सरलताका प्रतीकः रमण महर्षि र उनको जीवन

लिलाराज खतिवडा

3 0



नेपालदृष्टि । रमण महर्षि वैराग्यका प्रतिमूर्ति थिए । कसैको आलोचना वा प्रतिक्रिया नगर्ने महात्मा थिए । जो मौनमा नै जिज्ञासुहरुका जवाफ पेश गर्ने गर्दथे । जसले आत्मविश्वास र आत्मशुद्धिलाई नै साधना सम्झिए । जसले जीवनभर ‘म को हुँ’ भन्ने सवाललाई मनन गर्ने उपदेश दिए । जसले जीवनपर्यन्त ‘म’-शुद्ध चेतन_ मा नै स्थित भएर त्यसैमा विद्यमान रहने राय दिए । उनै महान् विरक्त सन्त महर्षि रमणको यहाँ संक्षिप्त परिचय दिइन्छ ।

जन्म र जन्मस्थान

रमण महर्षिको जन्म २९–३० डिसेम्बर, १८७९ को मध्यरातमा भारतको तामिलनाडु प्रान्तको तिरुचुलीमा एक ब्राह्मण परिवारमा भएको थियो । पिताको नाम सुंदरम अयर तथा माताको नाम अलगम्माल थियो । रमणको न्वारानको नाम वेंकटरमण थियो ।  उनका दाजुको नाम नागस्वामी, भाइको नाम नागसुंदरम र बहिनीको नाम अलामेलु थियो । पिता सुंदरम तिरुचुलीमा वकालत गर्दथे ।  रमणको प्राथमिक शिक्षा तिरुचुलीमा नै भयो । यसपश्चात् उनले डिंडिगल नामक स्थानमा एक वर्ष मिडिल स्कुलमा अध्ययन गरे ।

सन् १८९२ मा रमणका पिताको अचानक देहावशान भयो । यसपछि उनका काका सुब्ब अयरले उनको हेरचाह गरे । त्यसपछि केही समय रमणले मदुरै नामक स्थानको एउटा अमेरिकी मिशन हाइस्कूलमा अध्ययन गरे । तर उनलाई पढाइलेखाइमा अधिक चाख थिएन । स्वस्थ र सुगठित शरीर भएका कारण बरु उनलाई खेलकूदमा ज्यादा लगाव थियो ।

मदुरैबाट केही दूरीमा अवस्थित अरुणाचल नामको एउटा पर्वतको चर्चा सुनेर रमण बाल्यकालदेखि नै प्रभावित हुन्थे । सन १८९५ मा उनले अरुणाचल घुमेर फर्किएका एक वृद्धलाई भेट्न पुगे । रमणलाई बृद्धले अरुणाचल पर्वतका बारेमा धेरै कुराहरु बताए । रमणलाई उक्त पर्वत धेरै टाढा नभएको थाहा भयो । यसैबीच रमणलाई पेरियपुराणम्को एक प्रति पुस्तक प्राप्त भयो जसमा त्रिसट्ठी जना सन्तका कथा प्रकाशित थिए । उक्त कृति पढेर रमण आह्लादित हुन पुगेका थिए ।

मृत्युको अभ्यास

जुन घटनाले वेंकटरमण अर्थात् रमण महर्षिको जीवनमा अभूतपूर्व मोड आयो, त्यो संक्षिप्तमा यसप्रकार छ –

उनी मदुरैमा आफ्ना काकाको घरको पहिलो तल्लामा बसेका थिए । समय ः १६ जुलाई, सन् १८९६ । उनी पूर्ण स्वस्थ थिए । उनलाई एकाएक आफ्नो मृत्यु हुँदै गरेको आभास भयो । उनले मृत्युको अभिनयमा हात, खुट्टा फ्याँके । दाह्रा किटेर मुख बन्द गरे । सास पनि रोकेर उनले सोचे कि अब त मेरो शरीर मरिसक्यो । अब मान्छेहरुले यस शरीरलाई मशानघाट लगेर जलाइदिनेछन् । के म शरीर हुँ < तर यदि शरीर मरिसकेको हो भने, मेरो अस्तित्व किन बुदबुदाइरहेको छ त ? भित्रभित्रै म आफ्नो अस्तित्वलाई त लगातार महसूस गरी नै रहेको छु । त्यसो भए म कसरी मरें त < म छु भन्ने भाव त भित्रभित्रै ठूलोठूलो आवाजमा चिच्याइरहेको छ । त्यसो भए म को हुँ त < जीवनको यो महत्वपूर्ण विषयले उनलाई शक्तिशाली तवरले झक्झक्याइरह्यो । भनिन्छ, उनको यो अवस्था आधा घण्टासम्म कायम रहेको थियो ।

यस घटनापश्चात् उनलाई बारम्बार आत्मलीनताका दौराहरुले छोप्न थाले । उनको पढाइलेखाइ ठप्प भयो । उनमा त अचानक सौम्यता र विनम्रताका भावहरु बढ्न थाले । उनी अत्यधिक मन्दिर धाउन पनि थाले । आफ्नो भक्ति अझ प्रगाढ होस् भनेर उनी शिव मन्दिर गएर शिवसँग आशीर्वाद पनि माग्न थाले । महर्षि रमणले आफ्ना शिष्यहरुलाई पछि उपरोक्त अनुभवहरु बारे अनेक पटक चर्चा गरेका थिए ।

एक साँझ उनी अंग्रेजीका ब्याकरणहरुलाई आफ्नो अभ्यासपुस्तिकामा सारिरहेका  थिए । तर उनको मन उक्त काममा बिल्कूलै थिएन । अनि कापीकिताब एकातिर मिल्काएर उनी ध्यान मुद्रामा बसे र आँखा बन्द गरेर ध्यान गर्न थाले । दाजु नागस्वामी अलिक परबाट आफ्नो भाइको उक्त चर्तिकला नियालिरहेका थिए । उनले अलिक झर्केर भने, “परिवारमा बस्छौ । पढाइको ढोंग गर्छौ । अनि यसरी समय कटाउँछौ कि लाग्छ तिमी कुनै योगी हौ <”

यो सुनेर पनि रमणलाई नराम्रो लागेन । उल्टै उनलाई एउटा झट्केदार संकेत प्राप्त भयो । उनलाई योगी शब्दले तान्यो । अनि भित्रभित्रै उनलाई एउटा अज्ञात आवाजले जोडजोडसँग भन्यो, “तिमी साँच्चै नै एक योगी हौ । तिमी ढिलो नगरी अरुणाचल जाऊ ।”

    त्यसपछि उनले दाजुलाई भने, “मलाई स्कूल जानु पर्ने छ । किनभने, स्कूलमा आज विशेष कक्षा छ ।”

सुनेर दाजुले जवाफ दिए, “तल बाकसमा पाँच रुपियाँ राखेको छ । त्यो लिएर जाऊ । र त्यो पैसाले कलेजमा मेरो नाममा शूल्क पनि बुझाइदिनू ।”

रमणले काकीसँग साँचो मागे र बाकसबाट केवल तीन रुपियाँ झिके । उनलाई कलेज गएर दाजुको शूल्क बुझाउनु थिएन । उनलाई त अरुणाचल जानु थियो । उनलाई अड्कल थियो कि अरुणाचल पुग्न तीन रुपियाँ पर्याप्त हुन्थ्यो । अनि उनले तमिल भाषामा एउटा पत्र लेखेर त्यहाँ छाडे ।

पत्रको आशय यस्तो थियो, म आफ्नो बुबाको खोजमा निस्किएको छु । र, यो कदम मैले उहाँकै आदेश बमोजिम उठाएको हुँ । यस कदमप्रति कसैले दुःखी हुनु जरुरी छैन । र, यसलाई खोज्नको लागि केही पनि खर्च नगरियोस् । दाजुको कलेजको शूल्क तिरिएन । पाँच रुपियाँमा केवल तीन रुपियाँ लगेर दुई रुपियाँ यथावत् राखिदिएको छु ।

पत्रमा रमणले स्वयम्लाई अन्य ब्यक्तिलाई जस्तै यसलाई लेखेका थिए । र, कुुनै हस्ताक्षर गरेका थिएनन् । अनि काकीलाई आफू स्कूल हिँडेको भनेर झूठ बोल्दै उनले गृह त्याग गरेका थिए ।

पछि सन् १९४९ मा आफ्ना शिष्यहरुबीच उनले काकीलाई झूठ बोलेकोमा खेद व्यक्त गर्दै भनेका थिए, “मेरी काकी सिधीसादी थिइन् । मलाई पूर्ण विश्वास गर्दथिन् । म कहिल्यै झूठ बोल्दिन थिएँ । तर गृह त्यागमा बाधा नहोस् भनेर मैले झूठ बोल्नु पर्यो कि म उहाँलाई स्कूल जादैँछु भनेर हिँडेको थिएँ ।”

गृहत्याग

रमण रेल्वे स्टेसन पुगे । उनले दुई रुपैयाँ तेह्र आनामा थिंडिवानमसम्मको टिकट किने । उनलाई लागिरहेको थियो, कि यसै स्टेसनको नजिक तिरुवण्णमलाई पर्दथ्यो । उनी रेलमा बसे । अचानक एक मौलवीले उनलाई एउटा नयाँ रेल्वे लाइन शुरु भएको जानकारी दिए । जसअन्तर्गत विल्लुपुरमबाट गाडी बदलेर केवल तीन रुपियाँमा तिरुवण्णमलाई सरल हिसाबमा पुग्न सकिने कुरा मौलवीले बताए ।

उनी मौलवीको निर्देशनअनुसार विल्लुपुरम स्टेसनमा ओर्लिए । बचेको पैसाले टिकट किनेर उनी माबलपट्टुसम्म दश माइल रेलमै गए । खर्च सकिएकाले अरु दश माइल पैदल हिँडे । उक्त पैदल यात्राले उनी निकै थाके । त्यसपछि उनले आफ्नो कानमा पहिरिएका मूल्यवान् टपहरुलाई स्थानीय मुतुस्वामी भागवतर समक्ष चार रुपैयाँमा धरौटी राखे । अनि रेलको टिकट काटेर अगाडिको यात्रा तय गरे । उनले धरौटीको रसिद च्यातेर मिल्काइदिए । किनभने, उनलाई फर्किएर त्यो छुडाउनु थिएन । मुतुस्वामी भागवतरकी पत्नीले रमणलाई खाना खुवाएर पठाएकी थिइन् र उनका हातमा मिठाइको एउटा प्याकेट पनि राखिदिएकी थिइन् ।

उनी सन् १८९६ को सेप्टेम्बर पहिलो तारिखका दिन तिरुवण्णमलाई पुगे र अरुणाचलेश्वर मन्दिर गएर देवतासामु खडा भए । उनलाई लाग्यो कि उनी आफ्ना बुबाका चरणमा आइपुगेका छन् र यो नै उनको खास घर हो ।

                                                           बाल्यकाल,जवान हुदै बृद्धासम्म रमण महर्षि । 

तप र समाधि

केही बेर मन्दिरमा शान्त बिताएर रमण बाहिर निस्किए । अनि केश मुण्डन गराए । आफ्नो जनै, बचेका पैसा, मिठाइको प्याकेट र शरिरका कपडा पनि एकातिर मिल्काइदिए । उनले केवल एक धोती लगाएका थिए । त्यसैको स्यानो टुक्रा च्यातेर उनले लगौंटी बनाएर लगाए । पुनः उनी मन्दिर पसे र, मौन साधनामा लीन भए । भनिन्छ, यसै अवस्थामा उनले त्यहाँ कैयन हप्ता बिताए । उनी सदैव समाधिमा लीन रहन्थे । त्यसबेला उनको हेरचाह शेषाद्रि स्वामी नामका एक विद्वान साधुले गरे ।

मन्दिरमा रमणलाई उन्मादी केटाहरुले जिस्क्याएर हैरान पारे । फलस्वरुप उनी मन्दिरको मण्डपमुनिको तलघरमा रहन थाले जहाँ उनलाई कमिला, मच्छड र अन्य किराहरुले टोक्थे । तर उनी तलघरबाट टसमस भएनन् ।

-त्यसै तलघरमा सन् १९४९ मा तत्कालिन गभर्नर जनरल राजगोपालाचारीले रमण महर्षिको तस्विर अनावरण गरेर उनलाई नै सुम्पिएका थिए ।_

वैंकटरमण अर्थात रमण महर्षिलाई त्यतिबेला मान्छेहरुले ब्राह्मण स्वामी भनेर बोलाउने गर्दथे । केही भक्तहरुलाई उनले तलघरमा लुकेर ध्यान गरिरहेको थाहा भयो । अनि ढिलो नगरी उनीहरुले तलघरमा गएर उनको अवस्थाको अवलोकन गरे । रमणको शरिरमा घाउहरु भएका थिए । घाउमा किराहरु सल्बलाइरहेका थिए र त्यहाँबाट पीप बगिरहेको थियो । भक्तहरुले त्यहाँबाट उनलाई नजिकैको देवालय गोपुरम सुब्रह्मण्यमको मण्डपमा पुर्याए । यस पश्चात उनको दर्शनका लागि कौतुहलवश त्यहाँ भीड जम्मा हुन थाल्यो । अतः भक्तहरुले उनलाई भीडबाट बचाउनका लागि अनेक स्थानमा स्थानान्तरण गर्दै रहे । भक्तजनहरु उनलाई भोजन प्रदान गर्दथे । रमण भने चौबिस घण्टामा केवल एक छाक खाएर समाधिमा लीन रहन्थे ।

वषौंपछि ती दिनहरुको स्मरण गर्दै उनले आफ्ना शिष्यहरुलाई बताएका थिए कि तिरुवण्णमलाई पुगेपछिको उनको पहिलो स्नान चार महिना बितेपछि एक भक्तले जवरजस्ती गराएका थिए । अनि एक वर्षपछि, उनी गुरुमूर्तम भन्ने स्थानमा रहँदा त्यस्तै अर्का एक भक्तले उनको दोस्रो स्नान गगराएका थिए । अठार महिनासम्म उनले शिरको कपाल पनि काट्न भ्याएनन् । उनका नङ्हरु पनि बढेर लामालामा भएका थिए । भक्तहरुको करकापमा परेर उनले कपाल, दाह्री र नङ्हरु काटेका थिए ।

भक्तहरुले सन् १८९७ मा उनलाई अलिक टाढाको गुरुमूर्तम मठमा लगे । त्यहाँको वातावरण एकदमै शान्त थियो । रमणको हेरचाह गर्ने दुईजना साधुहरु खटाइएका थिए । जब ती दुई साधुहरुलाई बाहिर कतै जानु पर्दथ्यो, उनीहरु रमणलाई ताला लगाएर भित्रै थुनिवरी जाने गर्दथे । रमणलाई कुनै आपत्ति थिएन । किनभने, उनी त सदा समाधिमा नै लीन रहने गर्दथे ।

एक जना भक्तले एकदिन उनको धूपदीप, कपूर, फूल आदिले पूजा गर्न चाहे, तब रमणले कोइलाले भित्तामा तमिल भाषामा लेखे, मलाई केवल भोजन भए पुग्छ । केही ब्यक्तिले उनका बारेमा अधिक जानकारी माग्दा उनले उसैगरी रोेमनमा वेंकटरमण, तिरुवली लेखिदिए । यसपश्चात मान्छेहरुलाई लाग्यो कि जंगली झैं देखिने यो केटो त पढेलेखेको छ । र, अंग्रेजी पनि जान्दछ । पलणि स्वामी नामका एक मलयाली साधु रमण महर्षिका समिप पुगे र उनको सेवामा जुटे । त्यसपश्चात बीस वर्षसम्म उनले रमणको सेवा गरे ।

उता, मदुरै तथा मानमदुरैमा रमणको परिवारलाई उनको हालतबारे केही पनि थाहा हुन सकेको थिएन । तर दुई वर्षपछि परिवारले उनको बारेमा पत्ता लगाएरै छाड्यो । फलस्वरुप उनका काका नेलैयप्प उनी रहेकोे स्थान गुरुमुर्तम पुगे । काकाले रमणलाई घर फर्काउन चाहे । तर रमणले आफ्नो मौन तोडेनन् । केही नलागेर काका घर फर्किए ।

गुरुमूर्तममा १९ महिना ब्यतित गरेर रमण अरुणगिरिनाथ देवालयमा पुगे । उनी भिक्षाटन गरेर भोजन गर्दथे । कसैको ढोका सामुन्ने पुगेर ताली बजाउँने गर्दथे । भिक्षामा जे प्राप्त हुन्थ्यो, त्यो खाएर टाउकाको आफ्नो लट्टे कपालमा हात पुछेर चल्दिन्थे । धेरैपछि उनले आफ्ना भक्तहरुलाई बताए कि शुरुमा उनलाई भिक्षा माग्न लाज लाग्ने गर्दथ्यो । तर, पछिपछि उनलाई भिक्षा माग्दा कहिल्यै संकोच वा लाजले छोपेन ।

समयको बहावसँगै रमण अरुणाचल पर्वतको पवल कुंड्रू भन्ने स्थानमा गएर रहन थाले । उनले गृहत्याग गरेको २८ महिनापछि उनकी आमा जेठो छोरो नागस्वामीलाई लिएर रमण भए ठाउँमा टुप्लुक्क आइपुगिन् । रमण एउटा बिशाल ढुंगामा बसेका थिए । आमाले उनलाई घर फर्किन आग्रह गरिन् । आमाको कुरा सुनेर उनले आफ्ना आँखा बन्द गरे र ध्यानमा लीन भए । कुनै जवाफ दिएनन् र मौन साधनामा तल्लिन रहे ।

आमाले घर फर्किन गरेको आग्रहमा रमण मौन नै बस्थे । आमा रुन थाल्थिन् । अनि उनी उठेर एकातिर हिँडिदिन्थे । एक भक्तले रमणलाई आमाको प्रस्तावको जवाफ दिन दवाव दिए । अनि उनले लेखेर यस्तो जवाफ दिए . भवितव्य भएरै छोड्छ । यो सर्वोत्तम मार्ग हो । मौन बस ।

रमणको यो जवाफपछि आमा र दाजु चुपचाप घर फर्किएका थिए ।

सहज अवस्थामा प्रत्यागमन

महर्षि रमण सन् १८९९ का शुरुआती दिनहरुमा पवल कुंड्रू छोडेर विरुपाक्ष गुफामा बस्न थाले । साथमा थिए, मलयाली साधु पलणि स्वामी । पलणि स्वामी नजिकैको गाउँबाट दुवैजनाका लागि भिक्षाटन गरेर आउँथे । तर केही दिनमा नै उनले भिक्षाटन गर्न जानु परेन । भक्तहरुले उनीहरुलाई यथास्थानमा नियमित रुपमा भोजन र प्रसाद ल्याउन थाले ।  अब रमण महर्षि नित्य स्नान पनि गर्न थालेका थिए । र, मौन तोडेर बेलाबेला पलणि स्वामीसँग ज्ञानचर्चा पनि गर्न थालेका थिए । पलणि स्वामी विभिन्न पुस्तकालयबाट खोजीखोजी रामायण, योगवासिष्ठ, कैवल्यनवनीतम्, विवेक चुडामणी लगायत अनेक आध्यात्मिक पुस्तक ल्याउँने गर्दथे । अनि दुवै जना मन लगाएर ती पुस्तकहरुको पाठ गर्ने गर्दथे । रमणले पलणि स्वामीसँग मलयालम भाषा सिके । साथै काव्यकंठ गणपति शास्त्रीसँग भेट भएपछि उनैसँग रमणले संस्कृत पनि सिके ।

घरबाट हिँडेपछिका तीस महिना रमणले तिरुवण्णमलाई र आसपासका क्षेत्रहरुमा मौन समाधिको अभ्यास गरे तापनि त्यसपश्चात उनले धर्मचर्चा, अध्ययन र भक्त–संतहरुसँग सत्संग गर्न थालेका थिए । पछि गएर उनले आफ्ना भक्तहरुलाई बताए कि तीस महिनाको मौन, तप र समाधि उनको कुनै योजनाबद्ध कार्यक्रम नभएर अंतर्मुखताको एक झझल्को थियो ।

यसपश्चात् उनको प्रसिद्धि एक सिद्धपुरुषका रुपमा चारैतर्फ फैलदों थियो । उनको दर्शन गर्न व्यवसायी, विद्वान, साधक तथा अनेक साधारण मनुष्यहरु आउन थालिसकेका थिए ।

उनी गरीब, दलित तथा निम्न भनिएकाहरुसँग निकै प्रेम गर्ने गर्दथे । उनी दलित श्रमिकहरुलाई दिनभर पानी पिलाउन रुचाउँथे । त्यो बेला दलितहरु वस्तिका कुँवा छुन पनि डराउँथे ।

अत्याश्रमी

रमण महर्षि वास्तविक सन्यासी थिए । तर उनले कसैबाट विधिवत सन्यासदीक्षा लिएका थिएनन् । जब उनी विरुपाक्ष गुफामा बस्दथे, तब एउटा प्रसिद्ध मठका एक शास्त्रीजीले उनलाई विधिवत सन्यासदीक्षा लिन आग्रह गरे । म सामग्रीहरु लिएर आउने छु र दीक्षा पनि दिनेछु भनेर शास्त्रीजी एकातिर हिँडे । उनी हिँडेपछि रमणका सामुन्ने एक बन्डल पुस्तक लिएर अचानक एक सज्जन टप्किए । पुस्तकको बन्डल रमणका हातमा राखिदिएर उनी स्नानादि गर्न बाहिरिए । रमण सहर्ष पुस्तक पल्टाउन थाले । पहिलो पुस्तकको शुरुमै उनले एउटा श्लोक पढ्न भ्याए जसको आशय यस्तो थियो – जो ब्यक्ति यस अरुणाचलका तीन घेरामा निवास गर्छ, उसले दीक्षा नलिए पनि जन्मजन्मका बन्धनबाट मुक्ति पाउँने छ र ममा लीन हुने छ – यो मेरो (देवताको) वचन हो ।

शास्त्रीजी दीक्षासामग्रीहरु लिएर फर्किएपछि रमणले उक्त श्लोक उनलाई देखाइदिए । कुरो बुझेर शास्त्रीजी जुम्लाहात गर्दै चुपचाप त्यहाँबाट विदा भए । रमण महर्षिले पछि गएर बताए, “म अत्याश्रमी हुँ ।”

ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास – यी चारै आश्रमपार हुनुलाई अत्याश्रम भनिन्छ ।

भगवान रमण महर्षि र भक्त

काव्यकंठ गणपति शास्त्री संस्कृतका प्रकाण्ड विद्वान थिए । तर भित्रैबाट उनी संतुष्ट थिएनन् । तर रमणलाई भेटेदेखि नै उनी बडा संतुष्ट नजर आउन थालेका थिए । उनैले रमणलाई ‘भगवान रमण महर्षि’को नाम दिएका थिए । र त्यसैबेलादेखि रमण यो नामले प्रसिद्ध हुँदै गए ।

काव्यकंठ गणपति शास्त्री, टि। वी। कपाली शास्त्री तथा देवरात आदि विद्वान जिज्ञासुहरुका अनेक प्रश्नका उत्तर समाविष्ट गरेर संस्कृतमा रमणगीता नामक पुस्तकको रचना भएको छ । शुरुमा टि। वी। कपाली शास्त्रीले रमण प्रति निकै श्रद्धा देखाए पनि पछि गएर रमणका उपदेश उनलाई निकै कडा लाग्न थाले । फलस्वरुप कपालीजीले रमणको साथ छाडे र श्री अरविंदका अनुयायी हुन पुगे ।

अंग्रेज शासनको समय थियो । हंफ्रीज नामका एक्काइस वर्षिय एक अंग्रेज पुलिस अधिकारी साधक प्रकृतिका ब्यक्ति थिए । उनलाई चमत्कारमा बिश्वास थियो । रमण महर्षिले उनलाई चमत्कारबाट विरत रहने शिक्षा दिएका थिए । उनले हंफ्रीजलाई बताएका थिए कि दृश्यवान बस्तु र घटनाहरुलाई महत्व नदेऊ । तर त्यसलाई महत्व देऊ जो तिनलाई देख्नेवाला हो र, त्यो देख्नेवाला तिमी भित्रै छ । हंफ्रीजले सोधे, “के म संसारको सहायता गर्न सक्छु <”

महर्षिले उनलाई जवाफ दिएका थिए, “यदि तिमी आफ्नो सहायता गर्न सक्छौ भने, अवश्य संसारको सहायता गर ।”

महर्षिको आशय सायद यो थियो कि यदि मनुष्य स्वयम्लाई शुद्ध बनाउँछ भने मात्रै ऊबाट अरुको परमार्थ हुन सक्छ । हंफ्रीजले महर्षिसँगका मूल्यवान संवादहरुलाई लेखेर आफ्ना एक मित्रसमक्ष लन्डन पठाए जो त्यहाँको एक पत्रिकामा प्रकाशित पनि हुन पुगेको थियो ।

रमणको गृहत्याग पश्चातका तीस महिना मौन तथा समाधिपूर्वक एक अवधूतको हालतमा बिते पनि त्यसपछिका दिनहरु सहज तवरले बिते । उनीसँग भेट गर्न साधकहरु आउँथे र उनी साधकका हर सवाल र समस्याहरुको समाधान गर्ने प्रयास गर्दथे ।

आमाको पुनरागमन

पहिलो पटक रमणलाई भेटेर घर फर्किएपछि आमाको जीवनमा अर्को बिपत्ति आइलाग्यो । उनको जेठो छोरो अर्थात रमणका दाजु नागस्वामीको अचानक मृत्यु भएको थियो । पन्ध्र वर्षपछि उनी काशी र तिरुपति तिर्थाटनमा गइन् । अनि रमण भए ठाउँमा पनि पुगिन् । यस पटक उनी त्यहाँ बिमारी भइन् । तीन हप्तासम्म उनी ज्वरोले थलिइन् । ठीक भएपछि घर फर्किइन् । तर उनका जेठाजुको पनि निधन हुन पुग्यो । त्यसपछि उनकी कान्छी बुहारीले पनि अचानक नाबालक सन्तान छोडेर मृत्युवरण गर्न पुगिन् । यी दुःखद घटनाहरुले आमामा एक किशिमको वैराग्य उत्पन्न भयो । अनि उनी आफ्नो सन्यासी छोरो रमणकहाँ नै गएर बस्न थालिन् । केही समयपश्चात रमणका कान्छा भाई पनि त्यहाँ पुगे । सन्यास लिएर उनी निरंजनानंद स्वामीका नामले प्रख्यात हुन पुगे र दाजुको आश्रमको हेरचाह गर्ने काममा खटिए । आमा भने, आश्रममा भक्तहरुलाई भोजन पकाउने काममा सघाउपघाउ गर्न थालिन् ।

स्कन्दाश्रम

अब क्रमशः आश्रमको विस्तारको जरुरत महसूस हुन थाल्यो । स्कंदस्वामी नामका एक भक्त शारिरिक रुपमा निकै बलवान थिए । उनले अन्य भक्त र मजदूरहरुको सहयोग लिएर आश्रमको विस्तार गरे । फलस्वरुप उक्त आश्रमको नाम नै स्कंदाश्रम रहन गयो । आमा अलगम्माल एक भक्तसरह नै त्यहाँ बस्न थालेकी थिइन् । १९ मे, सन् १९२२ मा उनले शरिर छोडिन् । छेवैको पर्वतमा उनको समाधि बनाइयो ।

रमणाश्रम

स्कंदाश्रममा रमण महर्षि सन् १९१६ देखि बस्दै आएका थिए । सन् १९२२ मा आमाको देहान्तपश्चात उनी आमाको समाधिमा बारबार जान थाले । उनी सन् १९२२ को डिसेम्बरको एक दिन उनी आमाको समाधिमा पुगे त्यसपछि कहिल्यै स्कंदाश्रम फर्किएनन् । अब त्यहीं एउटा आश्रम बन्यो जो रमणाश्रम नामले प्रख्यात भयो । यस आश्रममा उनी जीवनको अन्त्यसम्मै ९सन् १९५०० बसे र, यसै आश्रममा उनले शरिर पनि छोडे ।

शुरुमा रमणाश्रम झुपडीको र फुसको छानो भएको अवस्थामा थियो । अहिले त्यहाँ कैयन भवनहरु खडा छन् । आश्रमको व्यवस्थापन रमणका कान्छा भाईले गर्दथे । महर्षिको शरीरांतको तीन वर्षपश्चात उनको पनि निधन भयो ।

रमण अरुणाचल पर्वतको नित्य परिक्रमा गर्ने गर्दथे । तर सन् १९२६ बाट उनले त्यसरी परिक्रमा गर्न छाडिदिए । उनी आश्रममा भोजन बनाउने कार्यमा मद्दत गर्ने गर्दथे । केही समयपछि उनले यो काम पनि त्यागे । उनी आफ्नै कक्षमा बस्थे र, भक्तहरुसँग सत्संग गर्ने गर्दथे ।

एक पटक उनका खास् भक्तहरुले उनलाई भारत भ्रमण गर्ने सल्लाह दिए ताकि धेरै मनुष्यहरु उनको दर्शनले कृतार्थ हुन सकून् । तर रमणले हास्यरसले प्रयुक्त भएर जवाफ दिए, “म जस्तो लगौंटीधारी भिखारी उपर कसले ध्यान दिन्छ < तथापि यदि मैले घाँटीमा आफ्नो नामको पट्टी बाँधेर वा भक्तहरुको लावालश्कर अघिपछि लगाएर रमण महर्षिको आगमनको ढिंढोरा पिटें भने चाहिँ केही हुन सक्छ ।”

रमण जबदेखि गृहत्याग गरेर अरुणाचल पुगे तबदेखि मृत्युपर्यन्त अविछिन्न रुपमा त्यहीँ रहे । अरुणाचल छोडेर उनी कहिल्यै कतै भ्रमणार्थ निस्किएनन् ।

रमण महर्षिको सरलता

उनी निकै सरल थिए । उनलाई जो कोहीले पनि सहजै भेट्न सक्थ्यो । उनी मान्छेहरुसँग मधूर व्यवहार गर्ने गर्दथे । उनी कुनै चमत्कारका कुराहरु गर्दैन थिए । तर हमेशा ‘म को हुँ’को अनतर्मुखी उत्खननलाई नै जोर दिन्थे । उनी आत्मज्ञानको चर्चा गर्दथे । उनी देख्दा यति सरल थिए कि आगन्तुकहरु सर्वप्रथम त उनलाई आश्रमको मजदूर वा भान्से भन्ठान्थे । आखिर, जीवनमुक्त महात्माहरुलाई बाहिरबाट कहाँ चिन्न सकिन्छ र <

सरल जीवन, मितव्ययिता र चिजबिजहरुको बर्वादी र फिजुलखर्च रोक्ने शिक्षा उनी आश्रमवासीहरुलाई उपदेशबाट नभएर आफ्ना ब्यवहारहरुबाट दिने गर्दथे । पत्र र पार्सलका खामहरुलाई उनी त्यसै नमिल्काएर लेख्ने वा अन्य काममा लगाउँथे । नरिवलका काठे बोक्राहरुको उनी प्याला, चम्मच आदि बनाउँथे । सुन्तलाका बोक्राहरुको अचार बनाउँथे । ओइलाएका गुलाफका फूलहरुलाई संग्रह गरेर खिर वा अन्य मिठाईहरुलाई सुगन्धित तुल्याउँने काममा प्रयोग गर्थे । उनी बडा मेहनतसाथ पांडुलिपि र प्रुफ हेर्ने गर्दथे । हरफहरुलाई बिल्कूलै शुद्ध अनि सुन्दर अक्षरमा उतार्थे । पुस्तकहरुमा कुशलतासाथ आफैँ गाता लगाएर सुरक्षित राख्दथे । झाडू लगाउँथे । सब्जि काट्थे । दुनाटपरा गाँस्थे । भोजन बनाउँथे । भक्तहरुलाई पस्किएर दिन्थे । यसप्रकार, उनी श्रमको गरिमा र सादगीको मनोहरताको उत्तम र आदर्श उदाहरण प्रस्तुत गर्दथे । कर्मलाई नै उनले आफ्नो जीवनको पर्याय बनाएका थिए ।

सन् १९४५ मा उनले एक पटक केही असन्तुष्टि पोख्दै भने, “पचास वर्षको मेरो अनुभवले भन्छु कि साधु हुनु भनेको टेढो खिर जस्तो हो । भक्तहरुले मेरो चारैतर्फ दिवाल खडा गरेका छन् जसलाई नाघेर म उम्किन पनि सक्दिनँ । शुक्ष्मरुपले ममाथि नजर राख्न उनीहरुले विशेष सुरक्षाव्यवस्था तैनाथ गरेका छन् । आफ्नो इच्छा अनुसार म घुम्नफिर्न पनि सक्दिनँ । यो आश्रम र जेलमा फरक नै के रह्यो र ”

रमण महर्षिको प्रभाव

समसामयिक कांचीका शंकराचार्यले यसरी आफ्नो भाव प्रकट गरेका थिए : कुनै पनि धर्म आफ्नो सिद्धान्तका कारण फैलिदैँन । मान्छेहरु सिद्धान्तको कुनै खास पर्वाह गर्ने गर्दैनन् । जब कुनै मनुष्य यस्तो प्रकट हुन्छ जसको जीवन र आचरणमा असाधारण बिधायकता हुन्छ, जो करुणा र शान्तिले पूर्ण हुन्छ। त्यस्ता मनुष्यको एक झलकले मात्रै पनि विश्वासको महासागर तरंगित हुन पुग्छ । अर्को कुरा, कुनै सिद्धान्त जति नै सारवान होस् वा सच्चा होस् र, त्यसका समर्थक तदनुरुप आचरणमा विफल हुन्छन् भने तिनले जनसाधारणलाई आकर्षित गर्न सक्दैनन् ।

आर्थर अजबर्नले, सन् १९४५ मा तिरुवन्नमलाईको भ्रमण गरे । र, उनी रमणाश्रममा बस्न थाले । उनले रमण महर्षिमाथि निकै लेखे । उनले अंग्रजीमा महर्षिको जीवनी लेखेका छन् ।

अंतिम दिन

रमण महर्षिको देब्रे कुहिनामा सन् १९४९ मा क्यान्सर भयो । र, त्यो माथिमाथि सर्न थाल्यो । उनी अप्रेशन गराउन इच्छुक थिएनन् । तर भक्तहरुको जोरजवर्जस्तीले गर्दा उनको चार पटक अप्रेशन हुन पुग्यो । तर सफलता हात लागेन । १४ अप्रिल सन् १९५० मा उनको शरीरांत भयो ।

महर्षिको सन्यस्त जीवन ‘म को हुँ’ भन्ने अस्तित्वको अहम् सवाललाई अनुभूत गरेर बित्यो । उनी आफ्ना भक्तहरुलाई बारंबार भन्ने गर्दथे, “मलाई चिन ।”

     उनले भनेका थिए, “तिमी प्रत्यक्ष अनुभवले नै जागरणको लाभ उठाउन सक्छौ। अतः हेर तिमी को हौ ।”

                                                          लेखक लिलाराज खतिवडा