बलरामको तरङ्ग

होम सुवेदी 

0 0


नेपालदृष्टि । “यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले ।” मनमनै वलरामले कुरा खेलाउने गर्थे । “यसो हेर्न हुने मान्छेलाई त डेरा दिनु पर्छ नि । कमसे कम घरको रेखदेख पनि हुन्थ्यो अनि ।।।” उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न आयो भने उनको प्रतिक्रिया हुन्थ्यो आफैंसँग ।

अघिल्लो पटक आफ्ना छिमेकीले ठेलावाललाई डेरा दिएकोमा उनको आफैंसँग यस्तै गुनासो थियो ।

बलरामले यसभन्दा उताको सोचलाई आफैं भित्र पचाएझैं गरेका थिए । बलरामका छिमेकी घरका मानिसले उसैका घरमा नयाँ मानिसलाई डेरा दिए भने खाइ न पाई छालाको टोपीलाई भने जस्तो बलरामलाई निकै खुल्दुली पर्छ । लल्लो घरमा अलिक दिन डेरा खालिरहन गयो भने पनि बलरामलाई नै चिन्ता पर्छ मानौ उनैको घर खाली भएको छ ।

“हन, कस्तो वास्ता नगरेको हो यो मेरा छिमेकीले, घरमा डेरा खाली भएको कति दिन भइसक्यो । मान्छेलाई डेरा पाउन कति मुस्किल छ, यसले भने किन कोठा खाली राखेको होला । पैसा घटाएरै भए पनि कोठामा भाडावाल राख्नु पर्छ नि ।” मानौं बलरामलाई छिमेकीको घरको डेरा खाली भएकोमा चिन्ता परिरहन्छ ।

अनि छिमेकीका घरको डेरा खाली गरेर कुनै डेरावाल जान लागेको छनक पाए भने त्यो बेला समेत बलरामलाई नै चिन्ता पर्छ । मानौं उनैको घरबाट कोही बिदा भएर कतै जाँदैछ । मानौं बलरामलाई नै त्यसबारे पनि अधिक चासो हुन्छ ।

यस्तै हो भनेर चित्त पनि बुझाउँदैनन् । सबै डेरावाल बलरामका लागि सहज हुने खालका पनि आउँदैनन् । अघिल्लो पटकको डेरावालबाट उनलाई निकै तनाव भएको थियो । छिमेकीको घरसँग जोडिएको उनका घरमा समेत निकै अप्ठेरो स्थिति बनेको थियो । एकान्तप्रेमी र एक्ला मान्छेलाई तनाव हुनु स्वाभाविक पनि थियो । तर यस पालिको डेरावाल आएदेखि उनलाई त्यस्तो छैन । यस पटक उनको करेसो जोडिएको छिमेकीले बुद्धि पुर्याएको ठाने बलरामले । किनभने बलरामलाई आफ्नो घरमा समेत धार्मिक वातावरण भएको अनुभव भएको थियो यसबाजिका डेरावालबाट । छिमेकीका घरमा बलरामलाई मिल्ने प्रकृतिको डेरावाल आएकोमा अहिले सन्तोष थियो । कुरा के थियो भने बिहानैदेखि धार्मिक भजनहरू उच्च ध्वनिमा बजाउने, पाठपूजा गर्ने र धार्मिक जमघट भइरहने, त्यस्ता धार्मिक जनको भेटघाट हुने खालका स्वामीजी भन्न सकिने एक सज्जनलाई छिमेकीले यो बाजि डेरा दिएको थियो । उनको भित्री मनमा कता कता स्वामीजीभन्दा भर्खरका युवायुवती (विशेष गरी युवती) आइदिए हुने भाव मडारिए पनि स्वामीजी आएकोमा उनले कसै गरी चित्त बुझाएका थिए । बडो लायक जस्ता देखिन्थे स्वामीजी । परपरैबाट बलरामले बुझेका थिए । जोडिएको घरका आमने सामनेका कोठा भएका कारण ओल्लो घर र पल्लो घरको वातावरण बुझ्न कुनै कठिनाइ नै हुँदैनथ्यो । बलरामका घरको वातावरण पल्लो घरकाले थाहा पाउँथे र यता बलराम पनि उताको वातावरण सजिलै बुझ्दथे । सहरका जोडिएका घरहरुको गुन वा बैगुन यही हुन्छ । अलिक गोप्य कुराहरुको भने यसरी जोडिएका घरमा बढी ख्याल गरिनुपर्छ । नत्र ओल्ला घरको गोप्य कुरा पल्लो घरमा खुला हुन पुग्छ । बलरामको घर यस्तै छ । त्यसरी जोडिएका उनका घरमा पल्लो घरको धार्मिक वातावरण आफसेआफ घुलमिल हुन पुगेकोमा उनलाई अलिकति सन्तोक पनि लागेको छ । उनको मन केही मात्र भए पनि धर्मतिर झुक्न लागेको छ । एउटा हारमोनियम किनेर ल्याउने र भजन गाउने विचार समेत उनले गर्न थालेका छन् । आखिर उनको उमेर पनि त अलिक ढल्कन लागेको छ । अनि किन नलागोस् त धर्मतिर मन । आफूले धार्मिक तीर्थयात्रा गर्न र धर्म कमाउन सकेनन् । पशुपतिमा जानुबाहेक उनले अन्यत्रको तीर्थाटन गरेका पनि छैनन्, अनि धार्मिक जनहरुले अर्काकोमा लगाएको पूराणै सुनेर भए पनि अलिकति धर्मको जोहो गरे झैं उनले पनि यही छिमेकीको घरमा हुने धार्मिक गतिविधिमा आफूलाई लगाएर धार्मिक मतिको विकास गर्न थालेका छन् । साठीबाट उकाला लागिसके अनि अब उनले पनि ता धर्मकर्ममा मन लगाउनुु पर्छ नि ।

कुभावना नराखी केही दिनदेखि पल्लो घरको डेरामा बस्ने स्वामीजीको चालचलनलाई बलरामले आफ्नो घरबाटै चियोचर्चो गर्न थालेका थिए । सुगन्धित अगरबत्ती जलाइन्थ्यो अनि ओल्लो घरमा बलरामको कोठा पनि महकाउँथ्यो । उनी आनन्दित हुन्थे, लामो सास फेर्थे । पछिको कुरा अलिक पछि आउला, त्यहाँ जेसुकै होला, अहिलेलाई सुरुकै कुरा गरुँ । अँ, सुरुसुरुमा ता छिमेकीकै घरमा भए पनि एक भक्तजन बसेकोमा बलराम निकै खुसी पनि भएका थिए । टाढैबाट भए पनि उनलाई समेत धर्मतिर उन्मुख हुन प्रेरणा मिल्ने स्थिति उत्पन्न भएको थियो । स्वामीजीले जस्तै उनले पनि बिहानै उठेर नित्य कर्म सकेपछि पशुपति जाने बानी बसाउन लागेका थिए । पशुपति जान नसके तरकारी किन्ने निहूँमा काठमाडौंं गणेशथानसम्म गएर गणेशमन्दिरको एक फङ्को भए पनि मार्न थालेका थिए ।

“आ, बूढो हुन लागियो । न आमाबाबु, न छोराछोरी, न स्वास्नी । अब मलाई कसको लागि जोहो गर्नु छ र । जागिरबाट निवृत्त भएपछि निवृत्तिभरणले मेरो जीवन चलिहाल्छ, अब केही वर्ष ता होला । भोलि प्याट्ट मरिन्छ अनि कसलाई जोगाउनु छ, कसलाई जमा गर्नु छ बेकारमा । यसो धर्मतिर पनि मन लगाउने बेला भइसक्यो मेरो ।” उनले यस्तै केके सोचेर आफूलाई पनि धर्मतिर प्रेरित गरिरहेका थिए ।

आफ्नै छिमेकमा डेरा बसेको जो बलरामभन्दा पनि भर्खरको लाग्ने मान्छेले त्यसरी स्वामीत्व प्राप्त गरेकोमा र भक्तजनको घुइँचो लागेकोमा बलरामलाई अलिकति ईर्ष्या पनि भएको थियो ।

बिहानैदेखि छिमेकीको घर धर्ममय भएको देखेर उनलाई पनि यस्तै धार्मिक मान्छे पाए आफ्नो घरमा पनि डेरा दिएर राखिन्थ्यो र केही भए पनि सत्सङ्गतिर लागिन्थ्यो भन्ने सोचाइ आउन लागेको थियो ।

उनका मनमा यसबाहेक अर्को विचार पनि आउँथ्यो । जोसुकैलाई ता डेरा दिने होइन, आ, नानाथरीका मान्छे हुन्छन्, घर फोहोर पार्छन्, चर्पी फोहोर पार्छन्, रातबिरात के के खाएर आउँछन् र हल्ला गर्छन् । केटी लिएर आउँछन्, टोलभरि नियोजनका सामान फ्याँकेर हैरान । टोलकाले आफैंमाथि शङ्का गरेर हैरान । होस् है ।

फेरि अर्को विचार आउँथ्यो “केटीहरुलाई डेरा दिन पाए घर सफासुघर भइरहने थियो ।”

“आ, काँ पाउने केटीहरू ।” उनको अर्को मनमा कुरा खेल्थे । “केटीहरू चैं सबै गतिला नै हुन्छन् भन्न पनि आजको समयमा कहाँ सकिन्छ र । लौ मेरामा डेरा खाली छ, केटीहरुहो आओ है भन्दै हिंड्न भएन, भनेज

स्ता पाइँदैनन् र आउँदैनन् पनि । अनि के गर्ने ” उनको दार्शनिक विचार पनि मनमा सँगसँगै पोखिन्थ्यो ।

यस्तै सोचका साथ उनको स्मृति अतीततिर गयो । “आर्यतारा जत्तिका भए ता हुन्थ्यो । अचेल त्यो जस्ता आइमाई कहाँ पाउने ?”

उनका घरमा आर्यतारा बज्राचार्य एकपटक डेरा बसेकी थिइन् । बलरामले उनको सान्निन्ध्यमा आफ्नो मनभरिको संसारलाई सकारात्मक देखेका थिए । मनमा फुरौला पनि पाक्न थालेका थिए । आर्यताराले उनको मनमा निकै गहिरो गरी ठाउँ बनाइदिएकी थिई । आर्यताराका मनमा के थियो उसैले जानोस् । आर्यतारा बलरामको जीवनकी एक मानसिक धर्मपत्नी सरह भइसकेकी थिई । तर आर्यतारा को र के थिई उनलाई थाहै हुन नपाई सडक दुर्घटनामा बिती । यसपछि ओइलाएको बलरामको मन अहिलेसम्म संसारतिर लाग्न सकेन । चिटिक्क परेका जोडीहरू देखिए भने यसो हेरिटोपल्छन्, उनमा रागभन्दा विराग नै बढी जन्मन्छ । अहिले छिमेकीको घरमा धर्मको व्यापक चर्चा हुन थालेपछि भने उनको मन वैराग्यबाट धर्मकर्मतिर अलिकति फर्किएको छ । मन ता आखिर मन न हो । अवस्था अनुसार मनले स्वभाव लिने गर्छ, बदलिने न गर्छ । हँ हो र ।

बलरामलाई छिमेकीको धर्ममय वातावरणले बिस्तारै एकोहोर्याएको थियो । बलरामको मन धार्मिक भावनामा डुब्न लागेको थियो । डेरामा बसेको स्वामीजीलाई आफ्नै घरको झ्यालबाटै भए पनि यथासम्भव उनले अध्ययन गरेका थिए । अनि आफू ती पल्लो घरका स्वामीभन्दा पनि बढी उमेरको भएकोमा र धर्म गर्नतिर ढिलो भएकोमा पछुताउन समेत लागेका थिए ।

एक दिनको कुरा हो । अर्थात् नेपालमा हडताल र चक्काजामको संस्कृति विकास हुन थालेको मौकाको कुरा हो । चन्दा नदिए भौतिक कारबाही गर्छौं भन्नेहरुको बोलबाला भएको बेलाको कुरा हो । भौतिक कारबाही पनि निकै भइरहेको थियो । केहीलाई भाटा खाएको केहीलाई तास खुवाएको, केहीलाई पारपाचुके गराएको र गाउँठाउँमो समानान्तर सरकार बनाएर के के न हो गरिहालेको कुरा चलेको बेला थियो । त्यो हिउँदको दिन थियो । यही संस्कृतिका शिकारका रुपमा बलराम पनि मकै पिस्ता घुन पिसिएझैं पिसिएका थिए । विद्यार्थीले हडताल गरेकाले र बलरामलाई समेत दिउसो भरी कक्षा कोठामा थुनिदिएको कारणले बल्ल राति मात्र छाडिएको थियो । रातबिरात उनी घरमा आएका थिए । बत्ती नभएकोले घर सुनसान थियो । तर उता पल्लो घरको स्वामीजीको कोठा भने झलमल थियो । के बालेर यसरी झलमल हुन्छ स्वामीजी नै जानून् । अँधेरोबाट उज्यालोको दृश्य राम्रै देखिन्छ तर उज्यालोबाट अँधेरोको दृश्य नदेखिने हुँदा बलरामको घरतिरबाट पल्लो घरका स्वामीजीको कोठाको वातावररण देखिन र त्यहाँ भएको विवरण बुझ्न कुनै समस्या भएन । पल्लो घरको स्वामीको कोठाका मानिसहरू निश्चिन्त थिए । यसैले बलरामलाई लुकेर नियालिरहनै परेन । आफ्नो अँधेरो घरमा पस्नेबित्तिकै उनका नजर पल्लो घरको झलमल्ल उज्यालो भइरहेको स्वामीजीको कोठामा परे झ्याल खुलै भएकोले र पारदर्शक पर्दाको व्यवस्था भएकोले देखिन खासै समस्या परेन बलरामलाई । स्वामीजी निकै जना महिला भक्तजनहरुका साथ रमाइलो गरी बसेको कुरा खुलासँग देखियो । उनले विचार गरे “हन आज किन हो भक्तजनहरुमा महिलाहरू पो धेरै रहेछन् । आजको के हो कुरा ? बुझ्नु पो पर्यो ।”

दिउसो भरि पानीसम्म नखाएका बलरामको ध्यान अहिले छिमेकीको कोठातिर एकोहोरियो । लोडसेडिङले बलरामलाई निकै सहज भएको अनुभव भयो । यस्तो दृश्य देख्न रुचाउनेका लागि ता लोडसेडिङ नै पो उत्तम हुने रहेछ । उनका मनमा एउटा कुरा खेल्यो ।

यसो सोचे–“अचानक बत्ती आइहाल्यो भने स्वामीभक्तहरू र स्वामीले समेत चियाएर तिनीहरुलाई नै हेरिबसेको थाहा पाउन सक्छन् बा । स्वीच अफ पो गर्नु पर्यो ।’ उनले आफैं शङ्का गरेर बत्तीका स्वीच छामछाम छुमछुम गरे । “आ म पनि कस्तो मान्छे, नबालेको बत्ती पनि कहीं बल्छ र स्वीच अफ गर्ने । उसमाथि लोडसेडिङ छ ।” अनि बत्ती आइहाले पनि नेदेखिने हिसाबमा पल्लो घरको जोडिएकै झ्यालभित्रको रमाइलो नियाल्न थाले ।
उनले निकै बेर हेरे । भक्तिले पूर्ण भजन मधुर रुपमा बजिरहेको थियो । निकै भक्तमहिलाहरुका हातमा गिलास थिए । वातावरण उन्मादिलो थियो । कुरा बुझ्न कठिन थिएन । मादक पदार्थको सेवनमा सबै लागेको बुझिन्थ्यो । जिब्रो लट्पटिएको स्वरमा नबुझिने आवाजमा केके बोलेको बलराम सुन्दथे तर बुझ्दैनथे । अघिपछिको महकिलो अगरबत्तीमा गाँजाको धुवाँ बलरामका कोठामा मडारियो । यस बाहेक अरु केके कुराहरू खाँदै भक्त महिलाहरू स्वामीजीको सेवामा लागेका थिए । कोही मसाज गरिदिने, कोही सुम्सुम्याउने, कोही कन्याइदिने आदि । जुन दृश्यको वलरामले यी स्वामीजीवाट अपेक्षा गरेका थिएनन् त्यही दृश्य देखिरहेका थिए ।

सोझा बलरामका मनमा कुरा खेले–“कस्ता हुस्सु हुन् । पर्दा ता लगाउनु पर्छ नि ।” अनि फेरि उनका आँखामा पारिपट्टिको केही उत्तेजक दृश्य पनि पर्यो । बलरामले आफ्नै आँखा छोपे ।

एकछिनको यो रमाइलो दृश्यमा पनि दृश्यपरिवर्तन भयो । डिम लाइट बलेकाले राम्रो गरी त्यस बत्तीमा दृश्य देखिन पाएन । अचानक त्यही बत्ती पनि झ्याप्प निभ्यो । लगभग चकमन्नको स्थिति बन्यो । बलरामलाई बत्ती बलिहाल्छ कि भनेर निकै बेरसम्म पर्खिबसे, बत्ती नबलेकोले बत्तीकै प्रतीक्षामा बसेका बलराम पनि दिउसो भरीको थकाइका कारणले थाहै नपाई भुसुक्कै निधाएछन् ।

बिहान एक्कासि बलरामका कानमा सुमधुर भक्ति रसका भजनहरू स्वामीजीका कोठाबाट पसेकाले मात्रै बलराम ब्यूँझिए । साथै उनका नाकमा स्वामीजीको कोठामा बालिएको सुगन्धित अगरबत्तीको बासना पनि पसिरहेको थियो ।