व्यापारिक प्रतिस्पर्धा

होम सुवेदी 

0 0


नेपालदृष्टि । सारै दुःख भो पतिको निधनपछि हरिमायालाई । भएकी एक भर्खर आठ पुगरे नौमा हिँड्दै छे । छोरी सानै भएकोले हुर्काउन पढाउन अझ समस्या । तै सानोसानो घर भने थियो । यसैले डेराभाडा परेन । सानो नाङ्ले व्यापार थालिन् र एक दुई रुपियाँ कमाइ गरेर खाइनखाई जीवन धान्न थालिन् ।

हरिमायाले चिनेको मान्छे भएकोले एक दूध डेरीका मान्छेले घरबाटै दूध बेच्ने बन्दोबस्त गरिदिए । अलिक केही राम्रो हुन ता खोज्यो तर प्रतिश्पर्धा हुन सकेन सिधै पारिपट्टि अर्की साहूनीले उही व्यापार थालिन् । ग्राहक बढी उतै गए दूध व्यापारले मात्र भएन । अनि हरिमायाले चिया पकाएर चिया व्यापार पनि थालिन् । साथै दूध तताएर दूध र जमाएर दही आदिको कारोबार पनि आफैं थालिन् । बाना नमिले पनि फलफूल पनि राख्न थालिन् । अलिक चल्यो । दुःखसुख एक छाक टर्दै पनि गयो । छोरी पनि अलिक हुर्किँदै गई । पहिले भन्दा केही राम्रो पनि भो । दसबार वर्षकी भएकोले छोरीले पनि अलिक सघाउन थाली ।

फेरि सडक पारिपट्टिकीले आफ्ना छोरीहरु राखेर उही हरिमायकै व्यापार थालिन् । ग्राहक फेरि उतै जान थाले । हरिमायाको व्यापार फेरि पनि सुक्न थाल्यो ।

फेरि सडक पारिपट्टिकीले आफ्ना छोरीहरु राखेर उही हरिमायकै व्यापार थालिन् । ग्राहक फेरि उतै जान थाले । हरिमायाको व्यापार फेरि पनि सुक्न थाल्यो ।

एक दिन एक हितैषी ग्राहकले सुझाव दिँदै हरिमायालाई भने-

“अब दूध र फलफूलको व्यापार गरेर पनि हुन्छ र ?”

“अनि के गर्नु त ? यसैमा छ अलेलि अनुभव !”

“मेरोमा बुढीले रक्सी पार्छे, त्यही म ल्याइदिन्छु । थाल्नुपर्छ रक्सी व्यापार । अनि हेर्नू कसो हुँदो रहेछ !”

“यसमा मेरो अनुभव छैन दाजु । फेरि दोकान पनि गतिलो छैन । हरिमायाले भनिन् ।”

“चाहिन्न अनुभव सनुभव । दोकान किन चाहियो गतिलो । रक्स्याहालाई चिसो भैंमा बोरा ओछ्याइदिए पुगिहाल्छ नि .”

अलिक सोझी र सरल हरिमायाले भोलिपल्टदेखि फलफूल दूध दही रक्सी एकै दोकानबाट गर्न थालिन् ।

एउटा गाहकले मर्ममा नै लाग्ने गरी भन्यो— “अइला छोइला चाहियो । सितन नभएपछि के स्याउसँग रक्सी खाने । केरासँग रक्सी खाने <" यसो भनेपछि उनले सस्तो कुखुराको मासु पनि ल्याएर गाहाकीको सेवामा जुटिन् । बिस्तारै गाहकहरु देखिन थाले । पैसा जति लिए पनि हुने रहेछ । कति भो कसरी के भोको कुरै रहेनछ । व्यापार ता यो पो रहेछ भनेर केही दिनदेखि दूध र फलफूलको काम छाडेर ठर्रा व्यापारमा उनी लागिन् । गाहकको निकै घुइँचो लाग्न थाल्यो । साँझ साँझ पर्न थालेपछि अझ गाहाकी झुम्मिन थाले । पारिपट्टिकी साहुनीले यो पनि थाहा पाइन् र उता पनि यही बन्दोबस्त भो । यताका गाहक क्रमशः उता जान थाले । एउटा गाहकले भन्दै गरेको कुरा हरिमायाको कानमा पर्यो । भन्दै थियो— "उता पारितिर च्वाँक पनि छन् अब यता के हेरेर बसिरहनु । भएकी यसकी छोरी सानै छे । भो उतै जाऊँ ।" एकछिन पछि ती गाहक पनि बाङ्गो ढाड लगाउँदै पारितिरै लागे । अहिले हरिमायाको दोकान क्रमशः सुक्तै गएको छ । यो व्यापारिक प्रतिस्पर्धाको युगमा अब केको बेपार गर्ने हुन् बिचराले । कुनै भेउ नै पाएकी छैनन् । समाप्त