कसरी विभाजनको मार खेप्दै एमाले ?

1 0


नेपालदृष्टि । विधि र विधानको अधिनस्थ हुनुपर्ने कम्युनिष्ट पार्टीलाई केपी शर्मा ओलीले व्यक्तिवादी बनाएपछिको परिणाम नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा ठूलो क्षति व्यहोरिरहेको छ ।

देश भर जारी मतगणना तथा आएका मतपरिणाममा एमालेले ०७४ को निर्वाचनमा प्राप्त गरेका ४० प्रतिशतभन्दा बढी उपलब्धि ०७९ को स्थानीय तह निर्वाचनमा जोगाउन नसकेको देखिन्छ ।

एमाले विभाजन भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेपछि एमालेलाई देशैभर क्षति पुगेको छ । स्थानीय तह निर्वाचनमा एक्लैले बहुमत ल्याउने घोषणा गरेका ओलीले मतगणना जारी हुँदैगर्दा अस्ती आइतबार धाँधली भएको हाँस्यास्पद विज्ञप्ति जारी गरेका छन् ।

निर्वाचनअघि नै क्षतिको पूर्वानुमान गर्दै घनश्याम भुसालसहितका नेताहरूले वामपन्थी गठबन्धनको कुरा उठाएका थिए । तर, एमाले अध्यक्ष ओलीले ‘फजुल कुरा गरेर समय बर्बाद नगरौं’ भन्दै भुसालहरूका कुरालाई वेवास्ता गरेका थिए । अहिले परिणामले एमाले क्रमशः सकिँदै–सकिँदै जाँदा अध्यक्ष ओलीको मुख बन्द छ । पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले विभाजनको असरले पार्टी पराजयको शिकार भएको स्वीकार गरिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले कतिपय ठाउँमा उम्मेदवार उठाएको छैन । तर, ती ठाउँमा पनि एमालेलाई क्षति पुगिरहेको छ । पार्टीमा छाएको निराशाबीच निर्वाचन झेल्नुपर्ने, त्यसमाथि पार्टीका योग्य र इमान्दार नेता–कार्यकर्ता पार्टी बाहिर रहेका कारण एमालेले यस्तो दुर्गती व्यहोर्नुपरेको नेताहरु बताउँछन् ।

पूर्वमा ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा एमाले पराजित भएको छ । पूर्वबाटै एमालेले विरासत गुमाउने क्रमले सुदूरपश्चिमसम्मै निरन्तरता पाएको छ ।

अघिल्लो निर्वाचनमा एमालेले अरु पार्टीलाई क्लिन स्वीप गरेको धनकुटामा यसपटक किल्ला तोडिएको छ । तानसेन नगरपालिकामा यसपटक एमाले बढारिने अवस्था बनेको छ ।

देश भर जारी मतगणना तथा आएका मतपरिणाममा एमालेले ०७४ को निर्वाचनमा प्राप्त गरेका ४० प्रतिशतभन्दा बढी उपलब्धि ०७९ को स्थानीय तह निर्वाचनमा जोगाउन नसकेको देखिन्छ ।

इलामको सूर्योदय नगरपालिकामा एमालेको विरासतलाई एकीकृत समाजवादीले तोड्दैछ । अघिल्लो निर्वाचनमा १२ हजार ९ सय १९ मतका साथ जितेको एमालेका मेयर रनबहादुर राईले नै यसचोटि एकीकृत समाजवादीको तर्फबाट पूर्वमा पहिलो नगरपालिका जित्ने कीर्तिमान कायम गर्दैछन् ।

पूर्वको एकमात्र महानगर विराटनगरमा फेरि पनि एमाले पराजित हुँदैछ । दुई उपमहानगरमध्ये धरानमा एमाले दोस्रो स्थानका लागि संघर्ष गरिरहेको छ । कहिल्यै पनि वामपन्थीले नहारेको धरानको इतिहासमै यसपटक एमालेप्रति विकर्षण बढ्दा त्यस्तो दुर्गती व्यहोर्नुपरेको हो ।

त्यहाँ मेयरमा सत्ता गठबन्धनतर्फका कांग्रेस उम्मेदवार अगाडि छन् भने उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार अगाडि आएका छन् ।

अर्को उपमहानगर इटहरीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले मेयरमा अग्रता लिएको छ । इटहरी पनि एमालेले जित्दै आएको पालिका हो ।

रौतहटको गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका शम्भु साहको अग्रताले त्यहाँ एमालेको सम्पूर्ण गुञ्जायस समाप्त भएको छ ।

०७४ को निर्वाचनमा साह एमालेबाट २९ सय ४९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए । यसपटक लोसपाका पुरानै प्रतिस्पर्धी अजय गुप्तालाई भारी मतान्तरका साथ जित्ने तरखर गर्दैछन् । त्यहाँको उपमेयरमा पनि एकीकृत समाजवादीका शैलकुमारी साह अगाडि छन् । वडा नं। १ मा एकीकृत समाजवादीका लालबाबु चौधरीले वडाध्यक्ष जितिसकेका छन् ।

बागमती प्रदेशको उपमहानगरमध्ये हेटौंडामा एमालेका मीनाकुमारी लामाको अग्रतासँगै एमाले तेस्रो स्थानमा पुगेको छ । अहिले हेटौंडामा एमाले दोस्रो स्थानमा पुग्नका लागि संघर्ष गर्दै छ । मकवानपुरको एमाले गढ मानिने कैलाश र मनहरी गाउँपालिकामा एमालेले पराजय व्यहोरिसकेको छ ।

पोखरा महानगरमा मेयरका उम्मेदवार धनराज आचार्यको अग्रता बाक्लिँदै गएको छ । पाँचदलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका आचार्य मेयर र कांग्रेसका कोपिला रानाभाट उपमेयरमा अगाडि छन् ।

बुटवल उपमहानगरमा एमाले मात्रै साफ हुँदै छैन, नेताहरुले बोकेका स्थानीय कार्यकर्ताबीचमै मारामार चल्न थालेको छ । एमाले महासचिव शंकर पोखरेलको हठका कारण मेयरको उम्मेदवार बनाइएका बाबुराम भट्टराई प्रतिस्पर्धामा तेस्रो स्थानमा छन् ।

०७४ मा मेयर, उपमेयर जितेको उक्त उपमहानगरमा यसपटक एमाले निक्कै तल झर्नुका पछाडि व्यक्तिवादी कार्यशैली प्रमुख कारक रहेको स्थानीय एमालेहरू बताउँछन् ।

त्यहाँको वडा नं। २ मा एकीकृत समाजवादीका सुनिल शाक्य प्यानलसहित वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।
बुटवलमात्र नभई रुपन्देही जिल्लाभरिमै एमालेले पुरानो विरासत गुमाइसकेको छ । पाल्पा र गुल्मीमा पनि अघिल्लो निर्वाचनमा प्राप्त मतपरिणामलाई एमालेले जोगाउन सकेको छैन ।

कर्णाली प्रदेशका अधिकांश पालिकामा एमालेले पुरानो विरासत गुमाइसकेको छ । एमालेले जितेका पालिकाहरूमा माओवादी, एकीकृत समाजवादी र नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेले विरासत गुमाइरहेको अर्को प्रदेश हो, सुदूरपश्चिम । एमाले सचिव लेखराज भट्टकै वडामा एमाले पराजित भएको छ । ०७४ मा माओवादीले जितेको कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा अहिले कांग्रेसले जितेको छ । एमालेका उम्मेदवार भारी मतान्तरका साथ पराजित भए । पराजित हुने उम्मेदवार लेखराजका भतिजा हुन् ।   - दृष्टि न्यूज