सुसाइँलो

होम सुवेदी 

0 0


नेपालदृष्टि । प्रभुमञ्जु पुत्री सविता बिहानको कलेज जान तयार परेर माथिबाट ओर्लिएर आउँदाआउँदै अचानक उसका आँखा भर्याङमुनि सुतेको सुसाइँलाको शरीरमा परे । गर्मी भएकोले सुसाइँलाले केही पनि ओडेको रहेनछ । उसले लगाएका लुगाले पनि अलिकति स्थानपरिवर्तन गरेको जस्तो थियो । यसैले सुसाइँलाको इज्जतले अलिकति खुला स्थानको दर्शन गरिरहेको थियो । सविताका आँखा पनि त्यहीं गएर अडिए । नदेखे जसरी ऊ अलिक पर गई । ब्यूँझियो कि भनेर उसले परैबाट विचार गरी तर ब्यूँझिएको थिएन । अनि अँझ नजिक आएर उसले लुकी लुकी त्यो दृश्य हेरी । उसको मनको उत्सुकता अलिकति मेटियो आँखाको विष अलिकति मर्यो । उसलाई एक तमास भो । जीवनमा जो कुरा सोचिएको मात्र थियो आज प्रत्येक्ष भो । फेरि एक पटक हेरौं कि…… सोची । उता उसका आमाबाबुले यो थाहा पाउन सक्लान् । उसका मनमा अकिति आशङ्का जन्मियो । अनि ऊ फटाफट कलेजतिर गई । उसलाई त्यही बिहान उज्यालो हुन हुन लाग्दा देखिएको सुसाइँलाको शरीर बेलाबेला कक्षामा पनि आइरह्यो ।
परिचयका हिसाबले मान्छेको समाजमा कस्ताकस्ता मान्छे पनि हुन सक्छन् भन्ने उदाहरण सुसाइँलोको जीवनवृत्तबाट सिद्ध हुन्थ्यो । कताबाट ऊ यता आयो यसको कसैलाई भेउ छैन र उसैलाई पनि छैन । साधारण बोल्न जान्दछ अलिक भक्भकाएर । लठेब्रो लठेब्रो छ । उसलाई नै ऊ को हो भन्ने थाहा छैन भने अरुले कसरी थाहा पाऊन् ! सायद निर्माण प्रविधिको समस्या होला, स्वरनलीको कुन भाग के भएर हो केही बोल्नु पर्दा निकै बेर स्स्स् ध्वनि उच्चारण गरेपछि मात्र बोल्न सक्छ । त्यसरी बोल्छ यो सुसाइँलो । त्यही सुसाइँलोको लगभग सर्वाङ्ग देखेकी सविताको मनभित्रकी सविता आज बडो अचम्मले ब्यूँझिएकी छे भने अहिले बिहान निकै उज्यालो हुँदासम्म पनि सुसाइँलो भने ब्यूँझिएको थिएन ।

यहाँ निर्मल स्टोरमा सुसाइँलो आउनुको पनि उस्तै नब्यूँझने कथा छ । कसरी हो एक दिन साँझसाँझ पर्न लागेको बेला ऊ यत्तिकै कताबाट निर्मल ग्याँस स्टोरमा आएको थियो । दोकानमा मञ्जु बसेकी थिइन् । भीड थिएन, फाटफुट मान्छे आउँथे ग्याँसको पुरानो रित्तो सिलिण्डरसँग नयाँ भरेको साटेर पैसा दिएर लान्थे । मञ्जु भने मोबाइलमा सायद त्यस्तै उस्तै केके हेरेर चाख मानिरहेको बेला सुसाइँलो कताबाट टुप्लुक्क दोकानमा आइपुगेको थियो । पहिले ता वास्तै गरिनन् तिनले । सुसाइँलोका हातमा एक रुपियाँको ढ्याक हालिदिइन् कुनै माग्ने भनेर । तर उसले त्यो लिन मानेन र ऊ त्यहाँबाट हिँडेन पनि । यसो हेर्दा उमेरदार नै लाग्थ्यो तैपनि उसका पाइला चलेनन् त्यहाँबाट ।

“नाम के हो तेरो ?” सोधेकी थिइन् फेरि । पहिले सुनेन । कान कम सुन्दो रहेछ भन्ने बोध भो । र फेरि अलिक जोडले सोधेकी थिइन् अनि मात्र “स्स्स् साइँलो” भनेर अलिक भक्भकाउँदै उत्तर दिएको थियो । त्यसरी थाहा भएको थियो त्यसको नाम ।

“कस्तो त स्स्स् साइँलो….. पनि नाम हुन्छ ? अनि घर कता हो त स्स्स्साइँलो ?” जिस्केर सोधिन् ।

उसले आकाशतिर मात्र हेर्यो । सायद उसको उत्तर नै त्यही आकाश जस्तो शून्य छ भनेको हो कि ?

“के थर हो ? कहाँको होस् ? कहाँ बस्छस् ? कसकोमा बस्छस् ?” आदि एकैपटक धेरै प्रश्न सुसाइँलाई सोधेकी थिइन् । उसले सबै प्रश्नको उत्तरमा अकासतिर हेर्यो र हेरिमात्र रह्यो । केही भनेन । थाहै भए पो भनोस् । बोलीबाट केही जनाउ गरेन । वास्तवमा त्यो कुनै भिरको ढुङ्गाको कापमा पलाएको भीमसेन पाती जस्तो थियो । न आमा, न बाबु, न थर न ठेगान । न छोरा न छोरी । शून्य, मात्र शून्य…..

मञ्जुले यस्तै सोधिरहेको बेला एक महिलाले त्यहाँ ग्याँसको सिलिण्डर लिन आइन् । स्कुटरमा हालेर लानु पर्थ्यो । लोग्ने मान्छे कोही नभएको बेलामा यही सुसाइँलोलाई इसाराबाट मञ्जुले अराइन् । उसले सहज रुपमै भित्रबाट भरिएको सिलिण्डर लगेर स्कुटरमा लोड गरिदियो । यसबापत निज महिलाले उसलाई रु दस दिइन्, त्यो पैसा भने उसले अङ्कनाउँदै लियो र दोकानमा मञ्जुको हातमा हालिदियो । आफूले लिन मानेन ।

मञ्जुलाई अलिक गजब लाग्यो र यो ता कामलाग्दो मान्छे पो हो कि कसो त हँ ! दिमागमा पर्यो । अलिकति आशा पलायो । पसलमा अर्को ग्राहक आयो, सुसाइँलोले त्यसलाई पनि सहयोग गर्यो र अनि अर्कोमा पनि । पछिल्लोले ता लोड बापत बिस रुपियाँ दियो त्यो पनि साहुनीको हातमा राखिदियो ।

मञ्जु छक्क परिन् । उनका भित्रभित्रै अलिकति माया पनि पलाइसक्यो । उनले भित्रबाट चिया मगाइन् र चियाका साथ पाउरोटी पनि खान दिइन् । यसपटक भने उसले अलिक अनकनाउँदै चियामा चोब्दै चियासँग पाउरोटी खायो । अनि गिलास माझेर राखिदियो । यत्तिकैमा दोकनमालिक प्रभु श्रेष्ठ पनि मोटरसाइकलमा केकेको सामानको भारी लिएर दोकानमा आइपुगे । मञ्जुले भारीको सबै सामान झिकेर निर्दिष्ट स्थानमा राख्न सङ्केतका साथ सुसाइँलालाई अराइन् । अकिल लर्बरिँदै भए पनि उसले यो अराएको काम गर्यो ।

“को हो यो मञ्जु ?” जिज्ञासा थियो प्रभुको । उत्तरमा मञ्जुले यथार्थ बताइन् ।

प्रभुलाई पनि सुसाइँलाबाट सहयोग नै होला जस्तो भो । यसो रामरी हेरे । उसको अनुहारभित्र सारै ठुलो दुर्भाव देखेनन् । सुसाइँलो मुसुक्क हाँसिदियो र नमस्ते गर्यो । उनले सोध्नु अघि नै मञ्जुले सुसाइँलाको आगमनको कहानी सुनाइसकेकी थिइन् । यस स्टोरमा सुसाइँलाको प्रवेशको कथा यो हो ।

त्यो पहिलो रात मञ्जुलाई राम्रो गरी निद्रा परेन । कतै सुसाइँलो कुनै चोर हो कि, डाका हो कि, माओवादीको सूत्र पो हो कि, भएका सबै कुरा लिएर जाने पो हो कि भनेर राती जनानीन्दो रुपमा उठेर चियो गरेकी थिइन् । सुसाइँलो घुरेर मस्त सुतेको थियो । बरु उसमाथि निकै मच्छड बसेर ढाडिइरहेका थिए, उसलाई कुनै वास्ता थिएन, मञ्जुलाई मच्छड भगाइदिऊँ कि भन्नेसम्म लाग्यो र अलिकति दया लाग्यो तर केही गरिनन् । बिहान पनि अरु उठ्नु अघि नै मञ्जु उठेर सुसाइँलोको चियो गरिन् । मस्त सुतिरहेको थियो । बरु उसको बेहोसी पनमा उसको लुगाले अलिकति ठाउँ छाडेको हुँदा इज्जत देखियो । मञ्जुलाई पनि अलिकति हेरौं हेरौङ्को भावना उम्रिन खोज्यो । हुन त छोरी जति सारो उनी यसबाट आकर्षित भइनन् । भुक्तभोगीलाई केको आकर्षण ! बरु अलिकति शङ्का पो भो कतै छोरीले ता देखिन यो बेहोसीको चर्तिकला ? यस्तै सोच्तै अर्कातिर फर्किएर खाकखाक खुकखुक गरिन् ।

यसै त कान नसुन्ने अँझ मस्त


सुनेको बेला के सुनोस् ! यसो गर्दा पनि सुसाइँलो ब्यूँझिएन । भरे कतिखेर ब्यूँझिएर दोकान बढारकुँडार गर्न थालेको मात्र देखियो । मञ्जुलाई निकै ढुक्क भो ।

भोलिपल्ट सुसाइँलोलाई निकै खेरियो उसबाट खास अप्रियताका कुरा देखिएनन्, बरु दोकानको सफाइमा उसले राम्रो काम गर्यो अघिल्ला दिनकै झैं ग्याँस लोड अनलोगका लागि ग्राकहरुमा सहयोग गर्यो । सुसाइँलोको न फेद न टुप्पो केही पनि जानकारी हुन सकेन । तर निकै सहयोगी बुझियो । ग्राहकबाट टिप्सका रुपमा पाएको केही रुपियाँ आज पनि उसले लिएन । कर गर्दा पनि लिएन । बेलुका भर्याङमुनिको खाटमा सुत्न अलिक राम्रो लम्पट हालिदिइन् मञ्जुले । बर्खाको बेला मधेशमा गर्मी थियो । ओड्नेको खाँचै परेन । आज पनि सुसाइँलो त्यसरी नै सुत्यो ।

अर्को रातको कुरा हो । सुसाइँलोको आगमनबारे छोरी सविताले थाहा पाएकै थिई । पहिलो बिहानको रातदेखि नै उसले आँखा अड्याउने ठाउँ पाएकी थिई । अँझ कुनै बहानामा राती एकपटक बिरालाको चालमा सविता सुसाइँलो सुतेको ठाउँमा आई । डिम लाइटमा सुसाइँलोको घुराइसहितको सुताइ र निद्रामा परेको दृश्य अलि अस्पष्ट थियो । नियाली नियाली हेरी । तर हिजोको जस्तो उसको शरीरको भाग अहिले खुला थिएन । आँखाको विष मरेन ।

“कस्तो लुगाले छेलिराखेको होला…..!!” मनमा लाग्यो । तै यताउता पल्टन्छ र आँखाको बिष मार्न सकिन्छ कि भनेर एक छिन सविता पर्खेर बसी, अँझ मस्तसँग सुतिरहेको छ । अलिकति रिस पनि उठ्यो । “कस्तो सुतिरहन सक्या, यताउता पल्टिनु त पर्छ, कस्तो मोरो !” मनमनमा भनी । निकै बेर पर्खँदा पनि केही लागेन । त्यत्रो मच्छडले टोक्दा पनि थाहा पाउनु छैन…… मनमनमा सोची । मच्छडको दबाइ गर्नु पर्ला । सोच पनि आयो ।

मनमा अच्कल्टो इच्छा लिएर सविता सुटुक्क आफ्नो कोठामा गई र सुत्ने प्रयत्न गरी मनभरि सुसाइँलोलाई लिएर गरिएको सुत्ने प्रयत्न केही बेरको छटपटी पछि सफल पनि भो ।

बिहान मञ्जु उठेर तल झर्दा आज पनि हिजोकै झैं सुसाइँलो घुरेर सुतिरहेको रहेछ । उनका आँखा गए आज पनि । यसैको शरीरमा उनकी छोरी सविताको दृष्टि हिजो बिहानै परेको थियो जो अहिले कलेज गइसकेकी थिई । अहिले फेरि उसका लुगा छरपट्ट भएका थिए । उनले कराइन् ब्यूँझियो र लुगा मिलायो । दिउसो भरि बडो सहयोगीका रुपमा दोकानमा काम गर्यो ।

बेलुका खाना खाँदै गर्दा छोरीले सोधी “यो कहाँ सुत्छ हँ ममी ?”

“तँलाई मत्लब ? जहाँसुकै सुतोस् नि बड ।”

“हैन यस्तो मच्छड लागेको बेला छ । कता केकेके रोगको महामारी छ भनेको सुनिन्छ । त्यही भएर भनेको नि, फेरि आफ्नै थाप्लामा लफडा आइलाग्ला कि….. !” छोरीको मनको कुरामा आमाले अलिकति शङ्का पसेजस्तो भो तर निस्केर बिलायो । कुरा ठिकै हो जस्तो लाग्यो मञ्जुलाई पनि । मुफ्तमा पाइएको नोकर छ । आजको जमानामा मान्छे कता पाउनु ? सबै बिदेश दौडिएका छन् । यो पनि अलिक सरसाउँदो भएको भए जाने थियो । एक पेट जुठो पुरो खान दिनु ता हो नि । जहिलेसम्म बस्छ बसोस् भनेर दम्पतीको सल्लाह भइसकेकै थियो । यसैले उसले घरमा अलिक सहानुभूति पाउन थालेको थियो ।

अलिक अबेलाको कुरा हो । “एउटा पुरानो पुरानो झूल छ, लगाएर सुत् पो भन्नुपर्यो ।” लगा पो भन्नु पर्यो । मञ्जुले सुसाइँलालाई झुल दिन लागिन् ।

“होस् ममी । झुल होस् । बरु म म्याट बालिदिन्छु । बेकारमा झुल भो भने देखिन्न………..!” सविताका मुखबाट खुस्कियो ।

“के देखिन्न भन्छे यो ??” सविताकी ममीले सोधिन् अलिक शङ्कायुक्त कथन थियो ।

“खै मैले पनि के भनेछु छि, केही पनि हैन भन्या…..” भन्दै सविताले कुरा टारी । आमा छोरीका कुरा मिले, मच्छड भगाउने धुप बालिदिई छोरीले सुसाइँलो सुत्ने नजिकै । सुसाइँलो अहिले भर्खर मात्र सुतेको छ । सविता अलिक भरे भरे आउली आँखाको बिष मार्न ।


- होम सुवेदी, भद्रपुर, झापा
९८४२६२६१९०