कस्तो थियो जरायोले लाउँने जुत्ता ?

२०७७ मंसिर ५, शुक्रबार

0 0


नेपालदृष्टि । हिउँद मासको बेला । जताततै हिउँ फुस्फुसाइरहेको थियो । हृदयपुर उपत्यकाका केटाकेटी स्कुल बिदामा रमाइरहेका थिए । कोही हिउँमा चिप्लेटी खेलिरहेका हुन्थे त कोही लुकामारी । कोहीचाहिँ हिउँलाई डल्लो पार्दै एक अर्कालाई हिर्काउन पाउँदा दंग पर्थे । धेरैजसो हिउँमा विभिन्न किसिमका आकृति बनाउँथे । हिउँ मन नपर्नेहरू भने आगो तापेर बसेका हुन्थे कि त न्यानो सिरकभित्र घुस्रिएका हुन्थे ।

हिमांशु र हिमा भने अलग थिए । उनीहरू दाजु बहिनी हुन् । हिउँदे बिदामा हिमांशु प्रायः कथाका किताब पढ्न मन पराउँथे । हिमा भने रंगसँग हुन्थिन् । उनलाई चित्र कोर्न मन पर्थ्यो ।

त्यस दिन पनि हिमांशु किताबसँगै थिए । हिमा चित्रमा रंग भर्दै थिइन् । मौसम घमाइलो थियो ।
‘दादा हजुरले केही सुन्नुभयो ?’ हिमाले भनिन् ।
‘हँ .. नाइँनाइँ ’ किताब पढ्न एकोहोरिएको हिमांशुले कोठावरिपरि हेर्दै भने । ‘एकछिन् सुन्नुस् त..,’ हिमाले थपिन्, ‘हाम्रो घर पछाडि कोही छ ।’ एकछिन् एकाग्र भएर सुनिसकेपछि अकमकिँदै हिमांशुले भने, ‘हो हो.., को होला त ?’

साँझको समयमा अचेल गाउँघरतिर भालु पसेर मानिस र तिनका गाईवस्तुलाई दुःख दिन थालेका थिए । ‘भालु नै हो कि क्या हो,’ डराउँदै हिमांशुले भने । ‘एकपटक मसँगै आऊ त,’ एकैछिन्मा साहस बटुल्दै हिमांशु बोले । उनले पढ्दै गरेको किताब त्यत्तिकै थन्काए । हिमाले पनि हातको पेन्सिल भुइँमै छोडिन् । हिमांशुले ढोकामा भएको गजबार निकाले र हातमा लिँदै भने, ‘पख्लास् भालु ।’
गजबार हातमा उज्याउँदै हिमांशु घर पछाडि गए । हिमा पनि डराईडराई पछि लागिन् । घर पछाडि पुग्नेबित्तिकै हिमांशुले भने, ‘ओहो कस्तो मायालाग्दो...।’ त्यहाँ त जरायोको बच्चा पो छट्पटाइरहेको रहेछ । फुर्किंदै हिमाले भनिन्, ‘कस्तो राम्रो जरायो । म त यसको चित्र बनाउँछु ।’

उनीहरू नजिक आउँदा जरायोको बच्चा डराएर भाग्न खोज्यो । तर ऊ लड्खडाइरहेको थियो । उसले अगाडिको दायाँ खुट्टा उचलिरहेको थियो । सकीनसकी उभिएको ऊ भाग्न सकेन । ‘पख पख ’ भन्दै हिमांशुले जरायोलाई च्याप्प समाए ।

‘कहाँबाट आयो होला यो रु साँच्चै मायालाग्दो रहेछ । हेर त यसको निधारमा पान आकारको बुट्टा’ हातमा लिँदै हिमांशुले भने ।

जरायोको निधारमा सेतो रंगको पान आकारको बुट्टा थियो । ‘यसका बाबाआमा कहाँ होलान् रु’ चिन्तित हुँदै हिमाले भनिन् । ‘हेर त यसको खुट्टा सुन्निएको । यो घाइते छ । यसलाई उपचारको खाँचो छ,’ हिमांशुले जरायोको खुट्टा समाउँदै भने । उनीहरूले जरायोको बच्चालाई घरभित्र लगे । ‘आमा, यहाँ हेर्नुस् त हामीकहाँ नयाँ पाहुना आएको छ,’ हिमांशुले आमालाई जरायो देखाउँदै भने । अचम्म मान्दै आमाले भन्नुभयो, ‘अरे, जरायोको बच्चा कहाँबाट आयो ?’
‘आमा यो घाइते छ । यता खुट्टामा हेर्नुस् त,’ हिमांशुले जरायोको बच्चा आमालाई दिए । जरायोको बच्चाको खुट्टालाई आमाले मनतातो पानीले सेकिदिनुभयो । अनि अँगेनाछेउ न्यानो कम्बलमा राख्दै भन्नुभयो, ‘यो भोकाएको जस्तो देखिन्छ, एकछिन् हेर्दै गर है... ।’ आमाले जरायोको बच्चाको अगाडि मनतातो दूध राखिदिनुभयो । तर उसले दूध खान सकेन । आमाले सोली ल्याउनुभयो । जरायोको बच्चाको मुख फट्टाएर उसलाई सोलीबाट दूध खुवाउनुभयो । एकैछिन्मा जरायोको बच्चा अलिक हँसिलो देखियो ।
झमक्क साँझ पर्दा हिमांशु र हिमाका बाबा घर आउनुभयो । उनीहरूको बाबा हृदयपुर उपत्यकाको वन पशु विभागमा काम गर्नुहुन्थ्यो । बाबाले जरायोको बच्चाको खुट्टा जाँच्नुभयो । ‘हिउँमा चिप्लिएर यसको दायाँ खुट्टा मर्केकोजस्तो छ,’ जाँचिसकेपछि उहाँले भन्नुभयो, ‘यसकी आमा पो कहाँ छे होला, यो एक्लो हुने भयो ।’
बाबाले भन्नुभयो, ‘हिमांशु तिम्रा पुराना जुत्ता लिएर आऊ त ।’

‘किन बाबा ?’ हिमांशुले सोधे । बुबाले भन्नुभयो, ‘जरायोलाई अब जुत्ता लगाइदिने । बाहिर निकै चिसो पनि छ । यसको मर्किएको खुट्टा जुत्ता लगाएरै ठीक हुन्छ । जुत्ता लगाए मात्र यसको खुट्टा सोझिन्छ ।’
‘आहा, जरायोलाई जुत्ता ?,’ हिमा मख्ख परिन् ।

हिमांशुले र्‍याकबाट आफ्ना पुराना जुत्ता लिएर आए ।

‘अहँ, हिमांशुका जुत्ता त ठीक नै भएन । तिम्रा जुत्ता निकै ठूला हुने रहेछन्,’ बाबाले हिमाका साना खुट्टा हेर्दै भन्नुभयो, ‘छोरी अब तिम्रा पुराना जुत्ता लिएर आऊ त ।’
हिमाले आफूलाई ठीक हुन छाडेका साना जुत्ता लिएर आइन् ।
हिमाका जुत्ताचाहिँ उसलाई ठीक हुने रहेछ । बाबाले जरायोको बच्चाका अगाडिका खुट्टामा हिमाका रंगीबिरंगी जुत्ता लगाइदिनुभयो ।
यो देखेर हिमा निकै खुसी भइन् र फेरि चिच्याइन्, ‘आहा, जरायोलाई जुत्ता !’ ‘बाबा अब भोलिदेखि चाहिँ यसलाई तपाईंको कार्यालयमै राख्नुपर्ला,’ बाबाका लागि तातो चिया टेबलमा राख्दै आमाले भन्नुभयो । ‘जरायोलाई हामीसँगै राखौं न आमा,’ हिमाले दुःखी हुँदै भनिन् । सुरुप्प तातो चिया खाँदै बाबाले भन्नुभयो, ‘त्यो त हो । तर हिउँदमा कार्यालयमा अत्यधिक चिसो छ । धेरै कर्मचारी पनि हिउँदे बिदामा छन् । यसलाई यहीँ नै न्यानो होला ।’
भोलिपल्टदेखि उनीहरूको घरमा हृदयपुर उपत्यकाका मान्छेको घुइँचो नै लाग्न थाल्यो । हृदपुरका केटाकेटीहरू ‘जुत्ता लगाएको जरायो’ हेर्न आउन थाले । यो देखेर हिमांशु र हिमाको परिवार दंगदास बन्यो ।
नयाँ साथी पाएकोमा हिमांशु र हिमा निकै खुुसी देखिन्थे । जरायोको बच्चालाई खुट्टा निको नहुन्जेल आमाले घरमै राखेर स्याहार्नुभयो । उसलाई दिउँसभर आँगनमा राख्नुहुन्थ्यो । ‘जरायोलाई दिनभर बाहिर राख्दा के थाहा उसकी आमा लिन आउँछे कि’ भन्ने विचारले आमाले जरायोको बच्चालाई आँगनमा राख्नुहुन्थ्यो । तर धेरै दिन हुँदा पनि जरायोकी आमा उसलाई लिन आइन । साँझमा भने उहाँले आफूसँगै अँगेनाको छेउमा राख्नुहुन्थ्यो । रातको बेलामा उसलाई डोकोभित्र न्यानो कम्मलभित्र राखिदिनुहुन्थ्यो ।
साता दिनसम्मको स्याहार पाएपछि जरायो तंग्रियो । उसले आफैं खानेकुरा खान सक्ने भयो । १५÷२० दिनमा बुरुक्बुरुक् उफ्रन सक्ने भयो । हिमांशु र हिमाको हिउँदे बिदा सकिनै लागेको थियो । ‘अब जरायोसँग खेल्ने धैरै दिन छैन’ भनेर उनीहरू चिन्तित बन्न थालेका थिए । हिमांशु र हिमाको स्कुल लागेको भोलिपल्ट जरायो गायब भयो ।
‘ऊ अहिले के गर्दै होला दादा ?’ बेलाबेला जरायोबारे सोच्दै हिमाले हिमांशुलाई सम्झाउँथिन् । ‘माथिल्लो जंगलमा रमाएर बसेको छ होला,’ हिमांशुले भन्थे । वसन्त ऋतुको एक समय स्कुलमा भएको चित्रकला प्रतियोगितामा हिमाले बनाएको जुत्ता लगाएको जरायोको चित्र प्रथम भयो । यो देखेर बाबाआमा पनि निकै खुसी हुनुभयो । हिमाले आफूले पाएको मेडल भित्तामा सजाएर राखिन् । केही समयमा उनीहरूले जरायोकाबारे बिर्सिसकेका थिए ।
अर्को वर्षको हिउँदमा दुईवटा बच्चासहित एउटा माउ जरायो उनीहरूको आँगनमा देखा पर्‍यो । ‘ओहो पानबुट्टे,’ घरको झ्यालभित्रैबाट चिच्याउँदै हिमांशुले भने । उसको निधारमा पान आकारको सेतो बुट्टा थियो । ऊ त्यही जरायो थिई । जो अघिल्लो वर्षको हिउँदमा उनीहरूको घरमा आएको थियो । हिमांशुले उसलाई चिनिहाले । पानबुट्टे त पोथी जरायो पो रहेछ । यसपटक उसले दुईवटा बच्चा पनि पाएछ । बच्चासहितको जरायो फेरि घर आएकोमा हिमांशु र हिमा दुवै खुसी भए । त्यो बच्चासहित उनीहरूको गोठमा गएर बस्यो । ‘बाबा, जरायोलाई जुत्ता लगाइदिनुपर्‍यो,’ हिमाले साँझपख बाबालाई भनिन् । हडबडाउँदै बाबाले भन्नुभयो, ‘के भन्छे, फेरि यो वर्ष पनि जरायाको बच्चा आयो कि क्या हो ?’
‘एउटा हो र दुईटा बच्चासहित अघिल्लो वर्षकी पानबुट्टे आएकी छ,’ आमाले थप्नुभयो, ‘उनीहरू गोठमा छन् ।’
यसपटक बाबाले हिमांशु र हिमा दुवैका पुराना जुत्ता मगाउनुभयो । पानबुट्टे जरायोका बच्चाका खुट्टामा हिमांशु र हिमाका एक–एक जोर जुत्ता लगाइदिनुभयो । दुवै बच्चा न्याना जुत्ता लगाउन पाउँदा दंग परे । उनीहरूले पानबुट्टेलेझैं झिमझिम आँखा झिम्क्याउन थाले । पानबुट्टे पनि निकै खुसी देखिन्थी । हिउँदभरि पानबुट्टे आफ्ना बच्चासहित गोठमा बसी । उनीहरू दिनभर त्यहीँको जंगल आसपास डुल्थे । पानबुट्टे र उसका दुई बच्चाले फेरि खुसी ल्याइदिए । हिमांशु र हिमा जरायोहरूसँग रमाएर खेल्थे । उनीहरूको घरमा फेरि जुत्ता लगाएका जरायोका दुई साना बच्चा हेर्नेहरूको ताँती लाग्न थाल्यो ।

                                                                                                                                            - कान्तिपुर दैनिक