उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारियो

0 0


नेपालदृष्टि । आज बिहीबारदेखि सार्वजनिक यातायातसहित केही क्षेत्र खुला हुने गरी उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारिएको छ । कोरोना संक्रमण घटेकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाईएको होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक भार परेकोले जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो भएको हो।

“सर्त र स्वास्थ्य मापदण्ड पालना नगर्नेको हकमा प्रशासन निर्मम हुन्छ । नियम पालना नगर्दा आफू मात्रै होइन, अरूलाई पनि हानि पुग्छ भन्ने हेक्का सबैले राख्नु जरुरी छ,” काठमाडौंका प्रजिअ जनकराज दाहालले भनेका छन ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले तीन सातादेखि लगाइएको निषेधाज्ञालाई खुकुलो पार्दै व्यापार–व्यवसाय खोल्न र निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको हो । जात्रा, महोत्सव, भीडभाड, चाडपर्व, सांस्कृतिक तथा धार्मिक गतिविधिलगायतमा लगाइएको निषेधाज्ञा भने आगामी ३१ गते मध्यरातिसम्म लम्ब्याइएको छ ।