तन्त्रबाद मात्र जनता झुलाउँने मन्त्र 

शुशिल राई

0 0


नेपालदृष्टि । जनप्रतिनिधि कस्तो चुन्ने ? प्रश्नको उत्तर नखोजी देश विकास,परिवर्तन र रुपान्तरणको अपेक्षा गर्ने जनताको राजनीतिक चेतनाको स्तर आपसमा परस्पर बिरोधाभाषपुर्ण छ। पार्टीप्रतिको आस्था र नेताको परम आज्ञाकारी कार्यकर्ता हुनुको सिमारेखानै असीमित र अव्यबहारिक हुनुको कारण निश्चित उपल्लो नेताको जिवनमा क्षणभरमै कायापलट भएको देख्छौं। 

पार्टी, झण्डा र वादको नाममा भ्रष्ट, लुटाहा, फटाहा, अपराधी र बलात्कारी पनि योग्य,सक्षम र सहिको फुलबुट्टाले सिंगार पट्टार गरिदिने राजनीतिक प्रथा वास्तवमै हाम्रो समाज विकासको लागि ठिक हो त ? अनेकौं राजनीतिक व्यवस्थामा आएको परिवर्तनका बाबजुद आधारभुत जनताको जिविकोपार्जनका सवालहरुमा किन सुधार हुन सकेन ? संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थामा आईपुग्दा समेत देशले किन अपेक्षाकृत विकास र समृद्धिको मार्ग प्रशस्त गर्न सकेन ? परिवर्तित संविधान र राज्यव्यवस्थाले अंगिकार गरेका आधारभुत सिद्धान्त र मुल्य-मान्यताहरुले किन व्यबहारिक रुप ग्रहण गर्न सकेन ? सु-शासन,जवाफदेहिता र आदर्श राज्य व्यवस्थाका न्युनतम अवयबहरु किन संस्थागत,प्रभावकारी र स्थाई हुन सकिरहेको छैन ? के हामी आधारभुत नेपाली जनताले हाम्रो कोणबाट आफैंले समिक्षा गर्ने जमर्को गर्यौ ? राजनीतिक व्यवस्था परिवर्तनका निमित्त भएका राजनीतिक आन्दोलन र संघर्षहरुमा जनताको ऐतिहासिक र गरिमामय उपस्तिथि,बलिदानी र त्यागहरुले साच्चिकै आधारभुत जनताको चेतनाको स्तरलाई परिपक्क,जागरुक र विकसित बनाउन सक्यो या सकेन ? गहिरो समिक्षा हुन आवश्यक देखिन्छ।

राजतन्त्रको अन्त्यसँगै नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र आएपछि आधारभुत नेपाली जनताले बाँच्नकै लागी गर्नुपर्ने संघर्षको दायराहरु सरल,सहज,स्थाई बनेका छ्न ? राज्यले जनताप्रतिको आधारभूत दायित्वहरु पूर्ण निर्वाह गर्न सकेका छन ? व्यवस्थामा आएका अनेकौं परिवर्तनको बाबजुद नेपाली जनता अरु सशक्त र संगठित हुन सकेनन्। बरु निश्चित पार्टी,झण्डा र वादको सिकार हुन पुगे । टोलमा, वडामा, पालिका र क्षेत्रहरुमा फरक पार्टी र झण्डाको प्रतिनिधित्व गर्ने केहि मुठ्ठीभर नेताहरूको फरक फरक मण्डलीमा सहभागी हुने र आफ्ना स्वार्थपुर्तीका लागि राजनीतिलाई गरिखाने र चरिखाने सबैभन्दा सरल, सहज र शक्तिशाली माध्यम बनाएका राजनीतिक दलका कथित नेता कार्यकर्ताको अधीनमा समग्र नेपाली जनताको भाग्य र भविष्य बन्धक बनाउने फट्याइँ भईरहेको छ। 

यो पटक मङ्सिर ४ गते हुन गईरहेको आसन्न निर्वाचनको लागि संघिय निर्वाचन क्षेत्र न.३ का पार्टीका उम्मेदवारहरु यिनै पेशेवर कथित राजनीतिक ठेकेदारको घृणित क्रीडास्थलको बन्धक बनेको स-स्पष्ट नमुना देख्न सक्छौ । अझ स्पष्ट भन्नुपर्दा गत निर्वाचनमा निर्वाचित भएर दुई दुईपटक संघिय मन्त्री भएर असफल र विवादित बनिसकेका व्यक्तिलाई एमालेले आफ्नो उम्मेदवार बनाउदै गर्दा त्यहाँ केवल पार्टी, झण्डा र वादको नाममा जनताको मानसिकतासँग खेलिने विकृत मुडे राजनीतिक प्रथा हाबी गरिन्दैछ।

एउटा निर्वाचित जनप्रतिनिधि संघियता सहितको राज्यको पुनर्संरचना भएपछि,केन्द्रका अधिकारको विकेन्द्रीकरण वडा,नगर र क्षेत्रहरुमा अवतरण गरिएपछि अझ गाउँ-गाउँमा सिंहदरबार आएको संस्थागत प्रत्याभूति गर्नु र गराउनुको सट्टामा नेकपा एमालेले मोरङ क्षेत्र न. ३ बाट तेह्रथुमका व्यक्तिलाई केवल पार्टी झण्डा र वादको आडमा यो क्षेत्रको जनताको जनप्रतिनिधि बनायो, जुन संघियता,स्थानीयता र राज्यको पुनसंरचनाको मर्म माथीको प्रहार थियो । 

एमालेले स्थानीय निर्वाचनमा क्षेत्र न. ३ का अशिकांश पालिकाको प्रमुख र उप-प्रमुखको स्थान जितेकै आडमा आसन्न संघिय र प्रदेश निर्वाचन जित्न सक्ने सम्भावना हुँदै गर्दा खै कहाँ विगत निर्वाचित जनप्रतिनिधिको भुमिका, कार्यक्षमता र कुशलता नापजाँच गरियो ? अपेक्षाकृत विगतको प्रतिनिधिसभा निर्वाचित सदस्यले खेल्न नसकेको या नभ्याएको यथार्थ माथी क्षेत्र न.३ का एमाले नेतृत्व र कार्यकर्ताले समिक्षा गर्नुपर्ने होईन ? यथार्थतालाई उजागर गर्नुपर्ने होईन ? पार्टीका आम शुभेच्छुक र समर्थक जनतालाई झण्डा र वादको नाममा अन्धोभक्त बनाएर, भ्रमित गरेर व्यवस्थाको सिद्धान्त र मूल्य बिपरित पाहुनालाई घरमुली बनाएर क्षेत्रको विकास र सम्बोधन गरिनुपर्ने सवालहरु पूरा गर्न नसकिने रहेछ भन्ने कुरालाई उजागर गर्दै, सच्चिदै विकल्प खोज्नुपर्ने होईन ? आफ्ना कार्यकर्ता र समर्थक यहाँ पार्टीगत रूपमा कर्मठ र कट्टर एमालेवादी हुनसक्ला १ नेतावादी र पार्टीवादी एमाले कार्यकर्ताको चंगुलमा फस्नु र पाहुनालाई घरमुली बनाउनु एमाले सफल हुनु पक्कै थियो तर स्थानीय क्षेत्रबासी जनता असफल र बेवकुफ हुनु थियो। 

क्षेत्रको विकास,समृद्धि र स्थाईत्व माथीको प्रहारको पराकाष्ठा थियो । हामी मोरङ, क्षेत्र न.३ का जनतालाई केवल साधन बनाएर हाम्रो अभिमतको अवमूल्यन गराउने कार्य एमाले पार्टीले गर्यो। एमालेले जित्नु,नेताबाट पोषित र परिचालित ठेकेदार र कार्यकर्ताहरुले जित्नुको मतलब यहाँका क्षेत्रबासी जनताले जित्नु थिएन। नेकपा एमाले जिन्दावाद हुनु र यहाँका क्षेत्रबासी जनताको वास्तविक अर्थमा जिन्दावाद हुनु एउटै कुरा होइन। यो क्षेत्रबाट निर्वाचित भएपश्चात दुई दुईपटक मन्त्री भएका व्यक्तिले यो क्षेत्रको विकास र समृद्धिको लागी गर्न सक्ने थुप्रै हुँदै गर्दा पनि,वास्ता नगरिनु बरु हामीले दिएको अभिमत भ्रष्टाचार जस्तो जघन्य अपराध गर्ने अपराधीलाई वैधानिकता दिलाउने साधन बनाईनु र बनिनु हामी पार्टी र झण्डाको भुत सवार जनताको मनोरोग जिम्मेवार छ।

हाम्रो जगडिएको झण्डा र पार्टीवादी मानसिकताले न्युनतम सहि र गलत छुट्याउनै नसक्ने भेडा हुनु हाम्रो लागि निन्दनीय छ। हाम्रो क्षेत्रको विकास र समुन्नतिलाई रोक्ने हामी आफैं हौ। भानुभक्त ढकाल यो क्षेत्रको स्थानीय बासिन्दा होइनन्। यो क्षेत्रको मान्छे होइनन्,स्वाभाविक हाम्रो क्षेत्रको माटो ए मानिससँग लगन छैन,आत्मीयताभाव र प्रेम छैन। त्यसो भएपछि जिम्मेवारीबोध पनि छैन ।