मोबाइल गेमको सपना

सीता आचार्य

0 0


नेपालदृष्टि । विमललाई आज खासै सञ्चो थिएन। उसको टाउको अलिअलि दुखिरहेको थियो। त्यसैले आमाले आज विमललाई अनलाइन कक्षामा पनि नबस भन्नु भयो। हुन पनि आजकाल विमललाई अनलाइन कक्षामा बसेर पढ्न मन लाग्दैन। त्यसैले आमाले अनलाइन कक्षामा बस्नुपर्दैन भनेपछि उ मनमनै खुसी भएको थियो। 

उ विच्छ्यौनामा पल्टिएको थियो। पढ्न नपरेकोमा खुसी भएपनि मोबाइल हेर्न नपाएकोमा भने उसलाई नमिठो लागिरहेको थियो। आमाले भान्सामा खाना पकाइराख्नुभएको थियो। 

विमलले विस्तारै उठेर आमाले थाहा नपाउनेगरी मोबाइल झिक्यो। अनि विस्तारै सिरकले मुखसमेत ढाकेर मोबाइल हेर्न थाल्यो। उसले एउटा गेम हेरिरहेको थियो मोबाइलमा। त्यो उसलाई निकै मन पथ्र्यो। 

मोबाइललाई साइलेन्स मोडमा राखेर गेम खेल्दा खेल्दै उसको टाउको अझै दुख्न थाल्यो तर पनि उसलाई मोबाइल छाड्न मन लागेको थिएन। यत्तिकैमा आमाले भान्सातिर आफ्नो फोन खोज्न थाल्नुभयो। 

– यहीँ राखेको फोन कता परेछ?

उहाँले चर्को आवाज गर्दै विमललाई सोध्नुभयो। 

– बाबु, मेरो फोन देखेनौ?

अब विमललाई अप्ठ्यारो भयो। साँचो कुरा बोले गाली खाइन्छ। झुठो कुरा बोलेपछि पनि थाहा पाएपछि गाली नै खाइन्छ। उसले एकछिन पछि गाली खाए खाइयोस् भन्ने सोच्दै आमासँग झुठो बोलिहाल्यो। 

– म त यहाँ सुतिरहेको छु, मलाई थाहा भएन।

यतिभनेर उसले मोबाइललाई छेउतिर राख्यो र निदाउने प्रयास ग¥यो। एकछिन पछि आमाले आफ्नो मोबाइल खोज्दा खोज्दै विमल सुतेको ठाउँमा आइपुग्नुभयो। अनि विमलले सिरानीतिर लुकाएको मोबाइल भेटाउनुभयो। त्यतिञ्जेलसम्म विमल निदाइसकेको थियो।

सपनामा उसले आफुले खेल्ने गेमको संसारमा आफुलाई पायो। उसले गेम खेल्दा देखेका चरित्रहरु उसको नजिकै आए। अनि विमललाई देखेर उनीहरु जोडले हाँस्न थाले। 

विमललाई सुरुमा त आफुले दिनदिनै खेल्ने गेमका खेलौना जस्ता चरित्रहरु आफ्नै अगाडि देख्दा निकै खुसी लागेको थियो तर उनीहरु आफुलाई गिज्याउँदै हाँसेको देख्दा भने अनौठो लाग्यो। अनि मन पनि परेन। 

– हेर त यो मूर्ख मान्छे, हामीसँग खेल्न बाहेक यसलाई केही पनि आउँदैन। यो लकडाउनको बेलामा यसले त पढ्न पनि बिर्सिसक्यो।

एउटा सानो बच्चा जस्तो खेलौनाले विमललाई गिज्याउँदै भन्यो।

– अनि यसलाई आजकाल टाउको दुखेको छ नि, यसले जतिखेर पनि मोबाइल, कम्प्यूटर हेर्नाले आँखा कमजोर भएर दुखेको हो नि तर पनि यसले सिरकभित्र गुटुमुटु हुँदै भएपनि मोबाइल हेर्न छाड्दैन, अहिले त यसको अलिअलि मात्र टाउको दुखेको हो, पछि त आँखा अझ कमजोर भएर चश्मा पनि लगाउनुपर्ने हुनसक्छ। 

अर्को बंगुर जस्तो देखिने अनौठो खेलौनाले एउटा मोटो चश्मा विमलको हातमा थमाइदियो। 

–अनि यसले तरकारी पनि निकै रोज्छ रे, हरियो सागपात त खाँदै खाँदैन रे। 

त्यहाँ फेरि पहेँलो गोलो टाउको भएको अर्को खेलौना जस्तो प्राणी आएर रिसाउँदै विमललाई हेर्‍यो।  आफु खेलिरहने आफ्ना प्यारा गेमका साथीहरुले आफैलाई यसरी हेपेकोमा विमलले निकै नरमाइलो मान्यो।

उसले रुन्चे मुख गराउँदै ती सबैसँग रिसाउँदै भन्नथाल्यो – मैलेभने तिमीहरुलाई आफ्नो साथी भनेर कत्ति माया गर्थें तिमीहरु भने मलाई नै गाली गर्छौ, मसँगै रिसाउँछौ, खेल्दिन म तिमीहरुसँग, जाओ तिमीहरु।

विमलले जाओ तिमीहरु भन्दै सपनामै बर्बराएको देखेर आमाले उसको नजिकै आएर माया गर्दै बोलाउनुभयो। 

– किनरु कसलाई जाओ भनेको बाबु?

विमल जाग्यो। अनि अनौठो मान्दै यताउता हे¥यो। उ अब वास्तविक संसारमा आइपुगेको थियो।

– सपना देखेँ।

उसले आँखा मिच्दै भन्यो। आमाले विमललाई भोक लाग्यो कि भनेर सोध्नुभयो। 

– खाने बेलामा सुतेछौ, उठ अब खाना खाने।

– आमा साग पकाउनु भएको छरु मलाई साग खान मन लागेको छ।

कहिल्यै साग अनि तरकारी खान नमान्ने विमलले सागको नाम लिएको सुनेर आमाले अचम्म मान्दै छोरालाई हेर्नुभयो तर विमल भने मुसुक्क हाँस्यो मात्र।