गणेशा

लक्ष्मीकान्त चौधरी  

0 0


नेपालदृष्टि । चैत्र–बैशाख महिनाको टंटलापुर घाममा पसिना चुहाउँदै पटुवा गोडिरहँदा कसैले मलाई बोलाएको आवाज सुनेर झसँग भएँ ।

‘सुकुनी गे, एने सुन । हमर दिसन ताक त ।  

दाहिने हातले पस्नी उठाउँदै पुलुक्क हेर्दा चन्देश्वर पटवारी छाता टेकेर दश हात परै उभिएको थियो । मैले हत्त न पत्त टाउको निहुर्याएँ । ऊ जब्बर भएर उभिरह्यो । मेरा हातले पटुवाबारी गोडेजस्तो गरे । यद्यपि हातहरू चलेका थिएनन् । किनभने ऊ त्यहाँबाट कतै जाँदै गएन । बरू पछाडि सरेर नजिकैको बोटमुनि छलिएर वरपर कोही छन् कि भनी चारैतिर नजर दौडाउन थाल्यो । 

सोह्र वर्ष उमेर टेक्तासम्म मलाई कुनै लक्का जवानले एकान्तमा भेटेर बोलाएको थिएन । आज एक्कासि दयाराम पटवारीको कान्छो सन्तानले हँसिलो मुहार बनाएर मायालु स्वरमा पुकार्दा समेत मेरो मुखबाट आवाज निस्केन । शिर पनि उठ्न सकेन ।

म उसकी नोकर्नी हुँ । इमान्दारपूर्वक काम गर्दिएकै छु । दिएको दाम नाइनास्ती नगरीकन लिएकै छु । अरू बेला कसैका अगाडि हुँदा एक शब्द पनि नबोल्ने, छोइन्छ कि भनी दश हात परै रहने मान्छे आज एक्कासि एकान्तमा भेट्न आउनुको रहस्य निको छैन भन्ने लागिरह्यो ।

‘रौदा नई लागलो ? कनिकाल छहाइरमे बैठैला या न गे, सुकुनी ।’

छहारीमा केहीबेर विश्राम गर्न आग्रह गरेको चन्देश्वरको बोली सुनेर म शिर उठाउन वाध्य भएँ । बोली निकाल्न भने बन्दै सकिनँ ।

म भन्न चाहन्थेँ, ‘इज्जतमा बसेको पटवारी खान्दानको कान्छो सन्तान भएर मजस्ती फोहरी व्यक्तिसँग यसो गर र उसो गर भनेर अह्राउनु किमार्थ उचित होइन ।’

उसले मतिर नजर गाडेर हेर्ने क्रम जारी नै राख्यो । मभित्र भित्रै पाकिसकेकी थिएँ । त्यस टन्टलापुर घाममा वरपर कुनै खेतालाहरू थिएनन् । छहारीमा बस्न सक्ने नजिकको रुख उसले नै ओगटेको थियो । अरू रुख निकै टाढा थिए । म पसिनाले निथु्रक्क भिजिसकेकी थिएँ ।

एकछिन छहारीमा सुस्ताएर स्वर्गीय आनन्द लुट्न चाहन्थेँ । ऊ मलाई बोलाइरहेको थियो । म चाहेर पनि उसको नजिक जान सकिरहेकी थिइनँ ।

मैले टेरपुच्छर नलगाएको देखेर केहीबेरपछि आँखा मिच्दै चन्देश्वरले पीडादायी स्वरले भन्न थाल्यो, ‘आइखमे कथिन ढुइक गेलै । निकाइल दे गै सुकुनी । दरदसे मइर गेलिए ।’

उसको बोली टुङ्गिन नपाउँदै म हत्तपत्त उठेँ । ऊ एकोहोरो सोही बोली दोहोर्याइरहेको थियो । गएर सहयोग नगरूँ भने आपत् परेको बेला पनि आँखाबाट कसिंगर झिकिदिइन भनेर दयाराम पटवारीलाई पोल लगाइदियो भने खाइपाई आएको नोकरी पनि छुटाइदेलान् । जाऊँ भने एकान्तमा एक्लैदोक्लै परपुरुषसँग कसरी जाऊँ । म केहीबेर द्विविधामा अल्झिरहेँ ।

केहीबेरमै म अनायास उसनजिक ठिङ्ग उभिएँछु । उसले आँखा च्यातेर मतिर लम्कँदै फुक्न भन्यो । मैले पनि दुई हात परैबाट फुकिदिएँ । उसले टाउकामा पक्रेर मज्जाले फुक न भनेर अह्रायो । उसको बोली र अनुहार दुवैले मलाई ऊ साँच्चै नै सङ्कटमा परेको छ र सहयोगको भीक्षा मागिरहेकोजस्तो लाग्यो ।

हिचकिचाउँदै तर निश्चल मनले मैले उसको टाउको समाएर आँखामा बेस्कन फुकिदिएँ । उसले मेरो शरीरबाट आएको पसिनाको अमिलो गन्ध सुघ्न पुगेछ । नाक खुम्चायो । म दुई हात पर सरेँ । उसले एक्कासि मेरा हात पक्रेर अरू फुकिदिन आग्रह गर्यो । हो न हो, सत्य बोलिरहेको छ भन्ने लागेर म मज्जाले उसको आँखा च्यातेर फुक्न थालेँ । उल्टै मेरो मुखबाट निस्केको थुकका छिटा उसको अनुहारमा लाग्न पुगेछ ।

थुकका छिटा पुछ्दै हत्त न पत्त उसले ठिक हुँदै छ भन्ने कुरा गर्दै भन्यो, ‘आब ठिक भेल जखा लगैछै । एकक्षण बैठ त ।’

म पनि उसले भनेजस्तै गरी बसेँ । अनुहारको पसिना पुछपाछ पारेँ । उसले गहिरो आँखाले मलाई हेरिरहेको थियो । म लाजले मुन्टो निहुराइरहेकी थिएँ ।

एक्कासि गोजीवाट पाँच सयको नोट मेरो काखमा पर्ने गरी फ्याल्दै भन्यो, ‘सुकुनी, ई पैसा तुँ अपना लेल खर्चा करिह ।’

साहूको छोराले दिएको पैसा मैले नलिने कुरै भएन । तर, पैसा दिने समय र अवस्था फरक भएको हुनाले लिन हिच्किचाएँ । उसले हजारको नोट उसै गरी काखमा राखिदिँदै सोही कुरा दोहोर्यायो । म अँझ भयभीत भएँ । चन्देश्वरको उज्यालो मनमा कालो दाग अवश्य छ जस्तो लाग्यो । म घोरिएर भुइँ कोट्याइरहेकी थिएँ । उसले अर्को हजारको नोट पनि सोही पाराले म नजिक फ्यालिदियो । तैपनि म बोल्न सकिरहेकी थिइनँ ।

‘मुसहरके बेटी भके कतेक भाउ खोजैछिही ।’ भन्दै अर्को नोट पनि मतिर हुइँक्याएदियो ।

उसको चरम असन्तुष्टिको जवाफमा मेरो मुख खुलेछ, ‘यतेक ढौवा ल्याके हम कि करबे ?’

मैले त्यत्रो पैसाले के गर्ने भनेर सोधेको प्रश्नको जवाफ पाएर त्यसबेला म अवाक भएकी थिएँ ।

ऊ भन्दै थियो, ‘यी सारा पैसा तेरो पेवा नै भयो । तेरो तलब मुन्सीले नै दिन्छ । बदलामा तैँले मलाई केवल दश मिनेट दिनुपर्छ । कुरो बुझिस्, सुकुनी ?’

यस पटक भने उसको बोलीबाट आशक्तिको गन्ध आएको प्रत्येक्ष अनुभूत गर्न पुगेँ । मेरो फक्रँदो जवानी देखेर ऊ र्याल काड्दै थियो । ऊ सरासरी मलाई ‘तेरो शरीर भोग गर्न दे’ भन्न सकिरहेको थिएन । जटिल प्रकृतिको कुरा गर्न आफ्नो मातृभाषा छाडेर नेपाली भाषाको सहयोग लिइरहेको थियो ।

‘दश मिनेट क्या, दश मिनेट ।’ ऊ दश मिनेटको रट लगाइरहेको थियो । म अँझै निरुत्तर भएर झोक्रिरहेकी थिएँ । ऊ अँझ नानाभाँतीका कुराहरू फलाक्ने सुरमा थियो । सारा रुपियाको नोट त्यहीँ खसालिदिएर म पूर्ववत् काममा जुटिरहेँ ।

उसले अरू केके भन्यो कुन्नि मैले राम्ररी सुनिनँ र सुन्न पनि चाहिनँ । म आफैँलाई आफ्नो शरीर गन्हाइरहेको थियो । अर्कातिर म उनीहरूका आँखामा फोहोरी जातकी थिएँ । यद्यपि उसको रहरको तृप्ति स्थान मेरो फक्रँदो शरीर थियो । यो कसैले नछोएको शरीरसँग खेलवाड गर्ने पक्षमा ऊ हुँदो हो । म कसैलाई शरीर नै दिनुपर्यो भने जीवनभर दिने पक्षमा थिएँ ।

मेरो कुरूप र गन्धे मुहार हेर्नुपर्छ भनेर ऊ मुन्टो अर्कातिर फर्काएर मनोकांक्षा पूरा गर्ने ध्याउन्नमा छ भन्ने बुझ्न मलाई समय लागेन । दुईरचार पैसाको लोभमा अरूको हात माथि पर्ने र आफ्नो हात तल झर्ने काम गर्न म कदापि सहमत थिइनँ ।

यद्यपि नियतिलाई मेरो मनोकांक्षा प्रिय रहेनछ । त्यस दिनको घटना सम्झन्छु, आगोको रापमा सेकिन पुगेको हरियो फूलको हालतमा पुगेको क्षण सम्झेर गहभरि आँसु आउँछ । दोष कसलाई दिनू र । उसले पनि मलाई जबरजस्ती गरेको होइन, केही मूल्य चुकाएरै स्वाद फेरेको हो । मैले पनि भुलेर त्यो काम गरेकी होइन । जानेरै बलिरहेको बत्तीमा झुम्मिने पुतली बन्न पुगेकी हुँ ।

तीन दिनपछिको कुरो हो । दिउँसोको तीन बजेको हुँदो हो । चारैतिर धुम्मिएको वातावरण थियो । शीतलता पाएर वरपरका बोटबिरुवाहरू तिर्खाएको बेला पानी देखेर आशामुखी भएझै प्रतित हुन्थ्यो । त्यसै बखत गड्याङगुडुङ गरेर आवाज आउन थाल्यो । घनघोर वर्षा हुने छाँटछन्द देखियो । म उसै गरी एक्लै पटुवा गोडिरहेकी थिएँ ।

पर्न लागेको पानीबाट बच्न कतै सुरक्षित ठाउँमा ओत लागौँ कि भन्ने मन पनि भयो । पटवार्नीको हकारपकारको याद आयो । घाममा केहीबेर सुस्ताउँदा उसले भनेकी थिई, ‘तुँ काम करैले कोइरह करबिही त बिना ढौवा घर पठेबै ।’

मरिमरी काम गर्नु तर विना पैसा घर जानु पर्यो भने के गर्नु भनेर काममा जोतिइरहेँ । पटवार्नीले गरेको काम जाँच्ने भएकीले शरीरले शीतलता पाएर नयाँ ऊर्जा आएपछि उठ्नुभन्दा जुट्नुमा नै बेस ठानी धमाधम काममा जुटिरहेकी थिएँ ।

एक्कासि पानी दर्कन थाल्यो । आकाश गर्जेको आवाजले मन डराइरहेको थियो । म पूर्ववत् आँपको छहारीतर्फ दगुरेँ । त्यहाँ चन्देश्वर चोर जस्तो टुक्रुक्क बसेर मतिर हेरिरहेको रहेछ । मैले पहिले उसलाई देखेकै थिइनँ । एक्कासि रुखमुनि मात्र देख्ता मिश्रित भाव दौडन थाल्यो ।

सन्त्रासमय वातावरणमा उसको सहारा पाइने भइयो भनेर मन पुलकित भयो । अर्कातिर शरीरसँग खेल्ने आशयको उसको पूर्वप्रस्ताव सम्झेर मन ढुकढुक भयो । चारैतिर झिलिकमिलिक गर्दै र चट्याङ पर्दै असिना सहित पानी वर्षन थाल्यो । ऊ एकोहोरो मलाई नै हेर्दै थियो । म पनि उसतिर हेर्न वाध्य थिएँ किनभने चट्याङदेखि मलाई साह्रै डर लाग्थ्यो । ऊ त्यहाँ नभइदिएको भए आत्तिएर मेरो हालत कस्तो हुन्थ्यो, कल्पनै गर्न सक्तिनँ ।

त्यसबेला ऊ मेरो सुरक्षा कवज बनेर उभिरहेझैँ लाग्यो । र, अंगालोमा बेरिन आइज भनेर बोलाएझैँ लाग्यो । सम्झेर म रातिपिरी भएकी थिएँ ।

पर उभिएको अ्ग्लो सिमलको रुखलाई निशाना बनाएर ठुलो आवाजसहित चट्याङ पर्यो । म आत्तिएर हत्त न पत्त उसको बाहुपासमा बेरिन पुगेँछु । उसले पनि मलाई च्याप्प अंगालो हालेर सुम्सुम्याउन थाल्यो । उसको शरीरको तातोपन र स्पर्शले मेरा कोमल अङ्गप्रत्यङ्गहरू अँझ मुलायम हुँदै थिए ।

‘कहाँ जान्छस् मछली मेरै ढडिया’ उसको मुखबाट निस्केको बोलीको भेउ पाइनँ र चुपचाप चट्याङको आवाज आउन छाडे पनि म उसकै बाहुपासमा कैद भइरहेकी थिएँ । मलाई सधैँ उसले यसरी नै कोमल स्पर्श गरिरहोस्, आडभरोसा दिलाइरहोस् । मेरो जीवनलाई पक्राओस्, फुलाओस् र फलाओस् भन्ने लागिरह्यो ।

निक्केबेर ऊ र म एकापसमा बगिरह्यौँ । मेरा सारा अङ्गप्रत्यङ्गमा उसले र उसका सारा अङ्गप्रत्यङ्गमा मैले रजाइँ गरिरह्यौँ ।

छुट्ने बेलामा दुई हजार थम्याउँदै मायालु पाराले उसले भनेको थियो, ‘सुकुनी, तिमी त्यस पैसाले शृङ्गारपटारका समानहरू किन । राम्री होऊ । पछिपछि लत्ताकपडाका लागि अरू पैसा दिऊँला । घर जानेबेलामा सधैँ मलाई भेटेर जानू ।’

उसको अन्तिम वाक्यले मलाई फेरि कुत्कुत्यायो । स्खलित मन पुनस् ऊर्जाशील भयो ।

मैले मुसुक्क हाँस्तै लाडे पाराले जवाफ फर्काएकी थिएँ, ‘अब जे भन्नुहुन्छ सबै कुरा मान्छु नै । भविष्यमा हुने कुराको जिम्मा तपाईंलाई नै सुम्पिएकी छु ।’

ऊ निरुत्तर भएर घरतिर लाग्यो । म पुनस् खेतबारीको काममा जुटेँ ।

हामी प्रायस् दिउसो चाहिँ झाडीझोक्रीहरूमा भेट गर्न थाल्यौँ । एकापसमा तृप्ति भएपश्चात् छुट्टिने गर्थ्योँ । रहर पुर्याएर ऊ कतै लाग्थ्यो म काममा जोतिन्थेँ ।

साँझमा घर फर्कने बेला भने मेरो असहमति र अनिच्छाका हुँदाहुँदै पनि ऊ मेरा पाखुरा समाउन आ्इपुग्थ्यो । मेरो कानूनी हक प्राप्त पुरुषझैँ गरी ऊ मसँग निर्धक्क कवाज खेल्थ्यो । र, अन्तिममा नून खाएको कुखुरो बनेर ऊ आफ्नो घर फर्कन्थ्यो म आफ्नो झुपडीतिर लाग्थेँ ।

उसकैं सँगतले मैले नयाँ नयाँ संस्कार सिकेँ । रमाइलो कल्पना गर्न जानेँ । मुसहरकी बच्ची भए पनि धनाढ्यकी दुलहीझैँ जीवन ढाँचा बनाउन सकेँ ।

मेरो तलव बढ्यो । मीठोचोखो मेरो भागमा आउन थाल्यो । अरू नोकर चाकरले बोल्ने र व्यवहार गर्ने तौरतरिकामा उल्लेख्य सुधार आयो ।

एक, डेढ महिना पछि मलाई खानामा रुचि लाग्न छाड्यो । आमाले गन्हाउने रोगले छोयो कि क्या हो भन्न समेत भ्याउनुभयो । सधैँ अर्काको खेतमा भ्याइनभ्याई गरेर काम गर्ने मान्छे म शरीरमा आलस्यले राज गर्न थालेको अनुभूत गर्न थालेँ ।

एका विहानै मलाई उल्टी आएजस्तो भयो । पानी खाने कल नजिक वाक्वाक गर्न थालेँ । बुबाले देख्नुभयो । शंकालु नजरले एकोहोरो हेर्नुभयो । तत्कालै घरभित्र पस्नुभयो र आमासँग गनगन गर्न थाल्नुभयो ।

खोई कसले हो कुन्नि, बुबालाई केके सुनाइदिएछन् । बुबाको आँखामा रिसको पारो उक्लेको देखेँ । मेरो मन काँप्न थाल्यो ।

दयाराम पटवारीकहाँ माटो काट्नका लागि तम्तयार पारेको टला र फरुवा गुहालीतिर हुइक्याइदिनुभयो । र, मेरा हात च्याप्त समातेर डोहोर्याउँदै घरभित्र पसाउनुभयो ।

बुबाको यस्तो सिंह स्वभाव मैले कहिल्यै अनुभूत गरेकी थिएँ । म निरुत्तर थिएँ । आमा पनि आएर म नजिकै बस्नुभयो । गहभरि आँसु पार्नुभयो । कुनै अनिष्ट घटनाको पूर्व संकेत पाएँझैँ गर्न थाल्नुभयो ।

‘ककरा ककरा सङे उइठबइठ करैछिही ?’ मैले कोकोसँग उठबस गरेँ भन्ने कुरा आमाले जान्न चाहनुभयो ।

‘जल्दी सभ वात कह, आब कि करबिही । हमरा सबहक विश्वास दिला ।’ मेरो आउँदो योजना बारे बुबाले जान्न चाहनुभयो ।

सानी बहिनी बाख्रा पगाहा लगाउन चौरीतिर निस्की । म निरुत्तर, निस्सहाय र निरीह बनेर घोसेमुन्टो लगाइरहेँ । बुबा जुरुक्क उठ्दै मैले सबैको अनुहार कालो बनाएको आरोप लगाउँदै भन्नुभयो, ‘तोहोर करिया मुह देइखके हमरा सभबके मुह कारी हैछै ।’

उहाँ रिसले मुर्मुरिँदै अन्यत्रै लाग्नुभयो । आमाका आँखा आँसुले पुरिए । उहाँले मैले गर्दा पितापुर्खाको इज्जत लिलाम गरेको र बहिनीको घरजम समेत धरासयी गराउन लागेको आरोप लगाउनुभयो ।

रिसको झोँकमा म गर्भमै तुहेको भए यस्तो दिन देख्न नपर्ने आशय व्यक्त गर्नुभयो, ‘तुँ हम सभटाके नाक काटलिही । तुँ पेटमे मइर जेतिही त निक हेतीय ।’

म बडो बिलखबन्दमा परेँ । साँचो सत्य कुरा बताऊँ भने दयाराम पटवारी खान्दानमा कालो पोतेको ठहरिने । नभनूँ भने जन्मदाताको अन्तस्करणलाई बेस्कन चिमटेको ठहरिने । म दोधारमा अल्झिरहेँ ।

अन्ततोगत्वा चन्देश्वरले भनेको बचन सम्झिएँ, ‘सुकनी, जेजस्ता आपत आए पनि तिमीले सत्य कुरा कसैलाई नबताउनू नि १ हामीलाई इज्जत साह्रै प्यारो लाग्छ । कसैले दाग लगाए त्यसलाई छाड्दै नछाड्ने हाम्रो बानी छ । तिमीलाई थाहै छ, हामीले चाहेमा यस भेगमा दिनलाई रात र रातलाई दिन पनि पार्न सक्छौँ । तिमीलाई जति रुपिया, पैसा चाहिन्छ लेऊ । कतै गएर कोहीसँग घरजम गर्ने मन भए पनि आर्थिक सहयोग गरौँला । हामी बीचको गोप्य कहिल्यै नखोल्नू । म सदा तिमीलाई सहयोग गरिरहने छु ।’

उसले मलाई धम्की मिश्रित सहानुभूतिका शब्दहरू निकालेको सम्झेर मन एक तमासको भयो । उसको मुखबाट पटक पटक कर्कश बोली सुनेकी थिएँ, ‘तेरो कारण मैले बेइज्जती भएर जेल जानुपर्यो भने तँलाई जिउँदै खरानी बनाएर मात्र मेरा पाइला जेलतिर अघि बढ्ने छ । यस कुरालाई हर्दम हेक्का राखेर काम गर्नु ।’

आमाले मलाई केरकार गर्न छाड्नुभएको थिएन । उहाँका कुराले मेरो अश्रुभेल बग्न थाल्यो ।

घरबाट बाहिरिँदै मैले भनेकी थिएँ, ‘म्या, जे भेले से भगेलै । जवाफ नही मागिह । आब तोरा सभके दुस्ख देला नही चाहिछी । हमरा खोजी नही करिह ।’

मैले जवाफ दिन नचाहेको, बुबाआमालाई लगायत कसैलाई पनि झमेलामा फँसाउन नखोजेको र घर छाडेर अन्त कतै जान चाहेको आशय सुनेर आमा टोहोलाइरहनुभयो । म पिठ्युँ देखाएर क्रमश ःक्रमशः जन्मघरबाट गन्तव्यविहीन यात्रामा निस्किरहेकी थिएँ ।

ंंं
मेरो यत्रो दिनको लामो कुरा सुनेर जोशियानी दिदीले लामो श्वास फेर्नुभयो । म उहाँको सक्रियतामा स्थापना भएको सामुदायिक स्वास्थ्य उपचार केन्द्र मारामोस्काको हरियो बेडमा सुतेकी थिएँ । अघि कुरा सुनाइरहँदा प्रसव पीडा कम थियो । यत्तिखेर पीडा क्रमशस् बढ्दै जाँदै थियो ।

‘अब यत्ति भनिदेऊ बहिनी, यस धाँती टोलमा तिमीलाई कसले संरक्षण दिइरहेको छ ?’

जोशियानी दिदीको प्रश्नको लामो उत्तर मसँग थियो । यद्यपि शारीरिक पीडाका कारण मलाई बताउन सकस परिरहेको थियो ।

झुमनी दैयालाई सम्झिएँ । म जन्म घरबाट आइपुग्दा उनले स्नेहले मलाई आतिथ्य दिएकी थिइन् । एक दिन शंका लागेर मेरो पेट छाम्न आइपुगिन् । बच्चा खेलेको थाहा पाइहालिन् । केरकार गर्न थालिन् । ढुङ्गो बोल्ला तर म बोलिनँ । नबोलेरै मैले जितेँ । घर फर्किन भन्नुभयो । मैले बिदाबारी भएर आएको कुरा बुझाएँ । दैयाको कचकच बढ्दै गयो । म सहन नसक्ने अवस्थामा पुगेँ ।

भनिदिएँ, ‘तँलाई मेरो माया छैन । यस्तो हालतमा मलाई घर छोड भन्छेस् भने म कहिल्यै नफर्कने गरी कतै गइदिन्छु ।’

त्यस दिन देखि उसले मलाई कहिल्यै केरकार गरिनँ । गाउँलेहरूले मलाई गाउँ निकाला गर्ने धम्की दिए । कोशिस पनि गरे तर झुमनी दैया बज्र बनेर उनीहरूसामु उभिदिई ।

यत्तिखेर प्रसव पीडा हुन थालेपछि भने ऊ मलाई यहाँ ल्याउन र मेरो स्याहार गर्न आउन सकिनँ । उसलाई समाजको डर थियो । मलाई सहाराको खाँचो थियो । उसैको सङ्केतले जागेश्वर भैयाले ठेलामा मलाई यहाँसम्म ल्याइदियो र आफू कतै चम्पट ठोक्यो ।

डाक्टर केके सोध्दै थिए । मैले जवाफ नदिए पछि तपाईंलाई बोलाए । कुरा यत्ति नै हो ।

मेरा कुरा सुनेर जोशियानी दिदीले उज्यालो मुहार बनाउनुभयो । मेरा गाला सुम्सुम्याउनुभयो । मेरो पेट मुसार्दै पेटमै चुम्मा खानुभयो ।

र, उत्तेजक स्वरले भन्नुभयो, ‘सुकनी बहिनी, म रहुञ्जेल र मैले सकुञ्जेल तिम्रो अभिभावक म भएँ । तिमी बच्चाकी आमा । म बच्चाकी दादी १ सर्त मञ्जुर छ ?’

म सबै जना छँदाछँदै टुहुरी भएकी निरीह नारीलाई जोशयानी दिदीको भरोसाको बलियो छाता ओड्न पाउँदा हर्षले आँखा रसाए । पीडा सहँदै रुञ्चे हाँसो सहित भनेँ, ‘हुन्छ जोशियानी दिदी, हुन्छ । म र मेरो बच्चो हजुरकै छत्रछहारीमा रहन राजी छौँ ।’

हेतै, जोशियानी दिदी, हेतै । हम आ हमर बच्चा अहाँके भरोसामे रहैला राजी छिए ।

जोशयानी दिदीलाई जवाफ फर्काउना साथ मलाई प्रसुति कक्षमा पुर्याइयो । कठोर प्रयत्नका बाबजुत मैले बच्चा जन्माएँ । सरसफाइपश्चात् जोशयानी दिदीले ओल्टाइपल्टाई हेर्नुभयो ।

र, चाहुरिएको अनुहारमा गुलाफ फुलाउँदै भन्नुभयो, ‘म अघोरै प्रफुल्लित भएँ किनकि भर्खरै मेरो ‘गणेशा’ को पदार्पण भयो ।’

–लक्ष्मीकान्त चौधरी
बेलका नगरपालिका–३, रातापानी, उदयपुर ।
हाल ः शिक्षक, श्रीराष्ट्रिय मावि, कञ्चनरुप ३, बनरैत टोल, सप्तरी ।