कस्तो छ गोकुल बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी ?

२०७७ भाद्र २१, आईतबार

1 0


नेपालदृष्टि । ७० करोड कमिशन मागेको टेपकाण्डमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी भएको छ । उनलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको घुसको मोलमोलाईको टेप प्रकरणमा चोख्याएर मन्त्री बनाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनलाई केही समय पछि धकेलेको बुझिएको छ ।
बास्कोटा टेपकाण्डमा चोख्खिएलगत्तै पुनः मन्त्री बन्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । यसैका लागि योजनावद्ध तरिकाले प्रक्रिया बढेको छ ।
बास्कोटाको टेपकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र टेपको डिभाइस लिएर उपस्थित हुन पत्र लेखेको छ । तर, मिश्रले एक साताभित्र आउन नसक्ने जानकारी गराइसकेका छन् । कोरोना भाइरसको संक्रमणका कारण चाटर्ड फ्लाइट मात्र भएकाले आफू एक हप्ताभित्र आउन नसक्ने बताए ।

‘टेपको अडियो मात्र होइन मसँग भिडियो पनि छ अख्तियारलाई बुझाउँछु,’ उनले ऋषि धमलासँगको अन्तवार्तामा पनि भनेका छन, ‘रेकर्ड गरेको छोरीको फोन जापान भएकाले त्यो लिन आएको हुँ ।’ जापानमा रहेका मिश्र सात दिनभित्र अनुपस्थित भएमा बास्कोटाको विषय अगाडि नबढ्ने र बास्कोटा चोख्खिने अवस्था बन्न सक्छ ।
 

मिश्रले आफू जापानमा रहेकाले आउन समय लाग्ने  भनिसकेका छन् । उनले आफूसँग टेपको सामाग्री समेत रहेको दाबी गरेका छन् । अडियो मात्र नभई भिडियो टेप रेकर्ड पनि रहेको मिश्रको दाबी छ । तर, उनले भिडियो सार्वजनिक गरेका छैनन् । उक्त भिडियो अख्तिारलाई बुझाउने समेत बताए । उनले भने, ‘भिडियो प्रष्ट छ कुनै क्यारिक्याचर छैन ।’

यसैगरी, मिश्रले आफू अख्तियारको सम्पर्कमा रहेको बताएका छन् । आफू जापान नभागेको उनको दाबी छ । ‘अनुसन्धान अधिकृत प्रवीण पोखरेल सम्पर्कमा हुनुहुन्थ्यो,’ मिश्रले भने, ‘मैंले अख्तियारमा दुईवटा निवेदन हालेको छु ।’    -रिपोर्टर्स नेपाल