के यो रविको पतन यात्रा हो ?

1 0


नेपालदृष्टि । नेपाली समाजमा ‘राजनीति फोहोरी खेल’ भन्ने अति घृणित भाष्य स्थापित गरिएको छ । समाजलाई ‘राजनीतिले मात्र सही दिशानिर्देश गर्छ’ भन्ने मान्यता गौण बनेको छ । यसका अनेक कारण छन् ।

राजनीतिबारे विकृत धारणा स्थापित हुनुमा राजनीतिक नेतृत्वकै भूमिका छ । राजनीतिक नेतृत्व राजनीतिप्रति इमानदार भइदिएको भए राजनीतिबारे गलत भाष्य स्थापित हुने थिए ।

राजनीतिक सत्ता नै बलियो सत्ता हो र राजनीतिक शक्ति नै अन्तिम शक्ति हो । त्यसैले राजनीतिक सत्ता र शक्ति आर्जन सबैको चाहना हुनु अस्वभाविक होइन । तर, राजनीतिक सत्ता स्थापित गर्दै शक्ति आर्जन गर्न अपनाइने गलत विधिका कारण राजनीतिबारे घृणित भाष्य स्थापित भएको हो ।

ठूलो जमात राजनीतिक नेतृत्वसँग सहमत छैन । त्यो जमात राजनीति मन पराउँदैन । तर यहाँ, राजनीति मन नपराएर वा राजनीतिक नेतृत्वसँग असहमत भएर कसैलाई सुख छैन । त्यसैले बहुसंख्य नागरिक राजनीतिसँग सम्बन्ध राख्छन् ।

राजनीति बाहेकका क्षेत्रबाट स्थापित व्यक्ति अन्तिममा राजनीतिमै पुग्छन् । कला, साहित्य, खेलकुदजस्ता क्षेत्रबाट ख्याति कमाएका व्यक्ति अन्तिममा राजनीतिक व्यक्तित्व बनाउन लोभिन्छन् । औलामा गनिने धनाढ्य नै किन नहोस् उनीहरुले अत्यमा रोज्ने राजनीति नै हो ।

राजनीति धैर्यको म्याराथन हो । फेसबुक लाइभ जस्तो ‘इन्सटेन्ट रिजल्ट’ आउने क्षेत्र होइन । रविहरुसँग धैर्य गरेर म्याराथन पूरा गर्ने ल्याकत नै छ भन्ने लाग्दैन । त्यसैले यो असफलताको यात्रा हो । ‘असफल रवीन्द्र यात्रा’को दोस्रो संस्करण हो ।

विनोद चौधरी नेपाल जस्तो गरिब देशबाट विश्व धनीहरुको सूचीमा पर्ने उद्योगी हुन् । उनलाई पैसाले पुगेन, पावर आर्जन गर्न राजनीतिमा छन् । समकालीन कला क्षेत्रमा सबैभन्दा सफल करिश्मा मानन्धर लगायत धेरै कलाकार राजनीतिमै छन् । विश्व राजनीति पनि उस्तै छ । डोनाल्ड ट्रम्पहरु उदारण हुन् ।

यस्ता कति हो कति, जो राजनीतिइतर क्षेत्रमा सुपर डुपर भएपछि राजनीतिक सत्ता स्थापित गर्न मरिहत्ते गरिरहेका छन् । तर, राजनीति– राजनीति नै हो । अन्य क्षेत्र जस्तो राजनीतिमा सहजै सत्ता स्थापित हुन सक्दैन ।

पत्रकारिता पेसाले राजनीतिसँग सबैभन्दा नजिकको सम्बन्ध राख्छ । अधिकांश विश्व विख्यात राजनीतिक नेतृत्व सुरुमा पत्रकारै थिए । लेनिन र समाकालीन धेरै नेतृत्व सुरुमा पत्रकारिता नै गर्थे । नेपालकै कुरा गर्ने हो भने जननेता मदनभण्डारीलगायत धेरै नेतृत्व सुरुमा पत्रकारिता नै गर्थे । समाकालीन नेपाली राजनीतिमा पनि पत्रकारिताबाटै आएका धेरै नेतृत्व छन् ।

राजनीतिक उद्देश्य प्राप्तिका लागि मिसन पत्रकारिता गरेकाहरु राजनीतिमा स्थापित भएका छन् । तर, व्यवसायीक पत्रकारिताको नामबाट स्थापित भएर राजनीति रोजेकाहरु सफल भएको इतिहास छैन भन्दा अत्युक्ति हुँदैन । पछिल्लो उदारण हुन्, रवीन्द्र मिश्र ।

२०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा बर्गेल्ती मिडिया खुले । तर, त्यो भन्दा ३ वर्ष अगाडि अथार्त २०४३ सालमै बीबीसीले नेपाली सेवा प्रारम्भ गरेको थियो । र, आजसम्म पनि बीबीसी नेपालीमाझ भरपर्दो सूचनाको स्रोत हो । सोही बीसीसीमार्फत स्थापित भएका व्यक्ति हुन्, रवीन्द्र मिश्र ।

पत्रकारिताको माध्यमबाट राजनीतिक नेतृत्वलाई खरो प्रश्न गरेर स्थापित भएका पत्रकार हुन्, रवीन्द्र । राजनीतिक नेतृत्वलाई प्रश्न गर्दागर्दै २०७३ मा पत्रकारिता त्यागेर राजनीति रोजे । ‘साझा पार्टी’ नामक दल नै स्थापना गरेर राजनीतिमा होमिए । तर, जुन दिनदेखि राजनीति रोजे सोही दिनदेखि ‘रवीन्द्र लोकप्रियाताको ग्राफ’ ओरालो लाग्यो ।

प्रश्न र जवाफ विपरीत ध्रुव हुन् । प्रश्न गर्न जति सजिलो हुन्छ, जवाफ दिन त्यति नै अप्ठ्यारो हुन्छ । प्रश्नकर्ताको रुपमा रवीन्द्रले जति उचाइ कायम गरेका थिए जवाफ दिने सवालमा वरीन्द्र त्यति नै तल खसे । अर्थात, राजनीतिक नेतृत्वको रुपमा रवीन्द्र शतप्रतिशत असफल भए ।

रवीन्द्र असफलताको रेस यहाँसम्म पुग्यो कि जहाँबाट फर्कने सम्भावना शून्य जस्तै बन्यो । आफूलाई सबैभन्दा प्रगतिशिल दाबी गर्दै राजनीति रोजेका रवीन्द्र प्रतिगमी कित्तामा पुगेर थन्को लागे । खुङ्खार राजावादी भएका छन् । एउटा राजनीतिक नेतृत्व स्खलित हुने ठाउँ यो भन्दा अरु हुनै सक्दैन ।

०००

रवीन्द्रले पतनको बाटो समात्दै गर्दा रवि लामिछाने पत्रकारितामा नयाँ उचाइ कायम गर्दै थिए । पीडामा बहने आँसुहरुलाई संगालेर रविले आफूलाई शक्तिशाली बनाए ।

‘सिधा कुरा प्रधानमन्त्रीसँग’ हुँदै ‘सिधा कुरा जनतासँग’ र अन्त्यमा ‘सिधा कुरा’सम्म आइपुग्दा रविले अपेक्षित उचाइ प्राप्त गरेका हुन् । रवि, दुःखी गरिबका सारथी पनि बने ।

टेलिभिजन कार्यक्रम सिधा कुरामार्फत रविले शब्द शब्दमा राजनीतिप्रति घृणा व्यक्त गरे, राजनीतिक नेतृत्वलाई सत्तोसराप गरे । तर, अन्त्यमा रविले पनि रवीन्द्र जस्तै राजनीति नै रोजे । अब, समयको परीक्षामा छन्, रवि ।

तत्कालका लागि पत्रकारिताबाट प्राप्त लोकप्रियतालाई राजनीतिक शक्तिमा रुपान्तरण गर्ने प्रयोग असफल भइसकेको हो । त्यसका उदारण रवीन्द्र हुन् । तर, पनि रविले सोही प्रयोग दोहोर्याउने प्रयत्न गरेका छन् ।

‘परिवर्तन पत्रकारिताबाट सम्भव छैन, राजनीतिबाट मात्रै सम्भव हुन्छ’ भन्दै रविले २०७९ असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरे । अब प्रश्न गर्ने रवि जवाफ दिने ठाउँमा पुगेका छन् । जवाफ दिने भूमिकामा रवि सफल हुन्छन् या असफल त्यो समयले बताउने छ । तर, ‘पत्रकारिता– पत्रकारिता नै हो, राजनीति– राजनीति नै हो’ भन्ने यसअघि नै पुष्टि भइसकेको कुरा हो । अर्थात पत्रकारिता गर्नु जस्तो राजनीति सहज होइन ।

०००

पत्रकारिता त्यागेर राजनीति रोजेका रवीन्द्र त्यो दिनसम्म लोप्रिय थिए, जुन दिनसम्म आम निर्वाचन भएन । जुन दिन आम निर्वाचन भयो त्यो दिनदेखि रवीद्रको रथ नै हरायो ।

पार्टी स्थापना गरेको एक वर्षपछि अर्थात २०७४ मा आम निर्वाचन सम्पन्न भयो । रवीन्द्र काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार भए । उनले सम्मानजक नै मत पाए ।

पाको राजनीतिज्ञ कांग्रेस नेता प्रकाशमान सिंहसँग रवीन्द्र ८१९ मतले मात्र पराजित भएका हुन । मिश्रले १० हजार १ साय १८ मत प्राप्त गर्दा सिंहले १० हजार ९ सय ३७ मत प्राप्त गरे । हार झिनो मतको थियो तर सन्देश ठूलो ।

एउटा पुरानो पार्टीका स्थापित नेता र एक वर्ष अगाडि जन्मेको पार्टीका उम्मेदवारबीच भएको प्रतिस्पर्धा रोचक थियो । झिनो मतले मात्र पराजित भएका रवीन्द्रले नैतिक रुपमा जितेका थिए । तर, त्यसपछि रु त्यसपछि नेपाली राजनीतिमा रवीन्द्रको नामै हरायो ।

०००

हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा निर्वाचन नजितेसम्म केही हुँदैन । निर्वाचन जिते पनि पहिलो, दोस्रो वा तेस्रो शक्ति नबनेसम्म केही हुँदैन । किनकी, अङ्कगणितमै सम्पूर्ण कुरा निर्भर हुन्छ । यस अर्थमा रवीन्द्रले निर्वाचन नै जितेको भए पनि हुने केही थिएन । कम्तिमा गठबन्धन सरकार गठन गर्न पुग्ने सम्मको शक्ति नभए केही हुन्न ।

संसदीय अङ्कगणितले सवथोक निर्धारण गर्ने व्यवस्थामा उन्नत नारा लिएर रवीन्द्र वा रविहरु उदाउँदैमा तात्विक फरक पार्दैन । किनकी, नारा नै मात्र त नेपाली जनताले वर्षौदेखि सुन्दै आएका छन् । - दृष्टि न्यूज