अविकल्प

0 0


नेपालदृष्टि । ऊ हातभरि माछाको सिल बोकेर म भएतिर आइरहेको थियो । उसले मलाई हे¥यो र नबोलेरै घरभित्र भान्छा कोठामा सरासर गयो । मैले पनि नयाँ अनुहारलाई राम्ररी ख्याल गरिनँ । फेरि जुरुक्क उठेँ र आफ्नै आँगन छेउमा रहेको एक टहरोमा गएँ । भान्साबाट मेरी सासूआमा बोलाउँदै हुनुहुन्थ्यो । “नानी, ए नानी, यता आऊ त । यहाँ तिमीलाई कसले के ल्याइदिएको छ ।” मैले बुझिनँ । किनकि उहाँ त बिहे गरेको एक हप्ता दिनमै काठमाडौँ गइसक्नुभएको थियो । अरू कसले के ल्याइदिनुभएछ त ! म आश्चर्यमा परेँ । आमाले उही माछाको सिल देखाउँदै भन्नुभयो : “नानी यो तिमीलाई ठाकुले ल्याइदिएको रे ।” म अचम्ममा परेँ । मलाई माछा मनपर्ने कुरा कसरी यसले थाहा पाएछ त ? मैले नबुझेरै फेरि सोधेँ : “कसले आमा ? के कुरा आमा ?” आमाले फेरि पनि माछाको सिल मतिर देखाउँदै भन्नुभयो : “ठाकुले के त, तिमी नयाँ भाउजूलाई कोसेली ल्याइदिएको रे । कि के ठाकु ?”

त्यसै बखत ठाकु भने गइसकेछ । मैले आजसम्म माछा नपकाएकीले आमालाई आग्रह गरेँ । आमाले हाँस्दै भन्नुभयो ः “लाटी यसो भनेको भए त म ठाकुलाई नै पकाइदिन भन्थेँ नि ।” आमा हतारहतार .ठाकु गएतिर अाँखाले नियाल्दै बोलाउन थाल्नुभयो – “ए ठाकु, ए ठाकु । खोइ गएछ क्यारे मोरा कति छिटो । ए नौ बजिसकेछ क्यार ।”

“किन माइली आमा ? ठाकु त्यहीँ बोले झैँ लागेको थ्यो त मलाई तिहीँ छइनँ र हँ ?” ठाकुकी आमा भन्न लागिन् ।

“छैन त ! भाउजूलाई माछा ल्याइदिएको रैच कठै वरा ! कति माया गर्छ ठाकु, रवि दाइलाई पनि र अहिले भाउजूलाई पनि मोरा !” आमाले भन्दै जानुभयो ।

“काति छिटो माछो ल्याइदिएछा तो ले, मैले त खोला झरेको पानि देखेन ता । आनि सुतिरा भनि ठानेको ।” ठाकुकी आमा भन्दै गइन् एकै श्वासमा । म भने छक्क पर्दै सुन्दै गएँ ।

एकै छिनमा आमा आउनुभयो र बुबालाई खाना दिँदै माछा ल्याइदिएको घटना सुनाउँदै हुनुहुन्थ्यो । बुबाले भने आफू र म मिलेर पकाउने कुरा गर्दै हुनुहुन्थ्यो ।

त्यो दिन मैले र बुबा मिलेर माछा पकायाँै । बुबा भन्दै जानुहुन्थ्यो, म सोही अनुसार गर्दै जान्थेंँ । अन्त्यमा माछा त माछाकै वासनामा ढिडोसरी फत्कियो । म भने केही सङ्कोच मान्दै लुकाउँदै कचौराले छोप्दै राख्न लागेंँ । एकै छिनमा ठाकु आइपुग्यो र भन्यो : “माइली आँ, ए माइली आँ” (मेरी सासूलाई माइली आँ र ससूरा बुबालाई माइला बाको सम्बोधनले बोलाउँदा रहेछन् । “किन बोलाइस् ए ठाकु अघि फुत्त गइछस् थाहै भएन । माछो पकाइदिन्थिस् कि भनेको झन् ऊ त…” ठाकुले हाँस्दै भन्यो : “भाउजूलाई आउला नि त होइन भाउजू ? हजुरलाई आउँथेन र ?” मैले अलि नजिक पुगेर खाँदै गरेको माछो देखाउँदै भनेँ : “हेर्नुस न बाबु यस्तो भयो । हा हा हा ।” ऊ फेरि हाँस्न थाल्यो । म भने चूपचाप बसेँ । ऊ भन्दै गयो “ठिकै छ भाउजू अर्कोपल्ट पकाएर नै खुवाउँछु । अनि पकाउन पनि सिकाउँछु ल ।”

“तोँ स्कूल गइनस् ? ए ठाकु” उसकी आमाले एकाएक सोधिन् । म दङ्ग परेँ । मैले भने एम एड पास गरिसकेकाले र आफ्नो औपचारिक पढाइ सकिसकेकीले कुन दिन र बार समेत भुलिसकेकी थिएँ । मैले सोधेँ –

“बाबु आज कुन बार हो र ?”

“बुधबार भाउजू ।”

“आज स्कूल बिदा छ र ?”

“छैन भाउजू ।”

“अनि किन नजानुभएको त ?”

“आ…।”

“किन आ…नि बाबु ?”

अब भने मलाई ऊसँग बोल्न सहज महसुस भइरहेको थियो । आफ्नो स्कुल जीवनमा कहिलै पनि गयल नभएको अनि एकाएक सहजै ठाकुले स्कुल नगएको देखेर म छक्क पर्दै थिएँ । अनि अनायसै सोध्दै पनि गएँ ।

“अहिले कति कक्षामा नि बाबु ?”

“१० मा पढ्छु ।”

“ओहो स्कुल छुटाउन हुन्न त जानुस् बाबु बेलामा पढ्नुपर्छ ।”

यही सिलसिलामा ठाकु मलाई सोध्दै थियो : “हजुरले धेरै पढ्नुभएको छ रे हो भाउजू ?” हो बाबु आफू नपुगेको कक्षा धेरै लाग्दो रहेछ । मैले डिग्री पास गरेकी छु । “ओहो भाउजू त …आम्मामा..” उसले जिब्रो निकाल्यो र लामो सास तान्दै आश्चर्य चकित बन्यो । उसकी आमा भन्न थालिन् :

“तोइले देखिस् ठाकु दाइले सहराँ गएर धेरोइ परेर ठूलो मुन्छे बनेछ र ता यति धेरै परेकी राम्री भाउजू पायो, तोइले नि यस्तै बुरी पाउँछस् नि राम्री भाउजू जस्तै परेकी, तोइले पढ्न ध्यानै दिँदैनस् ।”

मेरी सासुआमा पनि सँगै भएकोले ठाकुको आमाको कुरामा सही थप्दै भन्नुभयो : “हो त मोरा ।”

एवम् रीतले दिनहरू बिते । एकाएक मेरो उहाँले बोलाएकाले काठमाडौँ जानुपर्ने भयो । त्यो दिन केही भएन । भोलिपल्ट उहाँको छोराको आग्रहमा केही कोसेलीपात सहित बुबाले गाडी चढाएर काठमाडाँै पठाउने तयारी गर्नुहुँदै थियो । ठाकुु आएर भन्यो : “हजूर सहर जाने ? अब कहिले आउने भाउजू ?” मैले हाँस्दै भनेँ – “तपाईंले एस.ई.ई. पास गरेपछि लिन आउँछु है । अल्छी नगरी पढ्नू ।” यति भनेर म घरबाट बिदावारी भई हिँडेँ ।

चैतको अन्तिम साता टेस्ट परीक्षामा पास भएर एस.ई.ई. मा ३.२ को ग्रेडिङमा पास भएको समाचारले म निकै हर्षित भएकी थिएँ । बेलाबेलामा उसले मलाई भाउजू नाता छोडी दिदी भनी सम्बोधन गथ्र्यो । म पनि ऊप्रति आफ्नै भाइको नाताले व्यवहार गर्थेँ र सम्बोधन पनि ।

एकदिन ठाकुले मलाई फोन ग¥यो र भन्यो : “दिदी म पढ्न काठमाडौँ आउँछु, डेरा खोजिदिनुप¥यो ।” म खुसीले गद्गद् भएँ । मेरो गला अबरुद्ध भयो । हर्षाश्रुले आँखा टिलपिल टिलपिल भए । बेहोसी झैँ मानौँ मेरो मनमा केही कुतकुती सलबलायो । म खै कुन दिवास्वप्नामा डुबँे । उसले फेरि भन्यो : “हेलो… हेलो दिदी हेलो” । मैले भनेँ : “पछि कल गर्छु ।”

एक महिनाकै नयाँ बेहुली छँदा उसले अचानक ममा देखाएको आफ्नोपनले म उसकी दिदी बनेकी थिएँ । भाउजू र देवरको सम्बोधन अब उसले अनि मैले भुलिसकेका थियौँ ।

मैले यी कुरा रविलाई भनेकी थिएँ । “सानू तिमी उसलाई आफ्नै भाइ मान्छ्यौ । उसले पनि मलाई आफ्नै दाइ ठान्छ, एक्लै कोठामा राखेर पाल्ने उसको परिवारको परिस्थिति पनि छैन, उसको बाको पनि त जाबो फर्निचरको काम छ कति न धान्ला र ? बरु उसले नोकरी नपाएसम्म यहीँ राख्दा तिमीलाई के लाग्छ ?” मलाई रविको यो प्रश्नले छक्क बनायो । उहाँको यस्तो विचार त मलाई के खोज्छस् कानो आँखो भइहाल्यो र मैले भनेँ : “हुन्छ ।”

दशैँमा हामी घर गयौँ । ठाकुको बिहेको कुरा चलेको रहेछ । आन्टीले मलाई सोधेकोले मैले भनेँ ः “खै आन्टी ठाकुले के भन्छ, भाइलाई नै सोधेर राय लिनुु राम्रो ।”

एकाएक ठाकु दशैँको नवमीका दिन म कहाँ आयो र भन्यो : “दिदी म आमाबुबाको एक्लो छोरो, मानुँ भने पनि त मेरो पढाइ सकिएको छैन, … भनुँ कि नभनुँ खै दिदी ?”

मैले उसको कुरा बुझिसकेकी थिएँ । “भाइको मुबाइलमा अलि बेसी फोन आउँछ” दाइ कहिलेकाँही भन्ने गर्नुहुन्थ्यो । मैले झल्याँस्स सम्झेँ र ठाकुलाई भनेँ :“तिमीले मनले खाएकी कोही छ भने म कुरा मिलाइहाल्छु नि बाबु ।” उसले हाँस्दै भन्यो : “मेरी दिदी कति छिटो कुरा बुझ्नुहुन्छ है ।” सामान्य जोरजाम गरियो, दुबै पक्षबाट अनि रिनासँग ठाकुको बिहे भयो ।

भाइले आफ्नो डेराको बन्दोबस्त मिलाइसकेको रहेछ । मलाई भने यो सुनेर मन भक्कानिएर आयो । पहाडले छाती थिचे झैँ भयो । कहाँ–कहाँ के–के सोच्न पुगेँ । सपनामा पनि ठाकु भनेर चिच्याएछु, रविले समाले । आज मलाई एउटै मुटु दश ठाउँमा प्वाल परेको झैँ बिझाइरहेछ मात्र भाइको अभावमा ।

बिस्तारै एक्लै बस्न बानी पारेँ ।

रवि भन्दै थिए : “फेसबुकमा हेरेको ठाकुले पनि छोरो पाएछ । मलाई बोलाउँदै थियो । दाइ, हस्पिटल आउनुहोला भनेर ।” “रिनाको के छ रे ?” मैले हडबडाउँदै सोधेँ : “उनी ठीक छिन् रे नर्मल भयो रे ।”

रिना भन्दै थिइन् ः “दिदी ठाकुको राम्रो जागिर छैन । डेराको बस्ती जहान बढ्यो । मलाई त टेन्सन भाको छ ।” मैले भनेँ : “यस्तो बेलामा आत्तिनुहुन्न । धेरै सोच्नु पनि हुन्न । आराम गर । केही समस्या भए भन ।” “अहिले त छैन दिदी” उनले भनिन् । ठाकु जस्तै रहेछ, बाबु खाइलाग्दो, रहरलाग्दो देखिएको ।

भोलिपल्ट दाजुसँग ठाकु भन्दै थियो रे : “हजुरसँग बस्दा बचाउन जानिनँ, अब कमाउन सकिनँ दाजु ।” उसले दाजु भाउजूसँगको बसाइ र अहिलेको बसाइमा धेरै फरक भएको र जिम्मेवारीले थिचेको कुरा गदै थियो रे ! भाउजूलाई बारबार सम्झिएँ र पनि केही गर्न सकिनँ भन्दै थियो रे । बोडिङ पढाउन थालेको पछि तलब थोरै भनेर छाडिदिएँ । अर्को स्कूलमा भ्याकेन्सी खुलेको तर गाउँकै वडा अध्यक्षको बुहारी राखेको र आफूलाई नदिएको कुरा पनि सुनाउँदै थियो रे । अरू केके पनि ।

रविले मलाई सुनाउँदै गर्दा म समेत रुन पुगेछु । खै ममा ऊप्रतिको यो कस्तो प्रेम हो ? आफैं अचम्मित छु ।

हरिबोधिनी एकादशीमा सदा झैँ म मन्दिर गएर पूजापाठ गरी आउँदै थिएँ । रिना आई र भन्न थाली ः “दिदी हजुरसँग ठाकुले कुरा गर्नुछ रे जसरी नि लिएर आउनु भन्नुभएको छ ।”

“किन रिना ? कि ठाकु बिरामी छ ?”

“होइन दिदी सल्लाहका लागि मात्र ।”

“हुन्छ ।”

रिना सँगै लागेँ । एउटा कोठा त्यसमाथि त्यहीँ पकाउने खाने, छोराको कोक्रो सबैले भरिएको, म नअटाइकनै खाटमा छिरेँ र बसेँ ।

“किन र ? मलाई बोलाउन पठाएछौ, केही समस्या प¥यो कि ?”

“होइन दिदी खासमा के कुरा नि दिदी अँ…अँ…खै दिदी नभनौँ होला ।”

“भन न लाटा, के जिब्रो चपाएको नि ?” मैले भनेँ ।

“दिदी मैले यहाँ केही गर्न सकिनँ । कुनै जागिरमा लाग्न सकिनँ । म त विदेश जान्छु दिदी ।”

“के भनेको ? कहाँ ? कुन देश जाने ?” मैले सोधेँ ।

“उही त हो साउदी अरब, हामी कहाँ जानु र दिदी ?”

मन भारी भएर आयो, यो कस्तो बिडम्बना हो, व्याचलर पास गरेर पनि विदेशिनुपर्ने । यो कस्तो शिक्षा हो यो देशको, जहाँ पढाइको कुनै मूल्य छैन । राजनीतिक उताढचढावसँगै अनेकन सपनाहरू बुनिन्छन् । नीति परिवर्तन गरिन्छन्, भाषण हजार छाँटिन्छन्, यसो गर्छु उसो गर्छु तर विचरा यी निमुखा अनि ठाउँमा आफ्ना नहुनेहरूको हालत यही हुने गर्छ । कुनै बेला यो बुर्जुवा शिक्षा हो यसलाई बदल्नुपर्छ भन्ने नारा पनि नघन्किएको होइन ।

मैले सोधेँ : “स्कुल के भो ? शिक्षक सेवा के भो ? तयारी गरेर परीक्षा देऊ भनेको होइन ? किन आतुर विदेशिन ? ठाकु भन्दै गयो : “दिदी लोक सेवा पनि कति दिएँ । शिक्षक सेवामा पनि दिएँ । अनि आफैँले व्यापार गर्छु भनेर किराना पसल पनि खोलेँ । केही गर्दा नि भएन जतासुकैबाट डुबेँ । हरेक साल लोक सेवामा राजस्व चढाउने काम भयो । अस्थायी शिक्षकका आन्दोलनले पनि दिएको परीक्षाको नतिजा कुर्न नसक्ने भएँ । दिदी म त मगरको छोरा पढेर जागिर गर्न त सकिनँ, घरतिर पनि त गरिखाने ठाउँ छैन । पहिले पढ्न बुद्धि आएन । गाउँमा माछा मारेर अनि रातदिन खोलामा डुबेर यसै दिन बिते । जब हजुरसँग मेरो भेट भयो अनि हजु्रको प्रेरणाले यतिसम्म आएँ । एस.ई.ई. मा पनि राम्रो ग्रेडिङ आएन । पछि घरबारे बनेँ । सोचेको खर्चले पुगेन त के गरौँ दिदी ? राजनीति गरौँ त ढाँट्न सक्दिनँ । पैसाले रातारात मान्छे किन्न सकिन्नँ । अब सरकारी स्कुलतिर जाऔँ भने पनि भएका ती अस्थायीको हालत देख्दा दिक्क लाग्छ । पटक पटक लोकसेवाले धोका दिन्छ । अब विदेसिने सोच गरेँ मैले त ।”

यो सुनेर म प्याकप्याक बनेँ मानाँै म १० दिनदेखि तिर्खाएकी छु । शब्द आएन मुखबाट मनदेखि विदेश जानुहुन्न भन्न नि सक्दिनँ । उसको विचार बदल्न पनि उचित ठानिनँ । मैले पनि एम.एड. गरेर के गरेकी छु र ? लोक सेवा दिन्छु त कहिले के, कहिले के । हरेक साल प्रश्न र उत्तरको तालमेल बिग्रन्छ । निरास हुन्छु । बोडिङ पढाऔँ त सरकारी तलबको एकतिहाइ तलब र काम तीन तिहाइ बढी हुन्छ । खै के गरौँ ? आफ्नो परिस्थिति यस्तो छ ।

चुरा पोते किन्न रविकै मुख ताक्नुपर्छ । हरेक कुना र कप्चेरामा हरेक दुना र टपरीमा आफ्नाकै आफन्त र चाकरीबाजका खेल छन् । मैले पनि उसले गरे जति नगरेकी कहाँ हुँ र ? यदि म पनि पुरुष भएकी भए उसको परिस्थितिले मलाई बाँधेको भए म पनि विदेसिन्थे पक्कै ।”

“के भयो दिदी ?” ठाकुको प्रश्नले म झस्किएँ । बाबु रिना के भन्छिन् ? आन्टी के भन्नुहुन्छ अनि खर्च ?

“जोरजाम भइसक्यो दिदी । साथीभाइ र ससुरालीबाट ।” हाँस्दै भन्यो ।

रिना भन्दै थिई ः “नाइ दिदी मेरो बिहेको मङ्गलसूत्र पनि धरौटीमा छ ।”

“हँ ?” मैले सोधेँ ।

“रिनाको मङ्गलसूत्र त पछि निकाल्छु नि ।” उसले भन्यो ।

“ठिकै छ त विदेसिन मन गरेछौ ।”

“विदेसिन कसलाई मन लागेर हो र ? बाध्यता हो नि दिदी । अरू विकल्प के नै बाँकी रह्यो र ?” ठाकु भन्दै थियो ।

“मैले बुझेँ ठाकु, तिमीले जाने तयारी गरिसकेछौ त के भनूँ । राम्ररी जानू, बेलाबेलामा फोन गर्नु नि । फ्लाइट कहिले छ ?”

“नोभेम्बर २९ तारिख” उसले भन्यो ।

मैले केही दिनअघि मात्र फोन गरेर सोधेकी थिएँ ः “काम कस्तो छ नि ठाकु ?”

“कहाँ सजिलो हुन्छ र दिदी ।”

केही दिनपछि आन्टीको फोन आयो ः “ठाकुले फोन गा¥यो त बुहारी ?”

“अँ आन्टी । घरमा फोन भाको छैन र ?” मैले सोधेँ ।

आन्टीले भनिन् ः “रिनाको फोन बिग्य्रा छ भन्याले, तोही भएर तोलाइ सोधेको बुहारी ।”

“आन्टी ठाकु सन्चै छ, चिन्ता नगर्नु ल ।”

केही दिनपछि ठाकुले मेरो फेसबुकमा एउटा स्ट्याटस सेयर गरेछ र लेखेछ ः “हामी भने अरबको खाडीमा कोही भने १८ करोडको गाडीमा मोज छ है ।” मैले पनि पढेर दङ्ग परेँ । मनमनै सोचेँ वास्तविकता यही छ । धेरै खोतल्न चाहिनँ । फेसबुकमा लाइक पनि गर्न चाहिनँ किनकि मेरो उहाँ पनि सरकारी नुनपानीको सोझो गर्नुपर्ने पोस्टमा हुनुहुन्छ । तर वास्तविकता यही हो । यहाँका नेता र नेताका केही झोले बाहेकका शिक्षित अशिक्षित सबै काम नलाग्ने टोकरीका सडेका डुङ्गुर हुन् र यस्तै व्यवहार गरिन्छ ।

ठाकुले भन्दै थियो ः “दिदी छोराको आवाज नसुनेको एक महिना भयो । के गदै होला ? एउटा मुबाइलसम्म पनि पठाउन सकिनँ । फोनमा बाबा म डाक्टर बन्ने भनेको सुन्दा मात्रै नै मलाई काममा जाँगर आउँथ्यो । त्यसैले दिदी ।”

यो सुनेर मैले केही भन्न सकिनँ र गला अवरुद्ध भयो । तिमी यति धेरै परिश्रम गर्दैछौ र पनि यसो भन्छौ । म भने डिग्री पास गरेर सर्टिफिकेट सिरानमा राखेर छोरा कसरी डाक्टर बनाउन सक्छु र ? कठै रविको सानो जागिर छ । उहीमाथि पनि सम्पूर्ण कुराको जोहो गर्न धौधौ पर्छ । भोलि त मेरो के होला ?

“हेलो दिदी ..दिदी ..”

ठाकुको फोनले म झस्किएँ र भनेँ : “ए ल म फोन गरेर सोधिदिउँला ।”

आफन्तको आग्रहमा म भोलिपल्ट बिहानै रविसँग जनकपुरधाम घुम्न जाने तयारीमा जुटेँ । रामराज्य र रामकहानी सुनाउँदै बाटो काट्दै थियौँ । यहीबेला मोबाइलमा फोन आयो आन्टीको । मैले उठाएँ । “बुहारीई …सुँक्क सुँक्क..” मलाई आजसम्म आन्टी रोएको थाहा थिएन । ढिँडो एकमुठी सागसँग हाँस्दै खानुहुन्थ्यो । च्यातिएको लुगा बेमतलब लगाउनुहुन्थ्यो । कसैले जिस्क्यायो भने हाँस्तै आ.. उता हेर मोरा भन्नुहुन्थ्यो । आज के भएछ ? म अन्योलमा रहेँ र रविलाई फोन दिएँ ।

सपनामा कहाँ हो कहाँ गएकी थिएँ । आज घुम्न जान मन छैन । मैले त सपनामा जहाज भरी सामान लिएर कसैले ठाकुको नासो पनि भनेको देखेकी थिएँ भनेर पहिले नै रविलाई सुनाएकी थिएँ । रवि आन्टीसँग बोल्दै गर्दा मेरो सपनाका लहर प्रतीत हुन लागे । एकाएक रविको आँखा रसाए, टप्प टप्प आँसुका थोपा खस्न लागे । मैले गुरुजीलाई गाडी रोक्न आग्रह गरेँ जतिवेला ढल्केवर पुगिएको रहेछ । गाडी रोकिएपछि रवि भावशून्य बने भने म बाटो बिराएकी यात्रुजस्ती । कहाँ जाने किन आयौँ ? थाहा भएन मैले यसरी रविको आँखाको आँसु यसअघि देखेकी थिइनँ । अनायसै फोन खोसेँ र सोधेँ ः “हजुर किन रोएको ? के भो ?”

“तिम्रो सपना र विपना एकै भयो सानू, जहाजभरि समान होइन हाम्रो भाइ ठाकु आउने भयो त्यही पनि वाकसमा …।”

उहाँ कन्सिरी समातेर थुचुक्क बस्नुभयो । मेरो मुटु जोडले हल्लियो । ओठ मुख सुके, केही बोल्न सकिनँ । एकैछिन पछि फोन आयो तीन दिनमा लास आउँदै छ रे ।

आन्टी नाति बोकेर, रिना बेहाल बेहोशी भइकन, अङ्कल रिना सम्हाल्दै मेरो डेरा अगाडि उभिएको पाएँ । घरभेटीले तिम्रा पाहुना हुन् कि भनेपछि पहिचानेँ । सबैका सपना भोलि आउँदै छ, एयरपोर्टमा बाकसभित्र । मेरो भाइ ठाकु फेरि माछा खुवाउने अनि खाने उसको मेरो रहर अधुरो राखेर ।

कारण बुझिएन, भोलिपल्ट चितामा राख्ने बेला बाकस खोल्नेले भन्थे जतासुकै निलडाम र चोट थियो रे । अन्तिम पटक दागबत्ती दिने बेला छोरो च्याँठिएर रोयो । अन्यहरू रामराम भन्दै थिए, मलाई भने उसले मसँगै बिताएका पलपलको पुनरावृत्तिले सताइरहेको थियो । ऊ जलाइदै थियो म भने उसलाई आफैँभित्र पाउँदै थिएँ । आँखामा एकाएक नाचिरहे, शब्द बिनाको त्यो सङ्गीत, सङ्गीत बिनाको नृत्य जसले मलाई घचघचाउँदै आँखाको डिलबाट एकनासले झरिरहे । सायद यी आँसुले पनि यही वियोगमा झरिदिने कसम खाएका थिए क्यार !

उसको त्यो सपना, बुबाआमाको, श्रीमती छोराको आ–आफ्नै इच्छा चाहना एकाएक धुँवाको मुस्लो बनी मडारिइरहेको थियो । अन्त्यमा चिता जल्यो मानिसको जीवन त केवल मुठीभरको खरानी भएर । म जलिरहेँ यो देशको बेतिथि अनि चरम मनपरितन्त्र माथिको पालुवा देखेर ।