समय सीमित छ, महाधिवेशनको मितिको निर्णय जरुरी छ

1 0


नेपालदृष्टि । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीका नेताहरुबीच विश्वासको संकट भएको बताएका छन् । उनले पार्टीभित्र क्रियाशील सदस्यताको विवाद हाउगुजीमात्र भएको उनको टिप्पणी छ ।

 नेता लेखकले भने, “पार्टी महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यतामा धेरै ठूलो समस्या छैन । निर्वाचन निर्देशिका बनाउन र प्रतिनिधि खटाउन नसकिएको पनि होइन । मुख्य कुरा पार्टीभित्र अविश्वासको स्थिति छ । एकलाई देखेर अर्को तर्सिएको स्थिति छ । किनभने महाधिवेशनबाट नेतृत्व चयन हुन्छ । नेताहरुबीच विश्वासको वातावरण बन्यो भने सबै समस्या सरलतापूर्वक समाधान हुन्छ ।”

कांग्रेस नेता लेखकले पर्सि बस्ने केन्द्रीय समिति बैठकले पार्टीको चौधौं महाधिवेशनबारे ठोस निर्णय लिने पनि जानकारी दिए । उनले भने, “भदौभित्रै निश्चित कार्यतालिका बनाएर सम्पन्न गर्ने हो कि विकल्प सोच्ने हो, महाधिवेशनको मितिका बारेमा केन्द्रीप्य समितिको बैठकले आवश्यक निर्णय लिन्छ । तर अब समय सीमित छ ।”

लामो समयको लकडाउन, निषेधाज्ञाका कारण समयमै महाधिवेशन गर्न नसकिने उनले बचाउ गरे । उनले थपे, “सर्वत्र प्रतिकूलता भएकले समयमा पार्टीका काम गर्न सकेनौं । यो धरातलीय यथार्थ हो । अब केन्द्रीय समितिले निष्कर्ष निकाल्ला र विकल्प देला ।” वर्तमान सरकारले कोरोनालाई नै सबैभन्दा ठूलो चुनौती मानेर सबै नागरिकलाई खोप दिने सकारात्मक पहल गरिरहेको उनले बताए । कोरोनाको तेस्रो लहर आउन सक्ने स्थितिमा अस्पतालको क्षमता वृद्धि र व्यवस्था र नेपालमै खोप बनाउन सक्ने ल्याबबारे पनि सोचिरहेको उनले जानकारी दिए ।

गठबन्धनका दलहरुबीच साझा न्यूनतम कार्यक्रमपछि मन्त्रिपरिषद् पूर्णता दिने सहमति भएकाले साउनभित्रै गर्नका लागि शीर्ष नेता तहमा छलफल चलिरहेको उनले दाबी गरे । उनले भने, “एउटै दलको सरकार बन्ने क्रममा त जटिलता आउँछ भने दुईभन्दा बढी राजनीतिक दलको संयुक्त सरकार विवाद नहुने कुरै भएन ।” नेता लेखकले माधव नेपाल समूह पनि सरकारमा आउन सक्ने संकेत गरे । उनले भने, “निर्णय उहाँहरुले नै गर्ने हो । हामीले ल्याउँछौं, ल्याउँदैनौं कसरी भन्ने रु “एकता टर्यो, सरकारमा सामेल हुने भन्ने सुनेको छु । यो हाम्रो पहल भन्दा उहाँहरुको निर्णयमै भर पर्छ ।”

देशभित्रको साझा मुद्दामा दलहरुबीच सहमति भएमा एमसीसी पारित हुने उनले बताए । उनले भने, “केपी ओली प्रधानमन्त्री भएका बेला यथास्थितिमा पारित गर्ने भनेर प्रतिनिधिसभामा प्रस्ताव पनि गर्नुभएको हो । सभामुखले सहयोग नगरेको आरोप लगाएको पनि सुनेका हौं । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय सहमतिकै आधारमा अघि बढ्ने उल्लेख गरेका छौं । सहमतिमै अघि बढ्छौं ।”

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलाले लिएको अन्तर्वार्ताको आधारमा)