अहिले के कारणले ओली मौन ?

1 0


नेपालदृष्टि । स्थानीय तहको परिणाम धमाधम आउन थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाधबाहेक सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ओलीले गत स्थानीय निर्वाचनअघि २०७९ वैशाख २७ गते मात्र एकैदिन चार वटा सार्वजनिक कार्यक्रममा भाषण गर्न भ्याएका थिए । वैशाख ३० मा मतदान गरेयता ओली चुपचाप छन् । त्यसयता गत आइतबार मात्रै सार्वजनिक कार्यक्रममा देखिए ।

ओलीले स्थानीय निर्वाचनअघि देशव्यापी अभियान नै सञ्चालन गरेका थिए । निर्वाचनपछि चुपचाप रहेका ओली आइतबार सार्वजनिक कार्यक्रममा देखिए पनि राजनीतिक भाषण गरेनन् । कसैलाई गाली पनि गरेनन् ।

निर्वाचन कार्यक्रममा भने ओलीले अनेक उखान–टुक्का जोडेर लामो भाषण गर्दै विपक्षी दलका नेताहरूको चर्को आलोचना गर्थे ।
एमालेको घोषणापत्र, नीति कार्यक्रम सुनाउनभन्दा पनि विपक्षी दलका नेतामाथि जाइलाग्थे ।

प्रत्येक सभा र कार्यक्रममा गठबन्धनमा सामेल दल खासगरी कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलाई अराजनीतिक लाञ्छना लगाउँथे ।

निर्वाचनपछि सार्वजनिक कार्यक्रममा प्रकट भए पनि उनले निर्वाचनमा हारको कारण र असफलताको समीक्षा गर्नुभन्दा भ्युटावरको बढाइचढाई गर्दै औचित्य पुष्टि गर्न खोजे ।

आफ्नो सरकारको पालामा बनाएको भ्युटावरलाई फ्रान्सको ‘इफेल टावर’ सँग तुलना गर्न भ्याए । बरु भ्युटावर बनाउने योजना नराखेको भन्दै नेपाली कांग्रेस र अन्य दलको घोषणापत्रको आलोचना गरे । त्यस कार्यक्रमबाहेक ओली करिवकरिव गुप्तबासको अवस्थामा छन् ।

ओलीले गत वैशाख १८ देखि २७ गतेसम्म करिब ३० वटा कार्यक्रममा भाषण गरेका थिए । ति सबै भाषणमा सूर्यले प्रचण्ड बहुमत ल्याउने र अरु प्रमुख दलको हविगत हुने भविष्यवाणी गरेका थिए । तर, त्यसपछि परिणाम सार्वजनिक भइसक्ने अवस्थामा पनि ओली किन चुपचाप छन् रु आश्चर्य मात्र नभै सबैका लागि रहस्यको विषय बनेको छ ।

१० दिनको बीचमा जहाँजहाँ केपीले भाषण गरे परिणामा प्रायः सबै स्थानमा एमालेले हार व्यहारेको छ । निर्वाचनको परिणामसँगै एमाले सभामा देखिएको भिड ओलीको कमेडी सुन्न र मनोरञ्जन लिन सीमित भएको चर्चा चलेको छ ।

हुन पनि यो स्थानीय निर्वाचनले एमालेलाई गम्भीर धक्का लागेको छ । महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि ३० वर्ष एमालेले जित्दै आएको नगरपालिकासमेत अहिले गुमाएको छ ।

एमालेको गढ मानिने बुटवल उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका खेलराज पाण्डेयले जित हात पारेका छन् । पाण्डेले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पराजित गरे ।

यस्तै एमालेले काभ्रेको पनौती नगरपालिकामा पनि हार व्यहोरेको छ । पनौती पनि एमालेको गढ मानिन्छ । पनौतीमा पनि काँग्रेसका उम्मेदवारसँग एमाले पराजित भएको छ ।

यता अर्को गढ भनिने उपमहानगरपालिका हेटौंडामा पनि एमालेको विजोग भएको छ । हेटौंडामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामा मेयरमा विजयी भइन् । हेटौंडा मात्र होइन मकवानपुर जिल्लाभरी नै एमालेको गढ भत्किएको छ ।

एमालेले आशा राखेको काठमाडौं महानगरपालिकामा बालेन साह झण्डै दोब्बर मतान्तरका साथ अगाडि छन् । एमाले तेस्रोमा खुम्चिएको छ । एमालेले अर्को आश गरेको पोखरा महानगरमा पनि नेकपा एकीकृत समाजवादीका धनराज आचार्य फराकिलो मतान्तरसहित जित नजिक छन् । यता भरतपुरमा रेनु दाहालसँग एमालेका विजय सुवेदीले हार व्यहोर्नुपरेको छ ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले जितेका दुई महानगरपालिका काठमाडौं र पोखरा पनि गुमाउनुपरेको छ । विगतमा एमालेको गढ मानिने देशका महत्वपूर्ण नगरपालिकामध्ये दमक, मध्यपुर ठिमी, कीर्तिपुरलगायतमा पनि एमाले नराम्रोसँग हारेको छ ।

पूर्वमा एमालेको पराजय भनिसाध्य छैन । अघिल्लो निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको धनकुटामा एमाले हारेन मात्र, एमालेको किल्ला ढलेको छ । यस्ता कति हो कति गढ भएमालेले गुमाएको छ ।

यसअघि सात वटा उपमहानगर जितेको एमाले यसपटक तीन वटामा खुम्चिएको छ । नगरपालिका र गाउँपालिका पनि २०७४ को तुलनामा झण्डै आधा हारेको छ । यो हारसँगै एमाले अध्यक्ष ओलीको अडम्बर एकसाथ धुलिसात भएको टिप्पणी राजनीतिक वृत्तमा चलेको छ ।     - दृष्टि न्यूज