समाचार

मनोहरकुमार पोखरेल

1 0


नेपालदृष्टि । जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थें । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ ।

राजविराज बसपार्क पनि जाने र आउनेहरुको बाटो नै त हो । त्यही बाटो भएर विदेश कमाउन गएकाहरू कतिपय कहिल्यै फर्किएनन् । कतिपय त्यही बाटो भएर आउनेहरू पुन: फर्केर गएनन् । कतिपय दलालको चँगुलमा परेर विदेशमै अड्किए । कतिपयले भनेजस्तो काम पाएनन् । अँझ कतिपय भने सग्लो फर्किन समेत सकेनन् । वर्षौदेखि परिवारबाट बीच्छेद भएकाको संख्या एकिन नै छैन । सबैजना बाकसभरि पैसा ल्याउने सपना बोकेर उडेका देखिन्छन् । दुर्भाग्य, आफैं बन्द बाकसमा उतारिएका पनि भेटिन्छन् ।

यस्तैमध्येका हनुमाननगरका सूर्यनारायण मण्डलको अनुहार हमेशा सम्झिन्छु । उनको मुखबाट सोंचेझै काम र दाम पाएको सुन्दछु । हँसिलो अनुहारका साथ फर्किने उनी यसपटक भने सशंकित देखिए । तीन वर्ष अघि भिसा नविकरण गर्न फर्कदा उत्साहित थिए । यसपटक भने जाँगर मरेको अवस्थामा भेटिए । मेरो मनमा अँझ खुल्दुली जागिरह्यो ।

बसबाट ओर्लिनेहरुमध्ये उनी मात्र हँसिला थिएनन् । यहीं कारण हुनुपर्छ उनको अनुहारमा मेरो आँखा टक्क अड्यो । सपनाहरूको सौदाबाजी गर्न उडनेका अनुहारहरू प्रस्थान हुने बेलामा मौन र आगमनका बेला हँसिलो भेटिनु स्वभाविक लाग्थ्यो । मौन र भयभीत भएर आगमनका बेला बस पार्कमा भेटिनु अनौठो थियो मेरा लागि ।

पहिलो पटक उनी पाँच वर्ष अघि २५ वर्षीया श्रीमती र कलिला छोराछोरीलाई छाडेर सउदी अरब हानिएका थिए । बस पार्कमासँगै चिया पिउँदा उनी विदेशिनुका कारणबारे जानकारी पाएको थिएँ । उनको पीडालाई मैले समाचारको विषय बनाउँदा पाठकहरुको मन पग्लिएको थियो । सप्तकोशी नदी, त्रियुगा, खाँडो र महुली खोलामा वर्षेनी आउने बाढीले खेत बालुवाले पुर्दै गएपछि विदेशिन उनी बाध्य बनेका थिए । मण्डल जस्तै विदेशिनेको संख्या ९० हजार पुगेको छ । यसले सप्तरीका गाउँघरहरू उजाड र उराठलाग्दा बनेका छन् ।

प्रत्येक परिवारमा कम्तीमा एक जना लक्का जवान छोरा/छोरी विदेशिएका छन् । कतिका भर्खरै नवविवाहित श्रीमान् परदेशिएका छन् । बालबच्चाले आफ्ना पिताको न्यानो स्पर्श र सुरक्षा गुमाएका छन् । युवाहरू नहुँदा काम गर्ने श्रमजीवी पाइन छाडेको छ । बुढापाका घर रुँघेर बसेका छन् । चाडपर्वका बेला पनि बजार सुनसान र उराठ लाग्दो बनेको छ । भोज भत्तेरमा रमाउने मान्छेहरू भेटिँदैनन् । हाँसखेल गर्ने दौन्तरी छै्रनन् । मर्दापर्दा मलामी र जन्ती जानेहरू खोज्नु पर्छ । सर्वत्र यस्तै हाल छ ।

बस चढ्ने बेलामा सूर्यनारायणले भनेका थिए– “मेरी श्रीमती रानी अलि जिद्दी स्वभावकी छिन् । छिमेकी आकाश राजभण्डारीले विदेश गएर आर्जन गरेको ज्ञान र धनले भारदहमा उद्यम गरेको देखेर मलाई पनि विदेशिन बाध्य पारिन् । तीन सन्तानको जीवनस्तर उकास्ने वाध्यताले पनि हिँड्न लागेको हुँ ।”

उनको कुरा सुनेर म टोलाएको थिएँ । तथ्यांकले दिनहुँ औसत १५ सय युवा बाहिरिने गरेको देखाउँछ । वैदेशिक रोजगारी अहिले अनिवार्य जस्तै भएको छ । यसैबाट प्राप्त रेमिट्यान्सले राज्य चलिरहेको छ । कतिपय घरपरिवारले आर्थिक प्रगति पनि गरेका छन् । तर, सूर्यनारायणको पाटो भने निकै भयावह छ ।
बाढी र खडेरीको चपेटामा परेको कारणले उनको परिवारको पेटमा माड लागेन । त्यसैले साउदी अरबकै क्रंकिटयुक्त शहरमा उनले भविष्य सुनौलो देखे । गाउँको हलो र जुवालाई चटक्क थङ्काएर अरबको हतौडा र रेतीमा रमाए । जिन्दगी भन्नु नै एक थोक छाड्नु र अर्को थोक समाउनु रहेछ । सन्ततिकै भविष्यका लागि सन्तानबाट टाढिनु पर्ने रहेछ ।

“परिवारसँग बस्न कसलाई मन हुँदैन ?” गह्रुँगो झोला विसाउँदै उनले भनेका थिए– “बाध्यताको अगाडि मन केही पनि होइन, मैले घर परिवार छाडिनँ भने मेरा परिवारले धेरै थोक छाड्नु पर्ने हुन्छ ।”

यही सोचेर उनले अमिलो मनले राहदानीमा आफ्नो हँसिलो अनुहार टाँसेका थिए । उनको सानो पक्की घर बनाउने धोको समेत थियो । अर्कातिर छोराछोरीको भविष्य पनि उज्जवल बनाउनु थियो । छोरीलाई दिनुपर्ने दाइजोले पनि उनलाई पिरोलेको थियो ।

अहिले म सम्झिन्छु– श्रीमतीको खुशी र सन्तानको राम्रो भविष्यको सपना बुनेर दश नङग्रा खियाउन साउदी अरब पुगेका उनको सपना तीन वर्ष अघि घर फर्किदा नै चकनाचुर भएको थियो । श्रीमती र छोराछोरीका लागि साउदी अरबबाट भरिएको झोला ल्याउँदा उनको घर भने रित्तिसकेको थियो । भिसाको अवधि सकिएकाले तीन वर्षपछि घर फिर्दै गरेको कुरा उनले टेलिफोनबाट श्रीमतीलाई सुनाएका थिए । दु:खजिलो गरेर विदेशमा कमाएको पैसा पनि आइएमईमार्फत पठाउने गरेका रहेछन् । ठुला दुई छोराछोरी दिनभरि विद्यालयमा, कान्छी छोरी काखमा, श्रीमान् विदेशमा । श्रीमतीलाई दिनभर यसै बस्न पट्यार लाग्यो होला भनेर श्रीमान–श्रीमतीबीच भिडियो च्याट गरेर भएपनि अनुहार हेर्न उनले महंगो मोवाइल पनि पठाइ दिएका रहेछन् । उनले नै फेसबुक आइडी खोल्ने र डाटाबाट इन्टरनेट चलाउन पनि सिकाएका रहेछन् ।

विदेश जाने क्रममा लागेको ऋण फछ्र्यौट भएको र छोराछोरीले अंग्रेजी स्कुलमा राम्रो शिक्षादिक्षा पाइरहेकोमा उनी ढुक्क थिए । खुशी हुँदै घर पसेका उनी एक साथ आश्चर्य र चिन्तामा परे । जब उनले घरमा रानी र साढे एक वर्षीया छोरी प्रमिलालाई देखेनन् । घर आउनु चार दिन अघि नै उनीहरू बेपत्ता थिए । उनले ससुराली, इष्टमित्र, आफन्त सबैतिर खोजे । केही पत्तो नलागेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७३ साउन ३० गते खोजतलासका लागि हुलिया जाहेरी दिए । जाहेरी अनुसार सोही दिनदेखि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गर्यो ।

अनुसन्धानकै क्रममा रानी र शिवशंकरलाई प्रहरीले काठमाडौम्बाट ०७३ असोज १२ गते फेला पार्यो । सूर्यनारायणले फोन गरेर घर फर्कदै गरेको जानकारी गराएकै भोलिपल्ट रानी उनका प्रेमी मलेकपुरका २९ वर्षीय शिवशंकर मालीसँग काठमाडौं भागेकिरहिछन् ।

मोबाइलमा खोलिएको फेसबुकबाट रानी नयाँ–नयाँ साथीसँग जोडिन पुगिछन् । फेसबुकमार्फत जोडिन आएका मालीसँग उनी बिस्तारै नजिकिएकिरहिछिन् । सामान्य चिनजान, भलाकुसारी बाक्लिँदै जाँदा उनीहरुबीच अन्तरंग कुराकानी भएछ । लामो समयसम्म श्रीमानसँग छुटिएकी रानीलाई मालीले एक दिन अचानक शारीरिक सुखभोगको प्रस्ताव राखेछन् । सुरुमा त उनलाई अप्ठ्यारो लागेछ । दोस्रो पटकको प्रस्तावमा दबिएर रहेको शारीरिक भोगको इच्छा जागृत भएछ । पटक–पटकको प्रस्तावपछि उनीहरू शारीरिक सम्बन्ध बनाउने मोडमा पुगेछन् । यस किसिमको कृत्य गोप्य रुपमा दोहोरीँदै गएपछि उनीहरुले नयाँ जीवन जिउने छुट्टै सपना देखेछन् ।

श्रीमान् घर आउने भएपछि प्रेमीसँगको सल्लाहमा दुवै जनाले घर छाडेका रहेछन् । साउदी अरबबाट घर फर्कदा न सम्पति हुन्छ, न श्रीमती । रगत, पसिना बगाएर कमाएको पैसा गुमाउँदा र विश्वास गरिएकी श्रीमतीको धोका पाउँदासम्म जसोतसो सहने हिम्मत जुटाइरहेका थिए । प्रहरीको केरकार पछि पक्राउ परेको दुई दिनमै उनीहरुले सरकारी वकिल र प्रहरीसामु दुधे बालिका प्रमिलाको हत्या गरेको स्वीकारे । यो कुरा सुनेर उनलाई उभिएको जमिन भासिन थालेको महसुस भयो । आफ्नी छोरीको सम्झनाले उनलाई बिक्षिप्त बनायो ।

माया र ममताकी खानी आमाबाट यस्तो हुने सक्ने उनले कल्पनै गरेका थिएनन् । प्रेमीको शर्त र दवावमा रानीले अपराधमाथि अपराध गर्दै गइन् । दुधे बालिकालाई अवरोध ठान्दै पन्छाइन् । पक्राउ परेका उनीहरू जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परे । बालिकाको हत्या गरी राजविराज–हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएपछि सप्तरी जिल्ला अदालतले ०७५ फागुन १५ गते दुवै आरोपितलाई जन्मकैद सजायको अन्तिम फैसला सुनायो । बालिकाको हत्यापछि शव दबाउने अभिप्रायले खोलामा बगाएकाले उनीहरुलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाले थप ६ महिना कैद थपे ।

रानी र उनका प्रेमी दुवै जेल परेपछि घरपरिवार चलाउन र जेठी छोरी आठ वर्षीया प्रतिभा र छोरा ६ वर्षीय प्रदिपको हेरचाहका लागि उनले गाउँकै अमेरिकादेवीसँग विवाह गरे । उनीहरुको नयाँ जीवनबाट सुन्दर छोरीले जन्म लिएकी छिन् । उनलाई पहिले गुमेकी छोरी अहिले फर्केझैं लागेको छ । केही वर्ष दु:ख गरेर कमाइ ल्याएको रुपैयाँले ऋण तिर्ने र पछि आफ्नै ठाउँमा व्यवसाय गर्ने उनले फेरि योजना बुने । दोस्रो विवाहपछि उनी यस्तै सपना बोकेर पुन: साउदी अरब हानिए ।

समाचारको खोजीमा नित्य झै म सबैरै ६ बजे निक्लिएको थिए । सूर्यको कलिलो किरण फैलिरहेको थियो । मौसम सफा थियो । विहानको साढे ६ बजेको समय हुँदो हो, मानिसहरुको चहलपहल बढदै गएको थियो । काठमाडौम्बाट आउने बसहरुका यात्री र उनीहरुलाई लिन जाने परिवारका सदस्यहरुले बस पार्क भरिँदै गएको थियो । त्यत्तिकैमा तिब्र गतिका साथ आएको आयुष बस घ्याच्च पार्दै चिया पसल अगाडि रोकियो । म सोही पसलमा चियाको अर्डर गरेर प्रतिक्षा गरिरहेको थिए ।

साढे एक वर्ष पछि साउदी अरबबाट फर्किएका उनलाई मैले बसबाट ओर्लिरहेको देखेँ । उनको अनुहारमा उमंगको साटो सन्त्रासका रेखाहरू भेटेँ । शायद उनी पुरानै घटना सम्झिएर भयभीत भएका होलान् । म भने उनलाई नै नयाँ समाचार बनाउने तयारीमा जुटेँ ।

– मनोहरकुमार पोखरेल
राजविराज–६, सप्तरी
अध्यक्ष, सगरमाथा साहित्य परिषद्
सदस्य, प्रगतिशील लेखक संघ
मोवाइल नम्बर :–९८५२८२१०२१