चालु बैठकमा अल्पमतमा पर्‍यो ओली समूह 

२०७६ माघ १८, शनिबार

1 0


१८ माघ,नेपालदृष्टि । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक राजधानीमा चलिरहेको छ । चालु बैठकमा केन्द्रीय कमिटीको नयाँ समीकरण हेर्दा अब पार्टीभित्र पुष्पकमल दाहाल प्रचण्ड समूह, केपी ओली समूह र माधव नेपाल समूह गरी तीनवटा बलिया गुटहरु संस्थागत बनेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रचण्ड–माधव समूहवीच अघोषित कार्यगत एकता भएपछि ओली समूह ३२ प्रतिशतमा खुम्चिएर अल्पमतमा परेको देखिएको छ ।

माधव र प्रचण्ड समूहवीच निकटता बढेका कारण केन्द्रीय कमिटीमा यी दुई समूहले प्रचण्ड बहुमत बनाएको हो ।  । संख्याको हिसाबले प्रचण्ड समूह सबैभन्दा ठूलो देखिएको छ । ओली समूह दोस्रो र माधव नेपाल समूह तेस्रो स्थानमा देखिएका छन् 
     

 

चालु बैठकले पूर्वमाओवादी र पूर्वएमाले नामका दुई मुख्य गुटहरुलाई तीन कित्तामा बाँडेर ‘सिमेन्टेड’ गरिदिएको छ । नेकपाभित्र अब पूर्वमाओवादी र पूर्वएमाल समूह भन्ने रहेनन् ।

नेकपा केन्द्रीय कमिटी बैठकमा भाग लिन हेटौंडाबाट काठमाडौं आएका नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशले काम गर्नका लागि प्रदेशलाई प्रशस्त अधिकार क्षेत्र देखेको र भारतमा भन्दा नेपालमा प्रदेशहरु अधिकारसम्पन्न रहेको दाबी गरे ।

यता संघीय सरकारले प्रदेश सरकारलाई आदेश पालक मात्र बनाउन खोजेको र अधिकार दिन नचाहेको आरोप लागिरहेका बेला वागमती प्रदेश ३ का अर्थमन्त्री ढुंगेलले, प्रदेशले काम गर्न सकेनौं भनेर केन्द्रलाई आरोप लगाउनु “नाँच्न नजान्नेले आँगन टेढो” भने जस्तै हुने टिप्पणी पनि गरे । उनि केपी ओली निकटका नेता हुन् । 
“केपी ओलीको विकल्प खोज्नु भनेको चाहिँ मुलुकको समृद्धिको नारालाई छाड्नु हो ।” उनले भने ।