कठै ! छोरो, अमेरिकाको 

सोम सानु

0 0


 

नेपालदृष्टि । कविता साहित्यको एक सशक्त विधा हो । ‘कवि’ आधारपदमा ‘ता’ प्रत्यय लागेर कविता शब्दको निर्माण भएको हो । कविता शब्दले कवि द्धारा रचित वा कविको कर्म भन्ने अर्थ वहन गर्दछ । प्राचीनकालमा साहित्य भन्ने बितिकै   काव्यलाई जनाएतापनि आधुनिक साहित्यमा काव्यले गधयात्मक वा पधयात्मक कृतिलाई जनाउँछ । यसै क्रममा कवि सोम सानुले “ कठै ! छोरो, अमेरिकाको ”  गधयात्मकरुपमा कविता लेखेका छन ।
 

कठै ! छोरो, अमेरिकाको 

छोरो अमेरिकामा छ
रवाफ गाँउमा उसको छ,
छोराको अहिले अमेरिकामा
चिटिक्क परेको आफ्नै घर छ ।
उसको टाँउकोमा गह्रौ ब्याजको
डोका बोकाएर बैंकले किनिदिएको छ ।

आफ्नो सपना कुल्चिएर
अर्काको सपना फुलाउँने छोराको,
चिल्लो चल्तिको गाडी पनि छ ।
आफ्ना पहिचानहरु बोकेका हाँतमा,
उधारोको सप्को छातीमा भिराएर
त्यो गाडी पनि बैंकले किनिदिएको ।

इमान र सपनाको ढुकढुकीलाई
सुन्दर बट्टाहरुमा प्याक गरेर,
लिने दिने उसको त्यो बानीले
उसको ती वर्जित सपनाहरु सपनै रहे ।

अमेरिकाको सपना साट्नलाई 
आफ्नो उमेर र मेहनत,
बैंकमा धितो राखेर
अमेरिका भासिएको मेरो छोरोको,
सुन र औषधी फल्ने खेतबारी
थारो भएर जड्खडिएको छ ।

तड्पिरहेकी भूमीलाई किल्चिएर
पराई माटोमा रगत पसिना रोप्दै,
पुर्पुरो भरि ऋणका रेखाहरु देखाएर
मोवाइलमा फिस्स हाँस्छ कठै ! छोरो  !

देश,माटो र परिवार सम्झेर
खुईय।।गर्छ आफैलाई हेरेर,
पैसाको अ‍ैठनले सताउँने सपना
आफ्नै बारीमा सुकेका मोकै,
तन्द्रङ्ग झुण्डिएझैं भएको छ ।

उधारोमा बेचिएको उसको जीन्दगी
सोच्दै छ नगदमा सटानी,
गर्व गर्छ त्यै पनि बिचरो 
अपरिचित बेनामी वटुवाझैं
आकृतिहीन पहिचान हराएको
कठै ! बिचरो अमेरिकी मेरो छोरो ।

(सोम सानुको प्रकाशोन्मुख कविता संग्रह “सुनको मयूर”बाट)