खोप लगाउनको भीडमा नै संक्रमणको त्रास

जितेन्द्र ठाकुर

1 0


नेपालदृष्टि । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना भाइरसको खोप लगाउन जाँदा नै संक्रमणको त्रास बढेको छ । संघीय सरकारले मापदण्ड तोकेर पठाएको खोप लगाउने केन्द्रमा कुनै स्वास्थ्य मापदण्ड निर्धारण नहुँदा संक्रमणको त्रास बढेको हो ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताका अनुसार सोमबार विराटनगरमा दुई वटा केन्द्र तोकेर पहिलो चरणका खोप लिनबाट वञ्चित भएका स्वास्थ्यकर्मी, कानुन व्यवसायी लगायतका अग्रपंत्तिमा खटिने कर्मचारीलाई खोप लगाइएको थियो । मंगलबारदेखि दुई दिनसम्म प्रत्येक स्थानीय तहका वडाहरूमा खोप लगाउने कार्यक्रम भैरहेको छ ।

सरकारले ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने भनिए पनि वडा कार्यालयमा अव्यवस्थित रूपमा खोप लगाउने गरेको पाइएको हो । सामाजिक दुरी कायम नगरी विहानैदेखि स्थानीयहरूले लाममा बसेर खोप लगाउने गरेका छन् ।

खोप लगाउने स्थानमा गरेको फितलो व्यवस्थापनाले खोप लगाउन आउने व्यक्तिलाई नै संक्रमण हुने अवस्था रहेको विराटनगरका–९ का रमेश कटवालले बताए ।

जो कोही आएर लाममा बस्ने गरेको बताउँदै उनले भने– ‘मान्छे माथि मान्छे चढेर खोप लगाउन लाइनमा बसेका छन् ।’
विहान ११ बजेदेखि लाममा बसेका ६० वर्षीय कटवालले २ बजे खोप लगाएको बताए । ‘पालैपालो खोप दिने व्यवस्था रहेछ’ खोप लिन आएका सन्तोष रायले भने ‘यहाँ आउँदा नै संक्रमित हुने डर छ ।’

विहान ९ नबज्दै लाममा बस्नेको संख्या धेरै थियो, गेटमा पुग्दा नै ४–५ घण्टा लाग्यो उनले भने– कतिपय गेटबाटै फर्किएका थिए मंगलवार करिव दुई दर्जन विद्यार्थीहरू विहानदेखि लाइनमा बसेर फर्केका छन् ।

मंगलबार खोप लगाउन  जम्मा भएका सर्वसाधारण ।

नोवेल मेडिकल कलेजबाट आएका उनीहरूले विहानदेखि लाममा बसेर गेटमा पुगेपछि विद्यार्थीहरूले खोप नपाउने थाहा पाएपछि निरास भएर फर्केका हुन् ।

पहिलो सवैलाई दिन्छ भनेर आएको हुँ, विद्यार्थी रेश्मी शर्माले भनिन्– चर्को घाममा पंक्तिमा बसेपनि गेटमा पुगेर फर्काइयो । दुईदिनदेखि हुलमा पस्दा विहानैदेखि आएर पनि खोप लगाउन नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । हुललाई व्यवस्थित नगरेकाले कोरोनाको संक्रमण बढ्ने खतरा रहेको स्वास्थ्य कार्यालयका प्रमुख मेहताले बताए ।

सरकारले खोप दिने उमेर समूह नै तोकेको छ, तर पनि आफ्नो किसिमले खोप स्थानीय तहले वडास्तरमा लगाउन लागेको उनले बताए ।

खोप लगाउने स्थानमा कुनै मापदण्ड तोकिएको छैन । विहान नै आउनेले पनि नपाएको भन्दै कतिपयले विरोध जनाउँदै आएका छन् । मोरङमा यसपटक ७० हजारलाई खोप दिने योजना रहेको प्रमुख मेहताले बताए ।

कोरोना खोप लिन आएकालाई व्यवस्थित गर्न मूलद्वारमा खटाएका प्रहरीलाई नै पंक्तिको व्यवस्थापन गर्न हम्मे हम्मे हने गरेको देखिन्छ ।     - उद्घोष