छानबिनको मागमा पूर्व–पश्चिम राजमार्ग तनावग्रस्त

0 0


नेपालदृष्टि । राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार प्रहरीले शवलाई अस्पताल लैजान लागेपछि आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गराएका हुन् ।

उनी असार ११ गतेदेखि हराइरहेकी थिईन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

सुजिताको शव आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका घर भएकी सुजिता बुद्धशान्तिमा स्नातक चौंथो वर्षमा अध्ययनरत थिइन् । उनीसँग नजिकको सम्बन्ध रहेकाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । घटनाको अध्ययनकै लागि शव नउठाइएको उहाँको भनाइ छ ।