उनी कसरी टिकटकमा लोकप्रिय भईन ?

0 0


नेपालदृष्टि । विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन् । पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन्।

“भिडिओ हेरेर कसैको मेरो हिम्मत बढेको छ भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ।” उनी भन्छिन् ।

२०७२ साल पुस २४ गते उनलाई करेन्ट लाग्यो। त्यही एउटा झट्काले उनले आफ्ना दुवै हात गुमाउँनु पर्यो । हातसँगै १० महिनाअघिको विवाह पनि टुट्यो। श्रीमान् टाढिए। अनि टुङ्गियो वर्षौ लामो प्रेम ।  उनी खान र लाउन अरुको भर परिन्। आँशु पुछ्नसमेत अरुलाई गुहार्नु पर्दा उनलाई लाग्यो, हातसँगै भाग्य पनि गुम्यो।

ऐना हेर्थिन्। शरीर पूर्ण नहुँदा जीवन नै अपूरो देख्थिन्। धेरै पटक आफैलाई प्रश्न गरिन् – अब बाँच्नुको औचित्य के ? घाउभन्दा बढी मन पोल्थ्यो। निद्रै नपर्ने रातहरूमा पनि सपनाजस्तै बनिसकेको थियो जिन्दगी।
उनी आमाबुबा, भाइमा निर्भर हुन पुगिन ।

हात नहुनु केही गर्न नसक्नु हो। तर पनि यो कुरा उनले स्वीकारिनन  र बिस्तारै खुट्टाका औंलाहरूको साहराले कामहरु सिक्दै गईन। खाना नपोखी मुखसम्म पुर्‍याउन सक्ने भइन्। खुट्टाले नै कवितादेखि कपालसम्म कोर्न थालिन्।

उनको त्यो सुन्दर जीवनलाई पुन कसी लगाउँन थालिन । साच्चै जीवन कति सुन्दर रहेछ । आँट्ने हो भने गर्न नसकिने के रहेछ ? उनले निराशा त्यागिन र लागिन टिकटकको रमाईलो दुनियाँ तिर  । उनलाई अहिले धेरैले चिन्दछन । उनले बनाएका टिकटकवाट धेरैले आत्मविश्वास र आत्मवल लिन्छन । उनी अहिले एउटा प्रेरणाको श्रोत पनि भएकी छिन । 

उनलाई जान्नको लागि हेरौ उनकै टिकटक भिडियो ।