किन मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिए ?

0 0


नेपालदृष्टि। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि आचार्यले राजीनामा घोषणा गरेका हुन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अंकगणित मेल नखाएको र १६८ ९१० को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको बताए ।

गत १० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । तर, प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यले बताए ।

प्रदेशसभा गठन भएदेखि नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रयासमा लागेका आचार्य तेस्रोपटकमा यसपटक १० भदौमा सफल भएका थिए । एमालेमा माधव नेपाल समूहका नेता उनी १० बुँदे सहमतिको पक्षमा उभिँदै एमालेमा रहेका थिए ।
आफुलाई मुख्यमन्त्री बनाए प्रदेश १ मा समाजवादीको पक्षमा सासद जान नदिने वचन पार्टी अध्यक्ष केपी ओलीलाई दिएर उनी मुख्यमन्त्री बनेका थिए । तर, समाजवादीमा एमालेका १० सासद गएपछि उनी अल्पमतमा परेका थिए ।

भदौ ९ मा नेकपा एमाले विभाजित बनेको भोलिपल्ट उनी मुख्यमन्त्री बनेका थिए । दल बिभाजन भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनु पर्ने सवैधानिक प्रावधान छ । तर, त्यसको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु ६७ दिनसम्म लम्ब्याएको थियो ।

राजीनामा दिनेक्रममा मुख्यमन्त्री आचार्यले सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको विरोध गरे । दलहरू विभाजित गरेर, छिर्के हानेर गरिने राजनीति लोकतान्त्रिक मान्यताभित्र नपर्ने उनको भनाइ थियो । उनले दलहरु मिलेर जानुको विकल्प नभएको पनि बताए ।

९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन् । तीमध्ये एक जना सांसद् गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छन् । उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए । यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको थियो । यो संख्यामा एक जना सभामुख पनि छन् । बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन् । यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ ।

प्रदेशसभामा काँग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन् । यी तीन दलसँग जम्मा ३९ जना सांसद छन् । त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ र संघीय लोकतान्त्रिक मन्चको एक जनासहित ५० पुगेको छ । यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो ।

बहुमतसहितको विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई भावी मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी गरेको छ । विपक्षी दलले आजै सबै सासदको हस्ताक्षर संकलन गरेका छन । प्रदेश प्रमुखले सरकार बनाउन आह्वान गर्ने बित्तिकै राजेन्द्र राई लाई मुख्यमन्त्री प्रस्ताव गरेर हस्ताक्षर बुझाउने तयारी रहेको कांग्रेस प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।  -  दृष्टि न्यूज