लुटेराको लुट्ने ठाँउ, त्रिभुवन विश्वविद्यालय

वाई. पी. आचार्य

2 0


नेपालदृष्टि । “काले काले मिलेर खाउँ भाले” , अहिले त्रिभुवन विश्वविद्यालयको हालत यस्तै खञ्चुवाहरूले लुट्ने शिकार भएको छ । केही समयदेखिका राष्ट्रिय समाचार पढ्दा र सुन्दा उच्च शिक्षाको प्रमुख केन्द्र त्रि.वि.लाई कचाकच काटेर थिलोथिलो पारेको देखिन्छ । त्रि। वि। सेवा आयोगमा आफन्तलाई उकास्ने र अब्बललाई थेचार्ने गरेको प्रमाण भेटिँदा रगत र पसिना बेचेर सँगालेको सानो रकम किस्ता किस्तामा पठाएर छोराछोरीको उज्ज्वल भविष्यको कामना गरी बसिरहेका निमुखा अभिभावकको आत्मा कति रोए होला रु प्रतिस्पर्धामा अब्बल भएर जागिर खाई परिवारको मुखमा माड हाल्ने सपना देखी लखतरान भएर पढेका निर्दोष र थकित आँखाबाट कति आँसु झ-यो होला रु अनुभवले तालु खुइलिएका, इमानदारीको कवच पहिरिएका, निजी स्वार्थलाई प्राज्ञिक उन्नयनको अधीनस्थ राखेर दिलो ज्यान, तीखो मस्तिष्कको प्रयोग गरिरहेका प्रतिष्ठित प्राज्ञहरू कति छट्पटाएका होलान् रु ज्ञान र सीपको किनबेच गर्ने, ज्ञानको प्रतीक स्वर्णपदक बेच्ने पिपासुहरूको असली रूप देख्दा पलाउँदै गरेका मुनाहरूमा कस्तो छाप पर्ला ? प्राज्ञिक क्षेत्रमा भएको यो कुकर्ममा मूलतः प्राध्यापक सङ्गठन, कर्मचारी सङ्गठन र विद्यार्थी सङ्गठनको संलग्नता देखिन्छ । यहाँ व्यक्तिगतभन्दा सङ्गठित गिरोह त्यो पनि पार्टीको छत्रछाँयामा हुर्केको सङ्गठनको हालिमुहाली भएको देखिन्छ । कोही व्यक्तिगत रूपमा संलग्न छन् भने पनि ती पार्टीका खाँटी कार्यकर्ता छन् । कुनै एउटा पार्टी सम्बद्ध सङ्गठन वा व्यक्तिको संलग्नता नभएर सबैको साझा गठजोड छ यहाँ । फरक फरक राजनीतिक मुखुण्डो ओडेर आवरणमा पृथक् देखिने तर भित्र अप्राकृतिक गठबन्धन गरी छुरी धस्ने प्रवृत्ति स्पष्ट देखिन्छ । यस्तो गठबन्धन बनेपछि जुनसुकै पार्टीको सत्ता वा नेतृत्व आए पनि फरक नपर्ने रहेछ । 
कुकर्ममा प्रत्यक्ष संलग्न रहेका पात्रको निजी स्वार्थ मात्र छैन, त्यहाँ छहारी दिने पार्टी नेतृत्व त्यसको रिमोट चलाउँछन् । उनीहरूकै नाता पैसा र कार्यकर्ताको साइनो भएकाहरूले अस्वाभाविक लाभ उठाएका छन् । यसो हुँदा यिनीहरूलाई राजनीतिक कवच मिल्ने नै भयो ।

यिनै प्राध्यापक सङ्घ सङ्गठनले उनीहरूको स्वार्थ अनुसार नाच्छ कसैलाई काँधमा बोकेर पार्टी नेतृत्वसामु पु-याउँछन् । उसैले नियुक्ति पाउँछ । कुर्सीमा बसेपछि काँधमा बोक्नेको रिमोट अनुसार फुनुफुनु नाच्छ । केही वर्षदेखि यताको सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयको नियुक्ति हेर्दा पार्टीको टीका नलगाएको कोही अनुहार देख्न सकिँदैन । 

पार्टीको सदस्यता देखाएर आंशिक, जुस खाएर करार, पेनडाउन गरेर स्थायी भएकाहरू नै जिम्मेवारीमा पुग्छन् । आफू अटाउने गरी बढुवाका लागि कोटा थप्छन् । अरूको सारेर, किताबको गाता फेरेर, खेतालालाई लेखाएर अङ्क पु-याउँछन् । अनि बढुवा पनि हुन्छन् । यिनीहरूबाट यस्तै विकृति बाहेक अरू के अपेक्षा गर्न सकिन्छ र ? पियरे बोड्र्युले भने जस्तो जस्ताले तस्तै उत्पादन गर्न खोज्छ । यिनीहरू पनि त्यही गर्छन् । यस्तैले बुद्धिजीवीको पगरी गुथेको देख्दा इमानदार प्राज्ञहरूको खिल्ली उडाएको प्रतीत हुन्छ । शिक्षामा उदारवाद अराजकतावादको रूपमा मौलायो । लोकतन्त्र आएपछि छाडातन्त्रले प्रश्रय पायो । सेवा होइन, स्वार्थ पलायो । संस्था होइन, व्यक्ति मोटायो । परिश्रमी होइन, कामचोर फस्टायो । राम्रोको ठाउँ हाम्रोले लियो । डोरबहादुर बिष्टको भाषामा भन्दा आफ्नो मान्छेले अवसर पायो । शैक्षिक संस्था खुइलिँदै गए, माफियाहरू सुकिलामुकिला हुँदै गए । नीति नियम कमजोर भए । ‘हुक’ (तान्ने) प्रवृत्ति हाबी भयो । प्राज्ञिकता स्खलित हुँदै गयो । बौद्धिक चोरी सुगठित हुँदै गयो । यसको मुख्य कारण लोकतन्त्रको दुरूपयोग हुनु हो । लोकतन्त्रलाई निरपेक्षतामा हेरिनु हो । 
ओसमग्लु र स्पेन्सरको अध्ययन अनुसार अविकसित देशहरूको मुख्य समस्या संस्था कमजोर हुनु र व्यक्तिको मनोमालिन्य चल्नु हो । हाम्रा विश्वविद्यालयहरू यस्तै भए । पद्धति र विधि कुल्चियो, प्राज्ञिक संस्कृति भुत्ते भयो । गणेश प्रवृत्तिका सीमित व्यक्ति हाबी भए । काम स्वचालित भएन बरु मनोमानित भयो । लोकतान्त्रिक मूल्य मान्यता सिकाउने विश्वविद्यालयहरू अराजकता र भ्रष्टाचार सिकाउने केन्द्र बने । यी समस्या प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्गठन सबैमा व्याप्त भयो । यसरी हेर्दा लोकतन्त्र रूपमा आयो तर सारमा आएन । 
विश्वविद्यालयमा भएका यी अप्राज्ञिक कर्म लक्षण हुन् तर कारण फरक छ । मूल कारण समाजको चरित्र हो । वर्तमान नेपाली समाजको चरित्र दलाल पुँजीवादी छ । यसको प्रतिविम्बन हरेक क्षेत्रमा देखिन्छ । विश्वविद्यालयमा अहिले उम्लिएको मात्रै हो । दलाल पुँजीवादले अर्काको लगानी, अर्कैको श्रम तर मुनाफा आफ्नो खोज्छ । यस्तो समाजमा मानिस सर्वश्रेष्ठ हुन खोज्छ । त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि पछि पर्दैन । स्वर्णपदक किन्ने यसैको परिणति हो । 
दलाल पुँजीवादमा माउ खाने प्रवृत्ति हाबी हुन्छ । विश्वविद्यालयका केही चल्तापुर्जा प्राध्यापकहरूले राजनीतिक आडमा, पैसाको बलमा निजी कलेजलाई सम्बन्धन दिलाए । सम्बन्धनमा आर्थिक चलखेलका समाचार पनि पुराना भएका छैनन् । आङ्गिक क्याम्पसमा सम्बद्धताको ब्राण्ड बेचेर निजीमा बुद्धि खर्च गर्नेहरूले सार्वजनिक शिक्षालाई ‘प्यारालाइज’ (पक्षघात) गरेका हुन् । माउलाई चुसेर चल्ला मोटाएका छन् । दलाल पुँजीवादमा मूल केन्द्र व्यक्तिगत स्वार्थ हुन्छ । सेवा आयोगमा दुर्बललाई अङ्क थपेर हुकले तान्नु र अब्बललाई अङ्क काटी लात हान्नु यसैको प्रतिक्षेप हो । त्यस्तै शोधपत्रलाई सारपत्र बनाउन बाटो देखाउने, त्यहाँ पनि दलाली गरी चरित्र बेच्ने तिनै प्राध्यापक हुन् । समाजको ‘रोलमोडल’ बन्ने संस्था यसरी भुत्लिएपछि देशको हालत के होला ? अरूलाई गन्तव्यमा पु¥याउने ड्राइभर नै चिप्लिएपछि अरू यात्रुको हबिगत के होला ? 
सेवा आयोगको सक्कली अनुहार अहिले प्रकट भएको मात्रै हो । इतिहास दोहोरिएको मात्रै हो । यसभन्दा अगाडिका विज्ञापनहरूमा पनि अवाञ्छित क्रियाकलाप भएका घटना कतै लुप्त त कतै प्रकट रूपमा आएकै थिए । यी घटनाले विगतमा सेवा आयोग उत्तीर्ण गरी जागिर खाएकाहरूप्रति पनि प्रश्नचिन्ह उठेको छ । के उहाँहरू साँच्चिकै प्रतिस्पर्धामा खरो उत्रेर सेवा प्रवेश गर्नु एको हो ? लिखित परीक्षामा त यतिसम्मको हर्कत हुन्छ भने कृतिको लिस्ट बुझाएर अन्तर्वार्ताबाट मात्रै रिडर र प्रोफेसर हुनेप्रति अझै ठूलो प्रश्न उठ्छ । उहाँहरू कीर्ते कृति बुझाएर अन्तर्वार्ताको नाटक मञ्चन गरेर बढुवा हुनुभएको होइन भनेर कसरी विश्वास गर्ने ? विद्यार्थीहरूले यी प्राध्यापक र ‘गोल्डमेडलिस्ट’ भनेर कसरी पत्याउने ? आगामी दिनमा यी संस्थाले घोटाला गर्दैनन् भनेर कसरी पत्याउने र यी विषयको जवाफ कसले दिने ?
 

विश्वविद्यालयका सबै प्राध्यापक खराब छैनन् । निरन्तर अध्ययन अध्यापन, अनुसन्धानमा लाग्नेहरू पनि छन् । यी घटनाले उनीहरूको मुटु कुँडिएको छ । अब विश्वविद्यालयका विभिन्न पदहरू खाली भएका र हुँदै छन् । यी इमानदार, सच्चा, पार्टीको लठ्ठी नटेकेका प्राध्यापकहरूले नेतृत्व गर्ने वातावरणको निर्माण गर्नुपर्छ । विकल्प भित्रैबाट खोज्ने हो, आकाशबाट आउने होइन । व्यक्तिभन्दा पनि पद्धति महवपूर्ण हो । पद्धति बसाल्ने र मान्ने दृढता भएको व्यक्ति आवश्यक छ । यो विकृत अवस्थामा दीर्घकालीन सुधार गर्न निम्न काम गर्नुपर्छ – 
व्यावसायिक सङ्गठन गतिछाडा भएपछि तिनीहरूलाई पालिराख्नु आवश्यक छैन । पार्टी विशेषका सङ्गठन खारेज गर्नुपर्छ । शैक्षिक र अनुसन्धानात्मक कार्य गर्ने संस्थाले आफ्नो काम जे हो त्यही गर्नुपर्छ । सबै विश्वविद्यालयको एउटै, अलग्गै स्वायत्त सेवा आयोग हुनुपर्छ । 
विश्वविद्यालयको प्राध्यापनमा आउनका लागि राष्ट्रिय योग्यता परीक्षा लिने व्यवस्था गर्नुपर्छ । यो परीक्षामा उत्तीर्ण भएकाहरूले मात्रै सेवा आयोगको परीक्षा दिन पाउनुपर्छ । प्रतिस्पर्धाका आधारमा पदाधिकारीको नियुक्ति गर्नुपर्छ । पद खाली हुनुभन्दा एक महिना अगाडि नै अर्को नियुक्ति दिइसक्नु पर्छ, बहाली समय पूरा भएपछि गर्ने । प्राध्यापक भइसकेपछि पनि प्राज्ञिक योगदानका आधारमा सूचीकृत गर्ने र सुविधा थपघट गर्दै लैजाने गर्नुपर्छ । खाली दिमाग सैतानको घर भनेजस्तै अधिकांश शिक्षक कामविहीन छन् । यिनीहरूलाई व्यस्त गर्ने गरी अनुसन्धानात्मक काम दिनुपर्छ । सबै प्राध्यापक बेइमान र ढोँगी छैनन्, राम्राले जिम्मा पाउने स्वचालित पद्धतिको विकास गर्नुपर्छ । 
समस्या व्यक्तिको होइन पद्धतिको हो । समाजको चरित्र र राजनीतिक दुरवस्था यसको मूल कारण हो । दण्डहीनता यसको उद्दीपक हो । अपराधीको सामाजिक स्वीकारोक्ति यसको सांस्कृतिक दोष हो । त्यसैले शिक्षण संस्था नबनी अरू केही बन्नेवाला छैन । यी घटनामा राज्य गम्भीर हुन जरुरी छ । यी घटना शिक्षामा नयाँ फड्को मार्ने कडी पनि हुन सक्छन् । 
(लेखक आचार्य,अध्यापन गर्नुहुन्छ ।)