरे । “साथी हामीले तिमीले जस्तो चार जिपिए ल्याउन नसके पनि तीन विन्दु छ ल्यायौँ । तर तिमीलाई अपमान रियादका बुबाआमाले आत्मग्लानि गरेका छन् । अब हामी सँगै पढ्न जानुपर्छ, त्यसको व्यवस्था हामीले गर्छौँ ।” यति भन्दै साथीहरू घरतर्फ लागे । साथीका यी कुराले कालेको हृदय भक्कानियो ।

बेलुका खाना खाएर काले सुत्ने प्रयत्नमा थियो । आमाले, “काले ! अब तँ पढ्न जा, तैँले आफ्नो उद्देश्य पूरा गर्नुपर्छ ।”

“हो काले, यहाँ मैले जे जसरी भए पनि तेरी आमाको रेखदेख गर्छु तँ भने पढ्न जानुपर्छ । यो तेरो र हामी दुवैको चाहना हो ।” बुबाले आमाको कुरामा थपे । कालेको मनमा बुबाआमाको कुराले आँट आयो । ऊ भविष्यका सपना तुन्दै सिरकमुनि गुटमुटियो ।

ऊ सबैको साथ र सहयोगले सहर पढ्न जाने भयो । विद्यालयबाट प्रदान गरेको छात्रवृत्ति रकम र आमाले कर गरेर दिएको तिलहरी बोकेर भारी मन गराउँदै बुबाआमा, गुरुगुरुमा र आफ्नो त्यो झुपडी सम्झँदै काले सहरतर्फ लाग्यो ।

काठमाडौँ आएर काले आफ्ना साथीसँग बस्न थाल्यो । उसले प्रवेश परीक्षा दियो । उच्च अङ्क ल्याएर ऊ विश्वनिकेतन माविमा भर्ना भयो । उसको अध्ययन तीव्र गतिमा अगाडि बढेको थियो । उसले पढ्ने विद्यालयबाट पनि छात्रवृत्ति प्राप्त ग¥यो । उसलाई अझ थप हौसला मिल्यो । पढाइमा लाग्ने खर्च चलेकाले आमाले दिएको तिलहरी उसले गोप्य कण्ठमा झुन्ड्याएर मात्र राख्योे ।

कालेले एघार र बाह्रको परीक्षामा पनि चार जिपिए नै ल्याउन सफल भयो । सामुदायिक विद्यालयमा पढेर पनि चार जिपिए ल्याएकाले उसको चर्चा परिचर्चा हुन थाल्यो । अकस्मात उसलाई छात्रवृत्ति कोटामै बाहिर पढ्न जाने मौका मिल्यो । ऊ न त घर जान सक्यो न त आफ्ना सबै साथीलाई खबर गर्न । पाँच वर्षका लागि पढ्न काले बाहिर गयो ।

यता गाउँमा बुबाआमा छोरो नफर्केको हुँदा व्याकुल बनेका थिए । न चिठी न त मानिस, उनीहरू झन कमजोर बन्दै गए ।

तीन वर्षपछि छोराको चिठी आयो । पल्लाघरे सानेलाई उनीहरूले चिठी पढ्न लगाए, “बुबाआमा साष्टाङ्ग दण्डवत् । म अकस्मात पढ्न बाहिर गएँ । घरमा आउन सकिन, क्षमा चाहन्छु । लामो समयपछि पत्र लेख्न पाएँ । म अध्ययन सकेर छिटै घर फर्कन्छु ।”

बुबाआमाको कमजोर मन पुन पलायो । छोराकै आसामा उनीहरूले दुखजिलो गरी जीवन गुजार्न थाले । शारीरिक र आर्थिक रूपले कमजोर भए पनि मानसिक रूपले भने बलिया भए ।

पाँच वर्ष बिताएर काले आफ्नै देश फक्र्यो । पहिला उच्च माविमा गएर गुरुगुरुमालाई प्रणाम ग¥यो । त्यहाँ उसलाई सम्मान गरियो । भोलिपल्ट काले गाउँ फर्कियो । बाटोबाटै पहिला ऊ विद्यालय पुग्यो । त्यहाँ गएर गुरुगुरुमालाई प्रणाम ग¥यो । त्यसपछि खुसीका छालसँगै ऊ आफ्नो त्यो पुरानो घरको सानो कोठामा छि¥यो । किन किन उसलाई त्यो कोठा मोती जस्तै चम्केको आभास भयो । उसले बुबाआमालाई दण्डवत् ग¥यो । बुबाआमा पनि छोरालाई अँगालो मारेर अँध्यारो कोठामा उज्यालो छाएको अनुभव गरे ।

काले विभिन्न हन्डर ठक्कर खाँदै गाउँमा चिकित्सक बनेर आयो । उसले गाउँमा सबैलाई औषधीउपचार गर्न थाल्यो । वल्लो पल्लो गाउँमा उसको प्रशंसा बढ्न थाल्यो । उसले दुईचार वर्षमा केही पैसा पनि जम्मा गर्न सक्यो । उसलाई त्यही आफ्नो झुपडीले सताउन थाल्यो । आखिर त्यो ठाउँ आज पनि जस्ताको त्यस्तै रहेको रहेछ । यसलाई आफ्नो बनाउन ऊ आतुर भयो । उसले आफ्नो एक साथीलाई त्यो झुपडी मिलाइदिन अनुरोध ग¥यो । आखिर त्यो ठाउँ किन्न काले सफल भयो ।

त्यही ठाउँमा बसेर काले आफ्नी आमाको उपचार र सेवा सत्कार गर्दै विगतमा तिरस्कार गर्ने महलेहरूको सेवामा जुट्न थाल्यो । काले आज पनि उस्तै, उही व्यवहारको, सबैको उस्तै प्रिय बनेको देखेर समाज, राष्ट्र र आमाको सपना त्यही कालु बन्यो ।