नेपालमा ७० हजार बढी संक्रमित, ४५९ को मृत्यु

0 0


नेपालदृष्टि । पछिल्लो २४ घण्टामा नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २६२ जनाको पिसिआर परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४५९ पुगेको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् ।

मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.४ प्रतिशत हो । देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित रहेको छ ।

काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।