सम्बन्धमा बाँच्न सकिदैन

कमला बुढाथोकी सरुप  

0 0


नेपालदृष्टि । “हाम्रो मित्रता कहिल्यै छुट्ने छैन । तिम्रो पहिलो वाक्य मेरो जीवनको मत्वपूर्ण घटना भएको थियो । घटना यस अर्थमा, मेरो भावना र मेरो जीवनयात्रामा यसरी सौहार्द कसैले पनि पोखेका थिएनन् । वास्तवमा एकलासको जीवन बितिरहेको म वाक्क भएको बेला तिम्रा दुई शब्दले म कति प्रफुल्लित भएकी थिएँ । कति रात तिमीलाई सोच्तासोच्तै बिहान हुन्थ्यो । म कल्पना पनि गर्न सक्तिन ।
“हामी भेटेर कुरा गरौं न, जुनदिन तिम्रो फुर्सद हुन्छ त्यो दिन मलाई खबर गर ल !” अकस्मात सडकमा भेटिएको बेला तिमीले मेरो हात समात्तै आग्रह गयौ । “तिमीलाई भेट्न म कसरी दौडिएकी थिएँ र त्यो दिन हामी बाह्र बजे मात्रै भेट्ने समय मिलाएका थियौ, मैले यो कुरा पनि बिर्सेकी थिएँ ।”

सडक सुनसान थियो – मनजस्तै । सुनसान फाट्टफुट्ट मात्रै मान्छे देखिन्थे । जाडोको महिना, मैले स्वेटर लाउन पनि बिर्सिएकी थिएँ र साधारण चप्पल लगाएर दौडिरहँदा मेरो खुट्टा भित्तामा ठोक्किएर रगत बहेको पनि मैले पत्तो पाइन । तिमी आफै सोच–मैले तिमी बाहेक अर्को विकल्प सोचिन । जसरी बिहानीको विकल्प हुन सक्छ या मित्रताको विकल्प हुन सक्छ ।

“किन, रातभर सुतिनौ ? कपाल पनि कोरेको रहेनछ ।”

तिमीले नै मलाई सम्झायौ । मैले कपाल कोर्न पनि बिर्सिएँछु । मात्र मेरो वर्तमानभरि तिमी थियौ, तिमीले मेरो हात समातेर भोलि भेटेर लामो कुरा गर्ने भनेका यी शब्दहरू नै मेरो बेहोसीपनका कारण बनिदिए । म अहिले सम्झिरहेकी छु – कसरी तिमीले मेरो हात समातेर छेउको दोकानबाट औषधी र पट्टी ल्याएर मेरो रगत बहिरहेको खुट्टामा लगाइदियौ, औषधी खान दियौ र हामी दिनभरि कुरा गरिरह्यौ । चिया मात्रै खाएर दिनभरि कुरा गर्दा पनि सम्झिरहेकी छु । म तिमीलाई छोडेर जान चाहिरहेकी थिइन । तर तिमीलाई आफ्नो घर जानु थियो । हामी कति लामो समयसम्म चुपचाप एकअर्कालाई हेरेर रोइरह्यौ ।

“बुझ्यौ, म तिमीसँग बिहे गर्दिन, म अरु नै कसैलाई प्रेम गर्छु । तिमीले मलाई धन्यवाद दिनुपर्छ, कारण मेरो प्रेम हुँदाहुँदै पनि मैले तिमीलाई समय दिएँ । तिमीले मबाट कहिल्यै त्यो प्रेम पाउन सक्तिनौ जुन प्रेमको तिमी आशा गछर्यौ ।”

तिमी बोलिरहेका छौ र म चुपचाप तिमीलाई हेरिरहेकी छु या तिम्रो कुरा सुनिरहेकी छु । के ती भेटहरु, ती साझहरू र हामीले साटेका दुःखसुखहरू सबै भ्रममात्रै थिए त ? के सधैं मलाई दयामा मात्रै गरेका थियौ या चाहेर नै मलाई भेटेका थियौ या मित्रता राखेका थियौ ? एक शब्दले तिमीले मलाई कति दुःखी बनायौ र तिमीले एउटै कुरा बिर्सिएका थियौ–आफूलाई प्रेम गर्ने, प्रेमको लागि रुने र निस्वार्थ प्रेम गर्ने साथी तिमी गुमाउदै छौ ।

त्यसपछि तिम्रो व्यवहारमा परिवर्तन आयो । ओहो छोटो नै भेट सही तर सजिलै यसरी सम्बन्धलाई तोड्न सकिन्छ भन्ने मलाई कहिल्यै लागेको थिएन या तिमी यसरी विनाकारण अचानक परिवर्तन हुन्छौ भन्ने मैले कहिल्यै सोचिन । तिमीसँगको सम्बन्धको अन्त्य हुनु आवश्यक छ । हाम्रो सम्बन्धले त्यो गरिमालाई छुन सक्यो किसकेन थाहा छैन, तर सम्बन्धले एउटा त्यस्तो मोड लिन सकेन जुन मोडको कल्पना हाम्रो मित्रताको सुरुआतमा मैले गरेकी थिए । अर्थात संवेदशील मित्रताको कल्पना ।

हतारहतार मैले सम्बन्धलाई किन अगाडि बढाउने कोसिस गरे, त्यो मलाई थाहा छैन, तर वास्तवमा मैले खोजेको र चाहेको मित्र तिमी हुन सकेनौ । नचाहेरै हाम्रो मित्रता बढ्यो, भावुकता बढ्यो, र म यतिखेर एक्लै बस्न मन पराइरहेकी छु । मित्रता सधैं स्वार्थको कारणहरुले बाचिरहन्छ । तिमी एउटै सत्य किन स्वीकार्दिनौ । जीवनमा यसरी पीडाले र आसक्तिले कहिलेसम्म बाँच्न सकिन्छ । तिमीले बाँच्न सिक्नुपर्छ । तिम्रो कुरा म अफिसमा बसेर सुनिरहेकी छु । मानवीय सम्बन्ध भनेको माथिको कुरा हो । ऊ बोल्दैछे र म सुन्दैछु ।

म यतिखेर एक्लै झ्यालबाट बाहिरको दृश्य हेरिरहेकी छु – बाहिर अँध्यारो छ, मेरो मन जस्तै अँध्यारो, साँच्चै जीवन किन अँध्यारोजस्तै एकान्त र शून्यताबीच परिवर्तन भैरहन्छ ? जीवनलाई अँध्यारोमा अनुवाद गर्न पनि सकिदैन, कारण बाँच्नुको अन्तस्करण भनेको हरेक समयसँगको सम्झौता हो, तर हामी आफूलाई कसरी र कुन हदसम्म सम्झौता गर्न सक्छौ ? सत्य कहिल्यै पनि परिवर्तन हुदैन । एकताका मेरो एक अत्यन्तै निकटको मित्रले भनेको सम्झना अहिले पनि ताजै छ तर सत्यलाई र जीवनलाई मैले धेरैचोटी परिवर्तन भएको देखेकी छु ।

कति भावुक रात छ, मन भावक भएर पनि होला रात अँझ भावुक र संवेदिनशील भएको अनुभव भैरहेछ । अँध्यारोमा यसरी मन भावुक हुनु हुदैन, तर यो पनि त्यति ठूलो घटना हुन सक्तैन । त्यसैले पनि भावनाहरू एक्लै बाडिरहेकी छु । म चुप चाप तिमीसँग मेरो सम्बन्धलाई राखेर रमाउन सक्दिन । आफूले नचाहेको मित्रताले म कति धेरै दुःखी भएकी छु म बताउन पनि सक्तिन । मेरो कामना छ– त्यो जीवनभर हाम्रो भेट सधैं असम्भव हुनुपर्छ र हाम्रो सम्बन्धले अर्को नयाँ मोड लिनु हुदैन ।

“सम्बन्धलाई आदर्श बनाउने कुरा सम्बन्ध राख्ने मानिसहरुको विचारसँग सम्बन्धित रहन्छ,” खाना खादै आमाले भन्नुभयो ।

“जीवनले विचारलाई गहिरोसँग प्रभावित गर्ने गर्छ– जसरी मृत्यु सत्य छ या विचारहरू मृत्युभन्दा माथि उठ्न सक्छन् । त्यो अवस्थाको सिर्जनाले एउटा जीवनको परिकल्पना गर्न सकिन्छ जहा हाम्रो आदर्श रहन सक्छ र यो संसारको दुःखबाट छुटकारा मिल्न सक्छ,” मेरो छेउमा बसेकी दिदीले आमाको कुरामा थप्तै भन्नुभयो ।

“दुःख त हामी सबैलाई छ,” आमा मलाई एकोहोरो हेर्दै बोलिरहनुभएको छ । “तिमी आफ्नो साथीसङ्गको सम्बन्धले दुःखी छयौ भने सम्बँधको अन्त्य गर्नु नै राम्रो होला । यो मेरो सानो सुझाव मात्रै हो” ।

म सुनिरहेकी छु र आमा बोलिरहनुभएको छ । म जीवनभन्दा धेरै र एकदमै धेरै गम्भीर भएछु, हाम्रो सम्बन्धमा । मलाई लग्यो तिमीले मेरो प्रेमसमर्पणलाई अपशब्दहरुमा परिभाषित गरेका छौ । मैले त्यसपछि सोच्न बाध्य भए– हाम्रो मित्रताको यहा कुनै मूल्य छैन या तिमीले मलाई बुझ्न सक्ने छैनौ ।

अहिले म व्यस्तता पन्छाएर फुर्सद खोज्दै तिमीलाई सम्झिरहेकी छु । एउटा कठोर मित्रलाई यसरी लगातर माया गर्नुको पीडा बोकेर म किन फुर्सद खोजिरहेछु या तिमीलाई सम्झिरहेकी छु मसँग जबाफ छैन र अनुत्तरित हुनु पनि प्रेमको पराजय हुन सक्तैन मलाई थाहा छ ।

म यतिखेर छतमा छु । मध्यरातमा यसरी घरका सबै मान्छे निदाइसकेपछि एक्लै छतमा बस्नु स्वीकार्य हुदैन । कम्तीमा मेरो घरमा केही यो थाहा पाएर पनि सुनसान रातमा बसेर तिमीलाई सम्झनका लागि म छतमा छु । कल्पना गरिरहेकी छु । रातको दुई बजिसकेको छ । कल्पना गरिरहेकी छु । हार्नको यो पराकाष्ठाले मेरो प्रेम यो रातजस्तै गहिरिएर गएको छ । मात्र फरक छ प्रेममा । रातजस्तै मेरो आ”सुको या मेरो समर्पणको कुनै अर्थ तिमीले देख्ने छैनौ, कारण रातमा केही पनि देखिदैन र मान्छेलाई रातमा ब्युझिने र सम्झने फुर्सद पनि हुदैन ।

ओहो, त्यो दिन म सडकमा कसरी दौडिए, तिमीले कसरी औषधी लगाइदियौ र मेरो नकोरिएको कपाल आफ्नै हातले कसरी मिलाइदियौ – म कल्पना मात्रै या अतीतमा रमाउने कोसिस मात्रै गर्न सक्छु यति बेला । अतित सधैं कल्पना गर्नका लागि हुन्छ र अतीतमा रमाउने कोसिस मात्रै गर्न सक्छु यति बेला ।

अतित सधैं कल्पना गर्नका लागि हुन्छ र अतीतमा कल्पनामा तिमी मेरो छौ, मात्र मेरो । तिमी व्यस्त छौ, म पनि व्यस्त छु । व्यस्तताहरू भित्र हामीसँग अलिकति पनि समय छैन या समय हामीबीच उब्रिन सक्तैन । सायद तिमी मभन्दा धेरै नै व्यस्त हुनुपर्छ, तिम्रो प्रेमिकाका लागि पनि तिमी अलिकति फुर्सद निकालेर मलाई भेट्न सक्तैनौ । सोच्छु, सायद तिमी हरेक दिन यसरी नै आफ्नी प्रेमिकालाई भेट्ने गर्छौ ।

“हुन त मानवीय सम्बन्ध धेरै फरक हुन्छ । सम्बन्धलाई कसरी जोगाउनुपर्छ भन्ने पनि महत्वपूर्ण कुरा हो–जीवनको लागि । महत्वपूर्ण यस कारण पनि मान्नुपर्छ, कारण हामी कोही पनि एक्लै बाँच्ने कल्पनासम्म पनि गर्न सक्तैनौ । तिमी आफै भन, सम्बन्धको अन्त्य गर्न ठिक होला कि नहोला ? म चाहन्छु– तिमीबाट धेरै टाढा जाऊ, मात्र टाढा जान मन छ । त्योभन्दा धेरै म केही नयाँ कुरा चाहिरहेको छैन,” रेष्टुरामा पस्दै मैले भने ।

त्यतिखेर तिमी गम्भीर थियौ र म टाढा जाने कुरा तिमीलाई मन परिरहेको थिएन । साथीको रुपमा हामी सम्बन्धलाई बचाइरहनौ सक्छौ, बिर्सने कुरा कहाबाट आयो ? तिमीले सोधेको प्रश्नको जवाफ मैले दिनुपर्छ, त्यसैले भने”–सम्बन्धमा यति धेरै तनाव कसरी आयो ? कम्तीमा तिम्रो मप्रति सकरात्मक व्यवहार चाहन्छु । संसारमा हाम्रो जीवनको मूल्यलाई हाम्रो सम्बन्धको गरिमाले जोगाउनुपर्छ । आखिर बाँच्नुको उद्देश्यलाई गरिमापूर्ण हामीले बनाउन सक्छौ । एउटा कुरा तिमीले स्वीकार्नैपर्छ, असल साथी, त्यसमाथि माया गर्ने साथी पाउनु पनि जीवनको महत्त्वपूर्ण उपलब्धि हो । हामीले मान्नुपर्छ हाम्रो मानवताका लागि हामीले वर्तमानलाई कसरी स्वीकार्य बनाएका छौ । मेरो लामो गन्थन तिमीले बुझेनौ फिस्स हाँसेको अहिले जस्तो लाग्छ ।

“जे भएनि म तिमीलाई सायद माया गर्दिन होला ।। फेरि कुरालाई मोड्दै तिमीले भन्यो । एउटै कुरा बारम्बर तिमीले किन भनिरहेका छौ त्यो मैले बुझेन सकिन । तिमी माया गर्दैनौ र म जबरर्जस्ती मायाको पक्षमा पनि छैन” ।

लोग्नेमान्छे र स्वास्नीमान्छेको सम्बन्ध एउटै मात्र भनौ बिहेका लागि मात्रै हुदैन । अरु सम्बन्धहरुको विकास पनि हामीले गर्न सक्छौ । तिमी बोल्दै गयौ, म सुन्दै गए । म कम्तीमा यति बेलासम्म पति तिम्रो कुरा सुनिरहेकी छु । तिमीलाई मैले यस अर्थमा पनि या भनौ जीवनका यी पटयारलाग्दा क्षणहरुसँग सम्झौता गर्दागर्दा थाकेका वर्तमानहरू सुनाउन प्रेम गरेकी थिइन ।या म सम्बन्ध या समयको यो क्षण खुसी हुन चाहन्छु जुन अपरिवर्तनीय हुनुपर्छ । मलाई थाहा छ यो अपरिवर्तनीय हुनुपर्छ । मलाई थाहा छ यो अपरिवर्तनीय प्रेमका खातिर हामी कसरी अलग र एकदमै अलग सम्बन्धको कुरा गरिराखेका छौ । तिमी मेरो आदर्शका लागि या मलाई प्रेरणा दिन सक्छौ । जहिले पनि एउटै कुरा नगर । मेरो अनुरोधलाई तिमीले त्यति गम्भीरताका साथ लिएनौ । मैले सोचेकी थिए तिमी गम्भीर छौ । एउटा गम्भीर मान्छेले अरुको अनुरोधलाई पनि स्वीकार्नपर्छ । मेरो कुरा नसकिदै कफी आइपुग्यो र तिम्रो ध्यान कफीतिर गयो ।

“म बिरामी छु, तिम्रो गम्भीर कुरा केही पनि बुझ्दिन । कफी पिऔं,” तिमीले भन्यौ र बहानाहरुबीच मेरो अनुरोधलाई त्यति महत्व दिएनौ ।

“ठीकै छ अहिलेसम्म हामीबीच के भएको छ र तिमी चाहदैनौ भने म पनि तिमीसँग कहिल्यै भेट्ने छैन,” मेरो स्वरमा कम्पन थियो र हात कापिरहेका थिए । “ओहो तिमीबाट अलग हुनु यो जीवनमा सम्भव होलाजस्तो मलाई लागेको छैन । मैले चाहेर पनि मेरो मनले तिमीबाट अलग हुन सक्तिन ।”

मनमा तिम्रो स्थान यसरी गाडिएको छ कि त्यो स्थान अरु मानिसका लागि मात्रै हो । तिमीबाहेक यो स्थान अरुलाई दिनु म आफैले आफूलाई अँझ बढी पीडा दिनुजति नै हुन्छ ।

“सम्बन्धको अन्त्य हुनुपर्छ या अन्त्य गर्नकै लागि मैले थुप्रै चोटी गरेका निर्णयहरुमा मैले फगत अस्वाभाविक ढङ्गले आफूलाई एक्लो पाएकी छु । घरमा बिहेका कुरा चलिरहेको छ, तर लाग्छ म जो मानिससँग बिहे गर्छु उसलाई इमानदारिताका साथ माया गर्न सक्छु कि सक्तिन । मलाई थाहा छैन, बरु बिहे नगरीकन बस्छु,” मैले कफीको अन्तिम घुट्को लिदै भने ।

तिमीले जबाफ दिएनौ र सम्बन्धले पीडा दिए पनि मैले तिमीबाट भाग्ने असफल प्रयासमा समय खेर फालिरहे । यसरी उठ्ने तरखरमा लाग्यौ ।

“तिमी केही छिनकै लागि भए पनि मसँग समय बिताउन सक्तैनौ ? हेर, तिमीलाई यसरी आफ्नो जीवनभन्दा धेरै माया सायद कसैले गर्ने छैन । मलाई बुझ्ने कोसिस गर । म तिमीसँग जुनसुकै सम्बन्धको विकास गर्न तयार छु । मात्र तिमीसँग जुनसुकै सम्बन्धको विकास गर्न इच्छुक छु ।”

यतिखेर रात पर्न लागिसकेको छ र तिमी उठिसकेका छौ । “म गएँ,” भन्दै तिमी गयौ ।

म अवाक उभिएर तिमी गएको हेरिरहें । त्यो दिन तिमीले कसरी मलाई घरसम्म पुराएका थियौ र बारम्बार नबिर्सने, बारम्बर भेट्ने कुरा दोहोरयाइरहेका थियौ, तर आज के भयो ? मलाई एक्लै छोडेर गयौ, हुन सक्छ भोलि हाम्रो भेट कहिल्यै नहोला, तर अवश्य जीवनमा केही वर्षहरू बितेपछि मेरो महत्त्वलाई बुझ्नेछौ, अवश्य बुझनेछौ वास्तवमा समर्पणको अर्थ के हुन्छ ?

“बहिनी, कफीको पैसा तिरेर तपाई जानोस् बाहिर अँध्यारो भैसक्यौ । फेरि घर पुग्न बस नपाइएला,” रेष्टुराको मानिसले भन्यो ।

म झस्किएँ र पैसा तिरेर अँध्यारोमा बाहिरिएँ । बाहिर अँध्यारो बढिरहेको छ र म एक्लै अँध्यारोमा हिंडिरहेकी छु ।