नाङ्गो भन्दैमा सबै अश्लिल हुदैन

2 0


 नेपालदृष्टि । कुमारी आमा, नांगो मान्छे, कालो छायाँजस्ता चर्चित उपन्यासकी लेखक हुन्– अनुपम रोशी । विचलित समाज र सम्बन्धमा रित्तिँदै गएका प्रेमलाई रोशीका सृजनाहरूमा महसुस गर्न सकिन्छ । तीन–तीनवटा उपन्यास प्रकाशनपछि उनी नयाँ कथासंग्रह मध्यान्तरको तयारीमा छन् । युवा मोती पुरस्कारबाट पुरस्कृत आख्यानमा समर्पित लेखिका अनुपम रोशीसँग उनकै नयाँ कृतिका सन्दर्भमा समाज, साहित्य र जीवनसँग नजिक रहेर गरेको कुराकानी ।

 

लेखनले निरन्तरता पाएकै छ । हिजोआज के लेख्दै हुनुहुन्छ ?

लेखिरहेकै छु । मध्यान्तर नामक कथासंग्रह तयारी पूरा भएर बजारमा जाँदै छ । 
तपाईंका कुमारी आमा, नांगो मान्छे, कालो छायाँजस्ता उपन्यास प्रकाशित छन् । जसको निकै प्रतिक्रिया पनि आए । मध्यान्तर कथासंग्रहको सोच कसरी आयो । पक्कै पनि मसँग अलि पृथकखालकै जीवनशैली छ । हुन सक्छ हाम्रो सामाजिक जीवनपद्धतिले केही विद्रोही बनायो । या फेरि जैविक संघर्षले यो मोडमा ल्याइपुर्यायो । अरूले हिँडिरहेको बाटोभन्दा फरक बाटोमा हिँड्दै गर्दा भेटिने चुनौती र नौलोपन दुवै मन पर्ने भएकाले यस्तो भएको हुन सक्छ । सोच भनेको भोगाइ र समयको रिफ्लेक्सन हो । तिनै भोगाइ र समयको रिफ्लेक्सनलाई मैले मध्यान्तरमा समेटेकी छु 

 

मध्यान्तर के हो 
मध्यान्तर समयको एक खण्ड हो । जहाँ कुनै पनि घटना घट्न सक्छन् । र, तिनै घटनाको साक्षीका रूपमा मैले मध्यान्तरलाई लिएकी हुँ । त्यसमा प्रशस्त रहस्य भेटिन्छन् । सपना, संघर्ष र जिजीविषाका तालमेल मिलाउँदामिलाउँदै जीवनको मध्यान्तर सकिन्छ । तर, संघर्ष सकिँदैन । सपनाहरू सकिँदैनन् । अनुभूतिको आकाश थपिँदै जान्छ । र, अन्ततः जीवनको रहस्य समाप्त हुन्छ ।
तपाईं अलि मिस्टेरियस हुनुहुन्छ र लेखाइ पनि त्यसरी नै अगाडि बढिरहेको छ । खास कारण के हो ? 
पहिलो कुरा त म कसरी मिस्टेरियस भएँ अथवा छु भन्ने नै मलाई थाहा छैन । हो म अलि अन्तरमुखी छु । र, आफ्नै संसारमा रमाउँछु । अरूलेजस्तो सजिलै फ्रेन्डसिप गर्न सक्दिनँ । भइरहेको सम्बन्धलाई पनि भनेअनुरूप मेन्टेन गरिरहन सक्दिनँ । त्यसमाथि औपचारिकता निर्वाह गर्न जान्दिनँ । साथीहरू मलाई रुखी र निर्दयी मान्छे पनि भन्ने गर्छन् । अलि खरो स्वाभाव छ । तर, कसैप्रति मेरो वैरभाव छैन । जहाँसम्म लेखनको कुरा छ, त्यो अनुभूतिको पाटो हो । कहिलेकाहीं अनुभूति रहस्यमय हुन सक्छन् ।

समाजमा स्थापित मान्यतालाई चुनौती दिनेखालका तर्क तपाईंका सृजनामा भेटिन्छन् । के तर्कले मात्र स्थापित सत्तालाई रूपान्तरण गर्न सक्छ र? 
स्थापित मान्यताहरू मेरो अनुकूल छैन भने मलाई त्यसमा प्रश्न गर्ने अधिकार छ । हो, तर्कले मात्र स्थापित सत्ता रूपान्तरण हुँदैन । तर, तर्कले त्यसको पक्ष र विपक्षलाई पुष्टि गर्छ । जसरी जीवनपछि नै जीवनको दर्शन बन्छ । त्यसरी नै समाजको सैद्धान्तिक अस्तित्वलाई तर्कले खण्डन गर्छ । जब सैद्धान्तिक अस्तित्वमाथि खण्डन हुन थाल्छ । अनि व्यावहारिक जीवनका नयाँ खाका कोरिन्छन् ।

तपाईं विशेषगरेर यौनमनोविज्ञानलाई केन्द्रमा राख्नुहुन्छ ?किन रु समाजमा योबाहेक लेखिने विषय अरू छैनन् ?हो, म यौनलाई केन्द्रमा राख्छु । किनकि यौन, जीवनको केन्द्रमै छ । यसको मतलब यो होइन कि ममात्रै यौन लेख्छु । मेरो बाँच्नुको अभ्यासमा यौनजीवन र मृत्युको दर्शन ‘क’ वर्गका कुरा हुन । समाज सभ्यता र राजनीतिको दर्शन ‘ख’, ‘ग’ हुँदै ‘ङ’ पुग्न सक्छन् । किनकि तपाईं हाम्रो जीवन यौनकै उपज हो । समाजले यौनलाई अश्लीलतासँग जोड्छ, त्यो बिल्कुल गलत कुरा हो । के राजनीति र परिवर्तनका कुरा गर्नेहरूको जीवनमा यौन छैन रु गीता, महाभारत, पुराण, कहाँ छैन यौन रु जब यो जैविक सभ्यता नै यौनबाट उत्पादित छ भने त्यसलाई अध्ययन गर्न खोज्नु गलत हुन्छ रु मेरो विचारमा जसले यौन बुझेको छैन, त्यसले जीवन बुझेको छैन । जीवन नै नबुझेको मान्छेले समाज र राजनीतिलाई बुझेको हुन्छ भन्नु ठूलो मुर्खता हो , बीपीले यौन लेखे र पारिजातले पनि लेखिन् । के उनीहरूले लेख्दै गर्दा समाजमा अरू विषय थिएनन् रु यौनलाई अश्लीलता बुझ्ने मनोविज्ञानबाट समाज जबसम्म माथि उठ्दैन तबसम्म यस्ता प्रश्न उठिरहनेछन् । 

हिजाआज नारीवादका चर्का कुरा उठ्ने गर्छन् । तपार्इंले पनि कुमारी आमा र कालो छायाँमा महिलाकै अस्तित्वलाई केन्द्रीकृत गर्नुभएको छ । आखिर के हो नारीवाद रु यसरी उचालिएका नाराले नारीवाद ल्याउँछ ?

जैविक अस्तित्वमा रहेर वीज रूप र विचार रूपको सन्तुलन खोजिरहेको स्त्रीको गर्भगृह हो नारीवाद । जहाँ समयको विक्षिप्त र अमर्यादित तन्त्र साधनालाई परास्त गर्न उठाइएका धारिला हतियार छन् । त्यसलाई सामान्य सोच्नु अबको समयमा अवैज्ञानिक हुन जान्छ । हो एक–दुई विरोध फलाक्दैमा नारीवादको परिभाषा पूर्ण हुँदैन । तर्क र बहस सँगसँगै, महिलाले आर्थिक, सामाजिक र वैज्ञानिक क्रान्तिमा अघि बढ्न जरुरी छ । नारीवादलाई पुरुषविरोधी मनोविज्ञानका रूपमा विकास गर्नु, फेरि अर्को लंैगिक हिंसाको परिभाषा उत्पादन गर्नु हो । 

महिला लेखकले लेख्ने कुरा नारीवादी नै हुनुपर्छ र?
यो असाध्यै निम्नस्तरीय प्रश्न भयो । पहिलो कुरा त नारीवादलाई खण्डित गरेर हेर्नु नै गलत हुन्छ । दोस्रो कुरा महिला लेखकले लेखेका कुरा नारीवादीमात्रै कसरी भए रु के त्यहाँ जीवन छैन रु परिवार, समाज र आर्थिक पक्ष छैनन् रु पितृसत्ताले घेरिएको आधारभूमिबाट गरिएको अस्तित्वको लडाइँलाई मात्रै नारीवादी देख्नु पुरुषवादी आँखा होइन रु कृपया नारीवादलाई मानवतावादी आखााले हेरौँ । अब समाजमा अर्को लैंगिक विभेदी परिभाषाको आवश्यकता छैन ।
तपाईं राम्री हुनुहुन्छ, राम्रो पनि लेख्नुहुन्छ तर घमण्डी हुनुहुन्छ भन्ने सुनिन्छ  । के यो सत्य हो ?
यो प्रश्न सुनेर मलाई बडो हाँसो उठ्छ । राम्रो र नराम्रो भनेको के हो ? यसको निर्धारित सीमामा कतिजनाको दृश्य फिट हुन्छ रु हो मानिसलाई आ–आफ्ना दृष्टिकोणअनुसार त्यसलाई फरक–फरक व्याख्या गर्ने अधिकार छ । मलाई घमण्डी देख्नुको एउटै कारण मेरो आत्मकेन्द्रित स्वभाव हुन सक्छ ?

अस्तित्व र पहिचानका कुरा उठ्दै गर्दा एउटा लेखकको आँखाले आजको समाजलाई कस्तो देख्नुहुन्छ ?
समाज बडो विचलित, विखण्डित र असुरक्षित अवस्थामा गुज्रिरहेको मेरो अनुभव छ । जब पासपोर्टको लाइनमा उभिएका परदेशी सपनाले बोइङ चढ्छन् । त्यसपछि थाहा हुन्छ आफ्नो देशको हैसियत, आजको शताब्दीमा पनि हामी कुन वर्गका नागरिक रहेछौँ । युवाहरूलाई विदेशी मजदुर बनाएर जब राज्यले शवको बाकस भित्र्याउँछ । एउटा लेखकले त्यो बाकसभित्र शव होइन, आफूले बाँचिरहेको सिंगो समाज देख्छ ।

महिला भएकै कारण लेखनमा विभिन्न चुनौती छन्, त्यसकारण महिलाको लेखनको चर्चा कम हुन्छ भन्ने गरिन्छ । तपाईंलाई के लाग्छ ?
पक्कै पनि विभेदको राजनीति सबैतिर छ । यो लेखन क्षेत्रमा नहुने त कुरै भएन । मेरो मोजा धोइदियौ रु भन्दै श्रीमतीले पकाएको खाना खाएर चियागफ अथवा पार्टीमा सामेल हुन पुग्ने पुरुष लेखक र सारा घरधन्दा सकेर केही लेखपढ गर्न बस्ने महिला लेखकबीच तात्विक भिन्नता त हुने नै भयो । यति हुँदाहँदै पनि खोज अनुसन्धान र अध्ययन गरेर अघि बढेका महिलालाई हौसला दिनेभन्दा बढी खुट्टा तान्ने र नितान्त व्यक्तिगत आलोचना गरेर आत्मारतिमा खुसी हुने प्रवृत्ति धेरै छ ।