नेपाली गीत संगीतमा बिर्सनै नहुने नाम - ध्रुव केसी

ज्योति श्रेष्ठ

1 0


नेपालदृष्टि । मायालु हज़ार हुन्छन्; सागर हो स्वास्नी मान्छे; कागजको रंगीचंगी फूल जस्तो; बगी जाने खोला हो; नरोउ नरोउ साहिली; अरु कालो रेलको धुँवाले... एकताका रेडीयो नेपाल र अल इण्डिया रेडियोबाट बजिरहन्थ्यो यी गीतहरु असंख्य श्रोताहरुको फर्माएस अर्थात् अनुरोधमा । त्यसबेला फर्माएसी गीत भन्ने चलन थियो ।

विसं. २०२०/३० तिरको चर्चित गायक ध्रुव केसी काठमाण्डौ सिनामंगलमा जन्मनु भएको र उहाँको बुवा यज्ञबहादुर केसी भजन गायक हुनुभएको कारण ध्रुव केसीमा नेपाली संगीतमा झुकाव बढेको हो भन्ने बुझिन्छ ।

त्यसबेला गीत रेकर्ड गरेर बजाउने चलन थिएन । रेडियो नेपालबाट गीत लाईभ गर्ने चलन थियो । म्युजिसियनहरु साथमा हुन्थ्यो । अब सुन्नुहोस् ध्रुव केसीबाट गीत भनेपछि गीत गाउनु पर्थ्यो । रेकर्ड गरेर गाउने चलन थिएन ।

एकपटक गीत लाईभ हुदै गर्दा माईक बन्द भएर गीत पनि बन्द भयो । त्यसपछि समाचार कक्षमा गएर गीत पुरा गरेको संस्मरण उहाँले दिल्ली स्थित अल इण्डिया रेडीयो नेपाली सेवालाई फेब्रुअरी १८, २०१६ मा दिनु भएको अन्तरवार्तामा गायक केसीले बताउनु भएको छ । त्यसबेला बटुकृष्ण ज्वालाले हार्मोनियम बजाउनु भएको थियो रे !

“संगीतले जीवन गुजारा हुन नसकेपछि मैले जीवन चलाउन व्यापार व्यवसाय गर्न शुरु गरे । त्यसपछि म संगीतबाट हराएको जस्तो भयो ।” सोही अन्तरवार्तामा “ध्रुव केसी नेपाली संगीतबाट किन हरायो ?” भन्ने प्रश्नको जवाफ दिदै उहाँले भन्नु भएको हो ।

पार्किन्सनको रोगले थलिनु भएका नेपाली संगीतका ख्यातिप्राप्त गायक ध्रुव केसीको गत जनवरी २१, २०२१ बिहीवार तदनुसार माघ ८, २०७७ साल उपचारको क्रममा भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको भयो ।

हुन त उहाँका सबै गीत सफल र राम्रा छन् तरपनि गोपाल योन्जनको शब्द/संगीत रहेको “मायालु हजार हुन्छन्” बोलको गीत नयाँपुस्ताको पनि रोजाइमा पर्न सफल गीत हो । यही गीतले ध्रुव केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो भनिन्छ ।

उहाँले लालबहादुर खातीको शब्द र संगीतमा “अरू कालो रेलको धुँवाले” बोलको गीत आफ्ना भतिज नायक भुवन केसीसंग गाउनु भएको छ । जुन एकदमै चर्चित गीत हो । तर यो गीत लालबहादुर खाती स्वयंले पनि छुट्टै गाउनु भएकोले यो गीतको नाम लिने बित्तिकै नेपाली संगीत अनुरागीहरु लालबहादुर खातीलाई नै संझन पुग्छन् ।

पार्किन्सनको रोगले थलिनु भएका नेपाली संगीतका ख्यातिप्राप्त गायक ध्रुव केसीको गत जनवरी २१, २०२१ बिहीवार तदनुसार माघ ८, २०७७ साल उपचारको क्रममा भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको भयो ।

स्व.केसीको परिवारमा रूपा, पिंकी र क्विनी गरी तीन छोरी छन् । दुई बहिनी पिंकी र क्विनी भारतमा भएकाले जेठी छोरी रुपाले दागबत्ति दिएर दाहसंस्कार गरिएको समाचारमा उल्लेख छ ।

उहाँको बारेमा गुगलमा पनि विस्तृत विवरण भेटिन्दैन भने पत्रपत्रिकामा पनि उत्सुकता लिएर छापिएको भेटिदैन । नेपाली संगीतको एउटा युग बोकेको गायकको बारेमा नेपाल सरकार लगायत सम्बद्ध संगीत संस्थान, निकायले उहाँको बारेमा खोजी गरी अभिलेख राख्नु जरुरी छ । किनकी, ध्रुव केसी नेपाली संगीत क्षेत्रमा बिर्सन नसकिने र बिर्सनै नहुने एउटा जबरजस्त नाम हो ।

उहाँको तेह्रौ दिनको पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धा सुमन चढाउँदछौ