मिता

1 0


नेपालदृष्टि । ले नुर अलिको म्यासेजलाई पुरापुर बेवास्था गरेको थिएँ । तर उसले आफ्नो घर सप्तरी बताएपछि मात्र रेस्पोन्स गरेको थिएँ । म्यासेञ्जरमा तिलाठी घर बताएथ्यो नुर अलिले । ऊ नर्थ सान एन्टोनियोमा बस्दो रहेछ । म साउथमा । यो सुनेर ऊ निकै खुसी भयो । मलाई भेट्न निकै जिद्दी गर्यो । उसले यसरी जिद्दी गर्यो मानौ म कुनै मिथिला मुलुकमा आतिथ्य ग्रहण गर्दै छु । जिद्दीमा शौहाद्र्रता थियो, कृत्रिमता थिएन ।

०००००

नुर अलिको निम्तो मान्न पुग्नु थियो । आइ ३५ सडकमा गाडी तुफान हाँकिरहेको थिएँ । उसको घर आइपुगेको थिएँ । सडकको भित्रपट्टि सेतो कोरोला उभिएको थियो । मेरो जिपिएसले त्यही सेतो कार भएको घरमा पुर्याएर साइड लगा भन्यो । कलबेल थिचेँ । नुर अलि देखा पर्यो ।

उसले घर घुमाइ–घुमाइ देखायो । भर्खर किनेको रहेछ । दुइटा ग्यारेज, तीन सुत्ने कोठा भएको अढाइ वटा बाथरुम भएको घर । म घरभित्र छिर्दा भण्टाको तरुवा, प्याजी पकौडा, घुँग्नी र ट्राउट माछा मधेशी स्टाइलमा फ्राइ गरेर डाइनिङ टेबुलमा राखिएको थियो । सिसाको पारदर्शी ढकनभित्र तोरीको राग हालेको माछाको लद्बदे झोलमा तेजपत्ता तैरिरहेको थियो । मिथिला महकले मेरो मुखबाट पानी आइरहेथ्यो ।

तर मैले कृत्रिमता दर्शाउँदै भनेँथेँ: “किन पो यति धेरै मेहनत गर्नु पर्थ्यो र ?”

  उसले भनेथ्यो: “हामीले कहाँ हो र ? आमाले सप्तरीबाट पाहुना आएको भनेर पो त । यो त सप्तरीया हुनुको कारण हो नि सर ।”

सामान्य भलाकुसारीपछि उसले सिङ्गलमाल्ट झिकेथ्यो । म खाउँ कि नखाऊँ भन्ने दोमनमा पुगेँथेँ । यो छोरोजस्तो मान्छेसँग बसेर कसरी खाऊँ भनेझैँ लागेथ्यो । हुनत म पनि नखरा पार्दै थिएँ । तर पनि उसले “हामी त अमेरिकामा छौँ सर, जस्तो देश उस्तै भेष त गर्नु पर्यो नि” भनेर कर गर्यो । परिवारसँग परिचय गराएको थियो । आमा, श्रीमती र छोरो । उसले खोलेथ्यो र हामी मैथिल परिकारसँग रमाएका थियौँ । कुराको सिलसिलामा ऊ जुरुक्क उठ्यो र एउटा पुरानो अल्बम लिएर आयो । त्यो अल्बममा भएको एउटा ब्ल्याक एण्ड ह्वाइट फोटो हेरेर मैले उसलाई साधेथेँ: “यो शौकत अलि होइन ?”

उसले छोटो जवाफ फर्काएको थियो: “हो, उहाँ मेरो बुवा ।”

“अनि किन त बुवाको नाम महम्मद अलि भनेको त मलाई ?” मैले जिज्ञासा राखेथेँ ।

“बुवाको नाम त महमद अलि नै हो समाजले चिनेको । शौकत अलि त प्रमाण पत्रमा मात्रै । खासमा उहाँले प्रमाणपत्र कहिल्यै प्रयोग गर्नै परेन । अनि प्रमाणपत्रको नामको के काम बुवालाई ?”

“साँच्ची के छ हँ शौकतको खबर ? उसलाई त म चिन्छु नि ।” मैले ह्विस्कीको चुस्की लिँदै सोधेको थिएँ ।

एकछिन ऊ चुप लागेथ्यो । उसको अनुहार उजाड देखिएथ्यो । उसकी श्रीमतीको अनुहार पनि एकाएक फुङ्ग उडेथ्यो । उसकी आमा त रुन थालेको देखेँ मैले । सबैको अनुहारलाई गौर गरेर हेरेँथेँ । त्यो बेला मलाई लागेथ्यो कि मैले शौकत अलिको खबर सायद सोध्नु हुँदैनथ्यो । उनीहरूको सम्वन्ध सायद बिग्रेको हुनु पर्दछ । शौकतले अर्को बिहे गरेर वा अन्य अरु कुनै कारणले धोखा दिएको हुनु पर्दछ । तर लामो श्वास फेरेपछि उसले भनेथ्यो: “हजुरलाई थाहा छैन र ? उहाँ त शहीद हुनु भयो नि ।”

०००००

मेरो दिमाग त्यही अन्धकार र कोलाहल रातमा पुगिरहेथ्यो । जुन रात मैले शौकतलाई चिनेको थिएँ । त्यो मेरो गाउँको रात थियो । गाउँमा शतप्रतिशत घरहरू फुुसका थिए । अलिकति कोही हुनेखानेका घर फुसका टाँडे थिए । हाम्रो परिवार गाउँको टाँडे घरवाला थियो । मेरो गाउँमा धेरै जातका मानिसहरू बस्थे । पहाडबाट धानको भात खाने लालसा बोकेर बसाइँ सरेर आएका पहाडे पनि थिए । त्यहाँका अलि पुराना रैथाने भनिने आदिवासी पनि थिए । भारतबाट बसाइँ सरेर आएको पहिलो, दोस्रो वा केही पुस्ते मधिसे पनि थिए । गाउँको बीचमा राधाकृष्णको मन्दिर थियो । त्यसकै अलि परतिर एउटा मस्जिद पनि थियो । चुरौटे मुसलमान र कुज्रा मुसलमान पनि थिए । हिन्दूका दशै तिहारमा मुुसलमान खुसी हुन्थे । बक्र ईदमा हिन्दू रमाउँथे । दाहा धाममा मान्छे कुँडुलो परेर आउँथे । मिल्ती थियो ।

म अहिले सम्झन्छु कि त्यो मेरो गाउँ सहरीया महिलाको पर्सनल पर्स व्याग जस्तो थियो । लिपिस्टिकदेखि चिपिस्टिकसम्म, गहनादेखि लहनासम्म, शिरपोसदेखि पाउपोसम्म, ट्वाइलेट पेपरदेखि लिएर वेट टिस्युसम्म थियो । कसैलाई कसैको बदख्वाइँ वा असैह्यता थिएन । यति मिलेर बसेका थिए कि गरी खाएका थिए । अनुपातिक वा समानुपातिक केही पनि थिएन ।

अहिले सम्झँदै गर्दा सायद कृष्ण अष्टमीको रात हुुनु पर्छ त्यो । गड्याङ गुडुङ गर्दै मुसलधारे पानी परिरहेको थियो । मान्छे भन्थे: “यस्तो पानीले त हप्ता हान्छ ।” त्यो रात बुवा, आमा, हजुरवा, हजुरआमा टाँडको बरण्डामा बसेर “राम राम के उल्का हुन आँट्यो होला, कत्रो पानी परेको ?” भन्दै हुनुहुन्थ्यो । लगातारको पानीपछि सुन्दरी खोलाले उग्ररूप लिएछ र यमानको बाढी गाउँ पसेछ । झुप्रे घरभित्र पानी पसेर सबै बगाएछ । घर आहाल भएछ । मान्छे ज्यान जोगाउन यताउति गर्दै थिए होला सायद । लालाबाला बोकेर बिजुली चम्केर चट्याङ हानेको उज्यालोमा गाउँलेहरू यताउति गरिरहेका थिए । गाउँमा रुवाबासी थियो । कोही टौवामा पुगेथे । हाम्रो टाँडे घरमा ओतीन आउनेमा शौकत पनि एउटा थियो । उसले गाउँका दुई जना वृद्धलाई हतेरेको थियो । ढाडमा पोकापोकी थिए । ऊ अजनवी थियो । ऊ तिलाठीको रहेछ र त्यो दिन आफन्त भेट्न हाम्रो गाउँ आएको रहेछ । हामी एउटै उमेरका भएकाले दोस्ती त्यसै कहाली लाग्दो रातले गरिदिएको थियो । दोस्ती नै त के भनूँ ? चिनजान चाहिँ गराएथ्यो ।

०००००

नुर अलिले मलाई झकझक्याएको थियो । म झल्याँस्स भएको थिएँ । त्यसपछि मैले खान पनि सकिनँ । पिउन पनि सकिनँ । आँखामा शौकत आइरह्यो । दिल दु:खिरह्यो । र मैले आत्तिएर सोधेँथेँ: “हँ कस्ले शहीद बनायो शौकतलाई ?”

०००००

त्यसपछि नुर अलि आफ्ना मारिएका पिताको बारेमा क्रमैले भन्दै थियो । म द्रवीभूत भएर एकोहोरो सुन्दै थिएँ ।

“बाबाले सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गर्नु भएथ्यो । त्यो बेला सेकेन्ड डिभिजनमा पास गर्नेले काठमाडौँमा गएर इञ्जिनिएर पढेका थिए रे भन्नु हुन्थ्यो बाबाले । तर उहाँले मास्तिर पढ्न पाउनु भएन रे । बिहे, सन्तान र बाउआमाको स्याहार सुसारमा दिन बिताउन थाल्नुभयो रे । पैत्रिक तरकारी खेती थियो । पैकारीले बारीमै आएर तरकारी लान्थे रे । बिकेन भने बुवा खटारा साइकल चलाएर राजविराजको गुद्री बजारमा पनि पुग्नु हुन्थ्यो रे । भारतको कुनौली बजार पनि पुग्नु हुन्थ्यो रे ।”

“परिवार राम्ररी चलेको थियो । उहाँ दानी हुनुहुन्थ्यो । समाजसेवी हुनुहुन्थ्यो । मातृपितृ भक्त हुनुहुन्थ्यो । गाउँलेहरूले उहाँलाई “श्रवण कुमार” उपनाम दिएका थिए । मेरी आमाका लागि मसिहा हुनुहुन्थ्यो ।”

उसले यसो भनिरहँदा उसकी आमाका आँखा पग्लिरहेका थिए । सारीको खुट चिस्सिरहेको थियो ।

०००००

म भने शौकतलाई सम्झिरहेको थिएँ । एस.एल.सी. दिँदा राजविराजमा एउटै सेन्टर थियो । नेता चौकको दर्पीको घुम्तीमा पान खाएका थियौँ । पान खाने क्रममा उसले मलाई भनेको थियो: “म त फेल भए पनि पास भए पनि केही फरक पर्दैन । बाबुको तरकारी खेती गर्ने हो । सोर्स छैन । हामी गरीबले पढे पनि जागिर पाइन्न क्यारे । फेरि छोरो भएर जन्मेपछि बाउआमालाई पनि त हेर्नु पर्यो । बुवाआमा बूढ्यौली उन्मुख हुनुहुन्छ । कुल धर्म निर्वाह गर्नु पर्यो नि । नत्र त जन्मेको के सार भयो र ? पढेलेखेकाले बाबुआमालाई दिएको दु:ख सम्झेर मेरो हृदय विदीर्ण हुन्छ ।”

गाउँघरमा चाहे त्यो हिन्दूको घर होस् चाहे मुसलमानको मरुपरु पर्दा पुगिहाल्नु हुन्थ्यो । विवाह, व्रतमन्न जस्ता सामाजिक काममा उहाँको रासोबासो नै उतै हुन्थ्यो । पालको व्यवस्था गर्ने, खानपीनको व्यवस्था, खर्चवर्चको व्यवस्था गर्ने जिम्मा बुवाकै हुन्थ्यो । गाउँमा उहाँ मियो हुनुहुन्थ्यो ।”

ऊ त्यो अल्लारे बेलैमा केही कुछ विचार राख्थ्यो । मैले एकनास भावले उसलाई हेरेको थिएँ त्यो बेला । अनि यसै क्रममा उसले भनेथ्यो: “तपार्इँहरूमा पढाइको चेत छ । तपाईँले पढ्नुहुन्छ । ठुलो जागिर खानुहुन्छ । ठुलो मान्छे बन्नुहुन्छ । अहिले हामी बराबर छौँ । दुवै एस.एल.सी. दिने । हामी मित लाऔँ । पछि मलाई भन्न हुन्छ कि त्यो ठुलो मान्छे मेरो मिता हो ।”

र राज सिनेमा हलमा “दोस्ती” फिल्म हेरेर हामीले मित लाएका थियौँ । मिता भएका थियौँ । मैले एस.एल.सी. पास गरेर राजविराज क्याम्पसमा पढिरहेको बेला त्रिभूवन चौकको घुम्तीमा शौकतसँग जम्का भेट भएथ्यो । उसले भनेथ्यो: “अहो मिता, जाऊँ चिया खान ।” उसले गुद्रीको छेदीलालको चिया दोकानमा पुर्याएथ्यो । हाल खबर आदान प्रदान भएथे । यस क्रममा उसले भनेथ्यो: “बाबुलाई रोग लाग्यो । बित्नुभयो । दरभङ्गा लहरियासराय पनि पुर्याएँ । मेरो केही लागेनँ । आमा हुनुहुन्छ । बुढी भै सक्नुभएको छ । बाबु हुँदै बिहे गरेँ । छोरो जन्मेको छ । मैले पढ्न नपाए पनि छोरालाई खुव पढाउँछु । उसलाई ठुलो मान्छे बनाउँछु ।”

०००००

म सोफामै एकतमासको भएको देखेर नुर अलिले मलाई फेरि झक्झक्यायो । र ऊ आफ्ना पिताका बारेमा फेरि भन्दै गयो: “बुवा एकदम मिहिनेती हुनुहुन्थ्यो । सामाजिक जीवन बाँच्नु हुन्थ्यो । गाउँघरमा चाहे त्यो हिन्दूको घर होस् चाहे मुसलमानको मरुपरु पर्दा पुगिहाल्नु हुन्थ्यो । विवाह, व्रतमन्न जस्ता सामाजिक काममा उहाँको रासोबासो नै उतै हुन्थ्यो । पालको व्यवस्था गर्ने, खानपीनको व्यवस्था, खर्चवर्चको व्यवस्था गर्ने जिम्मा बुवाकै हुन्थ्यो । गाउँमा उहाँ मियो हुनुहुन्थ्यो ।”

म शौकतको बारेमा सुनिरहेको थिएँ । बीचबीचमा प्रश्न पनि गर्थेँ ।

नुर अलिले आफ्नो बुवाको प्रसङ्गमा आफ्नो कुरा पनि सुनायो: “आखिर बुवाले यति धेरै दु:ख गर्नुभयो कि मलाई इञ्जिनिएर बनाई छाड्नुभयो । दरभङ्गामा पढेको भए नजिक पनि हुन्थ्यो, खर्च पनि कम लाग्थ्यो । तर बुवाले मान्दै मान्नु भएन । बढी लागे लागोस्, तर आफ्नै देशमा पढ्नु पर्छ भन्नु हुन्थ्यो । आफ्नै देशको सेवा गर्नु पर्छ भन्नुहुन्थ्यो । देश भनेको आमा हो भन्नु हुन्थ्यो । मातृसेवा सबभन्दा ठुलो धर्म हो भन्नु हुन्थ्यो । र मैले यसरी काठमाडौँमा पढेर इञ्जिनिएर हुने शौभाग्य पाएँ । म काठमाडौँमा इञ्जिनियरको अन्तिम सेमेस्टरमा थिएँ ।”

र आफ्नी श्रीमतीलाई देखाउँदै फेरि भन्न थालेथ्यो नुर अलि: “यिनी र म त्यसैताक मायामा बाँधिएका थियौँ ।सँगै मर्ने बाँच्ने बाचा गरेका थियौँ । यिनी ब्राह्मण परिवारकी हुन् । कट्टेल थरकी हुन् । हाम्रो बिहे सजिलो थिएन । उनले आफूलाई इस्लाम कबुल गर्नुपर्थ्यो । मैले हिन्दू हुन पाउने त कुनै प्रावधान नै थिएन । मैले यो कुरा बुवालाई भनेँ । बुवाले उनलाई बिना इस्लाम घर भित्र्याउन तयार हुनु भयो । अहिले उनी हिन्दू हुन् । म र आमा मुसलमान हौँ । एउटा छोरो छ ऊ सायद क्रिस्चियन हो । ऊ बिफ पनि खान्छ । पोर्क पनि खान्छ । उसको परिवेश नै त्यस्तै छ । बुवाले भन्नु हुन्थ्यो कि आखिर यो धर्म भनेको पनि मान्छेले बाँधेको बाँध न हो । चलन न हो ।”

बुवा राजनीतिमा हुनुहुन्थेन । मधेश आन्दोलनको “पहडिया भगाऊ” नाराको विरोध गर्नु हुन्थ्यो । यसले गर्दा राजविराजबाट पहाडेहरू विस्थापित हुन थालेका थिए । मधेशी पनि आफूलाई पायक पर्ने सुनसरी, मोरङ्गतिर बसाइँ सर्न थालेका थिए ।

मेरो दिमागभरि शौकतको अग्लो चौडा छाती र उच्च विचार आइरहेथ्यो । नुर अलिले फेरि भन्न थालेको थियो: “बुवा आमा तिलाठीमै बस्नु हुन्थ्यो । म र मेरी श्रीमती काठमाडौँमा काम गर्थ्यौ । मधेश आन्दोलन भएको थियो । बुवा राजनीतिमा हुनुहुन्थेन । मधेश आन्दोलनको “पहडिया भगाऊ” नाराको विरोध गर्नु हुन्थ्यो । यसले गर्दा राजविराजबाट पहाडेहरू विस्थापित हुन थालेका थिए । मधेशी पनि आफूलाई पायक पर्ने सुनसरी, मोरङ्गतिर बसाइँ सर्न थालेका थिए । सङ्कीर्ण राजनीति गर्नेहरूको रैँदालो भएको थियो जिल्ला । उहाँले एकदिन मलाई भन्नु भएथ्यो: “बबुआ, न काठमाडौँले हामीलाई चिन्यो, न हामीले काठमाडौँलाई । सिमानामा हुने अतिक्रमणको बेथा त काठमाडौँलाईभन्दा हामीलाई धेरै थाहा छ नि ।”

ऊ एकछिन रोकिएको थियो । बोतलबाट अलिकति पानी खायो अनि फेरि भन्न थाल्यो: “बेस्सरी पानी परिरहेको थियो । खाँडो खोला बढेर उर्लेको थियो । नेपाल भारत सिमानामा भारतले बाँध बाँधेर पानीको बहाव रोकेको थियो । लालापट्टीदेखि तिलाठीसम्मका गाउँहरू पुरै डुवानमा परेका थिए । मान्छेको चिहिलबिहील भएको थियो । त्यो बेला बाबाले मेरी आमालाई भन्नु भएथ्यो रे “रे बबुवाके म्या, चलत । पुरे गाँव डुब गेले । चाहे जे कुछ हेते बाँध फोड पर्ले ।”

अनि नेपालको चन्द्र सूर्य अङ्कित रातो झण्डा मेरी आमालाई बोक्न लगाएर एउटा ठुलो कोदालो बोकेर बाँधतिर बढ्नुभयो रे । त्यो बेला राजतन्त्रवादीहरू, मधेशवादीहरू, गणतन्त्रवादीहरू हातमा दही जमाएर राम–राम मात्र भन्दै तमासा हेर्दै थिए रे । सरकारको कहीँ कतै नामोनिसान थिएन रे । पानी झमझम परिरहेकै थियो रे । बुवा अगाडि बढ्नु भएछ । आमा पछिपछि नेपालको झण्डा बोकेर लाग्नु भएछ । र बुवाले नेपाल–भारत सीमाको जङ्गे पिलरको वारीपट्टि बसेर पानी टिलपिल भएको बाँधको थाप्लामा कोदालोले हान्नु भएछ, एकपटक, दुईपटक, तीनपटक । पानी ह्वालल बग्न थाल्यो रे । यसैबेला पारिबाट एउटा गोली आएर उहाँको छातीमा लागेछ । मुखबाट एक भुल्का रगत निकाल्नुभयो रे बुवाले, र त्यही जङ्गे पिलरमा अडेस लागेर “जय नेपाल” भन्दै आमाको काखमा प्राण त्याग गर्नु भएछ । तर पानीले आफ्नो गोहो बनाई हाले छ ।

यसरी तिलाठीदेखि लालापट्टिसम्मका डुवान क्षेत्र बिस्तारै ओभाए । मान्छे आफ्ना–आफ्ना घर फर्के रे । बुवाको लास भारतीय प्रहरीले तीन दिनपछि मात्र बुझायो । आमालाई पनि भारतीय प्रहरीले कैद गरेको थियो । बुवाको लाुससँगै आमाको अर्धलास पनि बुझायो रे । आफ्नो छोरो मारिएको सुन्नासाथ हजुरआमा फेन्ट हुनुभयो रे । अनि कहिल्यै उठ्नु भएन । लास आएपछि गाउँका नेताहरू कोही चारतारे, कोही हँसिया हथौडा र कोही पञ्जा छाप झण्डा लिएर लासमाथि ओढाउन आए रे । हामीले त्यही नेपालको झण्डा ओढायौँ बाबाको लासमा ।”

यति भनिसकेर ऊ ग्वाँग्वाँ रोयो । र भन्यो: “सर, मैले हजुरआमा र बाबुको क्रिया एकैपल्ट गरेको थिएँ । बज्र पर्यो हाम्रो भाग्यमा । सरकारले पाँचलाख दियो, तर सम्मान दिएन । खेत सबै खाँडो खोलाको बगर भएको थियो कतै पाँकले भसौट भएको थियो । जागिरको जोगाडमा लाग्दा लाग्दा पाएको प्रताडनाले म मुढो भएँ र हानिएँ यतातिर । बाबुको इच्छा विपरित म विदेशिएँ । मसँग उपाय थिएन । यो कुराले मलाई अँझै पीडा दिइरहेको छ ।”

म पनि रोइरहेको रहेँछु । मैले एउटा कल्पना गरेँ कि मिताको रगतले रङ्गिएको त्यो रातो टाटा भने जङ्गे पिलरमा राताम्मे देखिरहेको होला र जन्मजन्मान्तर त्यो पिलरले मितालाई सम्झिरहने छ । अनि मैले अनायासै भनेँछु: “नुर अलि, तिमी मेरो छोरा हौ, मित छोरा । म तिम्रो पिताको मिता । हामीले दोस्ती सिनेमा हेरेर मित लाएका थियौँ । म गौरव गरिरहेको छु कि शौकत जस्तो सक्कली शहीदको मिता हुन पाएकोमा । म कराएर भन्ने छु कि युगमा एकपल्ट जन्मने योद्धा, मेरो मिता हो । शौकत मेरो मिता हो । सलाम छ । सलाम छ । सलाम छ । अलबिदा मिता ।”

खेमराज पोखरेल
कञ्चनरुप, सप्तरी
हाल: सान एन्टोनियो, अमेरिका ।