किन आउँदैछन भारतका सेनाध्यक्ष मनोजमुकुन्द नरभणे ?

1 0


नेपालदृष्टि । सम्बन्ध चिसिएका बेला भारतबाट स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण हुँदैछ । गुप्तर निकाय रअका प्रमुख सामान्य गोयलको भ्रमण लगत्तै हुन लागेको सेनाध्यक्षको भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।

नरमणे कात्तिक १९ देखि तीन दिन नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा २० कात्तिकमा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेनाका अनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार वार्ता सम्पन्न गरेर समकक्षी पूर्णचन्द्र थापासँग जंगी अड्डामा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता तथा वान टू वान वार्ता गर्नेछन् ।

भोलिपल्ट उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनाका अधिकारीहरूलाई सम्बोधन गर्नेछन् ।

त्यसक्रममा उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । नेपाल आएकै दिन सेनाध्यक्ष नरभणेले भगवान् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । २१ गते उनी स्वदेश फर्कनेछन् ।
कालापानी विवादमा नेपालले तेस्रो देशको इशारामा चलेको आरोप लगाएका उनले सो भनाई सच्याएका थिए । उनको भ्रमणमा काठमाडौंमा विरोध प्रदर्शन हुने सम्भावना समेत छ ।  -दृष्टि न्यूज