के सूर्य बिक्री हुने चिन्ह हो ?

1 0


नेपालदृष्टि । नेकपा एमाले नेता भीम रावलले एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गरेकामा असन्तुष्टि जनाएका छन् । बुधबार एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने पाँच बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार राप्रपाका उम्मेदवारले आसन्न स्थानीय सनर्वाचनमा सूर्य चिन्हमा चुनाव लड्ने भएका छन् ।

उक्त विषयलाई लिएर नेता रावलले आक्रोश पोखेका छन् । विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै आवद्ध हुने भन्दै गरिएको सहमतिप्रति उनले प्रश्न उठाएका हुन् ।

‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो ?’ सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमा लेखेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ ?’
निर्वाचन ऐन २०७३ मा ‘उम्मेदवारलाई चिन्ह दिइसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन । त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुन्छ’ भन्ने लेखिएको छ । बुधबार नै एमाले र नेपाल परिवार दलबीच पनि चुनावी तालमेलको सहमति भएको थियो ।  -दृष्टि न्यूज