आन्तरिक धार्मिक पर्यटनको लागि जोड

हरि ढुंगाना

2 0


नेपालदृष्टिपूर्वी मोरङको रतुवामाई नगरपालिका यस्तो नगरपालिका हो, जहाँ विभिन्न धार्मिक महत्व झल्काउने मठ मन्दिर, पोखरी र सिमसारहरू रहेका छन् । जसमध्ये रतुवामाई–९ धाद्रामा अवस्थित सुनमहारानी मन्दिर र यहाँ रहेको सिमसार क्षेत्र पनि एक हो । यस क्षेत्रलाई रतुवामाई नगरपालिकाको सहयोग र स्थानीय समाजसेवीहरूको पहलमा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गरिदै लगिएको छ ।

विराटनगरबाट हाटखोला आमबारी सडक भएर सौठा दाम्राभिट्टा हुँदै इटहरा बजारबाट पश्चिमको बाटो लागेपछि पुगिन्छ शान्त वातावरणमा रहेको सुनमहारानी देवीको मन्दिर र यहाँ रहेको सिमसार पोखरी । यसरी यो ठाउँ पुग्न विराटनगरबाट ४८ किलोमिटर र उर्लाबारीबाट दक्षिण १७ किलोमिटर दुरी पार गर्नु पर्दछ ।

यहाँ रहेका सुनमहारानी मन्दिर र नाग मन्दिर निकै सुन्दर दृश्यले वातावरणलाई निकै रमाइलो बनाएको छ । त्यतिमात्र होइन मन्दिरको दक्षिण भागमा फैलिएको अर्धचन्द्र आकारको सिमसार पोखरीको सुन्दरताले यहाँ आउने जोसुकैलाई आनन्दको अनुभूति दिलाउँछ ।

यस सुनमहारानी देवीको उत्पत्तिको सम्बन्धमा आजभन्दा १ हजार ९ सय वर्ष अगाडि देवीको रूपमा उत्पत्ति भएकी हुन् । यिनलाई ताप्लेजुङकी पाथिभरादेवीकी साँइली बहिनीको रूपमा मानि ल्याएको छ । यहाँ पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने र परिवारमा सुख शान्ति आउने विश्वास गरिन्छ ।

यस सुनमहारानी मन्दिरमा प्रतिदिन सामान्य पूजा गरिने भएता पनि औसी, पूर्णिमा, उधौली, उभौली नयाँ वर्ष, रामनवमी, सिरूवा र सन्सारी पूजामा विशेष रूपमा पूजा गरिने समाजसेवी तथा सुनमहारानी सम्बन्धी जानकार जयप्रसाद बास्तोलाले बताए ।

यो सुनमहारानी मन्दिरलाई उदार हृदय भएका दिदीबहिनी कोपिला चोङमाङ र पार्वती चोङमाङले ५ लाखको लागतमा निर्माण गरिदिएको हो । मन्दिर परिसरको दश धुर जमिन भने समाजसेवी नितिराम कट्टेलले निःशुल्क उपलब्ध गराएका हुन् ।

त्यस्तै यहाँको नाग मन्दिरको निर्माण भने मन्दिर क्षेत्र तथा सिमसार विकास संरक्षण समितिका अध्यक्ष दर्शन लिम्बूले गरिदिएका हुन् । यसरी यो ठाउँमा दानी तथा धर्मप्रेमी महानुभावहरूले मठ मन्दिर निर्माण गरेबाट देवीको शक्तिको पहिचान गर्न सकिन्छ । यस मन्दिरमा सबै जातजातिले पूजा आराधाना गर्ने भएकाले सुनमहारानी देवीको महत्व समाजमा ठूलो रहेको देखिन्छ ।

यहाँको अर्काे महत्वपूर्ण कुरा अर्धचन्द्रमा आकार रहेको सिमसार पोखरी हो । यसलाई प्रकृतिले आफैं बनाएको देखिन्छ । यो पोखरी दक्षिणबाट उत्तरपूर्वमा अर्धचन्द्रमा आकार भई एक विघा पा“च कठ्ठामा फैलिएको छ । यसको वरिपरि तारजालीले घेरेर संरक्षण गरिएको छ ।

पोखरीमा वर्षभरि पानी जम्ने भएकाले विभिन्न झार तथा माछा, कछुवा, भ्यागुता सर्प जस्ता जीवजन्तु रहेका छन् । पोखरी वरिपरि विभिन्न प्रकारका बोट विरूवा भएकाले चराचुरूङ्गीको बासस्थान पनि रहेको छ । त्यसैले यहाँका जीवजन्तु तथा चराचुरूङ्गीको संरक्षण गर्ने उद्देश्यले संरक्षण समितिले ठाउँ ठाउँमा सूचना टाँस गरेको छ । सूचनामा भनिएको छ ‘सुनमहारानी क्षेत्रभित्र रहेका चराचुरूङ्गी, माछा, कछुवा, सर्प, भ्यागुता आदि मार्न र फोहोरा मैला गर्न निषेध गरिएको छ ।’

यसरी यहाँका जीवजन्तुको संरक्षणका साथै सफाई र भौतिक निर्माणमा जोड दिई आगन्तुहरूलाई आकर्षण गरी धार्मिक पर्यटकीय स्थान बनाउने संरक्षण समितिका सदस्य पदम चुङमाङले बताए ।
यस सुनमहारानी मन्दिर क्षेत्र तथा सिमसार पोखरीको विकासको लागि गत वर्ष रतुवामाई नगरपालिकाले दश लाख बजेट छुट्याइ ग्राभेल सडक, पोखरीको वरिपरि घेराबेरा र भोग दिने देवीको थाम बनाइएको छ । साथै गत वर्ष वडा कार्यालयको बजेटबाट मन्दिरसम्म विद्युत लाइनको समेत विस्तार गरिएको छ ।

यस वर्ष पनि नगरपालिकाले पाँच लाख बजेट छुट्याएको छ । यस बजेटबाट पोखरीभित्रको सरसफाई, पोखरी वरिपरि हिडेर घुम्न सक्ने पुलका साथै सुन्दरता थप्ने कार्यमा बजेट खर्च गरिने रतुवामाई–९ का वडा अध्यक्ष इन्द्र चोङमाङले जानकारी दिए ।

मन्दिरको रंग रोकन गरिदै।

यस सुनमहारानी मन्दिर क्षेत्र तथा सिमसार विकास संरक्षणको लागि संघीय सरकार र प्रदेश सरकारलाई सहयोगका लागि लिखित रूपमा आग्रह गरिसकेको तर अहिलेसम्म कुनै आर्थिक सहयोग प्राप्त नभएको रतुवामाई नगरप्रमुख रविन राईले बताए । नगरपालिकाको मात्र थोरै आर्थिक सहयोगले लक्ष्य अनुरूप काम गर्न नसकिने प्रमुख राईको भनाई छ ।

आफू सानैदेखि बुबाआमासँग सुनमहारानी देवीको पूजा गर्दै आएकाले देवीप्रति पूर्ण विश्वास रहेको छ । त्यसैले यस क्षेत्रको विकासको लागि आफूले सकेको सहयोग गर्न तयार रहेको औषधि व्यवसायी तथा समाजसेवी चैलेन्द्र बास्तोलाको भनाई छ । त्यस्तै सुनमहारानी क्षेत्रलाई समुचित विकास गर्न सके हिन्दु संस्कृतिको संरक्षण हुनुको साथै धार्मिक पर्यटकीय दृष्टिले पनि केन्द्रविन्दु बन्न सक्ने सामाजिक अभियन्ता चन्द्रप्रसाद घिमिरेको दावी छ ।

यसरी यो सुनमहारानी क्षेत्रलाई हेर्दा नजिकै बक्राहा नदीको स्वच्छ कलकल बगेको पानीको सुन्दर दृश्य बोटविरूवाको हरियाली शान्त वातावरण, फराकिलो उत्तर दक्षिणको जीपी मार्गले पूर्व पश्चिम इटहरा बजार जाने ग्राभेल बाटोले सबै आन्तुकका लागि अविस्मरणीय क्षण बनाउने छ ।

यहाँको प्राकृतिकमय वातावरणमा केही क्षण भए पनि रमाउन पाउँदा यहाँ आउने प्रत्येक आगन्तुकले आनन्द प्राप्त गरी मनलाई प्रफुल्लित बनाउँछ । त्यसैले यो ठाउँ जुनसुकै मानिसका लागि उचित गन्तव्य स्थान बन्न सक्दछ ।

यो क्षेत्रलाई रतुवामाई नगरपालिकाले पर्यटन पूर्वाधार निर्माण अन्तर्गत सुनमहारानी सिमसार क्षेत्रको जैविक विविधताको संरक्षण गर्दै पर्यटकीय स्थान बनाउने लक्ष्य लिएर काम गरिरहेको छ । यद्यपि नगरपालिका मात्रैले यो कार्य सम्भव देखिदैन । त्यसैले सरकारले पनि उचित रूपमा सहयोग गरी यो ठाउँको प्रचार प्रसार गर्न सके पक्कै पनि सुनमहारानी क्षेत्र धार्मिक पर्यटकीय स्थान बन्न सक्ने विश्वास गर्न सकिन्छ ।