सीताको आदर्श चरित्रको चित्रण हो “सीताञ्जली”

4 0


नेपालदृष्टि । पछिल्लो समय गाउँमा बसेर साहित्य सिर्जनामा सक्रिय रहेका जीतबहादुर कटुवाल नाटक, गीत, कथा र पौराणिक उपन्यास लेख्न अब्वल मानिन्छन् । उनका कृतिहरु सहकारी अवधारणा र व्यवहार, वालि र सीताञ्जली प्रकाशित भइसकेका छन् । उनको सामाजिक विषयवस्तुमा आधारित कथा सङ्ग्रह प्रकाशोन्मुख रहेको छ । उनले नेपाल सरकारको राष्ट्रिय शिक्षा पुरस्कार–२०६६, रतुवामाई सामाजिक अभियान नेपालको स्रष्टा सम्मान पुरस्कार–२०७६ र राष्ट्रिय शिक्षक संगठन मोरङको ॐ गुरु गायत्री सम्मान कुसुम पुरस्कार–२०७७ बाट सम्मानित भइसकेका छन् ।
शिक्षण पेशामा आवद्ध कटुवाल स्थानीय दुर्गा माविका प्रधानाध्यापकसमेत रहेका छन् । उनले नेपाली साहित्यमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । उनको प्रकाशित कृतिमध्ये सीताञ्जली चर्चित पुस्तक मानिन्छ । यस पुस्तकले पौराणिक समयको मिथिलाकुमारी सीताको आदर्श चरित्रलाई बडो मार्मिक ढंगमा प्रस्तुत गरिएको छ । साथै हाम्रो सभ्यता, संस्कृति र परम्परा अनुकरणीय रहेको भन्दै प्रत्येक मानिसले आफ्नो आदर्श र कर्तव्यमा अडिक भएर जीवन अगाडि बढाउन पुस्तकले जोड दिएको छ । यसै सीताञ्जली उपन्यासको सेरोफेरोमा रहेर मोरङ रतुवामाई–८ दाम्राभिट्टा निवासी साहित्यकार  जीतबहादुर कटुवालको घरमै पुगेर पत्रकार हरि ढुंगानाले गरेको कुराकानीको  केही अशं :

तपाइले सीताञ्जली लेख्ने प्रेरणा कसरी पाउनु भयो ?
पहिलो साहित्य कृति ‘वालि’ प्रकाशन भइसकेपछि दोस्रो कृति तयार पार्ने क्रममा रामायणलाई आधार बनाएर त्यसको एक सशक्त पात्र सीतालाई छानें । रामायण पढ्दा बारम्बार मनमा उब्जिएको सीताप्रतिको करुणाले मलाई सीताञ्जली लेख्ने प्रेरणा प्रदान गर्यो ।

सीताञ्जलीको अर्थ बताइ दिनुहोस् न ?
सीता र अञ्जली दुई शव्दको योगबाट सीताञ्जली शब्दको निमार्ण भएको छ । अञ्जली भनेको चाहिँ अँजुली हो । दुई हात जोडिएको अवस्थालाई अञ्जली भनिन्छ । सीताञ्जलीको अर्थ सीताप्रतिको नमन भन्न सकिन्छ । यद्यपी यसको अर्थ नेपाली शब्दकोषमा दिएको छैन ।

लेखक कटुवाल सम्मानित अवस्थामा ।

सीताञ्जली कस्तो कृति हो भनिदिनुहोस् न ?
सीताञ्जली नारीप्रधान पौराणिक उपन्यास हो । यस उपन्यासमा सीताका माध्यमबाट मानवीय मूल्य, करुणा, त्याग, सहनशीलता जस्ता कुरालाई उठाएको छ । मिथिला राज्यको उत्पत्तिदेखि सीताको जन्म हुँदै विवाह, वनवास, हरण, वाल्मीकि आश्रमको बसाई हुँदै सीताको अन्त्यसम्मका घटनालाई उपन्यासका अठार परिच्छेद र २४७ पृष्ठमा समेटिएको छ ।

सीताञ्जलीमा मुख्य पात्रहरु को को छन् ?
यस उपन्यासमा सीता, कौशल्या, कैकेयी, सुमित्रा, उर्मिला, श्रुतिकीर्ति, मान्डवी, सुनैना, सुलक्षणा, अहिल्या, मन्थरा आदि स्त्री पात्रहरु छन् भने राजा जनक, वशिष्ट ऋषि, दशरथ, राम, भरत, लक्ष्मण, शत्रुघन, हनुमान, सुमन्त्र, माझी, गुहराज, गौतम ऋषि, गौतम पुत्र, सतान्द आदि पुरुष पात्र मुख्य रुपमा रहेका छन् ।

तपाईंलाई पौराणिक आख्यान नै लेख्न किन मन लाग्यो ?
महाभारतमा आधारित कृतिको तुलनामा रामायणमा आधारित कृति अलिक कम छन् । साथै मेरो सानैदेखि रामायणप्रतिको रुचीका कारण पनि रामायणमा आधारित भएर आख्यात्मक कृति लेख्न मन लागेको हो ।

तपाईलाई सीताञ्जली लेख्न कति समय लाग्यो ?
मैले प्रारम्भिक रुपमा सीताञ्जली लेख्न तीन महिना जति समय खर्च गरें, त्यसपछि उपन्यास साफी गर्न थप दुई महिना लाग्यो । पाँच महिनाको अवधिमा सीताञ्जली तयार भएको हो ।

सीताञ्जलीलाई पाठकहरुले आधुनिक रामायण पनि भन्दछन् ? यसमा तपाईं के भन्नु हुन्छ ?
सीताञ्जली उपन्यास प्राचीन पौराणिक साहित्यिक कृति रामायणको कथावस्तुको जगमा उभिएको छ । रामायण पद्यमा छ भने सीताञ्जली चाहिँ गद्यमा छ । अझैं रामायण विशाल वृक्ष हो । यसका अनेक हाँगा छन् । सीताञ्जली चाहिा रामायणकै एउटा ठूलो हाँगो मात्र हो । रामायणका सम्पूर्ण कुरा घटना सीताञ्जलीमा छैनन् । अनि रामायणमा नभएका घटनासमेत सीताञ्जलीमा छन् । एउटा औपन्यसिक कृति हुनुको नाताले सीताञ्जलीमा कल्पनाको प्रचुर प्रयोग छ ।

लेखकसँग पत्रकार ढुंगाना ।
 

सीताञ्जली प्रकाशन भएपछि निकै चर्चा भयो । विभिन्न राष्ट्रियस्तरका सञ्चार गृहले कृतिको समीक्षा गरे । जसकारण सामाजिक अभियान नेपालले तपाँईलाई स्रष्टा सम्मान पनि गर्यो कस्तो महसुस भयो ?

२०७७ भदौमा प्रकाशन भएको सीताञ्जली उपन्यासको बारेमा लेखिएका समीक्षा केही छापा अखबार र केही अनलाइन पत्रिकामा प्रकाशित भए । ती समीक्षा लेखेर उपन्यासको प्रवद्र्धन सहयोग पुर्याउने सम्पूर्ण समीक्षक तथा लेखकहरुप्रति आभार प्रकट गर्दछु । मलाई रतुवामाईस्थित सामाजिक अभियान नेपालले सम्मान गरेको थियो । साँथै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङले ओम् गुरु गायत्री सम्मान कुसुम पुरस्कारबाट २०७७ चैतमा सम्मानित गर्यो । यसले साहित्य लेखनमा हौसला बढाएको महसुस भएको छ । साँथै पत्रपत्रिकामा समीक्षा लेखेर पुस्तकको चर्चा गर्नु हुने समीक्षक, लेखकहरु तथा पुरस्कार सम्मान उपलब्ध गराउने संस्थाहरुका साथै पाठकवर्ग र मलाई लेखनमा निरन्तर हौसला प्रदान गर्नुहुने सबै आदरणीयहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

तपाईंका कृति लेखन तथा प्रकाशनबारे स्मरणीय क्षण केही छन् ?
बीएमा अध्ययन गर्दा राजेश्वर देवकोटाका द्वन्द्वको अवसान उपन्यास पढेको थिएँ । त्यो कृति पढ्दा रामायणमा पनि एउटा ओझेलमा परेको प्रभावशाली पात्र मेरो मनले खोजेको थियो । त्यही कुरालाई लिएर २५ वर्षपछि ‘वालि’ उपन्यास लेखें ।
पुस्तक लेखियो तर प्रकाशनको कार्य त्योभन्दा गाह्रो थियो । केही प्रकाशनगृहहरुको इमेल ठेगानामा सम्पर्क गरेर पाण्डुलिपि पठाई दिएँ । पाँच पोखरी प्रकाशनगृह काठमाडौंबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो । वालि प्रकाशन भएर बजारमा पुग्नु अघि प्रकाशनसँग चिनजान र भेटघाट भएको थिएन । सीताञ्जली प्रकाशन गर्न भने वालि जस्तो गाह्रो महसुस भएन । तर पुस्तक लेख्नु भन्दा कठिन काम पुस्तक प्रकाशन गर्नु रहेछ ।

तपाईं एउटा समाजसेवी तथा शिक्षक पनि हो कुन समयमा साहित्य सिर्जना गर्नुहुन्छ ?
म मूलतः शिक्षण पेशामा आवद्ध छु । त्यसैले अधिकांश समय यसैमा खर्च हुन्छ । साहित्य सिर्जनाका लागि म विहान र रातिको समय तथा विदाको दिनहरुको उपयोग गर्ने गरेको छु ।

अन्त्यमा तपाईको नयाँ सिर्जनाबारे पाठकवर्गलाई बताइ दिनुहोस् न ?
मैले हालसम्म दुईवटा साहित्य कृतिहरु पाठकहरु माझ ल्याएको छु । पाठकहरु तथा सद्भावीहरुकै शुभेच्छाका कारण केही गर्ने हौसला जागेको हो । अब भने तेस्रो साहित्य कृतिका रुपमा सामाजिक विषयवस्तुमा आधारित कथा सङ्ग्रह चाँडै प्रकाशन गर्ने योजनामा छु ।    

लेखक कटुवाल सहित्यिक रचाना सृजनातिर ।