राजनीतिक दललाई खान,बस्न सहितम निम्ता

7 0


नेपालदृष्टि । प्रज्ञा भवन कमलादीमा दिउँसो ३ बजे हुने नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन उदघाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो।

पाँच दिनसम्म चल्ने महाधिवेशनमा १८ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुने माओवादी केन्द्रको अनुमान रहेको छ ।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले आफ्नो खाना र बसोबारको व्यवस्था भने आफैंले व्यहोर्नुपर्ने भएको छ । पार्टीले खाजाको मात्रै व्यवस्था गर्ने महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।
 

माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा चहलपहल

महाधिवेशनको उद्घाटन भने आज दिउँसो ३ बजे हुने जनाईएको छ । त्यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको छ । अब केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् ।
माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या निर्धारण गरेको हो । बैठकले पारित गरेको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ । यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव रहने व्यवस्था थियो । माओवादीले एमालेकै विधानअनुसार पार्टीको विधान संशोधन गरेको छ ।

केन्द्री समितिको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटी बैठकको प्रस्तावलाई अनुमोदन गरेको छ । माओवादीको महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ ।   - रिपोर्टर्स नेपाल (तस्विर : मुकुन्द कालिकोटे)