प्रमोद प्याकुरेलको मनोविश्लेषणात्मक कथा

प्रमोद प्याकुरेल

२०७५ फाल्गुन ४, शनिबार

2 0


हग्नेलाईभन्दा देख्नेलाई लाज भने जस्तो अनुहार रातो बनाउनु पर्ने चाहिं मञ्जरीले । तैपनि दर्बिलो मुटु बनाएर गई मञ्जरी ।    
  
 
४ फागुनन(शनिवार)नेपालदृष्टि । मञ्जरी आफ्नै कोठा भित्र बसेर पल्ला घरको पिँढीमा रहेकी छिमेकी भाउजूलाई हेरिरहेकी थिई । भाउजू मकैका घोगाबाट केही पत्र खोस्टा नङ्ग्याउदै झुत्ता बनाइरहेकी थिइन् । कोठा भित्र गुम्सिएर मात्र कति सुन्नु रु आमा बस्तुभाउ वा मेला पर्म कता पुगे कि हुन्, थाह पत्तो छैन । बाउको झन कुरै भएन । उनका मन मिल्ने स्कुले साथीहरूका घर पनि अलि परै छन् । मञ्जरीलाई भाउजूसँग गएर एक छिन बसि बियाँलो गर्ने मन त थियो तर आँट थिएन । हुन पनि भाउजू ठेगान भएकी मान्छे पक्कै होइनन् । नाना भाँती कुरा गरेर पटक पटक लाज मर्नु गराइसकेकी छन् । हग्नेलाईभन्दा देख्नेलाई लाज भने जस्तो अनुहार रातो बनाउनु पर्ने चाहिं मञ्जरीले । तैपनि दर्बिलो मुटु बनाएर गई मञ्जरी ।
मञ्जरी त्यसरी नै निस्तिएकी थिई दुई महिना अघि शहरमा । एकै छिनमा आउने बाचा गरेर निस्किएकी फुपूले आउन निकै समय लगाएकी थिइन् । वल्ला कोठा पल्ला कोठा सबैमा ताल्चा लागेका थिए । बोल्ने साथी कोही थिएन । टेलिभिजन हेरौ भने पनि लोडसेडिङ । बिरानो ठााउँ, मञ्जरी एकै छिनमा निसास्सी हाली र डेराबाट अलि पर नहराइने गरी दोबाटोमा पुगेर थामिई । दोबाटोमा बसेर रमिता हेर्दा समय बितेको पत्तै भएन ।
मनमा कुरा खेलाउदै मञ्जरी पल्ला घरको पिँढिमा पुगी र छेवैको गुद्रिमा बसी । भाउजूको उमेर भर्खर बिस कटेको छ । बिहे गरेको छ महिना पछि अरब गएको दाजु दुई वर्ष बित्यो अँझै फर्किएको छैन । मेला पात होस वा बिहान बेलुका पानी भर्न जाँदा गाउँका अल्लारे ठिटाहरूसँग जिस्किने भाउजूको व्यवहार मञ्जरीलाई पटक्कै निको लाग्दैन । बाल्यकाल र किशोराबस्थाको दोसाँधमा उभिएकी मञ्जरीको उमेरले भने भर्खर चौधो खुड्कीलो टेकेको थियो । विभिन्न लज्जास्पद छेडखानी गरेर पटक पटक असजिलो पारेकी छन् भाउजूले मञ्जरीलाई । घरी घरी अनुहार रातो पार्नु परेको छ । त्यसैले सितिमिति यी पात्तिएकी भाउजूको सामना गर्न रुचाउँदिन मञ्जरी ।
मञ्जरीले मकैका घोगा तानेर नङ्याउन थाली । “भो भो मञ्जरी नानी छोडिदेऊ । नाङगिने नङ्याउने बेला भको छैन तिम्रो । यस्ता काम हामीलाई नै छोडिदेउ,” भाउजू खितखिताइन् । पहिलो गाँसमा नै परेको ढुङ्गा सुलुत्तै निलिएको पत्तै पाइन मञ्जरीले । भर्खर शारिरिक विकासको चरणमा प्रवेश गरेकी मञ्जरीमा यस किसिमको ढुँङ्गा केलाउन सक्ने मानसिक विकास हुन बाँकी नै छ ।

शहरमा यस्ता कैयो ढुँङ्गा अनजानमै कति निली कति, तर अबोध दिमागले पत्तै पाएन । दोबाटामा उभिएर रमिता हेरिरहदा एउटा अधबैसे मानिस धेरै पटक उनका सामुन्नेबाट ओहोर दोहोर गरेपछि नजिकै आएर सुस्तरी बोलेथ्यो, “जाने हो ?”

केही क्षणको भलाकुसारी पछि मञ्जरीले फर्कने तयारी स्वरुप आफ्ना लुगामा टाँसिएका मकैका जुँगा टिप्न थाली । “ए १ जुँगा त यता पनि टाँसिएछ ।” भाउजूले मञ्जरीका काखि मुन्तिर हात पुर्याएर चुस्स केही तानिदिइन् । हल्का दुख्यो मञ्जरीलाई । “लौ है मञ्जरी नानी अब त बेला भएछ तिम्रो पनि ।” फुपूलाई भेट्न आएको मान्छेले पनि यस्तै भनेथ्यो, “अर्को साल त बेला हुने नै रै छ । काम सिकाउँदै गरे भै हाल्यो नि बहिनीलाई पनि ।” फुपूले आँखा तर्दै हप्काएकी थिइन्, “जे पायो त्यही नभन्नु है केटाकेटी लाई” ।
मञ्जरी अँध्यारो अनुहार लगाउदै आफ्नो घर भित्र पसी । ऐना अगाडि उभिएर एक हात उठाई । उसले आफ्नो काखिमा रौँहरू उम्रिएको देखि । अर्को हातले अघि छिमेकी भाउजूले तानेजस्तै गरी हल्कासँग तानी । उही मकैका जुंगाजस्तै नरम र कलिला रौहरू । अब आफू ठूली हुन लागेको आभास भयो उसलाई । फुपूका काखिमा भने यस्ता रौ कहिल्यै देखेकी छैन मञ्जरीले । नउम्रिएका होनन् । रौ खुईल्याउने विभिन्न प्रविधिको प्रयोग गर्छिन उनी । मञ्जरीले एक–एक गर्दै बयस्कहरूका आवश्यकता र गतिबिधी सम्झन थाली । सबै सहजै टर्ने सामान्य देखि ।

         उसको यौवनलाइ फक्रिन दिएन गाँउले समाजले 
अनायसै मञ्जरीको नजर आफ्नो शरिरको मध्ये भागमा पर्यो । ‘लौन नि । छाती पनि पो उचालिएछ’, खङ्ग्रङ्ग भई मञ्जरी । हजुरआमाले सधैं जसो फलाक्ने गरेको झट्ट सम्झना भयो मञ्जरीलाई, “यो तरुनी भइसकी पर सर्ने बेला भयो अब ।” ऐनामा आफ्नै अनुहार हेर्न लाज लाग्यो उसलाई । दुई हातले छोपी । उसले एक प्रकारको थप भित्री लुगाको पनि आवश्यकता महशुस गर्दा गर्दै झट्ट सम्झी, “साच्ची अब देखि त नुहाँउदा छाती पनि छोप्नु पर्यो नि ।” यसमा चाहिं ठूलै समस्या महसुस गरी मञ्जरीले । हिजोसम्म छाती नछोपी नुहाएको मान्छेले अचानक छाती छोपेर नुहाउँदा के के चाहिँ भन्ने हुन् रु नछोपौ तेसै भएन छोपौ कति उडाउने हुन् ? धारामा कहिल्यै मान्छे टुट्दैनन् त्यसमाथि । अब बस्न मुस्किल छ यो गाउँमा । सहरमा भने त्यस्तो हुदैँन । नहाउने कोठा अलग्गै हुन्छ । त्यहाँ गाउँका जस्ता पात्तिएका मान्छे पनि हुँदैनन् । कसैले कसैको मतलव गर्दैन । चुकुल लगाएपछि छोपे पनि भयो, नछोपेपनि भयो । कसैले केही भन्दैन । दिन दिनै नुहाउने फुपूलाई कहिल्यै कसैले साधेको सुनेकी पनि छैन नुहाए पछिका चिसा लुगा खोई भनेर । ती लुगा कसरी भिजेनन् भन्ने मनमा उब्जिएका जिज्ञासा निकै समय पछि मात्र हल गरेकी थिई मञ्जरीले ।
साँच्चै भन्ने हो भने यो गाउँका कोही पनि मन पर्दैन मञ्जरीलाई । सबै एक से एक छन् । सबै पात्तिएका र छिल्लिएका मात्र छन् । गाउँलेका के कुरा आफ्नै घरका आमा बाबु पनि मन पर्देन् मञ्जरीलाई । साँघुरो घर र एउटा कोठामा गुन गुनाएको अर्कोमा प्रष्ट सुनिने पातला गाह्राहरूका कारण बाबु आमाका कतिपय गोप्य गतिबिधिहरूका प्रत्येक्षदर्शि बन्नुपर्दा पुगेका मानसिक चोटहरूलाई बढो कष्ट पूर्वक सहे कि छ मञ्जरीले । शहरमा भने एउटा कोठा भित्र बसेर झगडै गरे पनि अर्कोमा पत्तो नहुने । बैठक कोठा, सुत्ने कोठा र भन्छा कोठा अलग अलग छन् फुपूका डेरामा । एक दिन टाउकामा हेलमेट लगाएको मान्छे आएको थियो । त्यो आउना साथै फुपूले मञ्जरीलाई कालो चिया पकाउन भान्सामा पठाएकी थिइन् । चिाया उमाल्दै गर्दा त्यो मानिस र फुपूका बीच भएको विवादका केही शब्द बल्ल तल्ल ठोकिएका थिए मञ्जरीका कानमा । त्यो मानिस बारम्बार “होल नाइट” भन्ने शब्द आक्रामक पाराले उच्चारण गरिरहेको थियो भने रक्षात्मक पाराले फुपू अनुरोध गदै थिइन् “बैनि फर्केपछि” । अन्त्यमा हार मानेपछि फुपूले एकै छिनमा आउने बाचा साथ त्यस बिरानो ठाउँमा मञ्जरीलाई एक्लै छोडेर बाहिर गएकी थिइन् ।
आफ्नो पुरै गाउँमा अनियन्त्रित छाडापनको महामारी फैलिएको आभास भएको छ मञ्जरीलाई । सबै जना प्रत्येक कुरालाई घुमाई फिराई अश्लितामा लगेर जोड्छन् उनका गाउँलेहरू । हुँदा हुँदा सत्यनाराणको पुजामा समेत अरु कथालाई छोटकरीमा सकेर गोपिनीका बस्त्रहरणमा नै रात छर्लङ्ग बाइदिन्छन खैजडी बजाउदै किर्तन गाउने हजुरबाहरू । यो फोहोरी समाजबाट भागेर कुनै सफा समाजमा जाने चाहना हुन्छ मञ्जरीलाई । सफा समाजको रुपमा शहर मात्रै देखेकी मञ्जरीले आफ्नो उचित गन्तव्य शहर नै भएको ठहर गरी । फेरि शहरमा काम पनि सजिलै पाई हालिन्छ । काम सिकाउदै गरे हुन्छ भनेर दिदीलाई भेट्न आउनेले त भनेकै थियो । भरे बा आएपछि फुपूसँगै सधैँ उतै बस्ने गरी सहर पठाइदिनु भनेर जिद्दी गर्नका लागि बहानाहरू सोच्न थाली मञ्जरी । उता मन्द ध्वनिमा रेडियो गाउँदै थियो, “।।।।। भागेर जाँउ कुन ठाउँ जाँउ ? मान्छे नमर्ने शहर हुदैन ।”