के हो त सुनवर्षी ? कसरी सुरुभयो ?

हरि ढुंगाना

5 0


नेपालदृष्टि । पूर्वी मोरङको रतुवामाई–५ मा अवस्थित प्रसिद्ध सुनवर्षी महाराजथान धार्मिक पर्यटकीय स्थानको रूपमा विकास हुँदै गइरहेको छ । यस क्षेत्रलाई स्थानीय समाजसेवीदेखि पूर्व सांसदसम्मको पहलमा तीनै तहका सरकारको आर्थिक सहयोगमा सुनवर्षी महाराजथान सुव्यवस्थित र आकर्षकस्थान बन्दै गएको छ । त्यहाँ रहेको सुनवर्षी महाराजको सुन्दर मन्दिर, पोखरीको स्वच्छ पानी र वरिपरि घेरावाराभित्र लगाइएका विभिन्न प्रकारका बोटविरूवाहरूको हरियाली दृष्यले त्यहाँ पुग्ने जोसुकैलाई आनन्दको अनुभूति दिलाउँछ ।

त्यस सुनवर्षी महाराजथान ४ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । जसमा २ बिघा पोखरीको पानीले ढाकेको छ । त्यस महाराजथानको आफ्नो जमिन वरिपरी तारको घेराबाराले घेरेर संरक्षण गरिएको छ भने पूर्वतिर प्रवेशद्वार बनाई दर्शन गर्नेलाई पदमार्गबाट मन्दिर पुग्ने व्यवस्था छ । पोखरीको वरिपरी विशेष गरेर कदमका रूखहरू छन् भने पूर्व दक्षिणमा अशोक, धुपी, कपुर, कल्कीलगायतका प्रजातिका विरूवाले वातावरण नै रमाइलो बनाएका छन् । अझ त्यहाँ वसन्त ऋतुमा पुग्नेको मनै प्रफुल्लित हुन्छ ।

यस सुनवर्षी पोखरीको उत्पत्ति सम्बन्धमा महाभारतकालिन समयमा पाण्डवहरूले कौरवसँग जुवा खेल्दा हारेपछि बाह्र वर्ष बनवास र एक वर्ष गुप्तवास विताउने शर्त थियो । सोही अनुसार बाह्र वर्ष वनवास विताएर एक वर्ष गुप्तवास विराट राजाको दरबारमा विताएका थिए । यसैक्रममा गाईहरूलाई पानी खुवाउन पाण्डवहरूले सुनवर्षी पोखरीको स्थापना गरेको जनविश्वास छ । विराट राजाको दरबारको भग्नावशेष आज पनि विराटनगर–१८ भेडियारीमा देख्न पाइन्छ । त्यसबाट पनि त्यो ठाउँ एउटा धार्मिक तथा ऐतिहासिक हो भनेर मान्न सकिन्छ ।

त्यस्तै धेरै वर्ष अगाडि त्यस पोखरीमा भाँडाकुँडाहरू चाहिएमा खाना पकाएर खान पाइने तर लान नपाइने थियो । तर एकजनाले घर लगेर नल्याएकोले भाँडाकुँडा नै लोप भएको बताइन्छ । साथै त्यहाँ सुनका असर्फीहरू पनि भेटिएकाले त्यस ठाउँलाई सुनवर्षी भनिएको स्थानीय इश्वरी दाहालले बताए ।

तर पूर्व शिक्षक तथा सुनवर्षी महाराज मन्दिर पोखरी देवास्थलका सचिव शिवदयाल राजवंशी भने राजवंशी भाषामा आफ्नो कूलदेवतालाई सनवरीस महाराजा भन्ने गरिन्छ । यसरी सनवरीसबाट विस्तारै सुनवर्षी भनिदै आएको उनको तर्क छ ।

त्यहाँको सबैभन्दा महत्वपूर्ण कुरा आकर्षक सुनवर्षी महाराजथानको मन्दिर हो । यो पोखरीको पश्चिमउत्तर दिशाको कुनामा रहेको छ । यसको स्थापना विसं १९८५ मा काठ र टिनले निर्माण गरिए तापनि विसं २०७४ सालमा यस मन्दिरलाई पुनर्निमाण गरी आधुनिक शैलीबाट बडो सुन्दर बनाइएको छ । यसको पुनर्निर्माण तत्कालिन सांसद तथा हाल एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा पर्यटन मन्त्रालयबाट १२ लाख, जिविस मोरङबाट ५० हजार, संस्कृति मन्त्रालयबाट ४ लाख, राष्ट्रिय ताल संरक्षण विकास समितिबाट ५ लाख र निर्वाचन क्षेत्र विकास कोषबाट १७ लाख गरी कूल ३८ लाख ५० हजार रकम २०७१ सालदेखि २०७४ सम्म प्राप्त भएको मन्दिरको शिलालेखमा उल्लेख छ । सो बजेटबाट सुनवर्षी महाराजको मन्दिर, पोखरी वरिपरीको पर्खाल मर्मत, वृक्षारोपण र तारको घेरावारा लगाइएको सुनवर्षी महाराज मन्दिर पोखरी देवस्थल संरक्षण समितिका अध्यक्ष अनन्त बुढाथोकीले बताए ।

यस सुनवर्षी महाराजथानको मन्दिरमा शनिबार, औंसी, पूर्णिमा, एकादशी र वैशाख १ गते विशेष पूजा गरिन्छ । त्यहाँ फूलघोडा, केरा, चामल, फूल, भेटी, अगरबत्ती, परेवा र गाईको दूध चढाउने गरिन्छ । यसरी पूजा गर्दा आफ्ना मनोकामना पूरा हुने विश्वास गरिएका छ । सुनवर्षी महाराजलाई राजवंशी समुदायले कूलदेवताको रूपमा मान्दछन् भने अन्य जातिले स्थानीय देवताको रूपमा मान्दछन् ।


यस सुनवर्षी देवस्थलमा वैशाख १ गते भव्य मेला लाग्ने गर्दछ । यस दिनलाई राजवंशी समुदायले सिरूवा पर्वको रूपमा मनाउँदछन् भने अन्य जातिले नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाउँदछन् । मेला भर्न झापा, सुनसरी र मोरङका विभिन्न ठाउँबाट केटाकेटी, युवायुवती र वृद्धवृद्धासम्मको ओइरो लाग्ने गर्दछ । त्यहाँ कोरोना महामारीको कारण विसं २०७७ र २०७८ सालको सिरूवा मेला लाग्न सकेन । यसपालि भने वैशाख १ गते भव्य मेला लाग्ने बताइएको छ ।

यस सुनवर्षी महाराजथानलाई पर्यटकीय स्थल बनाउने लक्ष्य अनुरूप राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास कार्यक्रम अन्तरगत ३३ लाख ८० हजारको बजेटबाट पोखरी वरिपरी ‘टायल्स इन्टरलक ब्लक’ लगाएर ४७४ मिटर लम्बाइ र २ मिटर चौडाको पदमार्ग बनाई दर्शनार्थीलाई दृष्य अवलोकन गर्न सजिलो बनाइएको छ ।

त्यस्तै प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट ४५ लाखको बजेटमा भव्य तराई–मधेस जनजाति संग्राहलय भवन निर्माणाधीन अवस्थामा छ । यस भवनलाई अझै बजेटको आवश्यकता रहेको सुनवर्षी संरक्षण समितिका सचिव शिवदयाल राजवंशीले बताए । सचिव राजवंशीले भने ‘पर्यावरण संरक्षण गर्न प्रदेश सरकारले भरखरै १५ लाख बजेट छुट्याएको छ । यसबाट रूखविरूवा रोप्ने, रङरोगन गर्ने, फलैंचा बनाउने, माटो पुर्ने र पोखरीमा मोटरबोट चलाउने योजना रहेको छ ।’

त्यस क्षेत्रलाई रतुवामाई नगरपालिकाले पर्यटकीय क्षेत्रको रूपमा राखेर गुरुयोजना (डीपीआर) बनाइसकेको छ । नगरपालिकाको १० लाख बजेटबाट कालीमाताको मन्दिर बनिरहेको छ । यसको विकासमा आफूले सशक्त रूपमा सहयोग पुर्याउने नगरप्रमुख रविन राईले बताए ।

रतुवामाई–८ दुर्गा माविका प्रअ तथा लेखक जीतबहादुर कटुवाल, सुनवर्षी देवस्थलमा पार्कको रूपमा विकास गरी बालबालिकाका लागि चिप्लेटी, पिङका साथै रमाउने सामग्री राखेर टिकट लिएर हेर्ने व्यवस्था मिलाउन सके आम्दानीको स्रोत बढ्नुको साथै सुनवर्षी महाराजको महत्व अझ बढ्ने सुझाव दिनु हुन्छ ।

यस सुनवर्षी महाराजबाट उत्तर सुभा, जयनगर हुँदै मंगलबारेसम्म सडक कालोपत्रे हुँदैछ । त्यस्तै दक्षिण काइमी, शान्ति क्षेत्र, केरजा हुँदै डाइनियापूर्व हुलाकी मार्गसम्म कालोपत्र भइसकेको छ । अब पश्चिम रञ्जनी, फर्साडाँगी, दोमना, फूलगाछी सुनवर्षी हुँदै उल्लुघुटु, दाम्राभिट्टा हुँदै गौरादहसम्मको सडकको स्तरोन्नति गरी कालोपत्रे गरेको खण्डमा चारैतिरको केन्द्र सुनवर्षी महाराजथान बन्न सक्छ । साथै यस सुनवर्षी महाराजथानको छेउमा नै पूर्वतिर रहेको बक्राहा नदीमा पनि झोलोङ्गे पुल गतवर्षदेखि सञ्चालनमा आएबाट रतुवामाई, उर्लाबारी, दमक पथरी, कानेपोखरी, रंगेली, विराटनगरलगायतबाट आन्तरिक पर्यटक आउने गरेकाले यसको महत्व बढ्दै गएको देखिन्छ । अझ यस सुनवर्षी महाराजथानमा धर्मशाला, होटल, घरबास ९होमस्टे० सञ्चालन गर्न सके समृद्ध बन्ने सामाजिक अभियन्ता चन्द्रप्रसाद घिमिरेले बताए ।

यसरी सुनवर्षी महाराजथानलाई समाजका सवैपक्ष बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी र सरकारको सहयोग मिल्दै गएमा चाडैं नै मुहार फेर्न समय लाग्ने छैन । साथै यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरी विद्यार्थीलाई ज्ञान दिनसके भावि सन्ततीले यसको महत्व बुझ्ने थिए । अर्को महत्वपूर्ण कुरा पर्यटन प्रवर्द्वनमा जोड दिई प्रचारप्रसार गर्नु पर्ने देखिन्छ ।