ओली समूहको शक्ति प्रदर्शनलाई किन गह्यो माधव समूहले काउन्टर ?

1 0


नेपालदृष्टि । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले लुम्बिनी प्रदेशको बुटवलमा आज शक्ति प्रदर्शन गर्दैछ । दुई लाख नागरिक उतार्ने दाबी गरिएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ 

ओली समूहको लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभाका लागि पाल्पा, अर्घाखाँची, दाङ, बाँके, बर्दिया लगायतका क्षेत्रबाट मानिसहरु बुटवल ल्याउन थालिएको छ । गत माघ १५ गते नेकपाकै प्रचण्ड–माधव समूहले विरोध सभा आयोजना गरेको थियो ।

सो सभालाई ‘काउन्टर’ दिनका ओली समूहले प्रतिनिधिसभा विघटनको पक्षमा आज आमसभा आयोजना गरेको हो । ओली समूहका प्रदेश कमिटी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आमसभाका सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

उनले भने, ‘हजारौं मानिसहरु आमसभाका लागि बुटवल आउन थालिसकेका छन् । दुई लाख जनता उत्रिने छन् ।’ उनले थपे, ‘राष्ट्रको विकास र समृद्धि एवम् राष्ट्रिय स्वाभिमानको अभियानमा ऐक्यवद्धता जाहेर गर्न जनता आतुर छन् ।’

मञ्चमा पाँच वटा डिजिटल स्क्रिनबाट आमसभालाई प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, तीव्र गतिको इन्टरनेटको व्यवस्था मिलाइएको र प्रधानमन्त्री लगायत सबैको सहजै तस्बिर लिन सकिनेगरी सञ्चारमाध्यमलाई प्रशारण गर्ने स्थान पनि मिलाइएको जनाइएको छ ।

आमसभालाई प्रधानमन्त्री ओली सहित महासचिव एंव अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मुख्यमन्त्री पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।   - दृष्टि न्यूज