गाउँमा पसेका यमराजले के भने ?

माधव सयपत्री

0 0


नेपालदृष्टि । आमाको शरीरबाट बच्चाको शरीर अगल पारेपछि आमाकै छेउमा ठाउँ बनाएर बच्चा राखियो  । आमाछोराले एकै ठाउँमा चिरनिद्रा लिए  ।

लास नछुनेगरी माथिबाट ढुंगाले छोपेर हिँड्यौँ हामी । राति आमाले छोरालाई मेरो बाबु, यता आऊ’ भनेर सुत्केरो दूध त चुसाइनन् !
एकाबिहानै ‘टु..उँ..उँ’ को अत्यासलाग्दो आवाज सुनिन्छ वारिपारि कतै । कान ठाडा हुन्छन् । मनमनै प्रश्न गर्छु, ‘आज कसले जिन्दगीको स्याहास्रेस्ता बुझाएछ ?’ ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्छन्, गाउँमा मानिस मरेपछि मलामी जानु परिगो । मृत्यु अप्रिय भए पनि पैँचो लगाउने अवसर हो— शवयात्राको सामेली । समाजको आफ्नोपन र असली चरित्रलाई जोगाइराख्नु हाम्रो दायित्व पनि हो ।
फेरि बज्न थाल्छ उही ‘टु..उँ..उँ’ आवाज । बजेको बज्यै गर्छ । अलमलिन्छु । त्यति छिटोछिटो नबज्नुपर्ने हो एकोहोरो शङ्ख ! अहँ, यो ‘शवयात्रा’ होइन, ‘सहरयात्रा’ हो । गाडीले घुम्ती र मोडमा हर्न पो बजाएको रहेछ । गाडीको हर्न पनि एकोहोरो शङ्खझैँ सुनिन लागेको छ । पहाड छियाछिया पारी चिरिएका वारिपारिका सडकबाट गाडी तलतिर झर्दा तिनका हर्नले पनि आजकल झुक्याउन थालेको छ ।
अचेल गाउँमा मानिस एकदमै कम मर्छन् । मृत्युलाई पनि गाउँ मन पर्न छाड्यो क्यारे ! मृत्युउत्सवको विरक्त गीत गाउने एकोहोरो शङ्खको कर्कश र अत्यासलाग्दो ध्वनि गाउँमा सुनिन छाडेको छ । गाडीको हर्नले पो झुक्याइदिन्छ ।

जवान हुँदासम्म पनि म कसैको मलामी नै गइनँ । डर लाग्थ्यो । माथिबाट शङ्ख बजाउँदै मूर्दा झारेको थाहा पाएपछि म घरमा बस्दिनथेँ । बाटोछेउको घरबाट निस्केर बारीका कान्लातिर लुक्न जान्थेँ । लास गाउँ कटेपछि र मलामीहरू सबै झरेपछि मात्रै म घर आउँथे । मरेको मान्छेले पनि क्वाप्लाक्कै खान्छजस्तो लाग्थ्यो । सानामा वनतिर घाँस–दाउरा गर्न र गाईबस्तु चराउन जाँदा देखिन्थे— बच्चा पुरेका चिहानैचिहान । ढाँडैपिच्चे कोदालाका बिँड भेटिन्थे । चिहान देखेर छाती ढक्क फुल्थ्यो । चिहानको वरिपरि जान पनि डर लाग्थ्यो । हरेक वर्ष प्रत्येकजसो घरमा एउटा न एउटा बच्चा मरेकै हुन्थ्यो । ढाँडमा लगेर पुरिएकै हुन्थ्यो । धामीझाँक्री उफारेकै उफ्रायै । भाकल गरेको गर्‍यै । बली दिएको दियै । तर, रोगले भेटेपछि बच्चा बाँच्ने होइन । हिजो सँगै लुकामारी खेलेको साथी गएको थाहा पाउँदा मनमा भक्कानु छुट्थ्यो । आफ्नोचैँ पालो आएनछ । र त, आजसम्म जिउँदो छु । दसजनासम्म छोराछोरी भकाभक माटोमा पुरेका बाआमा गाउँमा भेटिन्छन् । कस्तो भयो होला तिनको मन ! कति दर्दनाक अवस्था थियो !

उसको नाम अनौठो थियो— ञिउँराज । थर भुजेल । हामी दुवै तीन कक्षामा थियौँ । ज्यादै मरञ्च्यासे थियो— ञिउँराज । ज्यानको पिलन्धरे ञिउँराज पढाइमा मलाई सधैँ लडाइदिन्थ्यो । पिलन्धरे ञिउँराजलाई देख्दा हिँडेर स्कुल कसरी आइपुग्दो हो जस्तो लाग्थ्यो । स्कुल उसको घरको नजिकै थियो र पो ! ऊ दिनदिनै दुब्लाउँदै गयो । थला पर्‍यो । ऊ स्कुल आएन । स्कुलमा ञिउँराजको साटो उसको मृत्युको खबर आयो । ञिउँराज जीवनबाटै छुटेर गयो । उसको मृत्युमा एक दिन स्कुल छुट्टी भयो ।
कुन बेला कसको छातीमा मृत्युको तीर रोपिने हो, रोगले भेटेपछि फ्याट्टै । बाटोमै हिँड्दाहिँड्दै मृत्यु भेटिएला भन्ने डर । र, आफूलाई पनि तानेर लैजाला भन्ने त्रास । मृत्युले खेदेजस्तो लाग्थ्यो ।

दाजु मरेको बीस वर्षपछि ञिउँराजको भाइ पुष्कर भुजेल मर्‍यो । भर्खरकी श्रीमती र सारा आफन्त छाडेर पुस्कर गयो । पुष्करले चोला बिसाएको केही वर्षमै उसका साइँला बाउका छोरा बिस्ने र नेत्रे गए । भुजेल गाउँमा मृत्यु आतङ्कले छाडेन ।

अलिक महिनापछि बिस्नेको साइँलो भाइ मन्दिरे थला पर्‍यो । दिनैपिच्छे धामीझाँक्रीले जोखाना हेर्ने र ढ्याङ्ग्रो ठोक्ने गर्दागर्दै तीन वर्ष बिते । पछि टीबी लागेको थाहा भयो । औषधिले काम गरेन । मन्दिरे थलिएर मर्‍यो । मन्दिरेभन्दा अगाडि भुजेलगाउँमा अकालमा मरेका सबैलाई टीबीले लगेको रहेछ । बल्ल थाहा भयो । जन्मिएमध्ये एकतिहाइ मान्छे अकालमै जिन्दगीको बहीखाता बुझाउँदा रहेछन् । बहीखाता बोकेर गाउँमा आएको रहेछ— टीबी रोग ।
माथिबाट मन्दिरेको लास झर्‍यो । एकोहोरो शङ्खको दिक्दारिलो आवाजले डाँडाकाँडा थर्किए । मेरो मुटुले ठाउँ छोड्यो । मैले मकै छर्न बारीमा गोरु नारेको मात्रै थिएँ । गोरुसोरु फुकाएर म कान्लैकान्ला हाम फाल्दै पाखातिर गएँ । ओढारमा लुकेर बसेँ । मलामी ओझेल परेपछि फर्केर आएँ । आफ्नै साथीको मलामी जान सकिनँ । म किन त्यति काँतर भएँ हुला ! असार अन्त्यतिर गाउँका बैदारबाले संसार छाडे । धमाधम रोपाइँ चलेको थियो । गोरु फुकाउने बेला भएको थिएन । सबै गाउँले मलामी जान तयार भए । घरबाट गइदिने अर्को मान्छे छैन । घरकाले पनि ‘जा जा’ भनेपछि बैदारको मलामी जानुपर्ने भयो । मलामी जान मेरो मन मानेको थिएन । मन डराएको थियो । ‘घाटमा पुग्दा रात परिहाल्छ । मरेको मान्छे देखिँदैन । नडरा । जा जा, मलामी जा ।’ मेरो मनले पनि सहमति जनायो । म मलामी जाने भएँ । सुकेको एउटा खाँबो बोकेर म पनि अरूका पछिपछि कुदेँ । बाटोमा लास भेटिन्छ कि ! सोच्दा पनि मुटुले ढ्याङ्ग्रो ठोक्थ्यो । दच्किई दच्किई घाटमा पुगेँ । अँध्यारो भैसकेको थियो । तामाकोसी एकतमासले सुसाइरहेको थियो । बर्खे भेल असमेल भएर आएको थियो । मलामीले चिता बनाए । कोसीमा बाढीको सतह बढ्दै आयो । बाढीले चिता छोयो । बगाउनचैँ बगाएन । पानीको तह अलि घटेपछि सबैले बैदारबालाई दागबत्ती दिए । मनमा डरैडर बोकेर परैबाट चारगेडा चामल बैदारबाको लासमा फ्याँकिदिएँ मैले पनि ।
बैदारबाको लासमा छोराहरूले आगो झोसे । चिता बल्न थाल्यो । आगोको लप्का माथिमाथि अकासियो । अँध्यारोमा बैदारबाका हात माथि उठेको देखेँ । चितामा माथि उठेका बैदारबाका हातले हामीजस्ता गरिबलाई अझै ङ्याक्न खोजेझैँ लाग्यो मलाई । तिनले मुखिया, जिम्मल र तालुकेहरूसित मिलेमतो गरी कति गरिबगुरुवाको उठिबास लगाइदिएका थिए होलान् !
बैदारको घरबाट बेठीको उर्दी आएपछि जसरी पनि जानुपर्थ्यो रे । नगए ठिँगुरामा हाल्दिन्थे रे । उनीहरूकै घरमा जेल हुन्थ्यो रे । केरा पाक्दा फेदको काइँयो र खसी काट्दा ह्याँकुलो लगिदिनुपर्थ्यो रे । नलगे कारबाही गरिहाल्थे रे । हजुरआमा यसै भन्नुहुन्थ्यो । मलामीले राति दस बजे बैदारको चिता पखाले । घर आइपुग्दा रातको बाह्र बज्यो । रातभरि डर लाग्यो । सपनामा पनि बैदारबा हात फैलाएर आए । अँत्याए । निकैबेर ऐँठन भयो । जसरीतसरी शवयात्राको मेरो पहिलो सामेलीलाई मैले सामान्य बनाएँ ।
गाउँमा महिनामा एक दुई जनाले संसार छाडेकै हुन्थे । स्वास्नीमान्छे मलामी जाँदैनथे । सधैँ मलामी नजान मिलेन । बैदारबाको मलामी गएर आएपछि मन अलि दह्रै भएको थियो । ‘आ, अब पनि डराएर हुन्छ ?’ त्यसपछिका शवयात्राको सामेली अझ सामान्य बन्दै गयो । दुई चार जनालाई खरानी बनाई पानीमा मिलाएर आएपछि म परिपक्व मलामी बनेँ । लासदेखि भागीभागी हिँड्ने म, अब लासलाई बाँसमा बाँधछाँद गर्न र काँधै हाल्ने भएँ ।

 

एक जना गाउँले दाइकी श्रीमतीलाई तीन चार दिनसम्म सुत्केरी बेथा लाग्यो । भाउजूले नानी पैदा गर्न सकिनन् । गाउँमा स्वास्थ्यचौकी थिएन । सुत्केरी बेथा लाग्दा पनि झारफुक खुब गरे । बोकेर सडक सुविधा भएको ठाउँमा लैजान निकै गाह्रो थियो । ‘अस्पताल लैजानुपर्छ’ भन्दाभन्दै भाउजूले आँखा चिम्लिइन् ।

भाउजूको लास घाटमा पुर्‍याइयो । उनको मात्र लास थिएन त्यहाँ, डब्बल लास थियो । सुत्केरी मृतकलाई जलाउन नमिल्ने ठहर भयो । पेटको बच्चाको सालनाल अलग नगरी गाड्न नमिल्ने रे ! पेट चिर्न लोग्ने नै चाहिन्छ रे । नभए ससुराले चिर्दा पनि हुन्छ रे । उनका काइँला ससुराले पत्ती हातमा लिएर बुहारीको पेट चिर्न थाले । निकै गाह्रो भयो । बच्चा जिउँदो थिएन तर उसको शरीरमा चोट नलागोस् भनेर सावधानीसाथ पत्ती चलाए उनले । मैले पनि दाह्रा किटेर मन बाँधेँ । बच्चा बाहिर निकाल्न मैले उनलाई सहयोग गरेँ । ओ हो ! कति गाह्रो मान्छेको लाससँग खेल्न ! सालनालबाट बच्चा छुट्टयाउन निकै बल गर्नुपर्‍यो । बच्चा तातै थियो तर ऊ आमाकै बाटोमा प्रस्थान गरिसकेको थियो । आमाको शरीरबाट बच्चाको शरीर अगल पारेपछि आमाकै छेउमा ठाउँ बनाएर बच्चा राखियो । आमाछोराले एकै ठाउँमा चिरनिद्रा लिए । लास नछुनेगरी माथिबाट ढुंगाले छोपेर हिँड्यौँ हामी । राति आमाले छोरालाई ‘मेरो बाबु, यता आऊ’ भनेर सुत्केरो दूध त चुसाइनन् !
मानिसलाई सबैभन्दा बढ्ता डर मृत्युको लाग्छ । तर, मृत्यु मानिसको चिन्तनको प्राथमिकतामा पर्दैन । ‘ऊ मर्‍यो रे, त्यो मरी रे’ भन्यो तर हामीसँगै भएको मृत्युले हामीलाई लैजान्छ भन्ने यथार्थ हामी बिर्सिरहेका हुन्छौँ । हामी मृत्यु बिर्संन्छौँ तर मृत्युले हामीलाई सम्झिरहन्छ । कसैको मलामी गएका दिन हाम्रो दिमागमा मृत्यु चिन्तन ‘रिफ्रेस’ हुन्छ ।
चितामा सुताइएको लासको कपडा उतार्दै जाँदा मलामीहरू जीवनजगत्को क्षणभङ्गुरताको चर्चा गर्न थाल्छन्, ‘के र मानिसको चोला !’ जीव र आत्मतत्त्वको मीमांसा गर्छन् । मृत्यु सबैको आलोचनाको सिकार हुन पुग्छ । मानौँ, मृत्युले अक्ष्यम्य अपराध गरेको छ । तर कोही सोच्दैन— मृत्युले कहिल्यै बाटो बिराउँदैन । जीव जन्मिन वा नजन्मिन पनि सक्छ । जन्ममा छनोटको अवसर हुन सक्छ तर मृत्यु निर्विकल्प छ । छनोटको अवसर प्राप्त हुन सक्दैन । मिति नलेखेको मृत्युको टिकट हामीसँगै छ ।
चितामा फैलिँदै गरेको आगोले लासलाई निल्दै जान्छ, मलामीहरू वैराग्यले मर्माहत हुन्छन् । दर्शनका कुरा चल्छन् । मृत्यु चिन्तन हुन्छ । विधिविधान र शास्त्रको बहस हुन्छ । हरेक मानिस बुद्ध बन्छ । गीता दर्शनका कुरा हुन्छन् ‘मर्नेमार्ने कोही होइन रे । सबै उही हो रे ।’ ऊ अर्थात् कृष्ण । मानिसमा आएको मलामी चिन्तन उसको मनमस्तिष्कमा रहिरहने हो भने यो दुनियाँ कति शान्त र सौम्य हुँदो हो । तर, के गर्नु, यी सबै स्वार्थपरता, पक्षधरता र भावावेशमा आएका अल्प चिन्तन मात्रै हुन् ।

गाउँमा आक्कलझुक्कल मात्रै मृत्युको पदचाप सुनिन्छ आजभोलि । मृत्युको पदचाप पछ्याउने मलामी घटदैघट्दै गएका छन् गाउँमा । सयौंसयौंको मलाममा सामेल भइयो होला । उफ् ! मलाई लिन मृत्यु गाउँमै आयो भने मेरा कति मलामी हुने हुन् ! म आफ्नै मलामीको सङ्ख्या अड्कल गरिरहेछु । स्वास्थ्य सुविधा बढ्दा हाम्रो औसत आयु बढेकै हो । मृत्युदर घटेकै हो । डाक्टर, औषधि र अस्पतालले मृत्युलाई पर धकेलेकै हुन् । यो सुखद कुरा नै हो । सहरका घाट वा चिहानहरूमा मुर्दाको चाप कति बढेको छ, हाम्रा घाटप्रेमी लेखक कुमार नगरकोटीलाई सोध्न मन छ । असली कुरा यत्ति हो, अचेल मृत्युलाई गाउँभन्दा सहर मन पर्न थालेको छ ।  (कोसेलीबाट)