पठनीय उपन्यास “सीताञ्जली”  

चन्द्रप्रसाद घिमिरे

2 0


नेपालदृष्टि । नेपाली साहित्यमा पौराणिक विषयवस्तुमा आधारित उपन्यास लेखनको परम्परामा पछिल्लो पटक थपिएको छ, उपन्यास “सीताञ्जली” । जीतबहादुर कटुवालद्वारा लिखित यो उपन्यास रामायणसँग सम्बन्धित छ ।

पाँचपोखरी प्रकाशनगृह काठमाडौँले बजारमा ल्याएको सीताञ्जली उपन्यासमा १८ परिच्छेद र २५४ पाना रहेका छन् । कटुवालको यो दोस्रो उपन्यास हो । यस अघि उनको २०७५ सालमा वालि उपन्यास प्रकाशित भएको थियो । रामायणकी मुख्य नारी पात्र सीताको केन्द्रीयतामा सीताञ्जलीको कथावस्तु डोहोरिएको छ । सीताको जीवनसँग सम्बन्धित र सोका पृष्ठभूमिका घटनाको बुनोट उपन्यासमा रहेको छ ।

सीताको जन्मभूमि मिथिलाको उत्पत्तिदेखि सीताको जन्म विवाह, वनवास , रावणबाट भएको हरण ,अशोक वाटिकाको बसाइ , रामसामु अग्नि परीक्षा , अयोध्याकी महारानी अनि रामबाट परित्याग गरेपछिको वाल्मीकि आश्रमको बसाइ हुँदै धराधाम गमनसम्मका रामायणका विषयवस्तुलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । उपन्यासले रामायणको मूल मर्मलाई भत्काएको छैन । वाल्मीकि र भानुभक्तीय रामायणले बोकेको आदर्शलाई नै अनुशरण गरेको छ । प्राय सबैले सुनेको जानेको रामायणको कथावस्तु भए पनि पढदै जाँदा पाठकलाई कुतुहलताका साथ पुस्तकमा अड्याइराख्न सक्ने गुण उपन्यासमा रहेको छ । सरल सहज र रसिलो भाषाशैली उपन्यासको विशेषता देख्न सकिन्छ ।

उपन्यास भएको नाताले कतिपय घटना र प्रसङ्ग लेखकका कल्पनाशीलका उपज हुन् । तर मुल कथासँग यसरी जोडिएका छन् कि ती कल्पनात्मकता नभई यथार्थ जस्ता लाग्दछन् । उपन्यासमा वर्णित सीताका कारुणिक जीवन कथाले पाठकको हृदय पगाल्ने सामथ्र्य राख्दछ । रावणले हरण गरेपछि लङ्काको अशोक वाटिकामा बस्दा भोग्नु परेको मानसिक पीडाले निकै दर्दनाक छ । यस्तै वाल्मीकि आश्रममा सीताको मनमा भडकेको असन्तोषको ज्वाला बाहिर देखिदैन । तर मन भित्र डरलाग्दो छ । सीताका तार्किक संवादले उपन्यासलाई ओजयुक्त बनाएको छ । सीता करुणाकी प्रतिमुर्ति हुन् । त्याग ,कर्तव्य , निष्ठाजस्ता कुरामा मिथिलाकुमारी सीता उदाहरणीय छन् ।

उपन्यासमा सीता निरिह नभएर आफ्ना कुरा प्रष्ट भन्न सक्ने तर मर्यादालाई सदैव ख्याल गर्ने सत्पात्रका रूपमा उभिएकी छिन् ।

लेखक कटुवालको यस्तै पौराणिक विषयवस्तुमा आधारित उपन्यास बाली प्रकाशित भैसकेको छ ।

राजनीति , नैतिक मर्यादा , नारी अस्तित्व आदिमा सीताञ्जली उपन्यासले महत्वपूर्ण विचार प्रस्तुत गरेको छ । लोकसम्मतिमा विश्वास गर्ने र प्रजा (जनता)लाई सर्वोपरि महत्व दिने राजा जनक , दशरथ र रामको राजपद्धति अहिले पनि कतिपय सन्दर्भमा अनुकरण्य लाग्छ । मन्थरा र कैकेयीका माध्यमबाट राजनीतिमा हुने चुक्ली , बेइमानीको पनि झलक प्रस्तुत गरिएको छ । सीताञ्जलीमा प्रकृति चित्रण पनि बडो कलात्मक छ । जनकपुर ,अयोध्या लङ्का , दण्डक वन र वाल्मीकि आश्रम लगायतका स्थानको चित्रकारी वर्णन सीताञ्जलीमा रहेको छ ।

समग्रमा कटुवालको सीताञ्जली उपन्यास पठनीय कृतिका रुपमा रहेको देखिन्छ । अन्त्यमा लेखककै शब्दमा “ मिथिलाकुमारी सीताका आदर्श चरित्र हाम्रो सभ्यता,संस्कृति र परम्परामा अनुकरणीय साथै वन्दनीय पनि छ । जानकीका जीवनका विविध आयामको आँकलन नै सीताञ्जली हो ।”

 उपन्यास पढ्दै पाठक