मयलको दर्शन : मुसोलिनीमाथि घर्षण । युगको अस्तित्व राख्न पनि मयल बोक्नुपर्छ

रविन्द्र ढुङ्गेल

0 0


नेपालदृष्टि । मयलको महत्त्व नबुझेर नजन्माइएको कायर इतिहास लेख्दैछु । जीवनभर अलपत्र परेका मयलहरुको हुर्मत बढाएर ब्रह्माण्डभरी मयल बोक्नेहरुले नै शासन गर्नुपर्छ स्वयं देवताले नुहाउने साबुनलाई पनि मैलो बनाउनुपर्छ । मैलो अक्षर र मैलो मन्जनलाई प्रेम गर्नुपर्छ । काल्पनिक, कालो ज्यानलाई होइन वास्तविक कालो मयललाई बिक्रि गरिनुपर्छ । मयलको मूल्य निर्धारण गरिनुपर्छ । मयल झार्नेलाई अबैध सम्झिएर कारबाही गरिनुपर्छ । मयल बोक्नेहरुलाई पुरस्कार दिइनुपर्छ । अनि मात्रै सभ्यता जोगिनेछ । नयाँ इतिहास रचिनेछ । 

मयलको दर्शन : सभ्यताको प्रारम्भ  
वास्तवमा भावशुन्य भएकाहरू नै फोहोरी देखिन्छन् र फोहोर देख्छन् । घृणालाई प्रेम गरेर मात्र संस्कृति बँचाउन सकिन्छ । फोहोरका टुक्राहरुलाई फोहोर राख्ने टोकरीमा राखेर सफा , ताजा , चम्किलो छु भन्ने मानव समुदाय मयलको दर्शन बुझ्दैनन् । फोहोर भनिनेहरु र मैलो ज्यान भएका टोकरीहरुले अब अस्तित्व छोड्नुपर्छ र मानव समुदायलाई नै मयल भिराउनुपर्छ । फोहोरप्रतिको प्रेमास्पद सम्बन्ध भएको मलाई थोत्रा,मैलो र पुरानो स्विटर लगाएर राणाकालका अखबारहरु पढ्न मनपर्छ । ढलमा बस्ने किराहरुलाई सामाजिक, रीतिरिवाज सिकाएर ढलको किराँतपति बनाउनुपर्छ । आफ्नै जातिबीच युद्ध गर्ने मस्तिष्कहरुलाई निमोठेर टोकरी बनाउनुपर्छ, फोहोर फाल्ने साबुन बनाउनुपर्छ ।

मञ्जु घोष जस्ता आचार्यहरुलाई मुसोलिनिको इतिहास घोकाउनुपर्छ । अल्छी रावणका माइलो भाइरहरुलाई ओछ्यानमा नै ढल उब्जनी गर्न सिकाउनुपर्छ । उद्योगबाट उत्पादित मानिसहरु सडक बालबालिकाहरुलाई खिसी गर्छन् , वाक्क बान्ता गरेर गर्भवती झैँ मुख थुनेर भाग्छन् ।

शस्त्रागारमा अस्त्र राखेर जीवन र सभ्यताको बिउ निकाल्ने अग्रजहरुको राललाई मेटेर ढलले जिन्दगी पोत्ने प्रयासमा रहेका तमाम मानव समुदाय जो कहिल्यै गन्धलाई वास्नामय बनाउँदैन् ।

ढल,नाला,कुहिएका(सडेका वस्तुहरु,अनावश्यक कागजहरु,कपालहरु  नङहरु, पुराना थोत्रा कपडाहरु मयलहरु आदिलाई फोहोर मान्ने हाम्रो अजान मस्तिष्क मयलको दर्शन बुझ्दैन । एउटा व्यक्तिको गन्ध अर्को व्यक्तिको गहना हुनसक्छ भन्ने जान्दैन । पुरातनकालमा बेवास्ता गरिएका सामग्री एवं सम्पदाहरुले अहिले ऐतिहासिक तेज,प्रभाव र शोभा बढाइरहेका छन् ।

सुरुवातमा सुरुप भएका सुमार्गीहरु पछि विकारयुक्त दुर्गन्धित आकार बनाएर बसेको पनि देखिन्छ । जसरी देउताहरुले मयलबाट एउटा युग र सभ्यता कोरेका छन् त्यसरि नै हामीले पनि युगको अस्तित्व राख्न मयल बोक्नुपर्छ ।