किन बढ्दै छ ओली–देउवाको साँठगाँठ ?

२०७७ माघ २०, मंगलबार

1 0


नेपालदृष्टि । कार्यकर्तामा रहेका कम्युनिष्ट विरोधी भावना र पार्टीका सांगठानिक गतिविधि तथा सिर्जनात्मक कार्यमा सक्रिय हुने चाहनाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको प्रतिगमनकारी कदमको मतियार हुनबाट जोगिएका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नै देउवालाई प्रतिगमनको मतियार हुनबाट जोगाएका हुन् । गृह जिल्ला तनहुँको ब्यास नगरपालिकाको वडा स्तरको सानो पुल उद्घाटन गर्ने कार्यमा सरिक हुन जादा गिरफ्तार भएर वरिष्ठ नेता पौडेल प्रहरी हिरासतमा बस्न परेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीसंग प्रत्यक्ष टकराव लिन थालेको हो । त्यस पहिले देउवा ओलीको कारिन्दा जसरी जहाँ बोलायो,त्यहि, जतिबेला बोलायो त्यतिबेला पुग्ने गर्दथे ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसंग केही संवैधानिक पदमा आफ्ना अनुचरलाई नियुक्ति दिलाउन संविधान र व्यवस्थामाथि नै घात गरिरहेको आरोप पनि खप्नु परेको छ । संवैधानिक परिषद्को नियुक्तिमा देउवाका पात्रहरु देखिनु र देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतबाट फिर्ता नबोलाउनुले प्रतिगमनको निर्णय गर्दाका समयसम्म प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच न्यूनतम समझदारी कायम भएको चर्चा कांग्रेसमा व्याप्त छ । यही साँठगाँठका कारण कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसको शक्ति प्रदर्शनलाई एकत्रित हुनबाट रोक्ने गरी विरोध प्रदर्शन र सभाका कार्यक्रमहरु तय गर्न लगाएका थिए ।

त्यहि विरोध प्रदर्शनक क्रममा संसदमा आफ्नो भागमा आउने उपसभामुखको निर्वाचन नगरिकन संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेताले भाग नलिने घोषणा कांग्रेसका नेताहरुले गरिदिए । त्यही कारणले प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष ओलीले मंसिर ३० गते बिहान बोलाएको बैठकमा उनी अनुपस्थित रहे । दिउँसो प्रधानमन्त्रीले अध्यादेश जारी गरे र बेलुका नयाँ अध्यादेश अनुसार बसेको बैठकबाट संवैधानिक निकायका ३८ जना पदाधिकारीहरु सिफारिस गरियो । यो बैठकमा पनि देउवा अनुपस्थित रहे । अध्यादेश जारी भएपछि नेकपाभित्र चुलिएको असन्तोष र विरोधका विच प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभाको विघटन गर्ने सिफारिस गरे र राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टामा नै त्यसलाई अनुमोदन गरी नयाँ निर्वाचनको तिथि घोषणा गरिदिइन् । त्यसपछि बाध्य भएर कांग्रेस सभापति देउवाले अध्यादेश र प्रधानमन्त्री तथा राष्ट्रपतिका कदमको विरोध गर्नुपर्ने अवस्था आयो ।

त्यसपछि बसेको पदाधिकारी बैठक हुन कि केन्द्रीय कार्य समितिको बैठक पार्टीका अधिकांश नेताहरु नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा गर्नु पहिलो दायित्व भएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपतिको जोर षड्यन्त्रको विरोध गर्नुपर्छ भन्नेमा पुगेका छन् ।

यद्यपि, पार्टी सभापति देउवा निकट केन्द्रीय सदस्यहरु चुनावमा जाँदा पार्टीलाई फाइदा हुने दलिल पनि दिइरहेका छन् । उनीहरु प्रधानमन्त्री ओलीको इशारा अनुरुप नाच्ने सभापतिको निर्देशनमा चुनावको तयारी पनि गरिरहेका छन् । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसंग केही संवैधानिक पदमा आफ्ना अनुचरलाई नियुक्ति दिलाउन संविधान र व्यवस्थामाथि नै घात गरिरहेको आरोप पनि खप्नु परेको छ । संवैधानिक परिषद्को नियुक्तिमा देउवाका पात्रहरु देखिनु र देउवाकी सासू प्रतिभा राणालाई जापानको राजदूतबाट फिर्ता नबोलाउनुले प्रतिगमनको निर्णय गर्दाका समयसम्म प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच न्यूनतम समझदारी कायम भएको चर्चा कांग्रेसमा व्याप्त छ । यही साँठगाँठका कारण कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसको शक्ति प्रदर्शनलाई एकत्रित हुनबाट रोक्ने गरी विरोध प्रदर्शन र सभाका कार्यक्रमहरु तय गर्न लगाएका थिए ।

नेपाललाई लोकतन्त्र र गणतन्त्रको उज्यालोमा ल्याउने मात्रै होइन, एक्काइसौ शताब्दीका चुनौतिहरु सामना गर्न सक्ने आधुनिक संविधान संविधानसभाबाट दिने कार्यको नेतृत्व गर्ने पार्टीको इतिहाससंग निरंकुश सत्ताका केही पदमा सौदाबाजी गर्ने पार्टी सभापतिलाई लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रतिगमनका विरुद्धको मोर्चामा निस्कन नसक्ने गरी घिसारेर ल्याएका छन् ।

यही क्रममा १३ माघमा बसेको केन्द्रीय कार्य समितिको निर्णय अनुरुप सोमबार पनि नेपाली कांग्रेसका १३ वटा भातृ संगठनहरुले ७७ वटै जिल्ला सदरमुकाममा प्रतिनिधिसभाको विघटनको विरुद्ध प्रदर्शन गरेका छन् ।

यस अगाडि नेपाली कांग्रेसले पुस १३ गते देशभरका १ सय ६५ वटा संसदीय निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा,माघ ३ गते देशभरका ७ सय ५३ पालिकाहरुमा र माघ ८ गते सबै पालिकाका सबै वडामा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, ओली सरकारबाट भएका भ्रष्टाचार,आर्थिक अनियमितता, कोरोना नियन्त्रणमा देखिएको कमजोरी, अब्यवस्था र कुशासनको पक्षमा आवाज उठाउदै विरोध प्रदर्शन र आमसभा सम्पन्न गरेको थियो ।

यही माघ २३ गते शनिवार नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले र फागुन ३ गते सोमबार जिल्ला कार्य समितिहरुल ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएका छन् ।   - दृष्टि न्यूज